बिदेशमा बस्ने नेपालीका घर घरमा पस्यो आर्थिक मन्दी
कति राजनितिका मात्रै कुरा गर्ने होइन ? आर्थिक पक्षमापनि बहस चलाए कसो होला ? विश्वब्यापी फैलिएको आर्थिक मन्दीले तपाईलाई छोएको छ कि छैन ? केहि महिना अघि अर्थमन्त्री डा बाबुराम भट्टराईले नेपालमा आर्थिक मन्दीको असर नपरेको बताएका थिए । तर बिदेशमा बस्ने नेपालीहरु उनको भनाईसँग सहमत छैनन् । उद्दोग र ब्यापारमा त छिरेकै छ यो मन्दी । कतिको रोजगारी खोसेको छ त कसैको भएको काममा पनि कटौती गरिदिएको छ यहि मन्दीले । केहि अघिल्लो वर्षसम्म ठाँटबाँटले खर्च गर्नेहरुको हैसियत खस्किएको छ । भएकाहरुपनि भोली के हुने हो भनेर झस्किएका छन् । हुँदा हुँदा मन्दी झन आकासिँदै जाँदा मानिसका भान्छा सम्म छिरेको छ । टेबलसम्मै उक्लिएको छ । फ्रान्समा भएको आर्थिक मन्दीले नेपालीलाई कस्तो असर पारेको रहेछ त भनेर बुझ्न मैले यहाँका बिभिन्न क्षेत्रका ब्यक्तिहरुसँग छलफल गरेको थिएँ । फ्रान्स यूरोपकै आर्थिक सम्पन्नताले एक दर्बिलो मुलुक भएकाले यसले पक्कैपनि यूरोपका अन्य देशका नेपालीको पनि छनक दिने छ । आहिलेको आर्थिक मन्दीले के कस्तो असर पारेको छ, हेर्नुस फ्रान्सका बिभिन्न ब्यक्तिहरुको अनुभव–
–बिनोद ओझा, नेपाली ब्यापारी, पेरिस
अहिले संसरकै गार्मेन्ट फ्रान्स आधारित छ । त्यहि माथिपनि ठमेलको गार्मेन्ट फ्रान्सको बजारले धानेको छ । नेपाली गार्मेन्टको बजार कति फैलि इसकेओ छ फ्रान्समा भने सन् १९९५ मा यहाँ १५ जना थिए थोक बिक्रेताहरु । अहिले ५०० भन्दा बढि छन् । इन्टरनेट आएपछि मानिसहरुले कहाँ के छ, के कसरि ब्यापार गर्न सकिन्छ भन्ने जान्न बुझ्न सजिलो भयो ।
फ्रान्समा नेपाली गार्मेन्टको फेसन भ इरहेछ । हरेक शहरमा नेपाली गार्मेन्ट बेच्नेहरु छन् ।
समस्या के भने यहाँपनि आर्थिक मन्दीको असर शुरु भैसकेको छ । मेरो पेरिसको रेपुब्लिक भन्ने ठाउँमा जसु भन्ने नेपाली गार्मेन्टको थोक बिक्रि गर्ने पसल छ । पेरिसकै अर्को ठाउँमा नेपालय भन्ने खुद्रा पसल छ । मेरो फ्रान्सका करिब सात सय पसलेसित सम्पर्क छ । तर अहिले ब्यापार घटेको छ । पहिले ५० वटा किन्नेले अहिले १० वटा मात्रै किन्छन् ।
गार्मेन्ट कस्तो ब्यापार हो भने यसमा धेरैले काम पाउँछन् । बुन्ने, सिलाउने, रंग लगाउने, पोका पार्ने, सुकाउने गर्दा धेरै मानिस चाहिन्छ । नेपालमा त्यो सबै गर्न मैले नै एक हजार ७०० मानिसलाई रोजगारी दिएको छु । नेपालका २२ वटा कंपनीसित काम गर्छु । गत साल मैले १० करोडको सामान नेपालबाट किने भए यसपाली सात करोडमात्रै खरिद गर्दा पनि त्यहि अनुसार काम घट्छ । मेरो यहाँ ब्यापार कम भएपछि मैलेपनि सामान कम ल्याउँछु । मैले सामान कम मगाउनासाथ त नेपालमापनि कामदारको माग घट्ने भयो । मेरो मात्रै नभएर अरुकोपनि त्यसैगरि घटिरहेको छ । ५० लाख लैजानेले ५० जना कामदार लगाउँछ भने २० लाख मात्रै किन्दा त २० जना मात्रै भए पुग्छ ।
पेरिसको वडा नं ५ कहिल्यै ब्यापार नघट्ने ठाउँ हो भनिन्थ्यो । अहिले त्यहि वडामापनि रेस्टुरेन्ट क्षेत्रमा २० देखि २५ प्रतिशत ब्यापार घटेको बैंकिङवालाहरुले बताएका छन् । त्यसैले, अहिले फ्रान्सको ब्यापार सबैतिर सुरक्षात्मक अवस्थामा छ ।
हामीलाई यहि बेलामा चिनियाँ सामानले गर्दापनि मार परेको छ । चिनियाँ सामान संसारभरि फिँजिएको छ । हामीले थोक मा सात, आठ यूरोमा बिक्रि गरेको सामान खुद्रा पसलेले ३० यूरो जतिमा बेच्छन् । तर त्यस्तै सामान अहिले चिनियाँहरुले दुई, तिन यूरोमै दिन थालेका छन् ।
–रबीन शर्मा ओली, सञ्चालक, समा द हिमालय (हिमाली मार्ग) रेस्टुरेन्ट, इभ्री, फ्रान्स
अहिले ग्राहक त स्वात्तै घटेका छन् । पहिले ६० देखि ७० जना आउनेमा घटेर ४० देखि ४५ मा झरेको छ । हाम्रो ब्यापार पहिलो वर्षको तुलनामा दोब्बर तेब्बर हुनुपर्ने थियो । तर गत सालको तुलनामा घट्यो । आर्थिक मन्दीले सबलाई छोयो । ग्राहकहरुपनि पहिले महिनामा चार पटक खान आ उनेहरु तिन पटक, दुई पटक, एक पटक गर्दै घटेका छन् । ठुला रेस्टुरेन्टहरुमा कामदार हटाउने, काम घटाउने भैरहेको छ । धेरै नेपालीहरु रेस्टुरेन्टमा काम गर्ने हुनाले असर त अवस्यै पर्छ ।
–घनश्याम पौडेल, सञ्चालक, श्री गणेश रेस्टुरेन्ट, पेरिस
मेरो रेस्टुरेन्ट ले सन् २००८ सम्मकालागि फुर्सेत् दोर् (सुनको काँटा) पुरस्कार पाएको हो भारतीय परिकारमा पेरिस शहरमा उत्क्रिष्ठ भएर । रेस्टुरेन्टपनि पेरिसका हुनेखाने र स्तरिय भनिने वडामा छ । कुबेतमा हमला भएका बेला फ्रान्सपनि संलग्न थियो । त्यतिखेर आर्थिक संकट खुब बेहोर्यो फ्रान्सले । त्यो बेला मानिसहरु निकै आत्तिएका थिए । तैपनि हाम्रो ब्यवसायमा त्यति अप्ठेरो परेन । राम्रैसित धानियो । हुनत अहिलेपनि हामीलाई संकटनै त परेको छैन । तरपनि खान आउने ग्राहकहरुपनि जति आउँछन् तिनले पनि धक नमानी मन फुकाएर खाने गर्दैनन् । आर्थिक मन्दीको असर अहिले राम्रैसित पर्न थालेको छ ।
–शोभा मैनाली, एनआरएन फ्रान्स, महिला समूह संयोजक
मेरो ब्यक्तिगत अनुभव र मूल्यांकनमा अहिलेको आर्थिक मन्दीले बेस्सरि छोयो । लगाउने र नभएपनि हुने वस्तुहरुमाथि नियन्त्रण गर्दै छन् । खर्च घटाएका छन् । काम पटक्कै पाईदैन । हाम्रै नेपाली दिदी बहिनीहरुपनि बेरोजगार बनिरहेका छन् । पहिले बैकल्पिक पेशा र अन्य पेशातिर लागौं भनेर तालिम खोज्दा सजिलै पाइन्थ्यो । अहिले त तालिम लिनपनि पाइदैन । भएकालाईपनि निकालेका छन् ।
–जिवनप्रकाश श्रेष्ठ, कार्यवाहक राजदूत, नेपाली दुतावास,पेरिस
यहाँको अर्थिक मन्दीको असर बारे पूर्णरुपमा जानकारिपनि भएको छैन । व्रिस्तित रुपमा नेपलीहरुले त्यस्तो खुलाएकापनि छैनन् । आर्थिक मन्दीले नेपाल जाने रेमिटेन्समै असर परेको त जानकारि छैन । तर मैले सम्पर्क गरेका र केहि नेपाली ब्यापारीहरुसित भएको कुराकानीबाट के थाह भएको छ भने ब्यापारमा प्रभाव परेको छ । ब्यापार घट्दो छ भन्ने जानकारि भने हामीलाई छ ।
जनाआस्था साप्तहिकमा प्रकाशित यसैसित संबन्धित रिपोर्ट-
विदेश बस्ने नेपालीका पछिल्ला व्यथा
फ्रान्सको राजधानी पेरिसको मुटुमै ‘जसु‘ भनिने नेपाली गार्मेन्टको थोक बिक्रेता पसल खोलेर बसेका छन्– विनोद ओझा । उनको थोक पसलले फ्रान्सका करिब सात सय खुद्रा व्यापारीलाई नेपाली गार्मेन्टका सामान बिक्री गर्दै आएको छ । पेरिसको पाँचौं वडा व्यापारका लागि यति गनिन्छ कि त्यहाँ कहिल्यै व्यापार घट्दैन भन्ने जनविश्वास छ । उनको पसलमा पनि त्यसैगरी, सधैं भिडमभिड लाग्ने गथ्र्यो । उनको त्यसबाहेक पनि पेरिसको अर्को वडामा खुद्रा पसल छ । र, उनले नाम राखेका छन्– नेपालय । तर, फ्रान्सका सयौं खुद्रा व्यापारीको पहिलेझैँ अहिले उनको पसलमा भीड लाग्दैन । त्यसको कारण हो– ‘विश्वव्यापी रूपमा देखिएको मन्दी ।‘
अहिले थोक मात्रै होइन, खुद्रा पसलमा पनि बिक्री घटिरहेको छ । उनी भन्छन्, ‘पहिले–पहिले ५० वटा सामान लैजानेले अहिले दसवटा लाने गरेका छन् । यो अवस्था अझ खस्केलाजस्तो देखिन्छ ।‘ व्यापारी विनोद ओझाको भनाइमा विश्वभरिकै गार्मेन्ट पेरिसमा आधारित छ । ठमेलको गार्मेन्ट त पूरै फ्रान्सले धानेको छ । सन् १९९५ मा करिब १५ जना मात्रै नेपाली गार्मेन्टका थोक विक्रेता थिए फ्रान्समा । अहिले त्यसको संख्या पाँच सयभन्दा बढी पुगिसकेको छ । फ्रान्समा नेपाली गार्मेन्टको फेसन नै भइरहेको छ । फ्रान्सका हरेक सहरमा नेपाली गार्मेन्ट विक्रेता गइसकेका छन् ।
तर, अहिलेको आर्थिक मन्दीले यहाँका व्यापारीलाई मात्रै होइन कि त्यसले नेपालका कामदार र साना व्यापारीदेखि उत्पादकसम्मलाई असर पारिरहेको छ । किनभने फ्रान्सेली बजारमा त्यसको माग कम हुनासाथ नेपालबाट पनि गार्मेन्ट स्वतः कम मात्रामा आउ“छ । ५० लाखको माग गर्दा ५० जनाले काम पाउने गरेकोमा २० लाखको मात्रै नेपालबाट खरिद हुँदा काम गर्नेको संख्या पनि २० जनामा र्झछ । ओझाको मूल्यांकनमा अहिले फ्रान्सको गार्मेन्ट बजार सुरक्षात्मक अवस्थामा छ ।
गार्मेन्ट आफै“मा यस्तो उद्यम हो कि यस क्षेत्रमा धेरैले काम पाउँछन् । तान लाउने, बुन्ने, सिलाउने, पोका पार्ने, रंगाउने आदि कामका लागि निकै कामदार खपत हुन्छन् । त्यसैले यहाँको बजारमा माग घट्नासाथ सीधै त्यसको असर नेपाली कामदारसम्म पुग्छ । ‘मैले कम्तीमा सत्र सय मानिसलाई काम लगाउँथें । २२ वटा नेपाली कम्पनीसित काम गर्थें । तर, यहाँको बजार यसैगरी खस्कँदै जाने हो भने सबैलाई कसरी काम दिने ?’ आफैँ प्रश्न गर्छन्, उनी ।
आर्थिक मन्दीले गार्मेन्ट बजारमा मात्रै होइन कि यहाँका अन्य व्यापारीमा पनि दिनदिनै असर पारिरहेको छ । पेरिस सहरबाहिर एसोन क्षेत्रमा समेत द हिमालय रेस्टुरेन्ट खोलेका रविन शर्मा ओली पनि आर्थिक मन्दीको असरबाट अछुतो छैनन् । अहिले रेस्टुरा“ व्यवसाय पनि आर्थिक मन्दीको मारमा परेको छ । उनको भनाइमा कतिपय रेस्टुरेन्ट बन्द भएका छन् त कतिपयमा कामदार निकालामा परेका छन् । थुप्रै रेस्टुरेन्टले काम गर्ने अवधि घटाएका छन् । ‘महिनामा चारपटक आएर खानेहरू विस्तारै एकपटक आउन थालेका छन् । खाने मानिस नै नआएपछि हामी पनि कसरी नेपाली कामदार राख्न सक्छौं र ?’ ओलीले भने ।
पेरिसमा श्री गणेश रेस्टुरेन्टका सञ्चालक घनश्याम पौडेलको भनाइप्रति ओलीसँग समान छ । चौतर्फी फैलिएको आर्थिक मन्दीले नेपालीका रेस्टुरेन्टलाई छाड्ने कुरै छैन । एक त रेस्टुरेन्टमा ग्राहकको संख्या घटिरहेको छ । अर्को आएका ग्राहकले पनि मन फुकाएर खाने गर्दैनन् र आएकाबाट पनि पहिलेझैं व्यापार हुन छाडेको छ । ‘पहिलेजस्तो कहाँ हो र ? अहिलेका ग्राहक त आए पनि ढुक्कसित मन फुकाएर खाँदैनन्,’ पौडेलले भने । मन्दीको असर हुँदाहुँदा नेपालमा समेत घरघरमा भित्रिरहेको छ । एनआरएन फ्रान्सको महिला शाखाकी संयोजक शोभा मैनालीका अनुसार आर्थिक मन्दीले नेपाली महिलालाई पनि असर पारिरहेको छ । नेपाली महिला बेरोजगार भइरहेका छन् । बेरोजगार महिला सीपमूलक तालिम लिएर वैकल्पिक पेसा अपनाउन खोज्छन् । तर, त्यही तालिम पाउन पनि हम्मे–हम्मे परिरहेको छ । भएकालाई पनि निकाला गरेकाले नेपाली महिलाले समेत त्यसको मार खेप्नुपर्ने अवस्था छ । ‘जागिर पाउन त परैजाओस्, अहिले त अर्को पेसा गरौं न त भनेर तालिम खोज्दा पनि पाइने अवस्था छैन । त्यसैले नेपाली दिदी–बहिनीलाई पनि असर पारिरहेको छ,’ मैनालीले भनिन् ।
आर्थिक मन्दीले नेपालीलाई पारेको असरका बारेमा सरकार अनभिज्ञ भने छैन । तर, त्यसलाई सुल्झाउन सक्ने उपाय पनि छैन । नेपाली दूतावास पेरिसका कार्यवाहक राजदूत जीवनप्रकाश श्रेष्ठका अनुसार आर्थिक मन्दीले कहा“ कसरी असर पार्यो भन्ने विस्तृत जानकारी नभए पनि नेपाली व्यापारी प्रभावित भएका छन् । ‘नेपाली कामदारलाई कत्तिको असर परेको छ भन्ने यकिन त छैन, तर रेस्टुरेन्ट र अन्य नेपाली व्यवसायीलाई असर परेका रिपोर्ट भने आइरहेका छन्,’ श्रेष्ठले भने ।
(साभार-जन आस्था साप्ताहिक, ३० वैशाख २०६६) ।



