बालुवाटारमा यस्तो थियो बबाल

baluwatar_20150114125637_20150114012528_20150331043649-780x360

बुझ्न मुस्किल छैन, अघिल्लो दिन केपी ओलीलाई प्रधानमन्त्री बनाउने कागजमा सही धस्काउनेहरु प्रधानमन्त्रीको निर्वाचन हुने दिन समर्थनको भाषणका लागि रोस्ट्रम चढ्न किन आनाकानी गर्छन् ? पैसाको खेलो, पदको प्रलोभनका कुरा हल्लामा त छन्, तर प्रमाणित गर्ने चिज नहुँदा हामी यसै हो भनेर लेख्ने स्थितिमा छैनौँ । तर, घटनाक्रम हेर्दा ‘घ्यू निकाल्ने बाङ्गा औँली’ पत्तो लाग्छ ।

खम्बूवान पार्टीका रामकुमार राई, दलित–जनजाति पार्टीकी यशोदा लामा र जनता दलका हरिचरण साह हुन्, शुरुमा केपीको समर्थक बनेका र भोलिपल्टै ‘यूटर्न’ भएका । प्रधानमन्त्री निर्वाचनको दुई दिनअघि बालुवाटारमा कांग्रेस संसदीय दलको बैठक चलिरहँदा स्वतन्त्र सभासद् अतहर कमाल मुसलमान पुगेका थिए । उनलाई देखेर भित्रबाट बालकृष्ण खाँण कराए, ‘स्वतन्त्र मान्छे किन कांग्रेसको बैठकमा आयो ?’ नेताहरुले थुम्थुम्याएपछि भित्र छिरेर अतहरले भने, ‘म सात जनाको जिम्मा लिन्छु हजुर ।’ ०६४ को संविधानसभामा कांग्रेस उम्मेदवार रहेका उनले ०७० मा  कांग्रेसबाट टिकट नपाएको कारण स्वतन्त्र उम्मेदवार भई, जमानत जफत हुँदाहुँदै पनि उम्मेदवारमध्ये धेरै भोट ल्याएकै कारण चुनाव जितेका थिए । उनै अतहर भोलिपल्ट बालकोटमा देखिए, भात खाँदै, एमाले नेताहरुसँग कुराकानी गर्दै । एमाले नेताहरुलाई सुनाए पनि, ‘अखण्ड पार्टीका कुमार खड्का, स्वतन्त्र चन्द्रेश्वर झा, जनजागरण पार्टीका लोकमणि ढकालहरुले मैले भनेको मान्छन्…†’ अतहरले बालकोट पुगेर यस्तो कुरा गरेको खबर तुरुन्त बालुवाटार पुग्यो । र, बालुवाटारले मीनेन्द्रलाई यी सबका कुरामा क्लियर भएर अगाडि बढ्न अह्रायो । अतहर र उनले बालकोटमा नाम लिएकाहरु मात्र हैन, हरिचरण, यशोदा र रामकुमार पनि बालुवाटारमा बोलाइए । रामचरणले हिजो जनआस्थालाई भनेअनुसार, उनीहरुले त्यहाँ पुगेर प्रधानमन्त्रीलाई उल्टै गाली गरे, ‘यो के ताल हो, तपाईंहरुको सरकारको’ भन्दै । तर, स्रोत भन्छन्, उनीहरु निहुरीमुन्टी लगाएर सुशीलको कुरा सुन्दै थिए । पछि मीनेन्द्रले तानेर ‘खासखुस’ गरेपछि हंसमुख फिर्ता भए । भयो के भने, बालुवाटारमा बोलाउँदा अतहर, लोकमणि र चन्द्रेश्वरले सामुहिक रुपमा कुरा गरे, बसे । तर, केपीको समर्थक बसेका हरिचरण, यशोदा र रामकुमारले अतहरको घानमा बस्न रुचाएनन् । त्यसैले अतहरसँग कुरा भइसकेपछि बल्ल हरिचरणहरुसँग कुरा शुरु भयो । उनीहरु बोलाउँदासाथ पुगेका पनि थिएनन् । प्रधानमन्त्रीका भाञ्जा रमेश भण्डारीले हरिचरणलाई फोन गरे । अघिल्लो दिन बागबजार जानका लागि सिंहदरबारबाट मोटरसाइकलमा हिँडेका हरिचरणले पूर्वी गेटमा पुगेपछि पेट्रोल सकिएर मोटरसाइकल थन्किएको कुरा सुनाए, रमेशलाई । यसपछि रमेशले ‘चिन्ता गर्नै पर्दैन मान्यज्यू, यहाँबाट म आफैँ गाडी लिएर आउँला’ भने । यी तीनैजनाको बालुवाटार ढुवानी भण्डारीकै गाडीमा भएको हो । (हरिचरणले यो कुरा स्वीकारेका छन् ।)

त्यस्तै, मीनेन्द्रले एमाओवादी नेता देवेन्द्र पौडेललाई बोलाएर उनको पार्टीबाट ओलीको विपक्षमा कति मानिस तयार हुने ? भन्दै प्रश्न गरे । ‘पार्टी निर्णयप्रति असहमति राख्दैमा विपक्षमा भोट हाल्ने कुरा बुझ्नु नै गलत चिन्तनको उपज हो’ भनी देवेन्द्रले पछि हामीलाई बताए ।

जनआस्थाले प्रतिक्रिया लिनका लागि फोन गर्दा जनता दलका अध्यक्ष हरिचरणले ‘ओलीजीजस्तो क्रान्तिकारी र सच्चा देशभक्त मान्छेले कमल थापाजस्ता प्रतिगामीको समर्थन लिएका कारण हामी अनुपस्थित भएका हौँ’ भने । उनले बालकोट र बालुवाटार गएको पनि स्वीकारेका छन् । मीनेन्द्रसँग खासखुस भएको पनि सकारे । तर, केही लेनदेन भएको हल्लाबारे भने ‘म त लिन्नँ पनि, दिन्नँ पनि हजुर’ भन्दै फोन काटे ।

उता, कांग्रेस नेता प्रकाशशरण महत फेसबुकमा महेश आचार्य र शेखर कोइरालाविरुद्ध खनिएका छन् । सहमहामन्त्री पूर्णबहादुर खड्काले जस्तो साहसका साथ राजीनामा लेख्न नसक्ने, तर फेसबुकबाट नेतालाई गाली गर्ने उनको शैलीबारे हिजो विहान कोइराला निवास, महाराजगञ्जअगाडिको क्याफेमा कांग्रेसीबीचमै कुरा चल्यो । रहेछ के भने, प्रधानमन्त्रीमा पार्टीले केपी ओलीलाई नै समर्थन गरेर जाने पूर्णबहादुरहरुको पक्षमै थिए प्रकाशशरण पनि । उनीहरु त्यस्तो गठबन्धन हुनेमा विश्वस्त मात्र हैन, प्रकाशशरणले त उर्जा मन्त्री पाउँदैछु भनेर विज्ञापन पनि गर्न भ्याइसकेका रहेछन् । उर्जा मन्त्री हुने हल्ला चलाएका कारण केही ठाउँबाट दशैँ खर्च पनि उठेको हल्ला त्यहाँ व्याप्त छ । ‘कि त्यो पैसा फर्काउनुप¥यो, कि त यस्तै गालीसाली गरेर पन्छिनुप¥यो’, एकजना कांग्रेसी भन्दै थिए ।

उता, जातेजाते बालुवाटारमा मान्छेलाई छिराउने र नछिराउने विषयमा बबाल हुँदा प्रहरीले आपसी झगडा मिलाइदिनुपरेको छ । हिजो मंगलबार निवर्तमान प्रम सुशील त्यहाँबाट बाहिरिए । उनी बाहिरिनु केही साताअघि भित्र छिर्न नदिनु भनिएका पिए छिर्न खोज्दा आपसमै भनाभन र धकेलाधकेल चलेको हो । पहिल्यै निकालिएका पिए लक्ष्मण ढकालले राखेका नेविसंघ केन्द्रीय सदस्य सागर खनाललाई दुई नम्बर गेटबाट छिर्न नदिनु भनी प्रधानमन्त्रीकी भाञ्जेबुहारी प्रभा भण्डारीले प्रहरीलाई आदेश दिएकी थिइन् । तर, जब्बर स्वभावका सागर प्रभाले भन्दैमा किन मान्थे र, प्रहरीलाई नै हप्कीदप्की गर्दै भित्र छिरे । उनी छिर्न खोज्ने, प्रभाका मान्छेहरु निकाल्न खोज्ने हुँदा सरकार छाड्नुअघि रमाइलो तानातान भयो । सागर मान्छे खराब त हैनन्, तर कतिपय महŒवपूर्ण व्यक्तिलाई पनि प्रधानमन्त्रीसँग भेट गर्न नदिने कारण उनीप्रति कांग्रेसभित्र असन्तुष्टि थियो । उनी लोकतान्त्रिक आन्दोलनमा खुट्टामा गोली लागी घाइते भएका व्यक्ति हुन् । हिजो जनआस्थाले बालुवाटार घटनाबारे सोध्दा केही बताउन चाहेनन् । ‘किन चाहियो तपाईंलाई ? केही पनि भा’होइन भनेर लेख्नुस्’ भने । घटनाका प्रत्यक्षदर्शी एक प्रहरीले भने त्यस दिनको दोष सागरको नभएर प्रभाकै भएको दावी गरे ।

त्यस्तै, केपी ओली प्रधानमन्त्री बनेलगत्तै बालुवाटारको प्रहरी कमाण्ड फेरिएको छ । सुशील कोइरालाको सुरक्षार्थ प्रहरीले त्यहाँ डिएसपी सोमेन्द्रसिंह राठौरको कमाण्डलाई खटाएको थियो । तर, ओली प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै सोमेन्द्र त्यहाँबाट फिर्ता भई एसएसपी सर्वेन्द्र खनालसँग काम गर्न अपराध महाशाखा पठाइने भएका छन् भने बालुवाटारको कमाण्डरमा अर्का डिएसपी सन्तोषकुमार तामाङ खटाइएका छन् । उनी झापाली हुन् ।

( बुधवारको जनआस्था साप्ताहिकबाट)

तपाइँको प्रतिक्रिया