राष्ट्रियताको भावना उठ्दा राष्ट्रघातीहरुको निद हराम

journalist-writer-dadi-sapkota-1212यतिखेर अलिकति भएपनि देशमा राष्ट्रियताको महसुस गर्न पाएका छन् नेपालीले । वा थोरै भएपनि राष्ट्रियताको भावनामा सरकारले चासो दिएको, जनताको राष्ट्रिय भावनाप्रति सरकार गम्भिर बनेको । अझ प्रधानमन्त्री ओली बढि गम्भिर देखिएको महसुस गरेका छन् । तर बिडम्बना, यहि बेला आफ्नो राष्ट्र र राष्ट्रिय विषयमा एक हुनुपर्नेमा देशका ठूला दल र तिनका केहि नेताको निद हराम भएको छ । नेपालीको राष्ट्रिय भावना जाग्दा निदाउन छोडेका छन् केहि देश घातीहरु, राष्ट्रघातीहरु । छद्म भेशका देशका वैरीहरु । यस्ता वैरी, राष्ट्रघाती र बिदेशी दलालहरु अहिले नेपाली कांग्रेस पार्टीमा धेरै देखिएका छन् । आशा गरिएका पात्रहरुपनि बिदेशीले पालेका गुप्तचर रहेछन् भन्ने भेद खुल्दै छ । 

देशको सबैभन्दा ठूलो पार्टी, नेपाली कांग्रेस । उसको मूल नारानै ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद ।’ राष्ट्रियता नेपाली कांग्रेस पार्टीले फ्याँकीसकेको छ । बिदेशीकै स्वार्थकालागि ज्यानफाल्दापनि राष्ट्रियताको पगरी कांग्रेसको नारा बनिरहेको छ । अहिले पार्टी सभापती शेरबहादुर देउवा कांग्रेसको अलिकति बचेखुचेको भ्रमलाईपनि मिल्काउन नांगै उत्रिएका छन्, राष्ट्रियता बिरुद्द । उनी यदि नेपालीहरु चुप बस्ने, उनको बल र बुताले भ्याउने हो भने सबै बिदेशीलाई ठेक्का दिन, अझै सित्तिमा दिन तयार देखिन्छन् । कुर्सीका लागि कांग्रेस पार्टी फुटाउने र प्रजातन्त्र लगेर दरबारमा बुझाउनेले अब कुर्सीकालागि राष्ट्रियता बुझाउन तयार देखिएको छ ।

नेपाली कांग्रेस सभापती शेर बहादुर देउबाले फास्ट ट्र्याक नेपालीको लगानीमा बन्न हुन्न भनिहाले । त्योपनि हाकाहाकी । त्यो भारतलाई दिनुपर्छ भन्ने उनको जिकिर हो । कुनैपनि देशले आफ्नो देशको विकाश सकेसम्म आफैंले गर्ने हो । विदेशीले त आपतबिपतमा दिएको दान बाहेक बाँकी सबै उसको नाफा र स्वार्थ हेरेर लगानी गर्छ । यो तथ्य थाह नभएको होइन । कुर्सीका लागि देश बेच्न तयार नेतालाई त्यसको के मतलव ? नेपालीले लगानी गर्न सक्दा सक्दै बिदेशीलाई दिनुपर्छ भन्ने ब्यक्ति ऊ बिदेशीको दलाल हो । नोकर हो । राष्ट्रघाती हो र बिदेशीको पाल्तु द्वारपाल हो ।

अति धेरैले आशा गरेका युवा नेता गगन थापालेपनि हाकाहाकी भने ‘भारतको भरमा दैनिकी चलाउने, भारतलाई गाली गर्ने नेपाली भेडा हुन् । यिनीहरुले माफी माग्नुपर्छ ।” कति निच भनाई आयो गगन थापाको । अप्ठेरो र मौका परेका बेला दलालहरु पानीमाथि तैरिन्छन् भनेको के यहि हो ? भारतको भरमा दैनिकी चलाउने कसले बनायो ? के नेपाली जनताले बनाएका हुन् ? २०४७ सालपछि सबैभन्दा लामो समय सत्तामा को बस्यो ? नेपाली कांग्रेस । देशको बाँसबारी छालाजुत्ता, जुटमिल उध्योग, भ्रिकुटी कागज कारखाना, हेटौंडा कपडा उध्योगदेखि सारा कलकारखाना कसले धराशाही बनायो ? कसले बेच्यो र नेपाललाई निर्धन बनाउँदै लग्यो ? नेपाली कांग्रेसको सरकारले । अनि देशका सबै कलकारखाना बेच्ने काम नेपालीले गरेका हुन् कि राष्ट्रघाती, दलाल सरकारले ? नेताले सबै बेचेर खाएपछि जनताले अरुको भरमा दैनिकी चलाउनु पर्दैन ?

देशलाई आत्मनिर्भर बनाउने काम जनताको होइन । त्यसकालागि सरकारको सहि निति र योजना चाहिन्छ । त्यो काम देश चलाउने सरकार र देश हाँक्ने पार्टीहरुले गर्ने हो । नेपालमै उधोग धन्दा, कलकारखाना खोलेर देश सम्पन्न, आत्मनिर्भर बनाइदिएको भए नेपाली जनता अरुको भर पर्नु पर्थेन । देशलाई खोक्रो पारिदिएपछि अरुमा भर नपरेर के गर्ने ? अनि त्यसको दोष जनतालाई दिने ? त्यसको जिम्मेवारी नेता, नितिनिर्माणकर्ता, पार्टी र राज्यले लिने होइन ? देशलाई किन सदा परनिर्भर बनाइराखेको ? देशलाई परनिर्भर बनाएर राख्ने अनि उल्टै जनता भेडा हुन् भन्ने ?

भारतको हेपाहा निति, बिस्तारवादी हर्कत, दमन, हस्तक्षेप र दादागिरीबाट नेपाली जनता वाक्क भएका छन् । त्यो छिमेकी देशको बिरोध होइन । उनको गलत नितिको बिरोध हो । नाकाबन्दि सहेर र भोगेर आएका जनताले भारतीय नितिको के समर्थन गर्न सक्छन् ? सिमा मिचेर हडपेको ब्यहोरिरहेका जनता भारतको गुन गाउन सक्छन् ? भारतीय सिमा नजिकका नेपाली भूमीमा पसेर भारतीय सुरक्षाकर्मीबाट अत्याचार भोगेका जनता भारतको प्रशंसा गरेर रमाउन सक्छन् ? अत्याचारि नितिको बिरोध गर्नु भारतको बिरोध हो र ? अत्याचारको बिरोध गर्दा भेडा हुनुपर्छ यदि जनता भने मानिस बस्ने देशमा गएर बस । भेडा बस्ने देश नेपालमा नबस । कि यो देशलाई मान्छे बस्ने बनाउ भेडा बस्ने होइन । तर राष्ट्रियताका पक्षमा जनता भेडा जस्तै छन्, अड्डि कस्छन् । यो नेपाली जनताको ठूलो कमजोरी हो ।  कसैको दानापानी खाएर आफ्नै बिरुद्द नेपाली जनता लाग्दैनन्। बरु भेडा बन्न तयार हुन्छन् ।

जनतालाई गाली गर्नेले बोल्नुपर्छ, कसको कुन स्वार्थमा नेपाली जनतालाई गाली गरिँदै छ ? कसको दानापानीको रसले मैमत्त भएर जनताकै बिरुद्द र बिदेशीको समर्थनमा कुर्लिइँदै छ ? नेपाली जनताको राष्ट्रिय भावना अलिकति उठेका बेला नेपाली कांग्रेसका आशा लाग्दा भनिएका नेताबाट किन त्यसका बिरुद्द विष ओकलिँदै छ र बिदेशीको चाकरी र चाप्लुसीमा रमाइँदै छ ?

कांग्रेस नेता अमरेश कुमार सिं त हाकाहाकी सबैले चिनेकै भारतीय गुप्तचर भैहाले । शेखर कोइराला, प्रकाशमान सिं लगायतका नेता हाकाहाकी भारतीय गुणगान गाउनै ब्यस्त छन् । नेपाली कांग्रेस पार्टीनै पछिल्लो अवस्थामा भारतको कुनै स्थानिय दल जस्तो देखिएको छ । कांग्रेसका पछिला कदम र भनाईले यो पार्टी र यसका धेरै नेता भारतीय दलाल बनिसकेको आभास हुन्छ । आर्काको देशमा बसेर कूटनितिक मर्यादा नाघ्नेलाई देश निकाला गर्दा कांग्रेसले बिरोध गर्नुपर्ने के ? नेपालमा भारतीय च्यानल बन्द गर्दा कांग्रेसले बिरोध गर्नुपर्ने किन ? बिदेशीलाईनै दिनुपर्ने फास्ट ट्र्याक ? नेपालीलेनै बनाउने भन्दाभन्दै ? कांग्रेसी स्वार्थ के यसमा ? कमिशनको ?

चिनसित कुनै संझौता नगर भन्दै छ नेपाली कांग्रेस । भारतसित जति लम्पसार परेपनि हुने ? तर चिनसित कुनै संझौता गर्न नहुने नेपाल सरकारले ? एन सेल कंपनीले कर तिर्नु पर्दैन भन्नेपनि नेपाली कांग्रेस । देशलाई कर नतिर्ने तर के नेता र कांग्रेस पार्टी मिलेर बाँडेर कमिशन लिने ? अनि कर मिनाहा गरिदिने ?

नेपाली कासंग्रेसका भेदहरु झन् झन् खुल्दै गएका छन् । एमाले र माओवादीपनि कुनै स्वच्छ पार्टी त होइनन् नै । तर पछिल्लो अवस्थामा बिदेशी दमन र हेपाईका बिरुद्द सरकारको अडान स्वागतयोग्य छ, भलै त्यसमा कमजोरीहरु प्रशस्तै छन् । यो भनेको नेपालीको शिर अलिकति उच्च बन्न खोजेको अवस्था हो । यहि बेलामा नेपाली कांग्रेसका नेता र पार्टी नेपाली जनताको बिरुद्द लाग्नु र बिदेशीको स्वार्थका पक्षमा बोल्नु उ बिदेशीको दलाल बन्दै गएको संकेत हो ।

नेपालको भत्ता, जनताले तिरेको करबाट सेवा र सुबिधा लिएर बसेका नेताले आफ्नै देशका जनताबिरुद्द बोल्ने ? जनताले आफ्नो देशको पक्षमा, राष्ट्रियताको पक्षमा बोल्दा, दमनका बिरुद्द आक्रोश पोख्दा नेपाली जनताबिरुद्द नबोलुन् । जनताकै खाएर जनताबिरुद्द लाग्ने जोसुकै नेता ति जनताका वैरी हुन् । आफैंलाई गाली गर्न नेपाली जनताले भत्ता खुवाएर पाल्नुपर्दैन । जनतालाई साँच्चै गाली गरिगरि बस्नुछ भने देश छोडेरै पारीबाट गाली गरेको सुहाउँछ । प्राक्रितिक बिपत्ती, भारतीय नाकाबन्दि, महँगी, आतंक र हिंसा भोग्दाभोग्दा हैरान परेका जनतालाई कुनै दलाल नेताको हेपाई आवश्यक छैन ।

तपाइँको प्रतिक्रिया