मधेसी मोर्चाको पतन र संभावित खतरा

– पदम गौतम

padam-gautam-denmarkभारतले लगाएको अघोषित नाकाबन्दीको असर कम भएसँगै नेपाली सञ्चार जगत, खासगरी सामाजिक सञ्जालमा एउटा गलत सन्देश स्थापित भयो । त्यो हो–अब मधेसी मोर्चाको केही लागेन, मोर्चा सदाका लागि समाप्त भयो । तर, सतहमा मोर्चा र आन्दोलनबारे यसरी व्याख्या हुनु भनेको कालान्तरमा नेपाली राष्ट्रियतामाथि फेरि पनि नाटकीय प्रहार हुन्छ भन्ने नसोचिनु हो ।

अबको भारतीय प्रहार निकै व्यवस्थित र मुलुकलाई गाह्रो पार्ने हुन सक्छ, चाहे त्यो खुलेर आओस् या गुप्त ढंगले । यसर्थ मोर्चाको नाटकीय पतनमा खुसी मनाइनु भनेको मधेस समस्या, नेपाल–भारतबीचको सम्बन्ध र नेपालको राजनीतिमा भारतीय प्रभावबारे सामान्य ज्ञान नहुनु पनि हो ।
तत्कालका लागि नाकाबन्दी खुल्नु र मोर्चाको आन्दोलन कमजोर हुनु आम नेपालीका लागि खुसीको बिषय थियो । सिद्धान्ततः नाकाबन्दी खुल्नु र जनताले राहत महसुस गर्नु नाकाबन्दीको पीडा भोगिरहेका जनताका लागि अत्यन्तै खुसीको कुरा हो । तर, नाकाबन्दी खुलेसँगै दीर्घकालका लागि कुन शक्ति कमजोर भयो ? कुन शक्ति स्थापित हुँदैछ या गराइँदैछ ? बिगतमा बिभिन्न कुनाबाट खेलिएका राजनीतिक खेलका कारण अब केकस्तो रणनीति बनाएर मुलुकलाई अघि बढाउन सकिन्छ ? यस्ता बिषयले नेपाल र नेपाली राजनीतिको दिशा निर्माण हुन्छ । तर, बिडम्बना नै भनौं, यी कोणबाट राजनीतिक वृत्तमा बहश भएको देखिँदैन ।
प्रथमतः नेपालबारे भारतीय शासकहरू कहिल्यै सकारात्मक छैनन् भन्ने बिषय घाम जत्तिकै छर्लङ्ग छ । ब्रिटिश शासन कालदेखि नै नेपालबाट बिभिन्न लाभ लिँदै नेपाली सत्ताधारीलाई आफ्नो प्रभावमा पार्ने भारतीय सत्ताको नीति रह्यो । राणा शासनको पतनमा गरेको सहयोगवापत नेपाललाई कमजोर बनाउँदै हडप्ने नीतिमा नेहरू र भारतीय संस्थापन पक्ष अगाडि बढ्यो । यो बिषय आज मात्र नभएर २००७ सालको परिवर्तनपछि लगातार बहशको बिषय बनिरहेको छ । बिगतमा नेपाल–भारतबीच भएका बिवादास्पद सन्धि र सम्झौता, माओवादी आन्दोलनको अवतरण र विभाजन, मधेसमा नागरिकता बितरण तथा पटकपटक हुने सत्ता परिवर्तनमा भारतीय स्वार्थ हेर्न लामो इतिहास पल्टाइ रहनु पर्दैन । अझ पटक पटक भारतको बिरोधमा बिभिन्न अभियान शुरू गरेर शक्तिका रूपमा स्थापित हुने र कालान्तरमा भारतीय स्वार्थकै वरिपरी राजनीति केन्द्रित गराउने प्रवृत्ति पनि स्थापित भएको छ । पछिल्लो एक दशकको नेपालको राजनीतिलाई मात्रै नियाल्दा पनि हामी नेपालीले नै भारतलाई चलखेलका निम्ति ‘स्पेस’ उपलब्ध गराएको कुरा स्पष्ट छ । बिगतमा हरेक शक्तिले सामान्य रूपमा गरिरहेको यो काम माओवादीको ‘सेफ ल्याण्डिङ’ पछि खुलेआम भयो ।
नेपालको बिडम्बना के भने मुलुकले छिमेकी फेर्न सक्दैन । तर, नेपाली राजनीतिक नेतृत्वले यो कटु यथार्थलाई आत्मसात गरेर रणनीति बनाउन सकेन । हरेक पटक भारतीय रणनीति र कूटनीतिका अगाडि लम्पसार पर्नु राजनीतिक नेतृत्वको कमजोरी रह्यो । अहिले आएर त्यसकै होडबाजीमा मुलुकमा स्थापित हुने नयाँशक्ति लागिरहेका छन् । फलतः मुलुकको अवस्था र आवश्यकता एकातिर र राजनीतिक नेतृत्वको चाहना अर्कोतिर भइरहेको छ । अझ, अहिले शक्तिशाली बनेको ट्वीटर पुस्ताले पारदर्शी र जिम्मेवारीपूर्ण राजनीतिको अपेक्षा गर्ने समयमा मुख्य राजनीतिक दलहरू जनतासँग नजिक हुने दिशामा अघि बढेका छैनन् । यो प्रवृत्ति असल राजनीतिक संस्कारका लागि घातक त हुँदै हो, मुलुकका लागि पनि सहज हैन ।

राजनीतिक नेतृत्व र भारतको यो अवस्था छ भने अर्कोतिर मधेस क्षेत्र पहिलेदेखि नै केही समस्या बोकेर बसेको छ । मधेसले पहिलादेखि नै फरक पहिचानलाई मान्यता माग गरिरहेको थियो । माओवादी आन्दोलनसँगै ती समस्यामा अनेकौं चलखेल भए । मधेसलाई भोट बैंक मात्र मान्ने कांग्रेस र एमालेजस्ता पुराना शक्ति हेरी मात्र रहे । माओवादीको तेजोवध गर्नका लागि गौर नरसंहार मच्चाउँदै भारतीय पक्षले मधेसी जनाधिकार फोरमलाई नयाँशक्तिका रूपमा स्थापित गरायो । यससँगै नयाँशक्ति माओवादीलाई साइजमा ल्याउनका लागि तराई मधेसका सामान्य समस्यालाई पनि मलजल गर्न थालियो । यसका भित्री पाटाहरू तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समय समयमा खोल्ने गरेका थिए । कोसी नदीमा धेरै पानी बगे पनि अहिले आएर मोदी सरकारले फेरि आफूले संरक्षण दिएका तिनै शक्तिलाई प्रयोग गरेर घीनलाग्दो खेल खेल्न सफल भयो, नाकाबन्दी गराएर ।
अहिले नाकाबन्दी हटेको छ र मधेसी दलप्रति आम नेपाली जनता क्रुद्ध छन् । त्यस्तै मधेसी दलको नेतृत्वप्रति पनि त्यहाँका जनता रुष्ट छन् । राज्य र मधेसी जनताबीच दूरी बढ्दो छ । अर्कोतिर मधेसी मोर्चाको कथित नाकाबन्दीको अन्तिम समयमा भारतले पनि मधेसी नेतालाई शर्मनाक बेइज्जत गर्दै बेवास्ता गरेको छ । अहिले त्यहाँ सिके राउतजस्ता फरक मुलुकको माग गर्नेदेखि स्पष्ट दृष्टिकोण नभएका अनेकौं शक्ति छन् । ती सबै त्यहाँका जनताको भावनालाई आफ्नो पक्षमा तान्नका लागि प्रयासरत छन् । यी तथ्यसँगै मधेसका समस्यालाई सकारात्मक र नकारात्मक हरेक ढंगले स्थापित गरिँदै आएको छ । हो, बिगतदेखि नै स्पष्ट छ, मधेसमा समस्या छन् । अझ बढी त पहाडे अहंकारबाट ग्रस्त राज्यको मानसिकताप्रतिको बितृष्णाले त्यहाँका जनता राज्यबाट टाढा छन् । अहिले पनि राज्यसँगको दूरी बढ्दै गरेको आभास हुनु त्यहाँको मुख्य समस्या हो । यहाँनेर भारत र अन्य शक्तिले भविष्यमा चलखेल गर्ने ठाउँ पनि छ भन्ने कुरा स्पष्ट छ । यससँगै गम्भीर कुरा के भने अहिले भएका र देखिएका शक्ति भनेका मधेसको नाममा राजनीति गर्ने संसदवादी शक्ति मात्र हुन् । तर, अब तिनको विकल्पमा प्रयोग गरिने शक्ति भनेका सिके राउत वा गोइत शैलीका शक्ति पनि हुनेछन् । यसका लागि तिनलाई तालीम र आश्रय भारतमै भइरहेको छ । त्यस अवस्थामा राजनीतिको सामान्य सिद्धान्त अनुसार अहिलेका मधेसी दलहरू पनि ती नयाँ र उग्र शक्तिको नजिक पुग्नेछन् । के त्यस समयमा अहिलेकै मानसिकताको राजनीतिक नेतृत्वले मधेस समस्या समाधान गर्न सक्ला ? नेपालको मधेसमा भारतीय चलखेलबारे पुष्टि हुनासाथ भारतलाई पनि गोर्खाल्याण्ड वा उसको आन्तरिक समस्याबारे बार्गेनिङ गर्नसक्ने नेतृत्व मुलुकमा आउन सक्छ ? प्रश्न गम्भीर छ तर सकारात्मक संकेत कतै छैन ।
अन्त्यमा एउटा ताजा सन्दर्भको कुरा राख्नु उपयुक्त होला । प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न भारत भ्रमणपछि उनको भ्रमण सफल वा असफल भएको भन्ने बिषयमा बिभिन्न टीकाटिप्पणी शुरु भएका छन् । अझ भनौं नेपाली मिडिया र राजनीतिक वृत्तमा फरक फरक कोणबाट बहश भइरहेका छन् । अहिले ओलीको भारत भ्रमणमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर नहुनु र मधेसी मोर्चा वा त्यस्तै कुनै समूहको नाममा भविष्यमा नेपालमा हुन सक्ने आन्दोलनलाई पनि जोडेर हेर्न सकिन्छ । किनभने भारतको नियत र नेपालको नियतिका बिषयमा हरेक सचेत नेपाली जागरुक छन् ।
(लेखक कवि तथा पत्रकार हुन् ।

तपाइँको प्रतिक्रिया