‘नयाँ शक्ती’ नबन्दै पैसाको खोलो : स्रोत के ?

NAYASHAKTI

माओवादी पार्टीको अध्यक्ष बन्न नपाएर बिच्किएर भौतारिँदै हिँडेका डा बाबुराम भट्टराईको नयाँ पार्टी ‘नयाँ शक्ति’ घोषणा भैसकेकै छैन । आज घोषणा हुँदै छ । पार्टी घोषणापनि नहुँदै उनको पार्टीका नाममा उनले पैसाको खोलो बगाएर चुरिफुरि देखाएका छन् । आज उनको पार्टीका नाममा देशका सबै दैनिक पत्रिकाका मुख्य प्रिष्ठ रंगिएका छन् । उनले एकै दिन मुख्य पत्रिकाका मूल प्रिष्ठमा लाखौं खर्च गरेर बिज्ञापन दिएका छन् । घोषणानै नभएको पार्टीका लागि उनले यति धेरै किन खर्च गर्नुपर्‍यो ? के हो यो धनको स्रोत ? कसले लगनी गरिरहेछ यो पार्टीका लागि ?

आज मुख्य पत्रिकामा बाबुराम भट्टराईको अब बन्दै गरेको नयाँ शक्ति पार्टीको बिज्ञापन छ । सरकारी दैनिक अखबार गोरखापत्र बाहेक सबैजसो दैनिक पत्रिकामा लाखौं खर्च गरेर ति बिज्ञापन छापिएका छन् । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरे अनुसार कान्तिपुरमा मात्रै उनले करिब २५ लाख खर्च गरेका छन् । अन्य दैनिक पत्रिकाको बिज्ञापनको न्युनतम खर्च राखेर हेर्दापनि एकै दिन एक करोड २० लाख भन्दा बढि खर्च गरिएको छ । आज उनको नयाँ शक्ति घोषणाको लागि मञ्च सजाउन मात्रै २० लाख घोषणा नयाँ शक्ति पार्टीले गरेको छ । यो हिसाबले नारा जुलुस, पोषाक, खानपिन, यातायात, पर्चापम्प्लेट, देशका बिभिन्न शहरबाट ओसारेर काठमाडौं उतारिनेहरुको खर्च जोड्दा कति होला ?

पार्टीनै घोषणा भएको छैन उनको । उनको नयाँ शक्ति पार्टीको सञ्जाल फैलिईसकेकै छैन । त्यसैले मासिक लेबी दिने कार्यकर्तापनि पक्कै धेरै छैनन् । उनको पार्टीले ठूलो रकम उठाउन सक्ने त्यस्तो रचनात्मक काम गरेकोपनि देखिएको छैन । एकै दिनको कार्यक्रम, पार्टी घोषणाकैलागि यत्रो रकम कहाँबाट आयो ? पार्टी घोषणाकै दिन यति धेरै रकम खर्च गर्न सक्ने गरिब मुलुकको नजन्मिएको पार्टीको यो आर्थिक हैशियतको स्रोत के हो ? कसले लगानी गरिरहेछ यति धेरै यो पार्टीका लागि ? लगानीकर्ताको स्वार्थ यो पार्टीसित केमा जोडिएको छ ? प्रधानमन्त्री भैसकेका भट्टराईले यो स्रोतको मुहान के हो किन मुख खोल्दैनन् ?

कुनैपनि पार्टी प्रिय बन्न, जनमत बटुल्न उसले असल कर्म गर्नुपर्छ । जनताको सेवा गर्नुपर्छ । जनताले चिन्न सक्नुपर्छ । जनताले रुचाईने र चिन्ने त्यो पार्टीको जनता र देशप्रतिको कर्मले हो । पार्टी स्थापित गराउन जनताका दैलामा पुग्नुपर्छ । जनताका पिरमर्का बुझ्नुपर्छ । देशका आम बिपन्न जनता गाउँ र बिकटमा छन् । तर देशमा अर्थमन्त्री, प्रधानमन्त्री बनिसकेका भट्टराई शहरमा करोड भन्दा बढि खर्च गरेर चुरिफुरि देखाउँछन् । अद्रिष्य धनको चुरिफुरि देखाएर शहरमा तामझाम मच्चाउँछन् । बिकट गाउँमा दुखि नेपाली एक गोली सिटामोल र एक पोको जिवनजलको अभावमा मरिरहेका छन् । तर देश बनाउँछु भनेर नयाँ पार्टी खोल्नेले देशका मुख्य पत्रिका कब्जा गरेर करोडको बिज्ञापन दिन्छ । शहरमा अद्रिष्य धनको तामझाम देखाउँछ । यो पार्टीको स्वार्थ के हो ? कोसित जोडिएको छ ? कसले लगानी गरिरहेछ ?

तपाइँको प्रतिक्रिया