फ्रान्सको राजनितीलाइ नियाल्दा
-शशी पौडेल
गतहप्ता आइतबारका दिन सत्तरीलाख (सात मिलियन) फ्रेन्चहरुले फ्रान्सको क्षेत्रीय निर्बाचनमा अति दक्षिणपन्थी पार्टी फ्रन्ट नेशनललाइ भोट दिए । फ्रान्सको इतिहाँसमा कुनै पनि अति दक्षिणपन्थी पार्टीले यति धेरै भोट ल्याएको थिएन । तर फ्रान्सको राष्ट्रपतिको निर्बाचनमा भने राष्ट्रपति पदमा बिजयी हुन एककरोड सत्तरीलाख अर्थता सत्र मिलियन भोट प्राप्त गर्न सक्नु पर्छ । त्यसैले फ्रान्सलाइ अझैपनि अति दक्षिणपन्थीको खतरा नआइसकेको भनेर चित्त बुभाउने ठाउ रहेको छ । यद्यपी फ्रान्सेली मेडियाले मात्र होइन कि अंग्रजी, स्पानिस एवं जर्मन मेडियाहरुले युरोपमा १९३३ साल फर्कन लागेको भनेर टिका टिप्पणी गरेका थिए ।
गत हप्ताको पेरिसबाट बिश्वभर आएको शन्देश फ्रान्समा नाजीहरुको उदय भएको भन्ने थियो । पहिले आतंक, त्यसपछि इमर्जेन्सी अनि त्यस पछि फ्रान्सको इतिहासमै रेकर्ड कायम गरेर अति दक्षिणपन्थीहरुले प्राप्त गरेको मत । नोबेम्बर र डिसेम्बर महिना फ्रान्सलाइ यस्तै यस्तै दुखद समाचारले बिश्वभर फेरी चर्चामा ल्यायो । तर फ्रान्सका ठुला पार्टीहरु भने केही भएको थिएन भनेजस्तो गरी प्रस्तुत भैरहेका छन् । यसबाट के बुझिन्छ भने मानौं फ्रन्ट नेशनलको यो ठुलो मत बरु आगामी २०१७ सालमा हुने राष्ट्रपतिको निर्बाचनमा उपयोग हुनसक्ने सम्भावना देखिरहेका छन् ।
सर्व प्रथम स्वयं राष्ट्रपति फ्राँस्वाँ ओलाँले सायद नयाँ बर्षको आफ्नो शन्देशमा यी महत्वपूर्ण कुराहरु भन्ने छन् । लाग्छ कि समग्र फ्रेन्चहरुले यही पर्खेर बसिरहेका छन् । फ्रान्समा गरिएको भर्खरैको एउटा सर्भेका अनुसार ८० प्रतिशत फ्रेन्चहरु राष्ट्रपति फ्राँस्वाँ ओलाँ आगामी निर्बाचनमा उम्मेदबार नबनुन् भन्ने चाहाना राखेका छन् तर राष्ट्रपति फ्राँस्वाँ ओलाँले भने ८० प्रतिशत जनताको यो चाहनाको बिरुद्ध उम्मेदबारी दिने छन् । फ्रान्सले जहिले देखि सिरियामा युद्धको घोषणा गरेको थियो र युद्ध सुरु गरेको थियो त्यतिबेला देखिनै राष्ट्रपति फ्राँस्वाँ ओलाँले फ्रेन्चहरुबाट बिश्वास गुमाउदै गएको बुझिन्छ । अति दक्षिणपन्थी पार्टीकि नेतृ मारि लेपेंगले यो लोकप्रियता पाउनुको कारणनै सिरिया युद्ध मानिएको छ । एकातिर फ्रान्सका बामपंथी पार्टीहरुमा फुट र बिघटन आउनु र अति दक्षिणपन्थी पार्टीले लोकप्रियता पाउनु फ्रान्सकालागि मात्र खतराको घण्टी बज्नु नभएर समग्र बिश्वमा यसको प्रतिकूल असर पर्ने छ । फ्रान्सको बर्तमान झिनो राजनितिक अबस्था देखेर नै ग्रिन पार्टीकि नेतृ छेछिल डुफ्लोरले फ्रान्सका सोसलिस्ट पार्टी, बामपंथी पार्टीहरु र ग्रिन पार्टी मिलेर आगामी राष्ट्रपतिको निर्वाचनमा संयुक्त उम्मेदवारी दिनु पर्ने प्रस्ताव राखेकी छन् । उनको यो प्रस्ताव सायद अति दक्षिणपन्थी पार्टीका बिरुद्ध एउटा शसक्त शक्ति बन्ने छ । तर राष्ट्रपति फ्राँस्वाँ ओलाँले भने बामपंथीहरुले आफुलाइ प्रयाप्त मात्रमा भोट खसाइदिने आशामा बसेको देखिन्छ । उनको यो चाहाना यदि पुरा भयो भने सायद कन्जरभेटिभ पार्टीका पूर्व राष्ट्रपति निकोला सार्कोजीलाइ पहिलो निर्बाचनमै हराउन सकिन्छकि भन्ने अनुमान रहेको बुझ्न कठिन छैन । किनभने ७९ प्रतिशत फ्रेन्चहरुले निकोला सार्कोजीलाइ राष्ट्रपतिका रुपमा देख्न चाहेका छैनन् । जुन तथ्यांक फ्रान्सकै एक सर्भेले देखाएको हो । तर सोही सर्भेका अनुसार ७० प्रतिशत फ्रेन्चहरुको चाहाना भने अहिलेको यो राजनैतिक तरल अबस्थामा सोसलिष्टहरु र कन्जरभेटिभ पार्टीहरु मिलेर मारि लेपेंगलाइ हराउन् भन्ने चाहाना रहेको छ । यो सर्भेलाइ केलाएर हेर्ने हो भने बहुसंख्यक फ्रेन्चहरुले नत ओलाँ नत सार्कोजीले उम्मेदवारी दिउन भन्ने चाहेका छन् । तर दुर्भाग्य यी दुबैले उम्मेदवारी दिने छन् किनभने उनिहरुले आ आफ्ना पार्टी भित्र अन्य नेतृत्वको बिकाश हुन दिएनन् ।
साँचो अर्थमा भन्नेहो भने फ्रान्सको राष्ट्रपतिको चुनावको पहिलो निर्बाचनमा कसले दोस्रो स्थान प्राप्त गर्छ भन्ने कुराले महत्व राख्छ । किनभने दोस्रो स्थान प्राप्त गर्ने ब्यक्तिले अन्तमा निर्बाचन जित्ने फ्रेन्चहरुले अनुमान गर्छन् र दोधारे भोटहरु दोस्रो हुनेलाइ प्राय जाने गरेको बुझिन्छ । यस हिसाबले फ्रन्ट नेशनलकि नेतृ मारि लेपेंग ढुक्क भएको बुझिएको थियो तर बिगत आइतबार भएको दोस्रो चरणको क्षेत्रीय निर्बाचनमा भने कन्जरभेटिभ पार्टी र सोसलिष्ट पार्टीहरुले बिजयउत्सव मनाए भने मारी लेपेंगको पार्टी फ्रन्ट नेशनलले कुनै पनि स्थानबाट बिजयी हासिल गर्न नसकेका कारण उनलाइ दोधार पक्कै बनाएको हनु पर्छ किन भने पहिलो चरणको निबार्चनमा उनी धेरै ठाँउमा अग्रपंतिमा आएकि थिइन् । क्षेत्रीय निर्वाचनको परिणाम जस्तै २०१७ मा हुने राष्ट्रपतिको निर्बाचनमा पनि हुन सक्ने कुरा नकार्न सकिन्न । यद्यपी राष्ट्रपतिको निर्बाचनको प्रकृया अलि फरक पाइन्छ । यदि जसरी अहिले राष्ट्रपति फ्राँस्वाँ ओलाँ र पूर्व राष्ट्रपति निकोला सार्कोजीले फ्रेन्च जनताको आकांक्षालाइ स्वीकार गर्न सकेनन् भने फ्रान्सको भविश्य अति दक्षिणपन्थीहरुको हातमा जान सक्ने तर्क सायद असत्य हुनेछैन ।
यद्यपी निकोला सार्कोजी र राष्ट्रपति फ्राँस्वाँ ओलाँका पक्षमा आउने भोट अर्थात राजनितीक बसाइसराइकालागि अहिलेनै अनुमान गर्न अलि छिटो हुने छ । किन भने राजनितीक बसाइसराइ भन्ने कुरा जहिले पनि अन्तिम घण्टामा हुने गर्छ । यसैबीच राष्ट्रपति फ्राँस्वाँ ओलाँकोे उद्योग बाणिज्य मन्त्री इमानुइल माक्रोनले “नयाँ डिल” गर्न आफ्ना पंतीमा अनुरोध गरिरहेका छन् । तर उनको नयाँ डिल प्रति ओलाँ आफै र सोसल लिबरल र सोसलिष्ट पार्टीहरुले कुनै दम देखिरहेका छैनन् । अर्कोतिर निकोला सार्कोजीको पार्टीको दक्षिणपन्थी पक्षीय पूर्व प्रधानमन्त्री जुपें कन्जरभेटिभ मोरल सहितको मल्टी कुल्टी सोसाइटीको पक्षमा वकालत गरिरहेका छन् । यिनै जुपेंनै पार्टी भित्रका निकोला सार्कोजीको बिपक्षमा उभिएका छन् । एकातिर फ्रान्सलाइ आतंकबादको कालो बादलले ठाकेको छ भने अर्कोतिर राष्ट्रपति फ्राँस्वाँ ओलाँले आगामी नयाँ बर्षको आप्mनो शन्देशमा फ्रान्समा देखिएको बेरोजगारीका बिरुद्ध नयाँ कार्यक्रम ल्याउने घोषणा गरिसकेका छन् । कन्जरभेटिभ पार्टीका सार्कोजीले पनि आगामी फेब्रुअरीमा आफ्नो पार्टीको बिधान बारे छलफल गर्ने बताएका छन् ।
राष्ट्रपति फ्राँस्वाँ ओलाँले भने उनले अहिले थालेको आतंकबाद बिरुद्धको लडाइले आफुलाइ बलियो बनाउने र कन्जरभेटिभ पार्टीलाइ छिन्नभिन्न गराउने आशा गरेका छन् । उनको यो आशा कति बलियो छ भन्ने कुरा भने कुनै अनुमान गर्न सकिन्न यद्यपी कन्जरभेटिभ पार्टी भित्र निकोला सार्कोजी पनि बिबाद रहित छैनन् ।
यस हिसावले फ्रान्समा एउटा राजनितिक भाइरस लागेको छ । मारिने लेपेंग भाइरस । क्षेत्रीय, स्थानीय राजनितीमा मात्र नभै उत्तर पूर्व फ्रान्सका बिभिन्न सरकारी कार्यालयहरुमा पनि यो मारिने लेपेंग भाइरसले बलियो गरी जरा गाडेको छ । उदाहरणका लागि पूर्व उत्तरका बिभिन्न साना शहरहरुमा मारिने लेपेंगका कार्यकर्ताहरु यत्र तत्र भेटिने गर्छन् र उनिहरुले आप्mनो अति दक्षिणपन्थी चिन्तनको राजनिती बलियो गरी सर्वसाधारण जनता समक्ष पुर्याएका छन् । लाग्छ उनिहरुले २०१७ सालसम्म रणनितीक ढंगले जाने बलियो योजना तय गरिसकेका छन् । म गतहप्ता संयोगले लकसमबर्ग गएको थिंए । त्यस मौकामा फ्रान्सको राइम्स पुगेको थिएं । मारिने लेपेंग पार्टीको रणनिती भनेको युरोपियन युनियनबाट बाहिरिने, चारैतिरका सिमा बन्द गर्ने फ्रन्समा आतंकबादको अन्त गर्ने आदी आदी रहेका छन् । जुन नाराले हरेक फ्रेन्चको दिल छोएको रहेछ । यद्यपी बिश्व ल्गोबलाइजेशनको बर्तमान अवस्थामा प्रान्स नत युरोपियन युनियनबाट बाहिरिन सक्छ नत चारै तिरका सिमा बन्द गराउन सक्छ । यदि त्यसो गर्यो भने आफै आइसोलेटेड हुने छ । तर राष्ट्रपति फ्राँस्वाँ ओलाँ र निकोला सार्कोजीले यी बिषयको नत बिरोध गर्ने तर्क गरेका छन् नत समर्थन नै ।




