नीति कथाको चोर र हाम्रो राजनीति

– पदम गौतम

padam-gautam-denmarkयतिबेला मुलुकको राजनीति एउटा पूर्वीय नीति कथासँग ठ्याक्कै मिल्छ । सो कथाका अनुसार एउटा चोरलाई रंगेहात समातेर राजासमक्ष लगिन्छ । जनताको माग अनुसार राजाले अब उसलाई सजाय दिनुपर्ने भयो । त्यतिबेला राज्यको कानुन अनुसार चोरलाई फाँसी दिइन्थ्यो । अतः चोरी स्वीकार गरेपछि उसलाई पनि झुण्ड्याइने नै भयो । तर, पुरानो समयमा पनि न्याय प्रणालीअन्तर्गत फाँसीमा झुण्ड्याउनु अघि अपराधीलाई अन्तिम इच्छा सोध्ने चलन थियो । जस अनुसार राजाले आफैं चोरलाई सोधे, ‘तेरो अन्तिम इच्छा के छ भन् त ?’

उसले राजालाई आफ्नो अन्तिम इच्छा मोतीका सय वटा माला तयार पार्नु भएको बतायो । उसले मर्नुअघि त्यो चाहना पूरा गर्न दिन राजासमक्ष अनुनय पनि गर्‍यो । राजाले उसको कुरा सुने र केही दिनका लागि उसको सजाय पर सारे । सयवटा मोतीका माला तयार पारेपछि राजाले उसलाई दिएको सजाय कार्यान्वयन गरिने भयो । राजाले उसलाई तत्कालका लागि छाडिदिए । ऊ खेतमा मोती रोप्ने काममा लाग्यो । किनभने ऊ यही कामका लागि केही समयलाई क्षमादान पाएर उम्किएको थियो ।

चोरले खेतमा अत्यन्तै मेहनत गरेर मोती रोप्न तयार पार्‍यो । ठीक त्यही समयमा राजा सेनाको फौजसहित त्यहाँ पुगे । सैनिक अधिकारीहरू चोरको मनोविज्ञान पढ्न चाहन्थे, तर ऊ चाहीँ निर्भीक देखिन्थ्यो । चोरले राजासमक्ष अनुरोध गर्दै भन्यो, ‘महाराज मोतीको बीउ रोप्ने बेला भयो । म यहाँ बीउ रोपेर सय हैन, हजार माला पनि उब्जनी गर्न सक्छु । तर यसमा हजुरको सहयोग चाहियो ।’

राजाले उसलाई खुलस्त भएर माग राख्न आग्रह गरे । उसले भन्यो, ‘महाराज, यो मोती पवित्र वस्तु भएका कारण यसलाई पनि पवित्र हृदय भएको मान्छेले नै रोप्नुपर्छ । म त यसै चोर भइहालेँ । भित्रैबाट असल र कहिल्यै बेइमानी नगरेको मान्छेले रोप्नुपर्ने भएकाले मैले यहाँबाट केही सहयोग पाउँछु कि ?’

यति भनेर उसले राजातिर हेर्‍यो । राजा पनि के गर्नु र के भन्नुको अवस्थामा पुगे । उनी आफैं पनि असल हुँ भनेर अघि बढ्न सकेनन् । उनले आफ्ना प्रियपात्र बरिष्ठ सैनिक अधिकारीतिर हेरे । सैनिक अधिकारीले कर्मचारीतिर हेरे । अब कर्मचारीहरू उही मोती रोप्ने चोरतिर हेर्न थाले । जटिल समयमा आफू लगायत कसैमा पनि नैतिक बल नभएको बुझेपछि राजाले घोषणा गरे, ‘हामी सबै चोर हौं, त्यसैले तिम्रो फाँसीको सजायँ पनि माफ हुन्छ ।’

माघको तेस्रो साता नेपाली राजनीतिका केही घटना यही ‘हामी सबै चोर’ को मनोदशाले ग्रस्त भएको दृष्टान्त देख्न पाइयो । हुँदा हुँदा अब त कहाँसम्म भने चोरको आयाम डाक्टरीदेखि हरेक संवेदनशील ठाउँमा पनि रहेछ । अझ बर्षौंसम्म नक्कली डाक्टर बनेर उपचार गर्नु चाहिँ सामान्य चोरभन्दा बढी नै सजायको बिषय बन्नुपर्ने हो ।

सन्दर्भ फेरि राजनीति नामको बेइमानीका एक साताभित्रका सामान्य दृश्यतिर । पटनामा त्यहाँका आदिम शैलीका नेता लालुप्रसाद यादवको बैठकबाट फर्किएपछि नेपालमा मधेसी मोर्चाका नेतालाई अनुहार देखाउन लाजमर्दो भयो । बैठकमा मोर्चाका नेताहरू लज्जास्पद ढंगले प्रस्तुत भएको तस्विर अगाडि नै सार्वजनिक भएको थियो । अर्कोतिर नाकाबन्दीमा मधेसी जनता कुनै हालतमा आउन छाडे । बिगतमा आन्दोलनमा सहयोग गर्ने भारतीयहरूले समेत मोर्चाबिरुद्ध प्रतिकार गर्न थाले । दिल्लीले त समर्थनको सट्टा मोर्चालाई अलपत्र पारिसकेको थियो । किनभने उसले बर्तमान सत्ता साझेदारबाटै आफ्नो लक्ष्य पूरा हुने देखिसकेको थियो । यो जटिल घडीमा मधेसी नेताहरूको मूल्य कौडीको भाउभन्दा सस्तो भएको थियो । यहाँनेर बाटो र लक्ष्य नपाएको अवस्थाका मधेसीहरू राजनीतिका नामको व्यापार सुक्ने डरले चिन्तित थिए । यस अवस्थामा वीरगञ्ज नाका आफैं खुल्यो । अर्थात् मधेसी मोर्चाले फिर्ता नलिइकन नै भारतीय व्यापारी र सर्वसाधारणका बलमा नाका खुलेको थियो ।

ठीक यहीबेला मुलुकका दुई शीर्ष नेताले ‘हामी सबै चोर’ शैलीको व्यवहार देखाए । बिराटगनरमा रहेका राजेन्द्र महतो नामका नेतालाई दुई शीर्ष नेताले काठमाडौंबाट टेलिफोन गरे । प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उनलाई टेलिफोन गरेका थिए । राजनीतिमा तराईको नाममा व्यापार गरिरहेका महतोलाई यी दुईले टेलिफोन गर्नु कुनै ठूलो र अनौठो बिषय थिएन र होइन । तर, दुबैले संसारलाई आश्चर्यचकित पार्दै भने, ‘नाकाबन्दी खोलिदिनु भएकोमा धन्यवाद ।’ जब कि नाकाबन्दी खोलिनु महतोको इच्छा वा निर्णय नभएर बदलिँदो समयको परिणाम थियो । उनीहरूले परिस्थिति आफ्नो नियन्त्रणमा नभएका कारण नाकाबन्दी खोल्नसक्ने मात्र बताइरहेका थिए । अनि यो कुरा चाहिँ लाटाले पनि जान्ने गरी सार्वजनिक भएको थियो । यी अवस्थाले आफ्नै झुण्डमाझ पनि सकिइसकेको राजेन्द्रको साख बचाइदिने जिम्मा यी दुई नेताले लिनु भनेको उही ‘हामी सबै चोर’ को दर्शन बाहेक केही होइन ।

वीरगञ्ज नाका खुलेलगत्तै भारतीय आयल निगम (आइओसी) का नाममा अर्को रोकावट शुरू भयो । बिभिन्न जलविद्युत आयोजना हात पार्ने र नेपालको चीनसँग सम्भावित सामिप्यता रोक्ने बाहेक भारतको अन्य रणनीति ओलीको भारत भ्रमणसम्म छैन पनि होला । यहाँ धेरै बिषय जेलिएका र जटिल पनि छन् । तर अहिले फेरि खुलेआम देखिएका ‘चोर नियत’कै सन्दर्भमा फर्किऔं ।

हालैका केही साता यताको कुरा गर्दा नाकाबन्दी आंशिक रूपमा खुल्दा र सीमित सामग्री नेपाल प्रवेश गर्दा तराईका नेताले रातारात कति कमाए, थाहा छैन । उपप्रधानमन्त्री कमल थापाले कालाबजारीयालाई औपचारिक रूपमै धन्यवाद दिए, यो कम अर्थपूर्ण अभिव्यक्ति होइन । मधेसी नेताले नाकाबन्दीका नाममा तस्करी बढेको र राज्य नै त्यसमा संलग्न भएको अरोप लगाए । केही प्रहरी, आयल निगमका अधिकारी र निजी पेट्रोल व्यवशायी पक्राउ पनि परे । यहीबीचमा मधेस आन्दोलनलाई आफ्नो पकडमा लिएर राज्यबिरुद्ध प्रयोग गर्ने प्रयास पनि भयो । जस्तो कि मधेस आन्दोलन शुरू हुनेबित्तिकै पार्टी छाड्न लागेका डा।बाबुराम भट्टराईले अनौठो मधेस प्रेम देखाउने प्रयास गरे । तर, स्वयम् मधेसीले चाहिँ पत्याइदिएनन् ।

यस लगत्तै नेपाली कांग्रेसले आफूले सत्ता पाएमा र पहल गरेमा मधेस आन्दोलन समाप्त हुने पनि बतायो । यो हाँस्यास्पद तर्कसँगै जनता चाहिँ सुशील कोइराला सरकारले नाकाबन्दी उपहार दिएर गएको सम्झँदै हाँसिरहेका थिए । यसको केही दिनपछि कांग्रेसको आन्तरिक चुनावको सरगर्मी बढ्यो । सभापतिका प्रत्यासी शेरबहादुर देउवाले झन् शताव्दीकै विशिष्ट लाग्ने ‘जोक’ सुनाउँदै जनतालाई मनोरञ्जन दिए, ‘मैले पार्टी सभापतिमा जिते मधेस समस्या तत्कालै समाधान हुन्छ ।’ यो भनाइसँगै जनता चाहिँ अखण्ड सुदूरपश्चिमको नारा लगाउँदै थारूबिरुद्ध गठबन्धन गरिरहेका थिए । साँच्ची भन्नुपर्दा मधेसबारे न त कांग्रेस, न त देउवासँग राजनीतिक दृष्टिकोण थियो र छ । त्यस्तै मधेसीसँग पनि न त प्रष्ट माग र दृष्टिकोण छ, न त नदीनालाका सम्झौतासम्म नपुगी यस्ता आन्दोलन नै रोकिन्छन् । किनभने नीति कथाको चोरजस्तो देखिने अपराधी एउटा वा एक दुई जना होलान् । अन्य बँचेका र निर्णायक तहका शक्ति वा व्यक्तिहरू सबै तिनै राजा वा भारदार सरह छन् । हरेकले आफूलाई चोरभन्दा नैतिकवान सम्झिएर निर्णय गर्ने हिम्मतसमेत गर्दैनन् । अब जनताले आशा चाहिँ कहाँनेर राख्ने ?

(लेखक गौतम कवि तथा पत्रकार हुन्)

तपाइँको प्रतिक्रिया