पाएको सरकार चलाउन नसक्ने सत्ता कब्जाको धम्की ?
छिस्रिक्क केहि हुन हुँदैन माओवादीहरु सत्ता कब्जा गर्छौं भनिहाल्छन् । जनयुद्द उनीहरुले तत्कालिन बहुदलिय व्यवस्थालाई मासेर गणतान्त्रिक मूलुक स्थापनाका लागि लडे । राज्यसत्ता पल्टाउँछौं । सत्ता कब्जा गर्छौं भन्नु स्वभाविकै भयो । तर भने जस्तो सजिलो भएन । गाउँमा नयाँ सत्ता भनियो । तर पूर्ण रुपमा नयाँ सत्ता कायम गर्न सकेनन् । केन्द्रिय सत्ता एक्लै कब्जा गर्न सकिन्छ भन्ने उनीहरुमा विश्वास भएन । सक्ने परिस्थितिपनि थिएन । अन्तिममा प्रमुख दलहरु एक भएर राजतन्त्र मिल्काए । गणतन्त्र घोषणा भयो । संबिधान सभाको निर्वाचनपनि भयो । जनताले सबैभन्दा बढि उनैलाई मत दिए ।
संबिधान सभाको निर्वाचन पछि नेपाली कांग्रेसले सहज तरिकाले सत्ता दिन चाहेन । तर उसले जति आनाकानी गरेपनि २३ दलले एक मतले भने-सरकार माओवादी नेत्रित्वमा गठन हुनुपर्छ । भयो पनि । सरकार गठन सँगै प्रधानमन्त्री माओवादीका अध्यक्ष नै भए । उनको हातमा पार्टी र देश हाँक्ने दुबै अधिकार छ । देशको शक्तिशाली रक्षामन्त्री उनैका छन् । सूचना तथा सञ्चार मन्त्रालय माओवादीकै हातमा छ । अर्थ मन्त्रालय माओवादीकै पोल्टामा । स्थानिय प्रशासन देखि लिएर अधिकांश मन्त्रि उनैका छन् । निडरताका साथ देश र जनताको पक्षमा काम गरेको भए खासै अप्ठेरो हुने थिएन । चाहेजस्तो कार्यक्रम घोषणा र लागू गर्ने उनीहरुले नै हो । अनि आफु सरकारमा बसेर के ले रोक्यो जनताका पक्षमा काम गर्न ? सरकारमा बसेर केहि गर्न नसक्ने अनि सत्ता कब्जा गर्छु भनेर बाहिर बाहिर धम्कि दिँदै हिँड्नुको औचित्य के ?
सरकारमा गएदेखिनै प्रतिपक्षी दलले केहि अप्ठेरो पारोस कि कुनै शर्त राखोस । तिनका गुनासा र मागलाई अलि मैत्रिपूर्ण ढंगले सुन्नुभन्दा माओवादीहरु यस्तो भएन भने हामी सत्ता कब्जा गर्छौं भन्दै धम्की दिने गर्छन् । सदनमा त्यसै भन्थे । अहिले अन्तर्राष्ट्रिय मजदूर दिवसका दिन काठमाडौमा अर्थमन्त्री बाबुराम भट्टराईले त्यहि दोहोर्याए । हामी सत्ता कब्जा गरिदिन्छौं रे । उता बुटवलमा माओवादी नेता देवेन्द्र पौडेल त्यहि भनेर जनतालाई सत्ता कब्जा गर्ने आश्वासन दिईरहेका थिए । माओवादीमा कडा लाईनका भनेर चित्रित गरिने मोहन बैद्द पक्षका नेता नेत्रबिक्रम चन्द लागयतकाको त थेगो नै त्यहि हो । आफुले भने जस्तो भएन भने सत्ता कब्जा गर्छौं भनिहाल्छन् । पाएको सरकार अन्य दललाई सहमतीमा लिएर चलाउन नसक्ने । तर सत्ता चाहिँ सजिलै कब्जा गर्ने कुरा गर्छन् ।
पहिले राजतन्त्रका बिरुद्द सारा दल एक भए । अर्थात बहुदलियकालमा जसका बिरुद्द लड्दै आएका थिए तिनैसँग सहकार्य गर्नुपर्यो राजतन्त्रलाई मिल्काउन माओवादीले । त्यतिसहजै सत्ता कब्जा गर्न सकिने भए आफ्नै टाउकाको मोल तोक्नेसित किन गर्नुपर्थ्यो समझदारी ? एक्लै सत्ता कब्जा गर्न सक्ने भए किन लिनु पर्थ्यो अर्काको साथ ? राजाको सत्ता पल्टाउन । अहिले त झन माओवादीहरु एक्लो जस्तै छन् । अन्य दलहरुले माओवादीलाई विश्वास गर्न सकेका छैनन् । ति सबै दलका बिरुद्द लागेर कसरि हो सत्ता कब्जा गर्ने । आखिर सरकारमा गएपछि जनताका पक्षमा केहि गर्न नसक्ने हो भने सत्ता कब्जा गरेरै पो हुन्छ के ? पाएको सरकार चलाउन नसक्नेलाई जनताले फेरि सत्ता कब्जा गर्न किन पो साथ दिने ?




