नाकाबन्दीबाट के पाठ सिक्ने ?
- गोपीचन्द् कार्की
नेपालमा, नेपालका लागि नेपालीले बनाएको संबिधान चित्त नबुझेको बखेडा निकालेर छिमेकि भारतले नाकावन्दी गरेको पनि महिनौ भैसक्यो । भारत हाम्रो युगौंदेखिको मित्र र छिमेकि हो नै । अहिले सबैको सहयोगमा नेपालले भूकम्पले थिलोथिलो भएको आफ्नो देशको पुर्ननिर्माण गर्ने कार्यमा जुट्नुपर्ने बेलामा, सात दशकको प्रयत्नपछि बल्ल बल्ल जनताका प्रतिनिधिले संबिधानसभाबाट बनाएको संबिधानको खुसियाली मनाउने बेलामा असल छिमेकि भनिएको भारतका शोषक वर्गले भने अघोषित रुपमा नाकावन्दी गरिदियो । भारतसँग तिनतिर सीमाना जोडिएको आवत जावत गर्न सजिलो । तर उत्तरतिर कठिन भूबनोटका कारणपनि हामी परापूर्व कालदेखिनै भारतसंगै बढि निर्भर बन्यौं । त्यसैले उसले नाकाबन्दी गर्नेबित्तिकै हामीले धेरै दुख कष्ट व्यहोर्नु परेको छ । भारत हाम्रो असल छिमेकि भनेर हामीले ब्यवहार गरे पनि नेपालप्रति भने उसले हैकमबादी नीतिनै लाद्न खोजिरहेको पाइन्छ । तर नाकावन्दी यो नै पहिलो भने होइन । यसभन्दा अघिका भारतीय शाषकबर्गले २०१९,२०२७, र २०४५ सालमा पनि नाकावन्दी नगरेको होइन । आफनो अधिनमा राख्न र आफनो स्वार्थ पुरागर्न हामीलाई झुकाउन नखोजेको भने होइन । तर यहाँका कुनै पनि शाषक उसको नाकावन्दीबाट झुकेनन् । बरु त्यसका लागि जनताले दुख कष्ट सहेर पनि साथ दिरहे । सरकारलाई खवरदारी गरिरहे । हामी मर्न तयार छौं, भारतीय सरकारसामु कुनै हालतमा घुंटा टेकर झुक्न हुन्न भन्ने खवरदारी गरीरहे । बरु नेपाल सरकारले छिमेकिले दिएको दुःख पिडालाई लोग्ने स्वास्नीको झगडा परालको आगो संझेर बसी रह्यो । यसबाट छिमेकि झन् पटक पटक हामी माथि नाकावन्दी लगाएर हाम्रो दुःखमा रमाउन थाल्यो ।
हामीले तत्कालको दुख टरेपछि छिमेकिले फेरी दुःख देलान् भनेर त्यसको बिकल्प खोज्ने तिर पटक्कै लागेनौं । झन् उ प्रतिको हाम्रो परनिर्भरता झन् बढ्दै गयो । अहिले फेरी २०७२ साल असोज ३ गते नयाँ संबिधान जारी भएपछि त्यस्तै हरकत उसले देखायो । नाकावन्दीको हल्लालेनै थरथरी काँपीसकेका हाम्रालागि नाकाबन्दी ७।८ रिक्टर स्केलको भूकम्पभन्दा ठूलो कम्पनले हाम्रो समाज हल्लन पुगिसकेको छ ।
भूकम्पले पारेको क्षतिभन्दा कम क्षति यसले पारेको छैन । स साना नानीहरुले पढ्न पाएनन् । अस्पताल र औषधालय नपाएर बन्द हुने अवस्थामा पुगे । कलकारखाना बन्द भईदिँदा दैनिक गुजारा चलाउन धेरैलाई हाहाकार भैसक्यो । जे गरेपनि पहिलो असर त तिनै निमुखा गरिब बिपन्न वर्गलाईनै पर्ने हो । सबै कुरा पठाएपनि हामीलाइ चाहिने तेल नपठाउँदा आवत जावत गर्नै कठिन भैसक्यो । छिमेकि भारतका शाषक भने हाम्रा दुःख देखेर मानवियता देखाउने सुरमा छैन । अझै हामीलाई तड्पाएर उसले के लिन खोजिरहेको हो त्यो गर्भमै छ । हाम्रा ठुला नदी गन्डकी कोशी र कर्णालीमा उसको ँखा गडेकै छ । त्यसैले भारत हाम्रो असल छिमेकि हुन सकेन । उ ठूलो भएकोले आफनो दादागिरी देखाउँदै हामी निर्धन, अविकसित देशलाई तर्साइरहेको छ । घुँडा टेकाएर भूटान वा सके सिक्किमै बनाउने प्रयत्नमा लागिरहेको देखिन्छ ।
आफुलाई नेपालको राजनीतिक पार्टी भन्ने, मधेसका जनताका नेता बन्नेहरु पनि यतिबेला भारतको नाकावन्दीको बिरोध नगरि उल्टै भारतलाई उक्साइरहेका छन् । अझ उनीहरु आफै लामो समयसम्म नाकाबन्दी गरेर नेपाली जनतालाई दुख दिन हौसिरहेका देखिन्छन् । भारतीय मन भएका र मुखले नेपाली बोल्ने केही नेताहरु हाम्रो माग पुरा नहुन्जेल नाकावन्दी गरेर तिम्रा मागहरु पुरा गराउ भनेझैं गरी छिमेकिलाई उक्साइरहेका छन् ।
पटक पटक नाकाबन्दी गर्ने भारतले भोलीका दिनमा फेरी यस्तै अमानबिय कार्य नगर्ला भन्न सकिन्न । त्यसैले उ प्रतिको परनिर्भरता घटाउँदै जानुपर्छ । त्यसका लागि भारत मात्र हैन उत्तरको छिमेकि देखि अरु देशहरुसंग हातेमालो बढाउनतिर लाग्नु पर्छ । हामी आत्मनिर्भर नहुने हो भने संयुक्त राष्ट्र्संघ वा अन्तराष्ट्रिय कानूनको सहारा लिएर लडौंला, अधिकार लिएर छाडौंला भन्ने भनाइमा केही दम छैन । आत्मनिर्भर हुन के के गर्नु पर्छ आजैबाट निरन्तर त्यतातर्फ तनमन धन दिएर राज्य लाग्नु पर्छ । आत्मनिर्भर नभैकन, बिकल्पका बाटाहरु धेरै नभैकन उसले हामीसँग समानदूरीको सौहार्दता कायम राख्न खोज्दैन । त्यसैले उत्तरतिर रहेको असल छिमेकी चीनसँगपनि हामीले द्रुतगतिमा बिभिन्न स्थानमा नाकाहरु खोलेर तेल, ग्याँस लगायत अरु अत्यावस्यकिय कुरा उबाटै वा उसको बाटो भएर ल्याउन ढिला गर्नुहुन्न । यो बिकल्प खोज्ने बाध्यता हामीलाई स्वयं भारतलेनै सृजना गरेको हो । पैसा तिरेर किनेर ल्याउन पनि छिमेकि रिसाउला भनेर संधै उ सामु लत्रने, झुक्ने गर्नु हाम्रो जस्तो स्वतन्त्र र सार्वभौम देशलाइ कदापी सुहाउँदैन ।
अहिले चीनसँग आवतजावत गर्ने दुईवटा नाका तातोपानी र केरुड० हुन् । भनिन्छ चीनसंग १५ ठाउँबाट सम्पर्क गर्न सकिन्छ । सरकारी तबरबाट तत्काल तुरुन्त यसतर्फ ध्यान दिनुपर्छ । त्यसो भए मात्र भारतीय शाषकवर्गको हेपाहा प्रबृतिलाई उचित जवाफ हुन सक्छ । तत्पश्चात उ सँग आगामी दिनमा कुटनैतिक तवरबाट सौहार्दता कायम गर्न प्रयत्न गर्दै जानु पर्दछ ।
हामी आफै। र हाम्रा नेताहरुको बानी बिग्रिसक्यो । समस्या पर्दामात्र परनिर्भरता देख्ने, आत्मनिर्भर बन्ने बहस गर्ने गछौं । अहिलेको अवस्था सामान्य अवस्थामा फर्कनासाथ वा सहजता आउनासाथ भोलीका लागि जोहो गर्ने कुरा बिर्सन्छौं । साँच्चै भन्ने हो भने धेरै कुरामा छेपाराको उखान जस्तौ भएको छ । रातभरी जाडोले कठ्याङ्रिएको छेपाराले भोली त घर बनाउंछु बनाउंछु भन्छ । जव बिहानको पारिलो घाममा बसेपछि दिन बितेको पत्तै पाउ।।दैन अनि रात परेपछि फेरी उही कुरा भने जस्तै हुने हो भने भोली यो भन्दा बिकराल अवस्था सृजना नहोला भन्न सकिन्न ।
अब बिकल्पका कुरा
चीनले ल्हासा सिगात्से हुँदै पाँच वर्ष भित्र नेपालको साँध केरुङ नाका सम्म अत्याधुनिक रेल ल्याउन लागेको रेलमार्गलाई काठमाडौंसँग जोड्ने योजना साकार पार्न सके हाम्रो देशको भूआर्थिक, भूराजनीतिक मानचित्रनै फेरिने कुरा पक्का छ । अब आजैबाट पाँच बर्षपछिको त्यो सपना राजनीतिज्ञ र नीतिकारहरुले भारतकै राष्ट्र्पति अब्दुल कलामले भने झै निदाएर हैन ननिदाउँदै सपना देखेर योजना बनाउन थाल्नुपर्यो । त्यो रेलमार्ग नेपालसम्म आइपुग्यो भने ठूलो चिनियाँ बजार र बिश्वका अरु देशसँगको सम्पर्क गर्न हाम्रा लागि सहज हुन्छ । इन्धनमात्र हैन सबै कुराको लागि बाटो खुल्ने घामजत्तिकै छर्लङ्ग छ ।
दोस्रो, हामीले पहिलो ध्यान आफुसँग जे छ त्यसैमा दिनुपर्छ । प्रकृतिले हामीलाई पानीको भण्डार दिएकि छन् । नेपालको सबैभन्दा खेर गैरहेको श्रोत पनि पानीनै हो । त्यसैले, हामीले बिद्युत निकाल्ने तर्फनै नेपाली जनतालाइ सहभागी गराई यसैलाई पहिलो प्राथमिकता दिनुपर्छ । बिद्युत भए उद्योग कलकारखा चल्ने भए । घर घरमा ग्याँसको सट्टा बिजुली हिटर, चुल्हाबाट खाना पकाउन सकिने भयो । बिद्युत भए बिद्युतबाट चल्ने गाडी, मोटरसाइल, रोपवे,केवलकार चलाएर इन्धनमाथिको परनिर्भरता हटाउन सकिन्थ्यो । शुरुमा सार्वजनिक यातायातहरु मात्र बिद्युतबाट संचालन गर्न सके तेल खपत हुन्थ्यो । तेल खपत हुनु भनेको नेपालको पैसा बिदेशजानबाट बचाउनु हो । हिमालका चिसो पानीलाई सुद्ध पारेर पानीका अभाव भएका भारत लगायत अन्यदेशमा बेच्न सके तेल किन्ने पैसा प्राप्त हुन्थ्यो । अहिले प्रशस्तै बिद्युत निकाल्न सकेर भारतलाई बेच्न सकेकोको भए उ हामी प्रतिपनि आश्रित हुनु पर्थ्यो र यस खालको हदैसम्मको दुख हामीलाई दिने उसको आँट हुने थिएन ।
तेस्रो, इन्धन भण्डारणको क्षमतामा बृद्धि गर्ने कुरा पटक पटक हुनेमात्र गर्छ । बिदेशसँग परनिर्भर हुने तेल ग्याँसमा कम्तिमा चार पाँच महिनाको लागि पुग्नेगरी भण्डारण गर्न सकेको भए नेपाली जनताले यसरी दुख पाउने थिएनन् । अब देश हाँक्ने नेतृत्वको बुद्धिमा चाँडो घाम लाग्नु पर्छ ।
चौथो, नेपालमा पर्याप्त घाम लाग्छ । हावापनि त्यतिकै लाग्छ । खेर गैरहेको सौर्य उर्जाबाट बत्ति बाल्ने, खाना पकाउने । गाडीहरु चलाउन पनि सकिन्छ । हावा मिलबाट उर्जा निकाली प्रयोग गर्न सकिन्छ । बायोग्याँस, मिथेन ग्याँस र घरघरमा थुप्रने फोहरबाटपनि ग्याँस निकाल्ने सकिने कुरा आइरहेको छ । सजिवनका तेल, खोटाका तेलबाट गाडी चलाउनसक्ने कुरा आइरहेको छ । यस्ता ससाना कार्यबाट केही प्रतिशत भए पनि किन्न पर्ने तेल ग्यासको मात्रा कम गर्न सकिन्छ । अहिले नाकावन्दीले पिडित भैरहेको बेलामा यस्ता कुरातर्फ राज्यले आजैदेखि काम थाल्नुपर्छ । खनिज तथा भूगर्भ बिभागले जनाए अनुसार काठमाडौं उपत्यकामा ३ करोड १६ लाख घनमिटर प्राकृतिक ग्याँस रहेको अनुमान गरिएको छ । यसलाई निकालेर बिकल्पको रुपमा खाना पकाउने, गाडी चलाउने कार्य पनि गर्न सकिएला । धेरै देशमा प्राकृतिक ग्यासबाट गाडी चलेका कुरा सुन्न पढ्नमा आइरहेको छ । केवल राज्यको ध्यान, चासो र लगनशिलता चाहियो बिकल्प अरु धेरै हुनसक्छन् ।
तेलमा हामीले बार्षिक खर्वौ खर्ब रुपैयाँ खर्च गरिरहेका छौं । साना गाडीहरु पनि समस्या भएका छन् । साना गाडीभन्दा राज्यले ठूला सार्वजनिक गाडीहरु संचालनमा प्राथमिकता दिनुपर्छ । अहिले चलेका ट्याक्सी, भ्यान पिकअफ टेम्पो, माइक्रो बसका सटृा ठूला सार्बजनिक यातायातमा बढि ध्यान दिनुपर्छ । अब सरकारी कार्यालयहरुले साना गाडी, मोटरसाइकिल किन्न पनि बन्द गर्नुपर्छ । दुई पांग्रे मोटर साइकलका बिकल्पका रुपमा सडकहरुमा साइकल लेन, साइकल पार्किङस्थल ठाउँ ठाउँमा बनाएर यसलाई प्रोत्साहित गर्नुपर्छ । बिदेशतिर जस्तो सार्वजनिक यातायात भरपर्दो र व्यवस्थित हुने हो भने धेरै मानिस यसतर्फ आर्कषित हुन्छन् । सार्वजनिक यातायात व्यवस्थित नभएर भेडावाख्रा सरह कोचिएर समयको कुनै ख्याल नभएरनै अहिले मानिसहरु अलिकति पैसा कमाउने वित्तिकै निजी सवारी किन्न लागिपरेका छन् । म आफै अमेरिकाको एरिजोनामा बस्दा त्यहाँ चल्ने सन्ट्रन बसको सुबिधा देखे । त्यसको व्यवस्थापन र समय हेर्दा अचम्म लाग्थ्यो । त्यहाँ चल्ने सार्वजनिक बस व्यक्तिगत भन्दा पनि सार्वजनिक नीजी,साझेदारी मोडलबाट चलेका थिए । सन्ट्रन बसको पुरै सहरभरी त्यसको जालो फैलिएको थियो । लोभलाग्दो, भरपर्दो र मिनेट मिनेटको समयको महत्व त्यो बसले पालना गर्थ्यो । हामीकहाँ पनि व्यक्ति व्यक्तिले एउटा बस राखेर सिन्डिकेटगरी चलाउने भन्दा कम्पनी सहकारी वा पीपीपीका अवधारण अनुसार संचालन गर्ने हो भने केही व्यवस्थित हुनसक्छ । इन्धन खपत घटाउन र पर्यावरणीय प्रदुषण घटाउन पनि बिदेशतिर सार्वजनिक यातायातलाई बढीजोड दिएको रहेछ । अझ निजी गाडीहरुलाई हतोत्साही गर्न, जथाभाबि पार्किङ गर्न नदिइ निश्चित ठाउँहरु मात्र तोकि व्यवस्थित रुपमा पार्किङ शुल्क लगाउने गरिँदोरहेछ । आफ्नै गाडी हुनेहरु पनि बिश्वबिद्यालयमा पढ्न जाँदा महँगो पार्किङ शुल्क र पार्किङ सिमितताका कारण सार्वजनिक बसमा यात्रा गर्छन् वा साइकिल प्रयोग गर्छन ।
अन्तमा, अहिलेको नाकाबन्दीबाट पाठ सिकेर परनिर्भरता हटाइ आत्मनिर्भरता तर्फ उन्मुख हुने कामको थालनीमा आजैबाट सरकार लाग्नुपर्छ । अहिलेको समस्या सुक्ष्म कुटनीतिक प्रयासबाट हल गरी जनतालाई सकसबाट मुक्ति दिलाउनुपर्छ । यो नाकाबन्दीको सकस नबिर्सिकन बिकल्पका बाटाहरुको खोजीगरी एउटैसँग भरनिर्भर हुने कुरा त्याग्दै हामी आफै आत्मनिर्भर हुने कार्यमा अगाडि बढ्नु पर्छ ।




