आज फेरी नेपाल बन्द छ
रामहरी ओझा, डोटी
जताततै कुहिरो जस्तै धुँवा उडेको छ । लामका लाम यातायतका साधनहरु जहाँको त्यही चुपचाप ओईलाएका छन । कालोपत्रे देखि धुलो–माटोले यात्रुलाई स्वागत गर्ने मोटरवाटाहरु मस्त निन्द्रामा सुतेका छन । औषधी मुलोको लागि अस्पताल जान खोज्ने पल्ला घरका काकाको प्राण खुस्कने निश्चित भईसक्यो । तर के गर्ने आज फेरी नेपाल वन्द छ ।
३ सय ६५ दिनमा देशभरीको हिसाव गर्दा सात सय १२ पटक नेपाल वन्द भई २०६५ सालमा संसारभरीमा प्रथम भयो नेपाल । बिकास, आर्थिक, शैक्षिक, बैज्ञानिक प्रगतिको हिसावले पछाडीवाट पहिलो हुने लाईनमा रहेको देश वन्दमा भने अगाडीबाटै पहिलो भएछ ।
दिउसोभरी अर्कालाई बोक्दाबोक्दै आफ्नो पसिना नरित्याएसम्म एक छाक रोटी नपाउने रिक्सा मजदुर । दिउसोभरी यात्रुहरुसंग तितोमिठो वोलेर साँझपख साहुको खल्टी भरेपछि मात्र एक छाक रोटी पाउने यातायत्र मजदुर । तालु खुईलिउन्जेल टाउकोमा इटा–ढुङ्गा वोकेर ज्यान पाल्ने निर्माण मजदुर र जमिन्दारका लागि आफ्नो ९० प्रतिसत पसिना वगाउने कृषि मजदुर । यिनिहरुलाई न त कसैको स्वायत्त प्रदेश चाहिएको छ न त यिनीहरुले लोकतन्त्रको अनुभुति गरेका छन । यिनीहरुलाई त केवल श्रम चाहिएको छ । पसिना वगाउन चाहिएको छ । र चाहिएको छ त केवल एक छाक रोटी । तर के गर्ने यिनीहरु श्रम गर्न पनि पाईरहेका छैनन् । आज फेरी नेपाल वन्द रहेछ ।
कलमको सहरामा वाँचेका कलमजीवीहरु शव्द संकलन गर्न पाईरहेका छैनन् । उनीहरुलाई उल्टो धम्काईदैछ । उनीहरुको कलममा बिर्को लगाईदैछ । हातमा हत्गडी लगाईदैछ । छातीमा तातो गोली ठोकिदैछ । अनि घाटीमा डोरी कसिदैछ । एकैचोटी माथी पुर्याईदिने धम्की आउदैछ । खुट्टा भाँचेर खल्टीमा राखिदिने धम्की आउदैछ । सूचना दिनु आफ्नो कर्तव्य हो भन्ने सोचिदैन तर सञ्चारकर्मीहरुले सूचना लिनु पाप हो भन्ने ढंगले व्याख्या गरिन्छ । सार्वजनिक हितका कुराहरुलाई समाचार वनाउन पाईदैन भनिन्छ । तिनै धम्की सहेर समाचार संकलन गर्ने अवस्था पनि अव रहेन किनभने आज फेरी नेपाल वन्द छ ।
सर्वहारा श्रमजिवी वर्गको यस्तो अवस्था छ, आधा आङ नाङ्गै, आधा पेट भोकै । ठेला उठेका हातहरु अनि चिराचिरा परेका पैतला । तिनै हात र पैतला अझै आफु आधा पेट खाएर साहुहरुका लागि, सुकिला लुगा लगाउनेहरुका लागि, जमिन्दारहरुका लागि अकुत सम्पत्ति जोड्न वाध्य छन । एक्काईशौं सताव्दीमा पनि १८ औं सताव्दीका जस्तो कखरा नै चिन्न नसक्ने अवस्थामा उनीहरुका छोराछोरीहरु छन । औषधी किन्न एक सुको नहुँदा वैद्य वाजे, मुखिया वा, धामी झाँक्री, ज्योतिष वाजेको दैलो–दैलो चाहार्नु पर्ने वाध्यता अझै गएको छैन । राम्रो लुगा लगाउन र मिठो खाना खानका लागि दशैँ कुर्नुपर्ने अवस्था छ । त्यो वर्गले न त एक मधेश एक प्रदेश चाहेका छन । न त थरुहट प्रदेश । न कुनै अन्य कुनै प्रकारको जातीय तथा क्षेत्रीय बिखण्डन । उनीहरुलाई त केवल नेपाल चाहिएको छ ता कि गर्वका साथ म नेपाली हुँ भन्ने पहिचान दिन सकुन । अनि आवश्यक छ श्रमको जहाँ दिउसभरी पसिना वगाएर साँझको रोटी होस छोराछोरीको कखरा चिन्ने साधन प्राप्त होस । टाउको दुखे सिटामोल खान सकियोस । उनीहरुले यति मात्र चाहेका छन । तर के गर्ने यहाँ सधै नेपाल वन्द हुन्छ ।
सुकिला लुगा लगाउने अनि चिल्ला कारमा चढेर तारे होटेलहरुमा सुरा, सेकुवा र सुर परे सुन्दरीसम्म पुग्नेहरुमा लागि लोकतन्त्रिक गणतन्त्र आयो । स्वतन्त्रता आयो । तर अर्काको लागि महल खडा गरेर आफु झोपडीमा कुत्ने ९५ प्रतिसतहरुका लागि अहिले पनि पुरानै तन्त्र छ । सर्वहारा वर्गको नेत्रित्व गर्नेहरु लाखौं मुल्यका सुटवुट गरगहना ठाँटेर भोग माग्न चुनावको वेला वाहेक त्यो वर्गको बिचमा पुग्न सक्दैनन् । जावस पो कसरी पसिनाको डुंडुंती गन्ध, वाध्यता र बिवसताको उनीहरुको अर्धनग्न शरीर अनि चिराचिरा परेका हातखुट्टा ति र्सवहारा वर्गको नेतृत्व गर्नेहरुलाई लाज लाग्छ होला ।
फेरी नेपाल वन्द भएको छ । सार्वजनिक वर्गले दैनिक उपभोग गर्ने वस्तुको हाँहाकार हुन थालेको छ । सिटामोल खान नपाएर मर्ने अवस्थामा मजदुर पुगेको छ । किनभने उनीहरुका लागि विदेशी अस्पताल र बिदेशी डाक्टरहरु छैनन् । आपतकालीन अवस्थामा चल्ने एम्वुलेन्स चढ्ने सामर्थ्य उनीहरुमा छैन । हेलिकप्टर र प्लेन त उनीहरु भन्न पनि जान्दैनन् । त्यसैले पनि यो वन्द मजदुरहरुको बिरुद्धको वन्द हो ।
हो यो वन्द सत्तासिन सामन्ती खोपडीहरुका बिरुद्ध होईन । यो बन्द प्रतिपक्ष आडम्वरीहरुका बिरुद्ध पनि होईन किनभने यो वन्दले उनीहरुलाई कतै छुदैन । यो बन्द सफल गरेर अझ फाईदा उनीहरुलाई मात्र छ । हाम्रो हातमा त त्यही हँसिया हुनेछ । त्यही हतौडा हुनेछ । त्यही कुटो–कोदालो हुनेछ । हाम्रो शरीरमा त्यही गन्हाउने एकसरो खाकी हुनेछ । हामीलाई फेरी पनि कालो अक्षर भैसी बराबर हुने छ । हामीले अहिले वजारेका ढुङ्गाले हाम्रै दाजुभाईको ज्यान जान्छ । हामीले लगाएको आगोले हाम्रै सम्पत्ति नष्ट हुन्छ । आदेश गर्नेहरुको केही पनि जाँदैन । किनभने उनीहरु पर्दापछाडीवाट आदेश मात्र गर्छन । लड्ने, मर्ने, कुटाई खाने तपाई हामी मात्र हो ।
अहिलेसम्म जतिपनि राजनीतिक परिवर्तन भए, सर्वहारा श्रमजीवी वर्गकै लागी भनेर सशस्त्र संघर्ष पनि भए । मधेशवासीहरुका लागि भनेर हिंसात्मक आक्रमणहरु भए । तर हामीले के पायौं त ? जनयुद्धको नाममा चलाईएको रक्तपातमा कैलास चौधरी जस्ता १४ हजार नेपाली सपुतहरुको मृत्यु प्रचण्डलाई प्रधानमन्त्री वनाउनका लागि मात्र थिएन । जनआन्दोलनमा सेतु ताम्राकार जस्ता बिरहरुको सहादत ६०१ जनालाई तलव खुवाउनका लागी मात्र थिएन । मधेश आन्दोलनका नाममा चलाईइएको उदण्ड उपेन्द्र यादवलाई परराष्ट्रमन्त्री बनाउनका लागि मात्र थिएन तर के गर्नु ? भयो त्यस्तै । अहिले पनि थारुहटको नाममा कमल चौधरीहरुले ज्यान गुमाईसकेका छन । तर फेरीपनि हामी जहाँ छौं त्यही रहने छौं । अब लक्ष्मण थारुहरुको पालो हो नेता बन्ने । राजकुमार लेखीहरुको पालो हो । उनीहरुलाई नेता बनाउनका लागि हामीले दिउसभरी सडकमा टायर वाल्नु पर्ने, ढुङ्गा हान्नु पर्ने अनि प्रहरीको लाठी र गोली खानु पर्ने ? चाहिदैन हामीलाई त्यस्तो स्वतन्त्रता जो हाम्रा लागि अभिसाप बनोस ।
हामी फेरी पनि कार्यकारी अधिकार सहितको प्रधानमन्त्री हुन पाउने छैनौं, हामी फेरी पनि थरुहट प्रदेशका मालिक हुन पाउने छैनौं, एक मधेशका मालिक हुन पाउने छैनौं । हामी कुनै प्रान्तका मुख्यमन्त्री वन्ने छैनौं । कथित जनयुद्धमा सेनाको गोली बाट हात गुमाएका बाले कामी एक रोटीका लागि भिखारी वन्न पुगेका छन् । उनलाई सेनाको गोली छल्ने ढाल बनाउनेहरु सत्तामा पुगिसके । जनआन्दोलनमा सेतु ताम्राकारहरुको परिवारको अवस्था माउ बिनाको चल्ला जस्तो छ । उनलाई उस्काएर कालको मुखमा धकेल्नेहरु अहिले चिल्ला कारका मालिक वनिसकेका छन । रौतहट काण्डमा ज्यान गुमाएका ४० जना व्यक्तिहरु न अव मधेशी रहे न पहाडी । तर उनलाई आन्दोलनमा होम्नेहरु सभासद्–मन्त्री भए । त्यस्तै अवस्था कमल चौधरीहरुको हो ।
के यही थियो त जनआन्दोलनको उद्देश्य ? के यहि थियो त जनयुद्धको लक्ष ? अब फेरी थरुहट आन्दोलन रे ? हामी कसैको सत्ता प्राप्तीका लागि ढाल बन्नु जरुरी छैन । हामीले सेना र प्रहरीका लाठि र गोली खानु जरुरी छैन । हामीले लाठी ढुङ्गा र भाटा बोकेर सडकमा आई कसैलाई तथानाम गालि गर्नुको कुनै औचित्य छैन । सडकमा टायर वाली प्रदुषण फैलाएर आफ्नै दाजुभाईलाई थला पार्नु छैन । बाटो बन्द गरेर कसैको ज्यान लिनु छैन । जसलाई नेता बन्न रहर छ, जसलाई सुकिला लुगा लगाएर चिल्ला कारमा घुम्न रहर छ, जसलाई नेता–मन्त्री बनेर सलामी खान रहर छ, उनीहरुनै गरुन आन्दोलन, बन्द चक्काजाम । हामी मजदुरहरु आआफ्नो काममा फर्किनु पर्छ । हामी नेपाली हौं । हाम्रो देश नेपाल हो र सवै नेपालीहरु एक परिवारका सदस्य हौं । यतिमात्र बुझ्नु जरुरी छ ।
[email protected], [email protected]
(ओझा नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव हुन्) ।