राष्ट्रपती र सेनापती दुबैमाथि भारतिय छायाँ
‘खास्टोले छोपेर राखेको बिरालो म्याउ गर्छ‘ भन्ने नेपाली उखानको रुपमा देखा परेका छन् हाम्रा राष्ट्रपती डा रामवरण यादव । सरकारको आदेश पालना नगरेकोले सेनापतीमाथि कारवाही गर्नुपर्ने अडान राखेपछि संबैधानिक संकट टार्ने नाममा नागरिकलाइ संबोधन गरेर सैनिक कु गराउन भूमिका खेल्न लागेको आरोप लागेको छ उनीमाथि । उनीमाथिको आरोप त्यत्तिकै आरोपकालागि आरोपका रुपमा भने पक्कै आएको छैन । किनभने उनलाई अन्तरिम संबिधानले सेरेमोनियल मात्रै बनाएर राखेको हो । उनको जिम्मेवारी सम्मान थाप्ने, , औपचारिक कार्यक्रममा जाने र मन्त्रिपरिषदको निर्णयमा ल्याप्चे ठोक्ने । तर उनलाई त्यसले नपुगेर कार्यकारी अधिकारकालागि सक्रिय हुन खोजेका छन् । त्यसमा उनको दल नेपाली कांग्रेसले राष्ट्रपती चुप लाग्नुहुन्न, प्रधानमन्त्रीले जे भन्यो त्यहि मान्नु हुन्न भन्दै उचालिरहेको छ । सेनाका जर्नेलहरुका अगाडि मूर्तीका रुपमा उभिएर सैन्य छायाँको सरकार बनाउन उद्दत देखिएका छन् । तर उनमा यो आँट कहाँबाट आयो होला ? के एक्कासि आएको हो कुनै लहडका भरमा ?
उनले गत मंगलबार उनलाई भेट्न गएका नागरिक समाजका ब्यक्तित्वहरुसित टुलुटुलु हेरेर बस्न होइन बरु सक्रिय बन्नु पर्ने बताएर त्यसको संकेत गरे । उनले राष्ट्रपती सेरेमोनियल मात्रै हो भन्ने कुरा अन्तरिम संबिधानमा कहिँ नलेखेको मूर्खतापूर्ण अभिब्यक्ति दिएर आफु कार्यकारीरुपमा सक्रिय हुने अक्रोश पोखे । ‘जनता मसँग पनि रुन्छन्, मेरो पनि दायित्व छ’, ‘संवैधानिक राष्ट्रपतिका रुपमा मसँग पनि अधिकार छन् भन्छन्, मेरा वकिलहरू । मैले मेरा अधिकार प्रयोग किन नगर्ने ?’ भन्दै उनले कार्यकारीरुपमै सक्रिय हुने छनक पनि दिए ।
राष्ट्रपती यादव आफैं संबिधान पालना गराउने अभिभावक हुन् । संबिधानको रक्षा गर्ने र गराउने जिम्मेवारी उनैको हो । तर उनले त्यसैलाई चुनौती दिएर लोकतन्त्र मास्ने चेस्टा गरेको प्रतित भैरहेको छ । कांग्रेस, सेनापती र केहि जर्नेल, उनका केहि संबैधानिक ब्याख्याता भनिने कानुनविद र बिदेशी दलालाहरुको लहै लहैमा लागेर उनी संबैधानिक र सक्रिय राष्ट्रपती बन्न खोजिरहेका छन् । सत्ताको लोभ चढेपछि उनिपनि हौसिएको देखिन्छ । सक्रिय स्थानको खोजि गरेर उनी संबिधानले दिँदै नदिएको अधिकारको सपना बुनिरहेका छन् ।
पछिल्लो पटक नेपाली सेनाको नियुक्ति र बर्खास्ती राष्ट्रपतीमा निहित रहेको भन्ने आशयको प्रधान सेनपतीको बक्तब्यपनि राष्ट्रपती र सेनापतीको मिलोमतोमै आएको हो भनेर बुझ्न कठिन छैन । त्यो राष्ट्रपतीलाई अगाडि उभ्याएर सैन्य शासनको शुरुवात हो स्पष्ठ रुपमा भन्नु पर्दा । सेनापतीको स्पष्ठिकरणको भाषापनि राष्ट्रपतीलाई सक्रिय गराउने ढंगलेनै आएको छ ।
यो सबै घटना स्पष्ठ रुपले देखा पर्नु अघि सेनापतीले बिदेशी दुतावास र नेपाली कांग्रेसका नेतासित निकै चक्कर मारेका थिए । रक्षा मन्त्रालयको निर्देशनमा बस्नु पर्ने सेनापती बिदेशीका ढोका चहार्दै हिँड्नुको अर्थ के ? सरकारको निर्देशन पालन नगरेकोमा कार्वाही गर्न लागिएका प्रधान सेनापतीलाई भारतिय राजदूतले हटाउन हुन्न भन्नुको कारण के ? तिनै जननिर्वाचित सरकारको निर्देशन पालाना नगर्ने सेनापती भारतिय राजदूतको निर्देशन मानिरहेका छन् । देशका राष्ट्रपती भारतिय राजदूतसँगै भेटघाटमा हुन्छन् । र भेटघाटका विषय बाहिर ल्याइँदैनन् ।
नेपालको जननिर्वाचित सरकारले सेनापतीलाई निकाल्दा भारतीय राजदूतको टाउको दुखाई किन ? के को मोह भारतिय रजदूतलाई हाम्रा सेनापती कटुवालको ? कटुवालनै नभै नहुने किन ? निर्वाचित सरकारले सेनापती परिवर्तन गर्न खोज्दा गर्दा भारतिय राजदूतकै बोलीमा हाम्रा राष्ट्रपतीको बोलि किन समान हुनु पर्ने ? किन प्रधानमन्त्री सम्म सेनापतीलाई कारवाही नगर्न बिदेशीले हारगुहार गर्नुपर्ने ? सेनापतीको कुन गुनको पैचो तिर्न खोजेका हुन भारतिय राजदूतले ? राष्ट्रपती यादव कसको आडमा सक्रियता खोजिरहेका छन् सेनालाई उचालेर ?




