राष्ट्रघाती गद्दारविरुद्ध
- आनन्दराम पौडेल
भदौ २७ गते आइतबार सम्विधानसभालाइ सम्वोधन गर्दै एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको लागि अत्यन्तै सम्वेदनशील र भयङ्कर बिषयको खुलासा गर्नुभयो। उहाँले भन्नुभयो, “तराईका नेताहरुसँग मैले अन्तरङ्ग वातचित गरें। तपाईंहरुको भित्री मनशाय र उद्देश्य के हो ? भनेर सोधें। उहाँहरुले हाम्रो भित्री मनशाय र उद्देश्य तराईलाइ नेपालबाट छुट्याउने नै हो भन्नुभयो।” प्रचण्डजीले यो खुलासा गरेर नेपाली जनतालाइ ठूलो गुन लगाउनुभयो। नत्र नेपालका शासक र नेताहरु जनतालाइ थाहा दिने मामलामा अत्यन्तै कञ्जुस छन्।
हुन त नेपालको राजनीतिलाइ नजिकैबाट नियालिरहेका थोरै व्यक्तिका लागि यो खुलासा नौलोचाहीं होइन। ४-५ बर्ष अघिदेखि तमलोपाका अध्यक्ष महन्थ ठाकुरजी, “मैले भने अनुसार भएनभने तराईलाइ अलग्याइदिन्छु” भनेर बात-बातमा राष्ट्रलाइ धम्क्याइरहनुहुन्थ्यो। महन्थ ठाकुर मात्र हैन नेपाली कांग्रेसका अमरेशकुमार सिंहजी पनि तराईलाइ नेपालबाट अलग्याएर राष्ट्र टुक्र्याइदिने अभियानमा दौडिराख्नुभएकै छ। बिषय नौलो नभएपनि सम्विधानसभाको बैठकमा औपचारिक तवरबाटै आधिकारिक जानकारी पाएकोचाहीं यो पहिलो हो। प्रचण्डको सम्वोधनलाइ अधिकांश टिभी च्यानलहरुले प्रत्यक्ष प्रशारण गरेकाले राष्ट्रविरुद्ध भैरहेको यो भयङ्कर षडयन्त्रको जानकारी धेरैभन्दा धेरै नेपाली जनताले प्रत्यक्ष हेर्ने र सुन्ने अवसर पाए।
नेपाललाइ छिया-छिया पारेर कमजोर बनाउने अभियान ८-९ बर्ष अघिबाटै शुरु भएको हो। विदेशीहरुको षडयन्त्रको ग्राण्ड डिजाइन भएपनि त्यो षडयन्त्रलाइ कार्यान्वयन गर्न हाम्रै पार्टी र नेताहरु प्रयोग भए। भदौ २८ गते सोमबार सम्विधानसभाको बैठकमा आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन अध्यक्षले गरेको अनुरोधमा माननीय सभासद दुर्गा पौडेलजीले भन्नुभयो, “सङ्घीयताले देशलाइ नै खारेज गर्न लागेको यो स्थितिमा सङ्घीयतालाइ नै खारेज गर्नुपर्छ भन्ने मेरो प्रस्ताव राष्ट्रलाइ जोगाउने पक्षमा छ। तसर्थ, फिर्ता लिन्न” भन्नुभयो। कमरेड प्रचण्डले जुन खुलासा गर्नुभयो त्यस्को कडी यहाँ जोडिन्छ। यो राष्ट्रले आफ्नो जीवनभरी कहिल्यै सङघीयताको आवश्यकता महसुस गरेन। माननीय दुर्गा पौडेलले भन्नुभएझैं स्थानीय निकायलाइ सक्षम बनाउँ र अधिकार थप्दैजाउँ भनेर चाहेको थियो। जनचाहनालाइ लत्याएर र जनभावनालाइ मिचेर जबर्जस्ति सङ्घीयता घुसाउने र सङ्घीयता लाद्ने काम कस्ले गर्यो ? कुन ग्राण्ड डिजाइन मुताबिक कुन उद्देश्यले जस्केलाबाट सङ्घीयतालाइ हुलेको रहेछ ? षडयन्त्रको पर्दाफास भएर छ्याङ्ग भैसकेको अवस्था भएकोले सायद प्रचण्डले खुलासा गरेको हुनुपर्छ।
सङ्घीयता थोपर्ने काममात्र भएन, स्थानीय निकायलाइ कमजोर पार्ने षडयन्त्रसमेत् सँगसँगै भएको छ। स्थानीय निकायले प्रयोग गरिराखेको अधिकार र अभ्यासलाइ कटौतिसमेत भयो। स्थानीय निकाय भनेको जनताले राज्यशक्तिको प्रत्यक्ष अभ्यास गर्ने मुख्य स्थान हो। स्थानीय निकायमार्फत् राज्यशक्तिको अभ्यासमा सर्वसाधारण जनता प्रत्यक्ष सहभागी हुन्छन्। यस्ले जनताको आत्मविश्वास मात्र दह्रो हुँदैन सम्पूर्ण जनता एउटै सञ्जालमा जोडिएर राष्ट्र मजबुत बन्छ। राष्ट्र मजबुत बन्ने यही एउटा माध्यमलाइ समेत् छिनाल्दिने काम कस्ले गरायो ?
अहिले तराईका नेताहरुले दिनदिनै भारतीय नेताहरुलाइ भेटिरहेछन् । उताबाट आएर तालिबानी र बोकोहरामलाइ माथ गर्नेगरी अत्यन्तै क्रुर, पाशविक हत्या गराइरहेछन्। जिउँदै मानिसलाइ आगो लगाएर मारिरहेछन्। २-३ किलोमिटरसम्म लखेटी-लखेटी भालाले रोपेर हत्या गरिरहेछन् । जिल्ला अस्पतालले नै ठूलो अस्पताललाइ रेफर गरी एम्बुलेन्समा राखेर लैजाँदैगरेको बिरामीलाइ एम्बुलेन्सबाट ओह्राली बान चुटेझैं लाठीले चुटी-चुटी मार्छन् । र, यसैलाइ आन्दोलन भन्छन् । अत्यन्त घीनलाग्दो र दुःखद बिडम्बना के भयोभने यस्ता बिभत्स हत्या-हिंसा दिनदिनै भैरहँदा यसको विरुद्धमा विदेशी राष्ट्र, कुटनीतिक नियोगहरु बोल्दैनन् । हत्या-हिंसाको ताण्डवनाच चलिरहेको तराइमा सुरक्षा स्थिति मजबुत नपार भनेर उल्टै दबाब दिन्छन् । भारतका राजदूत त नेताहरुको घर-घरमा र अझ त्यतिले नपुगेर प्रधानसेनापतिलाइ समेत् दबाब दिन पुगिरहेका हुन्छन्।
यो नेपाल राष्ट्रलाइ विदेशीले कतिसम्म हेपेका छन् भन्ने यो सानो उदाहरण मात्र हो। राष्ट्रलाइ माया गर्ने नेपाली जनताले राष्ट्रघाती गद्दारहरु को-को रहेछन् ? चिनेर त्यस्को विरुद्ध खडा हुन ढिला भेसकेको छ।




