अतित देखि वर्तमानसम्म डा भट्टराई र जन्मिएको नयाँ शक्ती
३० जेठ मा बडो तामझाम का साथ नयाँ शक्ति नामकरण भएको नयाँ पार्टीको जन्म हुने भयो, नयाँ शक्तिका अभियन्ताको रूपमा प्रथम संबिधान सभाको निर्मम हत्या गर्ने तत्कालिन बाहुबली पूर्व प्रधानमन्त्री भट्टराई देखिएता पनि अदृश्य सहयोग बिना यत्रो ठुलो तामझाम असम्भव छ । अबको निकाश, आर्थिक विकाश “ को नाराका साथ मैदानमा उत्रिएका बाबुरामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नारा “सब का साथ,” सब का विकाश संग नक्कल गरेको प्रतित हुन्छ ।
विडम्बना के छ भने नयाँ शक्तिका अभियन्ता बाबुराम भट्टराईले अतितमा गरेको महाभूललाई कहिले पनि स्वीकार गरेनन साथै प्रायश्चित गर्ने प्रयाश पनि गरेनन । माओवादी जनयुद्ध कालमा १७ हजार भन्दा बढीको रगत बगाएर त्यसको जिम्मेवारी लिन्न भनि भाग्न मिल्छ ? यो चाहिँ कुन दर्जाको नौटंकी हो ? छोराछोरी बिग्रिए तिनीहरूलाई चटक्कै सडकमा फालेर अर्को बिवाह गर्नतर्फ लाग्ने कि यसमा मेरो पनि केही दोष होला भनेर सच्याउने कुरा सहि हो त्? दोष बाबुरामको मात्र हो भन्नु बिल्कुलै मिल्दैन तर “प्रचण्डसँग घाँटी जोडेर हिँडने बाबुराम पनि हो कि हैनन ?” तत्कालिन एमाओवादी पार्टी हाल माओवादी केन्द्रलाई यहाँसम्म ल्याइपुर्याउने बाबुराम होइनन भन्न मिल्छ ? तत्कालिन एमाओवादीका अध्यक्ष प्रचण्डपछि सेकेण्ड म्यानको भूमिका खेल्ने बाबुराम भट्टराई हो कि होइनन् । पार्टी बिग्रिनुमा प्रचण्ड जति जिम्मेवार छन्, त्यो भन्दा कम्ता जिम्मेवार छैनन बाबुराम भट्टराई, अनि अहिले आएर भाग्न मिल्छ ?”।
द्वन्द्वकालिन मुद्दाले तर्सिएका छन् माओवादी कार्यकर्ताहरू । कतिपय जेलमा छन्, कैयौं वेपत्ता छन् । हिजो बाबुराम भट्टराई प्रचण्डकै भाषण सुनेर, उनीहरूले देखाएको सपना बोकेर जनयुद्धमा लागेकाहरू अहिले अंगभंग छन्, परिवारका सदस्यहरू गुमाएका छन् । आफूले रोपेको बीउको फल जे जस्तो भएपनि त्यसको जिम्मेवारी बाबुराम भट्टराईले भने लिनैपर्ने थियो । तर उनी भगौडा बनेर भागे । सोझा साझा गरिब निमुखा अपहेलित उत्पीडित जनतालाई मझदारमा छोडेर आफैले समग्र सिर्जना गरेको सुन्दर संसारबाट भागे । अहिले आएर कार्यकर्ताहरूले मुद्दा खेपिरहँदा बरू प्रचण्डले सगर्व घोषणा गरे– सर्वोच्च कमाण्डरको नाताले सबै घटनाको जिम्मेवारी म आफैं लिन्छु । तर बाबुराम भट्टराई ? उनलाई नयाँ शक्ति आर्जनबाट फुर्सद छैन । प्रश्न छ नयाँ शक्ति के का लागि र कसका लागि ? लासका चाङहरू आफ्नै विचारले सिर्जिएका थिए र त्यसका लागि आफू पनि जिम्मेवार रहेको कुरा उनी स्वीकार्दैनन् । यो हद सम्मको दर्जाको स्वार्थीपन, लुच्चोपना बाबुरामले देखाएका छन् । बाबुरामले लाखौं मानिस आफू पछि लगाउलान आर्थिक क्रान्तिको नाममा । हिजो पनि उनले लाखौंको आदर्श बन्ने कोशिस गरेकै हुन राजनीतिक क्रान्तिको नाममा । तर अलिकति पनि लज्जाबोध र राजनीतिक इमान्दारिता नभएका बाबुराम भट्टराईले यो अहिलेको नयाँ शक्ति कति दिन टिकाउलान ? त्यो चाहिँ भन्न सकिन्न । सफलताको स्वामित्व लिने र बिग्रे भाग्ने बाबुराम भट्टराई प्रवृत्तिलाई ती हजारौं हजार बलिदानको स्वामित्व बोकेकाहरूले भने कदापी माफी दिन सक्दैनन् ।
स्मरण रहोस धेरै पटक रामचन्द्र पौडेल तथा प्रचण्ड प्रधानमन्त्री चयनका निम्ति भएको चुनावमा मधेशी दलको अनुपस्थिति तथा विरोधका कारण बहुमत नपुगेर प्रधानमन्त्री चयन हुन सकेन । बाध्य भएर माओवादीद्वारा सर्वसम्मतिले बाबुरामको नाम प्रस्तावित गर्यो । बाबुराम भट्टराईलाइ प्रधानमन्त्रिको उम्मेदवार बनाउन साथै हिजो सम्म काँग्रेस माओवादी दुवै पार्टीमा मधेशीलाइ हेर्ने दृस्टीकोण समान रहेको भनि प्रधानमन्त्री चुनाव बहिस्कार गर्ने मधेशी दल रहश्यमय ढंगले गोलबन्द भएर बाबुरामको पक्षमा मत दिदा बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भए गर्यो । संयोग नै भन्नु पर्छ बिहारी मूलका भारतीय राजदूत जयन्त प्रसादको आगमन भएको दुइ दिन भित्र प्रधानमन्त्री चुनावमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाइ पराजित गर्दै चमत्कारिक ढंगले बाबुराम भट्टराई नेपालको प्रधानमन्त्रि बन्न पुगे । बाबुराम भट्टराई प्रधानमन्त्री हुनुमा स्वयम् बाबुराम अथवा मधेशी दलको श्रेय हो कि जयन्त प्रसाद को हो यो सर्वविदित नै छ ।
१९४७ पछिको स्वतन्त्र भारतले कहिल्यै पनि सार्वभौम र स्थिर नेपाल नचाहेको छर्लङ्ग देखाउँछ । नेपालमा जहिल्यै भारत आफ्नो वर्चस्व चाहन्थ्यो । उसलाई नेपालमा बहुदलीय शासन प्रणाली संस्थागत कहिले पनि पाच्य थिएन । २०४६ सालपछि बहुदलीय व्यवस्थाले जेनतेन खुट्टा टेक्न लागेकै वेला भारतले नेपालमा हमेशा कुनै न कुनै प्रकार बिभिन्न रूपमा प्रयोग गरि नै रह्यो । नेपाल स्थिर भए विकशित भए भारतको अभिस्ट पुरा नहुने देखेर भारतले जहिले पनि अस्थिरताको माहौल खडा गरेर आतंक सिर्जना गर्ने प्रयत्न गरि रह्यो । सत प्रतिशत नेपाली जनताको आकांक्षा समेटिएको नभएता पनि बहुसंख्यक नेपालीको सहमतिमा जारी संविधानमाथि बेखुशी जनाउँदै छिमेकी भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो र आफूहरूलाई मधेशीहरूको प्रतिनिधि दाबी गर्ने समूहले मुलुकमा अस्थिरता मच्चाएको वेला बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्यागको गर्ने घोषणा गर्नु अर्थपूर्ण थियो ।
आफ्नो प्रधानमन्त्रीत्वकालमा संविधान जारी गर्न मात्र सकेका भए पनि भट्टराईमाथिका सारा गल्ती माफ गर्न सकिन्थ्यो र इतिहासमा उनले त्यो स्वर्ण अवसर पनि पाएका थिए तर नेपाल र नेपाली जनताको दुर्भाग्य नै भन्नु पर्छ बाबुराम भट्टराईको दुईवटा रूपले यो संबिधान निर्माणको सपना सफल हुन् सकेन । इतिहासमा कमै मान्छेलाई मात्र दोस्रो मौका हात पर्छ । प्रथम संविधानसभाले मृत्युवरण गरेपछि पहिलेका केवल दुई पात्र बाबुराम भट्टराई तथा सुभाष नेम्बाङलाइ प्रथम संबिधानसभाको निर्मम हत्याको कलंकलाई पखाल्ने भाग्य जुरेको थियो । दोस्रो पटक सभाध्यक्ष भएका सुवास नेम्वाङ पछिल्लो अवधिमा परिपक्व देखिए र केहि हद सम्म कलंक पखाल्न सफल भए तर बाबुराम भट्टराईको दुर्भाग्य उनले संबिधान निर्माणको विरोध गरेर आफ्नो छद्मभेषी रूप आफै उजागर गरे । सहमति तथा संवाद समिति जस्तो महत्वपूर्ण संयन्त्रको सभापति बनेका भट्टराईले उही ढुलमुले पारा देखाए । अन्ततः आफैंले हस्ताक्षर गरेको संविधानसमेत आत्मसात् गर्न सकेनन् ।
याद रहोस आफ्नो प्रधानमन्त्रीत्वकालमा भट्टराईले संबिधान निर्माणमा उदासिनता देखाए । तर भारत रिझाउन कुनै कसर बाँकी राखेनन् । मोहन वैद्य र पुष्पकमल दाहालबाट छुट्टिएर उनी दशगजामा नेपालविरुद्ध नाकाबन्दीका लागि धर्ना बस्ने राजेन्द्र महतो र उपेन्द्र यादवहरूको गठबन्धनमा पुगेका छन् । ‘सत्ताको साँचो अन्त कतै छ’ भन्ने भट्टराईले भारतसँग बिप्पा सम्झौताको ‘जुवा’ खेले भनि अभिव्यक्ति दिएर नेपाललाइ द्रोपदी बनाए । भारतीय यात्रुवाहक वायुयानमा एअर मार्शल राख्ने अनुमतिसम्म दिए । क्षुब्ध माओवादीभित्रकै मोहन वैद्य समूहले उनीद्वारा २०५२ सालमा देउवालाई बुझाइएको उही ४० बुँदे ज्ञापनपत्र लागू गरेर देखाउन चुनौती समेत दिएका थिए । प्रधानमन्त्री बाबुरामलाई पाँच वर्षको समयावधी दिए नेपाललाई विहार बनाइदिने जस्ता दिगभ्रमित कुराको चर्चा गरेर संबिधान निर्माणमा अग्रसरता देखाउनुको सट्टा नेपली जनतालाई दिशा मोड्ने प्रयत्न गरे । बाबुराम भट्टराईले नेपाललाई विहार बनाउने कुरा त अघि सारे नितीस कुमार नेतृत्वको प्रगती पथमा अग्रसर समृद्ध विहार हो की, अपहरण, फिरौतीको कारखाना र अराजकतामा प्रसिद्धी पाएका लालु नेतृत्वको बिहार बनाउने कुरा गरेका थिए बुझ्न सकिएन ।
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा कुटनैतिक मर्यादाको उलंघन गर्दै मुख्यमन्त्री नितिश कुमारलाई भेट्न जाँदा समृद्धीतर्फ उन्मुख विहार बनाउने दिक्षाप्राप्त गर्ने उद्देश्यले गएका हुन् भनी नेपाली जनताले सोचेको थिए । नितीश कुमारको प्रथम मुख्य मन्त्रीत्व कालजस्तै सडक फराकिलो अभियान, कर प्रणालीमा सुदृढीकरण, अनुगमनजस्ता कार्यको थालनी गरेर बाबुरामले प्रशंसा बटुलेका थिए । तर बाबुरामको अभियान भित्र लुकेको अर्थ चलखेल समृदि नेपालको निर्माण नभई समृद्ध परीवार बनाउने रहस्य उजागर हुदै गयो । नितिश कुमार र बाबुराम भट्टराईमा भिन्नता के थियो भने नितिश कुमारको अभियानमा सत्यताका साथ समृद्ध विहार बनाउने लक्ष थियो, नितिश कुमारद्वरा समृद्ध विहार बनाउने महत्वकांक्षी अभियानमा कसैसंग कुनै प्रकारको अबान्छित सम्झौता गरेनन् । फलस्वरुप निसकलंक, परिवारवादबाट टाढा नितिश कुमारलाई विहारी जनताले समृद्ध विहार निर्माण हेतु पुनः विशाल बहुमत दिएर पाँच वर्ष कार्यकाल थपको मोहर लगाए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बाबुराम भट्टराई पत्नी हिसीला यमीद्वारा छायाँ प्रधानमन्त्रीको रूपमा विभिन्न नियुक्ति तथा टेन्डरबाट अर्थ संकलन गर्ने चलखेलका समाचार सार्वजनिक हुन थाले । त्यस्तै माओवादि सहयोगी मधेसवादि दलका मन्त्रीहरू निर्धक्कका साथ दुई हातले ब्रह्म लुट गर्न ब्यस्त देखिए । नेपालमा मचिएको ब्रह्म लुटलाई रोक्न सक्ने क्षमता कसैमा थिएन । बाबुराम भट्टराई नेतृत्वको सरकारद्वारा पदमुक्त पश्चात सर्वोच्च अदालतको अन्तरिम आदेशद्वारा थमौती भएका उपत्यका विकास आयुक्त केशव स्थापीतद्वारा प्रधानमन्त्री पत्नी हिसीला यमी र उनका सचिवको द्रब्य मोह एवं अर्थ संकलनका कुरा तथ्य प्रमाण सहित सार्वजनिक रूपमा ोकेर बयान गरीरहे तर केशव स्थापीतद्धारा प्रधानमन्त्रीको गरीमा माथि आँच आउने आरोप को सत्य तथ्यका साथ खण्डन गर्दै प्रस्तुत हुनुको सट्टा बाबुरामद्धारा मौनता धारणले ब्रह्मलूट को यथार्थ लाइ स्वीकार गरेको पुष्टि हुन्छ । समग्रमा भन्नु पर्दा प्रधानमन्त्री बाबुरामको छद्मवेषी अभियान को नेपाली जनतासामु पोल खुल्दै गयो । नेपाली जनताले बुझीसकेका थिए वास्तवमा बाबुरामद्धारा नितिश नेतृत्वको प्रगती पथमा विहार नभई लालु यादव पत्नी राबड़ी देवी , साला साधु, सुवास यादवको हाली मुहाली, यादववादको हैकम, फिरौती, अपहरण र बाहुबलीको बोलबालामा प्रसिद्धि पाएका लालुराजका विहार बनाउन खोजका हुन् । बाबुराम सरकारको हैकमवादि शैली, लालु पथका अनुयायी मधेसवादि मन्त्रीहरुको ब्रह्मलुट ले गर्दा नेपाल बाबुराम र मधेसवादि दलको भागवण्डामा नेपाल काले काले मिलेर खाँउ हाले उखान चरीतार्थ भएको थियो |
अन्तमा नया शक्ति का अभियन्ता तत्कालिन संयुक्त जनमोर्चाका अध्यक्ष बाबुराम भट्टराईले २१ माघ २०५२ का दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र थमाउँदै माग सम्बोधन नगरिए सशस्त्रयुद्ध छेड्ने चेतावनी दिएका थिए | यदि नया शक्ति ले उल्लेखित ४० बुदे सम्झौता मध्ये १ देखि बुदा नम्बर ९ सम्म लागु गराउन अटल अडिग भए निश्चित रुपमा नया शक्ति उदयमान शक्ति बन्ने छ नत्र भने अदृस्य शक्ति को इशारा मा नेपाल अस्थिर बनाउन खोज्ने चण्डाल चौकड़ी साबित हुने छ |
१. सन् १९५० को नेपाल-भारत सन्धि लगायत सम्पूर्ण असमान सन्धि-सम्झौताहरू खारेज गरिनुपर्दछ ।
२. २०५२ साल माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धी अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकाले उक्त सन्धी तत्काल खारेज गरिनु पर्दछ।
३. नेपाल-भारत खुला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ। नेपालभित्र भारतीय नम्बरप्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनु पर्छ।
४. गोरखा भर्ती केन्द्र रद्द गरिनुपर्छ र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्छ।
५. नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारहरूलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारहरूलाई काममा लगाउनु पर्दा वर्क परमिट प्रथा लागू गरिनु पर्छ।
६. नेपालको उधोगधन्दा, व्यापार र वित्तीय क्षेत्र एकाधिकार पूँजीको आधिपत्य अन्त्य गरिनुपर्छ।
७. आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्छ।
८. साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ। देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ।
९. एन जि ओर आई एन जि ओ आदिको नाउँमा देशभित्र साम्राज्यवादी-विस्तारवादी घुसपैठको अन्त्य गरिनुपर्छ।
१०. जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निमिक्त चुनिएका जनताका प्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गरिनुपर्छ।
११. राजा र राजपरिवारको सबै विशेषाधिकार अन्त्य गरिनुपर्छ।
१२. सेना, प्रहरी, प्रशासन पूर्णरूपले जनताको नियन्त्रणमा हुनुपर्छ।
१३. सुरक्षा ऐन लगायतका सबै दमनकारी ऐनहरू खारेज गरिनुपर्छ।
१४. राजनीतिक प्रतिशोधका कारण झुठ्ठा मुद्दामा फसाइएका रूकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछापलगायत जिल्लाहरूका वन्दीहरू तत्काल रिहा गरिनुपर्छ र सबै झुठ्ठा मुद्दाहरू खारेज गरिनुपर्छ।
१५. जिल्लाजिल्लामा भइरहेको सशस्त्र प्रहरी अपरेशन, दमन र राज्य आतंक तुरून्त बन्द गरिनुपर्छ।
१६. विभिन्न समयमा पुलिस हिरासतबाट बेपत्ता पारिएका दिलीप चौधरी, भुवन थापा मगर, प्रभाकर सुवेदीलगायतका व्यक्तिहरूको बारेमा निष्पक्ष छानविन गरीअपराधीहरूलाई कडाकारवाही गरिनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनुपर्दछ।
१७. जनआन्दोलनको क्रममा मारिएकाहरूलाई शहिद घोषणा गरिनुपर्दछ, शहिदका परिवार तथा घाइते र अपाङ्गहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्छ र हत्याराहरूमाथि कडा कारवाही गरिनुपर्छ।
१८. नेपाललाई धर्म निरपेक्ष राज्य घोषित गरिनुपर्छ।
१९. महिलाहरूमाथिका पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ। छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिनुपर्छ।
२०. सबैखाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ।
२१. दलितहरूमाथिको भेदभाव अन्त्य गरिनुपर्छ। छुवाछुतको प्रथा पूर्णरूपले बन्द गरिनुपर्छ।
२२. सबै भाषा-भाषीहरूलाई समान अवसर र सुबिधा दिइनुपर्छ उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइनुपर्छ।
२३. वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेण्टी हुनुपर्छ। सरकारी सञ्चारमाध्यमहरू पूर्णरूपले स्वायत्त हुनुपर्छ।
२४. वुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिकर्मीहरूको प्राज्ञिक स्वतन्त्रताको ग्यारेण्टी गरिनुपर्छ।
२५. पहाड र तराइको क्षेत्रीय भेदभाव अन्त्य गरिनुपर्छ, पिछडिएका इलाकाहरूलाई क्षेत्रीय स्वायत्तता प्रदान गरिनुपर्छ गाउँ र शहरबीच सन्तुलन कायम गरिनुपर्छ।
२६. स्थानीय निकायहरूलाई अधिकार र साधनसम्पन्न बनाइनुपर्छ।
२७. जमिन जोत्नेको हुनुपर्छ। सामन्तहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ।
२८. दलाल तथा नोकरशाही पूँजीपतिहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ।
२९. सबैलाई रोजगारीको ग्यारेण्टी गरिनुपर्छ। रोजगारी नपाउञ्जेल वेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ।
३०. उधोग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्छ।
३१. सुकुम्वासीहरूलाई वसोवासको उचित ब्यवस्था गरिनुपर्छ वैकल्पिक बसोबासको ब्यवस्था नगरी सुकुम्वासीहरूलाई उठीबास गर्ने काम तुरून्त बन्द गरिनुपर्छ।
३२. गरीब किसानहरूलाई बसोबासको उचित ब्यवस्था गरिनुपर्छ। कृषि विकास बैंकबाट साना किसानहरूले लिएको मिनाहा गरिनुपर्छ। साना उद्योगीहरूलाई समुचितकर्जाको ब्यवस्था गरिनुपर्छ।
३३. मल, वीउ सस्तो र सुलभ हुनुपर्छ। किसानहरूलाई उत्पादनको उचित मूल्य र बजारको ब्यवस्था गरिनुपर्छ।
३४. बाढीपीडित र सुख्खाग्रस्त क्षेत्रहरूमा उचित राहतको ब्यवस्था गरिनुपर्छ।
३५. सबैलाई निस्शुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको ब्यवस्था गरिनुपर्छ।शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ।
३६. महंगी नियन्त्रण गरिनुपर्छ। महंगीका अनुपातमा ज्याला वृद्धि गरिनुपर्छ। दैनिक उपभोगका वस्तुहरू सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने ब्यवस्था गरिनुपर्छ।
३७. गाउँ-गाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको ब्यवस्था गरिनुपर्छ।
३८. कुटीर तथा साना उधोगहरूलाई विशेष सहुलियत र संरक्षण दिनुपर्छ।
३९. भ्रष्टाचार, कालोबजारी, तस्करी, घूसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्छ।
४०. अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाहरूको उचित संरक्षणको ब्यवस्था गरिनुपर्छ।




