राष्ट्रगाथा

  • आनन्दराम पौडेल

writer-anandaram-paudel“म ठूलदाई नै हुँ । ठूलदाई कै हिसाबले वुझ्नुपर्छ । ठूलदाईको दादागिरीलाइ सहन र त्यसैमा बाँच्न अभ्यस्त हुनुपर्छ” भनेर आफ्ना छिमेकीहरुप्रति भारतले आफ्ना कर्म र ब्यबहारबाट प्रष्ट अभिव्यक्ति सधैं दिईराखेकै हो । बङ्गलादेशका पूर्व कानुनमन्त्री मौडुल अहमदले केही बर्षअघि “साउथ एसियाः क्राइसिस अफ डेभलपमेन्ट” पुस्तक प्रकाशित गरेका थिए । त्यस्मा भारतले छिमेकीहरुलाइ हेर्ने दृष्टिकोण र गर्ने ब्यबहारका बारेमा प्रष्ट निस्कर्ष दिएका छन् । “भारतले पाकिस्तानलाइ आफ्नै अलग्गिएको भूभाग, श्रीलङ्कालाइ भारतबाट समुन्द्रले छुट्याएको एउटा व्यापारिक टापु, नेपाल भारतसँग परम्परागत आवद्धता भएको भूपरिवेष्टित हिन्दू राज्य, बङ्गलादेश भारतीय सेनाको रगतबाट निर्मित राष्ट्र र भूटानलाइ संरक्षित राष्ट्रका रुपमा लिन्छ । माल्दिब्स त बेला-बेलामा सेना पठाएर ठेगानमा राखेको देश नै भैहाल्यो । भारतको छिमेकीहरुसँगको सम्बन्धलाइ एक-एक गरेर केलाएर हेर्दा के देखिन्छभने यस क्षेत्रको ठूलदाइ समस्यैसमस्याबाट पिरोलिएको छ र समस्याको स्रोत पनि उ आफैं छ ।”

मौडुल अहमदको विश्लेषण एकदमै सत्य, तथ्य, यथार्थमा आधारीत छ । यहाँसम्म त ठीकै छ, तर जब स्वार्थान्ध भएर उस्ले छिमेकीहरुलाइ स्वार्थको गोटी बनाउन थाल्छ असहजता र जटिलता त्यहींबाट शुरु हुन्छ । आफ्नो स्वार्थसिद्ध गरिरहनुपर्ने भएकोले छिमेकी देशमा आफ्नो अनुकुलका व्यक्तिहरुलाइ सरकारको नेतृत्वमा ल्याउन र महत्वपूर्ण पदहरुमा नियुक्ती दिलाउन एडिचोटीको जोड लगाउँछ ।

असोज २१ गते नेका केन्द्रीय समितिको बैठकमा आमोद उपाध्यायजीले जे रिपोर्टिङ्ग गर्नुभयो, यथार्थ त्यही हो । उहाँले भन्नुभयो, “अहिले भारतप्रति नरम हुने पार्टीको सरकार नबनाएर राष्ट्रवादी पार्टीको नेतृत्वमा सरकार बनायोभने म ठोकुवा गरेर भन्छु, भारतले यो नाकाबन्दी कस्दै लानेछ र कम्तिमा पनि ६ महिना नाकाबन्दी गर्नेछ । त्यसैले, केपी ओलीको नेतृत्वमा सरकार बनाउन दिनुहुँदैन । नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ ।” आमोदजीले आफूले जानेवुझेको सत्य जस्ताकोतस्तै नलुकाई व्यक्त गर्नुभयो । हुनपनि छिमेकमा आफ्नो अनुकुलको सरकार नबन्नासाथ भारतलाइ हन्हन्ति ज्वरो आउनथाल्छ । सन १९७७ मा श्रीलङ्कामा अत्यधिक मतले जयबर्द्धने राष्ट्रपति भए । श्रीलङ्कामा राष्ट्रपतिको रिजल्ट हुनासाथ भारतको साउथब्लकलाइ सन्निपात भैहाल्यो । त्यसपछि भयङ्कर ठूलो षडयन्त्रका साथ उ लाग्यो तमीलहरुलाइ उचाल्न । अहिले नेपाल तराईका मधिशे नेताहरुलाइ उचालिराखेको र जनजातिहरुलाइ हावा भर्दैरहेको स्थितिभन्दा भयङ्कर ठूलो षडयन्त्र थियो त्यो । बङ्गलादेशकै बिषयमा भन्नुपर्दा खालिदा जियाको पार्टी राष्ट्रवादी भएकोले त्यो पार्टीले सरकार नबनाओस् भनेर भित्रभित्रै र कतिपय खुल्ला रुपमै सम्पूर्ण संयन्त्र परिचालन गरिराखेकै छ ।

१३ बर्षअघि २०५९ भदौमा ‘आउटलुक’ साप्ताहिकले “किन भारतलाइ छिमेकीहरुले मन पराउँदैनन् ?” शीर्षकमा विश्लेषणात्मक बहस प्रकाशित गरेको थियो । त्यहाँ एकजना कुटनीतिज्ञले निस्कर्ष दिएका छन्, “भारतको धेरै छिमेकी छन्, तर एउटापनि मित्र छैन ।” त्यो बहसमा भाग लिने सबैको एउटै विश्लेषण छ । उक्त विश्लेषण अनुसार, भारत छिमेकीलाइ आफ्नो बर्चस्व ठान्छ । सबै मुद्दामामिलामा आफ्नो हक जनाउँछ । क्षेत्रको ठूलो र आर्थिक हैसियत भएको मुलुक भएरपनि व्यापारिक असमानताप्रति पटक्कै सम्वेदनशील छैन । सम्बन्धका अरु आयामहरुप्रति ध्यान नदिएर सुरक्षा र सैनिक त्रास आवश्यकताभन्दा बढी प्रदर्शित गर्छ । यिनै कारणले भारतको छिमेकीहरुसँग सम्बन्ध सौहार्दपुर्ण छैन । जुनसँग सम्बन्ध नर्मल देखिएको छ, त्यहाँ व्यापारिक र अन्य राजनीतिक स्वार्थ गाँसिएको देखिन्छ । छिमेकी हुन सीमा जोडिए पुग्छ, तर सम्बन्ध राम्रो हुन मित्रताको भाव हुनुपर्छ, अर्कोको अस्तित्वलाइ स्वीकार्नुपर्छ र बराबरीको हैसियतमा ब्यबहार गर्नुपर्छ ।

‘आउटलुक’ को उपरोक्त बहसको निचोड नै यथार्थ हो । २००७ सालपछिको नेपालमा बलियो राज्यव्यवस्था, स्थापित शासनप्रणालि, सबैले सिष्टमको अनुशरण गरिरहेको अवस्था र स्थीर सरकार भएको भारतले पटक्कै देख्नचाहेन । त्यतिमात्र होइन विश्वसमुदायबाट एक्ल्याउन र अन्तर्राष्ट्रिय मञ्चहरुमा पहूँच पुग्न नदिन भरमग्दुर प्रयत्न गर्यो । मातृकाप्रसाद कोइरालाले लेखेको “ए रोल इन ए रिभोलुशन”  पुस्तकमा भारतका शासकहरु छिमेकीहरुप्रति कतिसम्म नाङ्गिएरै हदैसम्म घीनलाग्दो ब्यबहार गर्थे भन्ने धेरै दृष्टान्त उल्लेख गरेका छन् । जवाहरलाल नेहरुले २१ जुन १९५२ मा लेखेको पत्रको कपी नै राखेका छन् । उनको पत्रको ब्यहोरा यस्तो छ – “तपाईंलाइ सम्झना होला, नेपालमा गैरभारतीय विदेशी कर्मचारीहरुको उपयोगका बारेमा हामीले प्रष्टैसँग वुझाएका छौं । हामिसँग सोधेर र हाम्रो सहमति भएपछि मात्र विदेशी कर्मचारी भित्र्याउन पाउने भनेर हामीले धेरैपटक सम्झाएका थियौं । तर, मैले के पाइरहेको छुभने हामीलाइ पूर्वजानकारी नभई बढ्दो संख्यामा विदेशीहरु नेपाल आइरहेका छन् । यस्मा हामीले ध्यानाकर्षण गराउँदा सधैं कुनै बहाना अघि सारिन्छ, तर चलिरहेकै प्रकृया अगाडी बढ्छ । हामीले जे भनेका थियौं त्यस अनुसार हुनेगरेको छैन ।”  मातृकाप्रसाद कोइरालाको उक्त पुस्तकमा जवाहरलाल नेहरुले लेखेका अरुपनि धेरै पत्र जस्ताकोतस्तै राखिएका छन् । अधिकांश पत्रमा धम्कीको भाषा छ । नेपालको क्याबिनेट बैठकमा भारतीय राजदूत बस्ने, भारत सरकारको कर्मचारीले राजाको निजी सचिवको काम गर्ने अवस्थामा कस्तो ब्यबहार हुन्थ्यो भनेर अनुमान गर्न गाह्रो पर्दैन ।

भारतले के गर्यो, के गरिरहेछ र के गर्ने छ भन्नुभन्दा पनि लेण्डुप दोर्जेभन्दा महान हाम्रा देशभक्तहरुले के गरिरहेछन् भन्ने सवालचाहीं महत्वपूर्ण बनेको छ । भारतले २०७० असारमा धौलिगङ्गा परियोजनाको बाँध खोलेर दार्चुला सदरमुकाम खलङ्गालाइ तसनहस पारिदिएको थियो । माधव घिमिरे गृह तथापरराष्ट्रमन्त्री भएकाले निरीक्षण गर्न पुगेका थिए । निरीक्षणपश्चात् सिडिओ र सम्बन्धित अधिकृतहरुलाइ, “भारतले बाँध खोलेको कारणले भनेर कहीं, कतै उच्चारणनगर्नु” भनि कडा निर्देशन दिए । लेण्डुप दोर्जेभन्दा महान देशभक्त विमलेन्द्र निधीजी फास्ट ट्र्याक निर्माण भारतीय कम्पनिलाइ दिन नपाएर छटपटीराख्नुभएकै छ । डा.बाबुराम भट्टराईजी भारतको आड लिएर नेपालीमाथि आक्रमण गर्ने, सम्विधान जलाउने र राष्ट्र सिध्याउनेहरुलाइ प्रवर्द्धन गर्नका लागि देशव्यापी दौडाहामा हुनुहुन्छ । डा.शेखर कोइराला, अमरेशकुमार सिंह, सीके राउत, डा.मिनेन्द्र रिजाल, परमानन्द झा, सुनीलबहादुर थापा, अर्जुन नर्सिंह केसी, डा.रामशरण महत, लोकमान सिंह कार्कीजीहरुको देशभक्ती र राष्ट्रप्रतिको निष्ठा अनुपम देखिएकै छ । जबसम्म उहाँहरु जस्ता महान हस्तिहरु सकृय रहनुहुन्छ हाम्रो महान मित्रराष्ट्र भारतले चिन्ता लिनुपर्ने छैन ।

तपाइँको प्रतिक्रिया