अरुका अनुभवबाट सिकौं

  • आनन्दराम पौडेल

writer-anandaram-paudelराज्यव्यवस्थाका सामान्य अध्येतालाइ समेत् ज्ञात भएको निस्कर्ष के होभने सम्विधानलाइ विकास गर्ने हो । प्रारम्भमा सम्विधान निर्माण भएर जारी हुँदा यो नवजात शिशु भन्दा भिन्न हुँदैन । जसरी एउटा नवजात शिशु विकसित हुँदै सक्षम व्यक्तिको स्थितिमा पुग्छ, त्यसैगरी सम्विधानपनि विकसित हुँदै परिपक्व अवस्थामा आइपुग्छ । एउटा बालकलाइ योग्य, विवेकशील, सुसंस्कृत, सभ्य व्यक्तिमा रुपान्तरण गर्न उस्का अभिभावक, शिक्षकहरुको हात हुन्छभने सम्विधानलाइ विकास गरेर परपक्व स्थितिमा पुर्याउन शासकहरु, राजनीतिक नेताहरु र राष्ट्रका अगुवाहरुको हात हुन्छ । अभ्याससँगै सम्विधानको विकास हुँदै जाने हो । हामी नेपालीहरुको सोच, चिन्तनमै संशोधन गर्नुपर्ने कहाँनिर देखिएको छभने हामी अतिवादी सोच राख्छौं र एक्कैचोटी पल्लो भित्तोमा पुग्न खोज्छौं ।

ठ्याक्कै भनेकैजस्तो र एक्कैचोटी परिपूर्णता विश्वब्रह्माण्डमै हुँदैन । हामी सबै कहीं-न-कहीं अपूर्ण नै छौं र पूर्णतातिर प्रयत्नशील छौं । असोज ३ गते जारी भएको नेपालको सम्विधानकै बिषयमा भन्नुपर्दा सम्विधान निर्माण गरिरहेका ठूला ३ दलका शीर्षस्थ नेताहरु आफैं कहीं-न-कहीं घोर असन्तुष्ट छन् । तर, उनीहरुले आफूलाइ कहाँ चित्त वुझाएका होलानभने अहिल्यै देखिएका यस्का कमिकमजोरी र चित्त नवुझेका बिषयमा पछि जनमत निर्माण गर्दै परिमार्जन गराउन सकिन्छ भन्ने विश्वास लिएका छन् । सुझवुझ भएका जनताले पनि यही सम्विधानलाइ भविष्यमा परिमार्जन गर्न र पूर्णतातिर लान सकिन्छ भनेर विश्वास गरेका छन् ।

छिमेकी देश भारतको सम्विधान जारी गर्दा सङ्घीयताको खाका कोरिएको थिएन । पछि भारत सरकारले आयोग गठन गर्यो, र त्यस्ले सिफारिश गरेको आधारमा प्रादेशिक राज्यहरुको निर्माण गरियो। भारतमा पनि सम्विधान जारी गर्दा त्यहाँका कम्युनिष्ट पार्टीहरु तथा जयप्रकाश नारायण, राममनोहर लोहियाहरु घोर विरोधमा उत्रेका थिए । धेरै पछि निर्वाचनको समयमा मात्र उहाँहरु मिसिन आउनुभएको थियो। अमेरिकाले बनाएको सम्विधानमा शुरुकालमा मौलिक हक नै थिएन । अभ्यास गर्दैजाँदा अपरिहार्य आवश्यकताको वोध भए अनुसार पटक-पटकका दशौं सशोधनबाट मौलिक हकको प्रावधान राखियो । अमेरिकाको सम्विधानमा “प्रजातन्त्र” शब्द कहीं कतै थिएन ।

सम्विधान भनेको शासनपद्धतिको निर्धारण मात्रै हो । राज्यसञ्चालकहरुको विवेक,इमान्दारी, लक्षचिन्तन, कृयाशीलता र राष्ट्रप्रति समर्पणभावले मात्र  यसलाइ जीवन्त र गतिशील बनाउँछ । विश्वप्रसिद्ध सम्विधानविद लौरेन्स एच ट्राइबको निस्कर्ष यहाँ मननीय छ । “सम्विधानले गरेका व्यवस्थाको अभ्यास तथा सम्विधानमा रहेका अस्पष्टताहरुको क्रमिक व्याख्याद्वारा नै सम्विधान गतिशील हुन्छ र पूर्णता प्राप्त गर्छ भनि नवुझ्ने र धैर्य नभएको समाज सम्विधानको संशोधन र परिवर्तनको लागि हतारिन्छ । यो हतारोको प्रवृत्तिले परिवर्तित वा अर्को सम्विधान पनि अस्थिरताकै सङ्कटमा पुग्छ” भन्ने लौरेन्सको निस्कर्ष छ । लौरेन्सको उक्त निस्कर्ष धेरै मुलुकका सम्वैधानिक अभ्यासको निस्कर्ष हो ।

अभ्याससँगै गरिंदैजाने न्यायिक व्याख्याको गतीशीलता र त्यस्को महत्व वुझेका हुनाले बेलायतमा कसैले पनि अलग्गै सम्विधानको ग्रन्थ खोज्दैन । अमेरिकामा सम्विधानको पुस्तक भएपनि त्यसभन्दा न्यायिक व्याख्याद्वारा निरुपण हुने सम्वैधानिक स्थितितर्फ नै सबै नागरिकको चासो हुन्छ। विश्वमा भएका सम्वैधानिक विकास र अभ्यासको अध्ययन गरी प्रकाशित गरिएको कृति “ल इन चेञ्जिङ सोसाइटी” मा डब्लु फ्रेडमानले पनि ठ्याक्कै यही निस्कर्ष दिएका छन् । उनले पनि फ्रान्स, जर्मनी, इटली आदि मुलुकमा सम्विधान संशोधन वा परिवर्तन भन्दा न्यायिक व्याख्याद्वारा सम्वैधानिक यात्रालाइ अघि बढाइएको दृष्टान्त दिएका छन् ।

वुद्धिमान उत्तम मनुष्यले अरुको अनुभवबाट सिक्छ । औसत व्यक्तिले आफ्नै अनुभवबाट सिक्छ। जो अनुभवबाट सिक्न खोज्दैन र आफूपनि अभ्यास गर्दैन त्यो पटमूर्खको पतनलाइ कसैले रोक्न सक्दैन । नेपाल राष्ट्रका अगुवाहरु, शासकहरु र राजनीतिक नेताहरुले विकसित राष्ट्रका सम्वैधानिक अभ्यास र विकासबाट पाठ सिकिदिए यो अकिञ्चन राष्ट्रको कल्याण हुन्थ्यो । सम्वैधानिक अभ्यास शुरु नै नगरी संशोधन गर्न हतारिने र सम्विधानको अध्ययन नै नगरी हचुवामै निषेध र खारेज गर्न तम्सिनेहरुले एकपल्ट ठण्डा दिमागले पुनर्विचार गरुन् ।

तपाइँको प्रतिक्रिया