भ्रम र भ्रान्तिमै रुमल्याएर

  • आनन्दराम पौडेल

writer-anandaram-paudelआवरण र सुपरस्ट्रक्चरमा मात्र परिवर्तन हुने, अनि अन्तर्वस्तु, सार र संस्कारलाइ तिरस्कार गर्ने होभने राजनीतिक परिवर्तनहरु राष्ट्रको लागि भयावह हुँदोरहेछ । नेपालमा जति-जति राजनीतिक परिवर्तन हुँदैगए त्यति-त्यति पोलिटिकल कल्चर र जवाफदेहिता निख्रँदै गयो र नैतिक धरातल खस्किंदै गयो । सर्वमान्य नियम के होभने जो जति जिम्मेवारीमा छ त्यो त्यति नै जवाफदेही हुनुपर्छ । तर, नेपाल मात्र एउटा यस्तो मुलुक हो जहाँ जो जति जिम्मेवार छ, त्यो त्यति नै जवाफदेहीविहीन र नैतिकताहीन भएर देखा पर्छ । २०४८ पछिकै कुरा गरौं । गिरिजा प्रसाद कोइरालाले सुटुक्क टनकपुर सन्धी गरेर आए । जब घाईंघुईं चल्नथाल्यो तब ‘सन्धी’ होइन ‘समझदारी’ हो भनेर राष्ट्रलाइ ढाँटे । सर्वोच्च अदालतमा रीट पर्यो । सर्वोच्चले सन्धी नै हो भनेर ठोकुवा गरिदियो । सबैले सोचेका थिए, उहाँले राष्ट्रसँग क्षमा माग्नुहुनेछ, तर राष्ट्रसँग क्षमा माग्ने प्रसङ्ग आउनासाथ उहाँ तर्कनथाल्नुभयो ।

अहिले तत्कालको ‘हटकेक इस्यु’ लाइ नै लिउँ । चीनको विदेश मन्त्रालयले, “नेपाल सरकारले अनुरोध गरेमा हामी इन्धन सप्लाइ गर्न तैयार छौं” भनिरहेछ । किन अनुरोध नगरेको ? भनेर सोधेको प्रश्नलाइ नेपालको परराष्ट्र मन्त्रीले दरीमुनी लुकाइरहेछन् । जवाफदेहीबाट पन्छने, तर्कने योभन्दा अर्को पराकाष्ठा के हुन सक्दछ ?

योभन्दा अघिल्लो सरकारको पालामा भएको एउटा सुन्दर योजनाको चर्चा गरुँ । चिनीयाँ सरकारी स्वामित्वको एक कम्पनीले नेपालमा ३० देखि १ हजार मेगावाटसम्म सौर्य (सोलार प्लान्ट) निर्माण गर्ने प्रस्ताव गरेको थियो । उस्ले पाकिस्तानमा १०० मेगावाटको सौर्यऊर्जा बनाइसकेको रहेछ । नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए वा निर्माणको स्वामित्व लिइदिए शुरुमा ५० करोडदेखि १ अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने उसको प्रस्ताव थियो । खरिदकर्ताले १५ प्रतिशत लगानी प्रत्याभूति गर्नुपर्नेछ, हामी ८५ प्रतिशत लगानी गर्न तयार छौं, जसको भुक्तानी अवधि ३ देखि १५ वर्ष रहनेछ भन्ने उस्को प्रस्ताव थियो । सौर्यऊर्जा उत्पादनमा क्रियाशील नेपालको निजी क्षेत्रमार्फत अगाडी बढाइएको उक्त प्रस्तावसर्वप्रथम उर्जा मन्त्रालयका सहसचिव, सचिवसमक्ष पेश भएको थियो । प्रस्ताव अत्यन्तै उपयुक्त देखिएकोले उर्जामन्त्री राधा ज्ञवालीसमक्ष पेश भयो । राधा ज्ञवालीले प्रस्ताव मात्र पन्छाइनन् कि प्रस्तावकलाइ भेट्नसमेत् इन्कार गरिन् । प्रस्ताव किन पन्छाएको भनेर सोधेको प्रश्नलाइ राधा ज्ञवालीजीले सधैं तर्काइरहिन् ।

२०६३ सालपछि सधैं सत्तामा रहेका राजनीतिक नेतृत्वको जवाफदेहिता हेरौं । जातजातिको सूचि बनाउँदा ब्राह्मण, क्षेत्री र दशनामीलाइ “अन्य” मा फालिदिए । किन “अन्य” मा मिल्काएको ? भनेर हजारपटक सोधिसकियो, तर यो प्रश्नलाइ सधैं चपरीमुनि पुरिदिन्छन् । आरक्षणको सिद्धान्त के होभने गरिबीको रेखामुनि रहेकामध्येपनि अति सीमान्तिकृतहरुलाइ राष्ट्रको मूलधारमा ल्याउनको लागि आरक्षण दिने हो । तर, यहाँ त जात र सम्प्रदायको नाममा सम्भ्रान्तहरुलाइ पो आरक्षण दिइयो। यो गलत मात्र हैन उल्टो भयो भनेर सिङ्गै राष्ट्र चिच्याइ-चिच्याइ कराइरहेछ, तर उहाँहरु कानमा ठेडी कोचेर बस्नुभएको छ ।

धूर्त नेताहरुले जनतालाइ सत्य, तथ्य, यथार्थबाट टाढा राख्नको लागि भ्रमको दुनिञा तैयार गर्छन् । आफ्ना अपराध र गलत कर्मका दोष थुपार्नको लागि एउटा दुश्मन खडा गर्छन् । तराईकै नेताहरुको बिषयमा भन्नुपर्दा उहाँहरुले पहाडीयालाइ शत्रु भनेर ब्याख्या-विश्लेषण गर्नुभएको छ । तराईमा जेजति कमि छन् त्यो सबैको दोष यिनै पहाडीया हुन् भनेर तराईका जनताको दिमागभरी पहाडीयाविरुद्ध जहर भरिदिनुभएको छ । जबकि, यथार्थ के होभने २०६४ सालमा कार्यान्वयन गर्न खोजिएको भूमिसुधार योजनालाइ उहाँहरुले नै रोक्नुभयो । २०६३ सालमा मकैभटमास बाँडेसरी जथाभावी नागरिकता बाँड्न उहाँहरुले नै लगाउनुभयो । दाइजो, तीलकप्रथाविरुद्ध अभियान अघी बढाउन रोक्ने उहाँहरु नै हुनुहुन्थ्यो । राष्ट्रिय परिचयपत्र वितरण योजना नै तुहाइदिनुभयो । भारतको अत्यन्तै वृहत् र विशिष्ट परियोजना“ नदीजडान परियोजना” अन्तर्गत नेपालको सीमामा सटाएर सडकको नाममा बनाएका बाँधहरु – लक्ष्मणपुर,  महलीसागर,  रसियावालखुर्दलोटन, लुना, बैरगनिया, कैलाशपरी, कोइलावास, कलकलवा, कुनौली, लालबकैया, खाँडो, बागमती, डोंडाफरेना, सिराहा, कमला बाँधले गर्दा तराईकै जनताको उठिबास गरेको छ, यस बिषयमा उहाँहरुले एक शब्द बोल्नुभएको छैन । नवलपरासीको सुस्तामा भारतले जबर्जस्ति अतिक्रमण गर्दै बीश हजार हेक्टर नेपाली भूमि हडपीसकेको छ, त्यसबारेमा तराईका नेताहरुले कहिल्यै आवाज उठाएनन् । भारतले कालापानी र लिपुलेकलाइ जबर्जस्ति कब्जा गरेको छ र लिम्पियाधुरासम्मै हडप्न खोजेको छ । यस बिषयमा तराईका कुनै नेतालाइ असहज महसुस भएको छैन । सीमासुरक्षा बलले नेपालीलाइ दुर्ब्यबहार गरेको,  सताएको, यातना दिएको बिषयमा उहाँहरुले कहिल्यै आपत्ति जनाउनुभएन । दश बर्षअघि बनिसक्नुपर्ने तराईको हुलाकी सडक भारतीय निर्माण ब्यवसायी (ठेकेदार) हरुकै कारणले मात्र आजसम्म अलपत्र परेको छ । भारतीय नेतासँग भेट्दा उहाँहरु यो बिषयलाइ कोट्याउनुहुन्न । जातीय कट्टरता र छुवाछुत पहाडमा भन्दा शयौंगुना चर्को तराईमा छ । बोक्सीप्रथा पनि त्यहाँ झन् बढी छ । तर, यस्ता रूढी र अन्धविश्वासबिरुद्ध सामाजिक अभियान चलाउन कहिल्यै चासो राख्नुभएन । मानव विकास सूचकाङ्क हेर्दा पहाडीया बाहुन, क्षेत्री, दशनामीभन्दा तराईका कायस्थ, भूमिहार, राजपूत, ब्राह्मणहरु हर हिसाबमा धेरै माथिल्लो स्तरमा छन् । तर, राज्यले उनीहरुलाइ नै हक, अधिकार, सुविधा प्रदान गरेको छ र विशेष अवसर छुयाएको छ । वर्तमान सम्विधानले पहाडीया बाहुन, क्षेत्री, दशनामी भन्दा धेरै बढी स्थान तराईका मधेशीका लागि सुरक्षित गरेको छ । तैपनि उहाँहरुले जनतालाइ भ्रममा पारिराख्नुभएको छ र सधैं निहुँ खोजिराख्नुभएको छ ।

जात-जाति र विकास बिषयमै केन्द्रित रहेर ८ बर्षदेखि अध्ययन गरिरहेका समाजशास्त्री डा.टीकाराम गौतमजी ( काँडेबास-६, ज्यामिरे ) ले निस्कर्ष सुनाउनुभयो, “जातकै कारणले कसैको पनि विकास, प्रगति, उन्नति अवरुद्ध भएको छैन । जो पछि परेका छन् त्यस्को कारण अरु नै छन् ।”  एउटै मात्र सूत्र प्रयोग गरेर, त्यही आधारमा मात्र केलाउँदा नेपाली समाज पछि पर्नुको कारण छर्लङ्ग देखिंदैन । कार्ल मार्क्सले उत्पादनसम्बन्धका कारणले असमानता पैदा हुन्छ भने । वेभरले शक्ति र हैसियतलाइ कारण बताए । अमर्त्य सेनले सक्षमतालाइ औंल्याए । यी तीनवटै सूत्रलाइ प्रयोग गरेर केलाउँदा नेपाली समाज पछि पर्नुका कारणहरु ठ्याक्कै फेला पर्छ ।

तथ्यहरु छर्लङ्ग छन् र सरल छन् । तर, यी नेताहरुले कतिपय तथ्यलाइ छोपछाप गरेर र कतिपय तथ्यलाइ तोडमरोड गरेर भ्रम र भ्रान्तिको हौवा खडा गरेका छन् । एउटा कृत्रिम स्थिति सृजना गरेर जबर्जस्ती जटीलतातिर धकेलेका छन् । राष्ट्रलाइ एकथोक चाहिएको छ, तर बिषय अन्यत्रै मोडिएको छ । राष्ट्रलाइ अहिले जात-जातका मान्छे चाहिएकै होइन, कर्मठ बिज्ञहरु चाहिएको छ । कृषि बैज्ञानिकदेखि आइटीका विशेषज्ञहरुको आवश्यकता छ । अहिले नेपालीलाइ जात-जातमा फर्कन लगाउने कि हरेक बिषयका बिज्ञ, विशेषज्ञ बन्न प्रेरीत गर्ने ? आजको ज्वलन्त प्रश्न बनेको छ ।

जनआवाज सुन्ने, जनभावनाको कदर गर्ने, राष्ट्रको आकांक्षा वुझ्ने र सोहीअनुसार कदम चाल्ने नेतृत्व पाउनपाए यो राष्ट्र दश बर्षमै समृद्धिको द्यौरालीमा पुग्नेथियो ।

तपाइँको प्रतिक्रिया