ईतिहासकै नालायकलाई प्रधानमन्त्रीको प्रस्ताव !
दुनियाँलाई थाह छ, नेपाल गत डेढ दशकमा सबैभन्दा बढि आर्थिक र राजनितिकरुपमा जर्जर बनेको हो । भ्रष्टाचार सबैभन्दा बढि यहि समयमा भयो । सबैभन्दा बढि नागरिकको हत्या यिनै वर्षमा भए । देश आर्थिक रुपमा टाट पल्टियो । देशका सिमा यहि बेला बढि मिचिए । राष्ट्रिय उद्दोग र कल कारखाना सबै धराशयी भए । देश बिभिन्न सिरामा बिभाजित भयो । ति डेढ दशकमा अधिकांश समय नेपाली कांग्रेसले सरकार चलायो । यो अवधिमा नेकपा (एमाले) कुनै बेला देशकै सबै भन्दा ठुलो पार्टी बन्यो त कोहि बेला सरकारमा गयो । अधिकांश समय प्रमुख प्रतिपक्षी भएर बस्यो । संसदिय ब्यवस्थामा प्रमुख प्रतिपक्षीलाई आधा सरकार भनिन्छ । प्रतिपक्षीको भूमिका सकारात्मक भए सरकार सहि बाटोमा चल्छ भन्ने विश्वास गरिन्छ ।
त्यहि प्रतिपक्षी दलको सर्बोच्च नेता माधव कुमार नेपाल थिए। उनले नेकपा एमालेलाई सहि दिशा दिएको भए नत नेपाली कांग्रेसले देशलाई त्यो हबिगमा पुर्याउन सक्ने थियो नत एमाले पार्टी खिइएरै अहिलेको तेस्रो दलका रुपमा थचारिनुपर्ने थियो । नेपालको संसदिय ब्यवस्था त्यति बिघ्न गन्हाउने थिएन । आर्थिकरुपमा देश टाट पल्टने थिएन । तर एमालेले त्यसलाई रोक्न त परै जाओस, जनतालाई सिटामोल निशुल्क दिने निर्णय गराउन नसक्दापनि मन्त्री र सांसदलाई करोडौ पर्ने बिलासी गाडी र महँगो भत्ताको व्यवस्था गर्यो । देश बिदेशको सयर र भ्रष्टाचार एमालेका अंग बने । महँगी आकाशियो । आतंककारि कानुनका नाममा हजारौं निर्दोश नागरिक मारिए । नेताका छोराछोरी र आफन्त जति बिदेश पुगे। यो सबै बिक्रिति र बिसंगतीका जिम्मेवार एक प्रमुख पात्र नेकपा (एमाले) का तत्कालिन महासचिव माधव कुमार नेपाल थिए । अहिले ईतिहासका यिनै एक नालायकलाई प्रधानमन्त्रीका रुपमा नेकपा (एमाले) ले प्रस्ताब गरेको छ । डेढ दशकसम्म नेत्रित्व लिएर देशलाई अहिको भड्खालोमा खसाल्न प्रमुख भूमिका खेलेका तिनै असफल पात्रलाई फेरि देशको प्रधानमन्त्रीमा प्रस्ताब गरेर एमालेले गर्न खोजेको के हो ? देशलाई अझ खाडलतिर लैजाने ? राष्ट्रलाई अझ अनिर्णयको बन्दि बनाउने ?
त्यति मात्रै हो र ? माधव नेपालले नेकपा (एमाले) को नेत्रित्व लिएका करिब १४ वर्ष उनी राजधानीमा बसे । आफ्नो पार्टीलाईपनि शहर मुखि बनाए । चौध वर्षसम्म राजधानी बसेर नेत्रित्व लिएका उनी आफैंले गत संबिधान सभाको निर्वाचनमा जित्न सकेनन् । नत आफ्नै ग्रिह जिल्लावासीले उनलाई पत्याए । उनी दुबै ठाउँका जनताबाट तिरस्क्रित भए । जिन्दगिभर रोल्पाका डाँडा पाखा चहारेर हिँडेको एकिक्रित माओवादीको सामान्य कार्यकर्ता झक्कुप्रसाद सुबेदीलाई जत्तिपनि राजधानीकै जनताले पत्याएनन् उनलाई । चौध वर्ष आफ्नै आँगन टेकेर राजनिति गरेको त्यत्रो पार्टी प्रमुखलाई अर्को पार्टीको सामान्य कार्यकर्तालाई जतिपनि विश्वास नगर्नुले उनी कति गिरेका रहेछन् जनताको मन बाट भन्ने यसै प्रष्ठ हुन्छ । स्थानियस्तरमा संगठन कति धराशायी बनेको रहेछ भन्ने बुझिन्छ । उनको नेत्रित्व क्षमता कति असफल रहेछ भन्ने त्यो भन्दा अर्को प्रमाण खोजिराख्नु पर्छ र ?
अहिले देश ईतिहाँसको झन सबैभन्दा बढि चुनौतिपूर्ण अवस्थामा छ । यस्तो अवस्थामा देशले स्पष्ठ द्रिष्टिकोण, नेत्रित्व क्षमता, दूरदर्शी र जनपरिक्षामा उत्तिर्ण सक्षम नेता खोजेको छ नकि ईतिहासमा पटकपटक जनताद्वारा मिल्काईएका नेता । माओवादी सरकारबाट हटेको, उसका अन्य समर्थकले आफ्नो विश्वास फिर्ता लिएको अवस्था छ । संसदमा एमालेलाई अन्य दलले विश्वासको मत दिन्छन् र उसले बहुमत पुर्याउँछ भने सरकार बनाउन पाउनुपर्छ नै । नेपाली कांग्रेसले भन्दा एमालेले राम्रो बिकल्प दिनपनि सक्ला । किनभने वामपन्थी भएकालेपनि उसले माओवादीलाइ विश्वासमा ल्याउन सक्ने संभावना बढि छ । त्यसैगरि अन्य झिना मसिना दलहरुलेपनि एमालेलाई समर्थन दिन सक्छन् ।
तर कम्सेकम जनताले मत दिएका, पत्याइएका र जन निर्वाचनको परिक्षामा उत्तिर्ण अन्य कसैलाई उम्मेदवार बनाएको भए अवश्यै देश, जनता र एमाले पार्टीकैलागिपनि राम्रो हुँदो हो । त्यस्ता नेता एमालेमा नभएका होइनन । अवश्यै छन् । तर अहिलेको कठिन र चुनौतिपूर्ण अवस्थाको नेत्रित्व इतिहासमा पटक पटक असफल नेतालाई सुम्पन खोज्नुले एमाले कि त अहिलेको कठिन अवस्था प्रति पर्याप्त मात्रामा संबेदनशिल छैन भन्ने देखाउँछ । कि त एमालेमा देशको नेत्रित्व लिन सक्ने सक्षम नेताको अभाव । वा सहि नेता छनौटमा कमजोरी । होइन भने ईतिहासमा सधैं असफल र यस्ता नालायकलाई भावि प्रधानमन्त्रीमा प्रस्ताब गर्नुको कारण के ?




