गोबिन्द गौतमहरु जन्मिरहने देश
कन्चनपुर जिल्लाको नेपाल–भारत सीमाभन्दा निकै वर आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गाेविन्द गौतमको गोली हानी हत्या गर्यो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल भित्रै पसेर ज्यान लिएका देशभक्त वीर नेपाली गाेविन्द गाैतमलाई नेपाल सरकारले ११ तोपको सलामी सहित राजकिय सम्मानका साथ अन्त्येष्टि गरियो । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका लाखौं नागरिकले स्वतःस्फूर्त सहभागिता जनाए ।
तर त्यति संवेदनशिल विषयमा निकालिएको यात्रामा कुनैपनि दलका नेता सहभागि भएनन् । राष्ट्रियताका नाममा ठिक्का लिएको एमाले मेची महाकाली यात्राका नामले फुर्सद पाएन । राष्ट्रियताकै नाममा सुरुङ युद्द घोषणा गरेको माओवादी केन्द्रको के आलोचना गर्नु ? आफैंले खनेको सुरुङमार्ग हुँदै भारतीय शसक वर्गको टाङमुनी छिरिसकेको दलले भारतीय प्रहरीको कसरि बिरोध गरोस् ?
समाजमा हत्या र आतंक, अपराध मच्चाउने चरी, घैंटे जस्ता डनहरुलाई पाल्ने नेताबाट गोगिन्द गौतमहरुले सम्मान पाउँदैनन् । दिपक मनांगे जस्ता अपराधमा संलग्नहरुलाई हाकाहाकी पार्टीमा भित्र्याउने, तिनका कार्यक्रममा अतिथि बन्ने नेता र पार्टीले राष्ट्रियताको पक्षमा लड्ने जनताका सारथीको कार्यक्रममा रुचि राख्दैनन् ।
सार्वजनिक स्थलका रेलिङ र बार भत्काउने, टेलिफोनका तार उखल्ने, खाने पानीका मुहान थुन्ने, अपराधी पाल्ने नेताले शहिद चिन्ने कुरै हुन्न । कानमा भारतीय दूरबिन झुण्ड्याएका छन् हाम्रा अधिकांश दलका मुख्य नेताले । साना नेताहरु तिनैको वरिपरि नाचेका छन् । भारतीय दूरबिनले सिमाना पारिबाट हेर्दा दूर्बिनको घेराभित्र परिएला भन्ने त्रास प्रमुख नेताहरुलाई छ । प्रमुख नेताका दलाल दूरबिनहरुमा परिएला र कारवाही भोगिएला भन्ने डर साना नेताहरुलाई छ । त्यसैले हाम्रा नेता गोबिन्द गौतमको बिदाईमा पुग्न कसरि सकुन् ?
हाम्रो सिमा, हाम्रो जमिन, हाम्रा नदी, हाम्रा ताल, हाम्रा हिमाल जोगाउन सक्ने सरकार नबनेसम्म गोबिन्द गौतमहहरुको ज्यान गैरहन्छ। हाम्रो राष्ट्रियता बलियो नबनाएसम्म पराईले हामीलाई दागिरहन्छ । राष्ट्रिय अखण्डता गतिलोसित जोगाउने सरकार नबनेसम्म हाम्रो जमिन मिचिरहन्छ भारतले । सुरुङ खन्ने र उनैसित फुरुंग हुने, नदीनाला सुम्पने, कलखारखाना बेचेर खाने, सिमा जोगाउन नसक्ने नेता, पार्टीलेनै देश चलाएसम्म गोबिन्द गौतमहरुको ज्यान गैरहन्छ । त्यसो त त्यहि पिडाले सयौं गोबिन्द गौतमहरु जन्माईरहन्छ र शहिदपनि बनाइरहन्छ । राष्ट्रियताका लागि गोबिन्द गौतमहरु शहिद बनेको पिडा नहेर्न देशमा बलियो, राष्ट्रबादी सरकार र पार्टी चाहिन्छ । नेपाल नेपालीको हित हेर्ने नेता चाहिन्छ । त्यस्तो नेता र पार्टीलाई साथ दिन बुझक्कि जनता चाहिन्छ ।





