गौमाता मार्नेलाई जेल, लघार्नेलाई के ?
स्याङ्जाको भिरकोट नगरपालिका १० कोटस्वारा निवासी ५५ वर्षीया पद्मबहादुर विक गौबधको आरोपमा यतिखेर प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरीले अझ जाँचबुझ भन्दै नियन्त्रणमा राखेको छ । त्यहि जिल्ला भिरकोट नगरपालिका २ का केशव कोइरालाले उनलाई पाँच सय र केहि कोदो दिएर पाल्न दिएको खबर बाहिर आएको छ । ति गौमातालाई विश्वकर्माले कतै छोपेर काटेका थिएनन् । गाउँका बाठा कोइरालाले सोझा बिकलाई फसाएका हुन् । गौमाताको ज्यान लिने बिक कारवाहीमा पर्ने । गौमाता, लक्ष्मीलाई घरबाट निकाल्नेलाई सजायँ हुने की नहुने ?
गौमाता युवती हुन्जेल कोइरालाले उनको दुध पिए । उनको दुधले बालबच्चालाई पोषिलो खुवाए । हातगोडा बलियो बनाइदिए । गौमाता । आफ्नी माता बलियो हुन्जेल दुध पिउने । उनको सारा जिवनभर दोहन गर्ने। फाईदा लिने । उनले दिएका बाच्छा र कोरेलीहरु बेचेर दाम असुल्ने । आर्थिक हैशियत बलियो बनाउने । जब माता ब्रिद्द हुन्छिन् । उनका थुनबाट दुध झर्न छोड्छ । उनका खुट्टा लतारिन थाल्छन् । शरिरले भर पाउन्न । दाँत झरेर कलिला पालुवा खोज्छन् । त्यो बेला गौमातालाई भर चाहिन्छ । सुरक्षा चहैन्छ । हेरचाह पर्खेर बसेकि हुन्छिन् । जिवनभर आफ्ना बचेराको दुध काटेर जसलाई धनी बनाएको हो, जसलाई जिवन दिएको हो, जसका छोराछोरीलाई बलिया बनाएको हो तिनै माताले बुधेसकालमा अलिकति सुरक्षा र हेरचाहको आशा गरेकि हुन्छिन् की हुन्नन् ?
बिक गाउँका सोझा नागरिक हुन् । अशिक्षित नागरिक । उनलाई कानुनका रेखाहरु पढ्न आउन्न । राज्यले यस्ता थुप्रै बिकहरुलाई अनपढनै राखेको छ । राज्यलाई थाह छ, यस्ता विकहरुलाई जति अनपढ राख्न सक्यो उति राज्य हाँक्न सजिलो हुन्छ । ऐन र कानुनको छडीले तर्साएर राज्य चलाउन पाइन्छ, सहज हुन्छ । त्यहि कमजोरीको फाईदा उठाएर गाउँका बाठा कोइराला जस्ताले फाईदा उठाउँछन् । उठाइरहेका छन् । राज्य त्यस्तै दुखि, नबुझेका, नजानेका, सोझाहरुका लागि अझ कठोर बनिरहेको उदाहरण हो यो ।
लामो समयसम्म गाई पालेर दूध मोही खाए कोइराला परिवारले । वृद्ध भएर आफूले पाल्न नसकेपछि विक परिवारले उनको गाइ पाँच सयमा पाल्न सक्छ ? जसले जिवनभर दुध र मोही खायो उसले पाल्न नसक्ने तर गरिब सोझा पदमले पाल्ने ठेक्का लिन सक्छन् वृद्धगाइ ? वृद्ध गौमाताको फाईदा लिएर लघारेपछि बुढेशकालमा गौमाता पालेर ठूलाबडा र टाठाबाठाकालागि हिन्दू धर्मको कर्म जोगाइदिने जिम्मेवारी के सोझा विकहरुको हो ?
गौमातालाई घरबाट निकाल्ने अधिकार सुरक्षित छ कोइरालालाइ ? या अन्य कसैले गौमाताको दोहन गरिसकेपछि सडकमा मिल्काउने, कसैलाई पन्छाउने अधिकार छ कागतीको छोक्रा मिल्काएझैं ? धर्म निरपेक्ष देशमा गाई काट्न नपाइने कानुन यथावत छ । तर के त्यो कानुनले गौमातालाई गलहत्याउने र सोझा नागरिकलाई फन्दामा पार्नेमाथि सजायँ दिने बाटो बन्द गरेको छ ? संविधानले गौमातालाई उमेर छउन्जेल दोहन गर त्यसपछि सडकमा मिल्काउ भन्ने ब्यवस्था गरेको छ ? कानुनमा खोट छन् भने त्यसको जिम्मेवारी बिकले लिनुपर्ने ? होइन नागरिक समान हुन् भने गौमातालाई बुढेसकालमा घरबाट निकाला गर्ने केशव कोइरालामाथि करवाही हुनुपर्छ की पर्दैन ? किन हिन्दू धर्मका, यो संविधानका सबै दफाहरु पदम बहादुर बिक जस्ता सोझा र नजान्नेहरुले मात्रै भोग्नुपर्ने ?
(तस्विर, अन्नपूर्ण दैनिकबाट लिएको हो)





