आन्दोलनको नैतिकता
- आनन्दराम पौडेल
भदौ २३ गते बुधबारका दिन विराटनगर नजिकै सीमाक्षेत्रमा ५ जना प्रहरी उभिईरहेका थिए । क्रुर हिंसाको नशा चढेका उग्र समूह आइपुग्यो । ती प्रहरीलाइ पेट्रोल छर्के । ग्याँस सिलिण्डरमा आगो झोसे, र प्रहरीतर्फ हुत्याइदिए । प्रहरीहरु बाल-बाल जोगिए । प्रहरीलाइ जिउँदै जलाउने प्रयास असफल भएपछि त्यो उग्र समूहले रानी भन्सार कार्यालयमा ढुङ्गामुढा गरे । रानी भन्सारमा ढुङ्गामुढा सम्पन्न गरेर अगाडी बढेका थिए, पत्रकारहरुलाइ देखे । बाँकि रहेको ढुङ्गा गोरखापत्रका समाचारदाता जितेन्द्र ठाकुर र मकालु टेलिभिजनका सम्वाददाता नवीन कर्णलाइ हानेर त्यो उग्र समूह अघि बढ्यो । अहिले तराईमा दिनदिनै भैरहेका यस्ता शयौं घटनाको यो प्रतिनिधि घटना हो ।
आन्दोलनको सार भनेको एजेण्डा हो । एजेण्डा विवेकपूर्ण र न्यायो चित हुनुपर्छ। एजेण्डा जनताको मन छुने हुनुपर्छ । जनताको समस्यासँग प्रत्यक्ष जोडिएको हुनुपर्छ। जनताका समस्यालाइ सम्वोधन गर्ने एजेण्डा भएनभने भित्र आत्मैदेखि जनता आन्दोलनसँग गाँसिंदैनन् । जनता स्वतस्फूर्त अग्रसर भएर आन्दोलनमा आउँदैनन्। स्वतस्फूर्त नआएपछि अनेकौं प्रपञ्च रचेर ल्याउनुपर्ने हुन्छ । भदौ ७ गते टीकापुरमा ल्याइएको भीडका हरेकले भने, “जुलुसमा उपस्थित नभए रु.१००० जरिवाना तिर्नुपर्छ भन्ने उर्दी थियो । रु.१००० तिर्न नसक्नेहरु सबै जुलुसमा आएका ह्वौं।” यसरी तर्साएर, धम्क्याएर, लोभ्याएर उपस्थित गराएका जनताको हूल देखाएर गरिएको आन्दोलन कति सार्थक होला ? यो प्रश्न खडा भएको छ । जनताका भावना वुझेर र जनताको भावना समेटेर गरिएको आन्दोलनमा जनताको स्वतस्फूर्त सहभागिता हुने भएकोले अनेक प्रपञ्व रच्न र प्रलोभनहरु देखाउनुपर्दैन । आफूलाइ ‘मधेशवादी’ भन्ने तराईका नेताहरुले ५० लाखको प्रलोभन जुन दिईरहेछन् प्रपञ्चकै अर्को उदाहरण हो ।
जनता स्वतस्फूर्त सहभागी हुने आन्दोलन विवेकहीन, क्रुर र हिंस्रक हुँदैन । एक त जनता कहिल्यैपनि अविवेकी, क्रुर र हिस्रक हुँदैन । अर्को, जनता स्वतस्फूर्त जर् याकजुरुक् जागेपछि असफलताको सम्भावना हुँदैन । उनीहरु आत्मविश्वासका साथ ढुक्कसँग आन्दोलनमा भाग लिईरहेका हुन्छन् । जनता आफैं नजागेको र स्वतस्फूर्त सहभागी नभैरहेको अवस्थामा जे-जसरी भएपनि आन्दोलन चर्काउनको लागि अनेकौं प्रपञ्च रच्नैपर्ने हुन्छ । हजारौं मानिसको सामुन्ने कसैलाइ जिउँदै जलाएर हुन्छ कि, आँखैमा भाला रोपेर विभत्स हत्या गर्दा हुन्छ कि, लखेटी-लखेटी मारेर हुन्छ कि, के गर्दा सनसनि फैलिन्छ र आतङ्क मच्चिन्छ त्यो सबै गर्न बाध्य हुन्छन् । टीकापुरमा मान्छेलाइ जिउँदै जलाएको, २ बर्षको नानीलाइ टाउकैमा गोलि दागेको, कतिलाइ लखेटी-लखेटी मारेको र विराटनगरको सीमानजिक उभिईरहेका पाँचजना प्रहरीलाइ करिब-करिब जलाइसकेको अवस्थालगायत तमाम घटनाहरु यही सन्दर्भमा प्रष्ट हुन्छ ।
यही घटनावलीको वीचमा एउटा प्रश्नभने खडा भएको छ । हामी मूल्यमा आधारीत विवेकशील, सभ्य, सुसंस्कृत समाजको निर्माण गर्दैछौं कि विवेकहीन, स्वार्थी, हिस्रक समाजको निर्माण गर्न गैरहेछौं ? हामीले कस्तो समाज र राष्ट्र निर्माण गर्न खोजेका ह्वौं, त्यो हाम्रो आचरण, व्यबहार, कर्म, र संस्कारमा झल्कन अपरिहार्य हुन्छ। सर्वप्रथम अगुवाहरु त नमुना नै बन्नुपर्छ ।
जनताको स्वतस्फूर्त सहभागिता नभएकोले एकातिर जनतालाइ लोभ्याएर, धम्क्याएर र बाध्य पारेर आन्दोलनमा उतार्ने, अर्कोतिर भारतका नेताहरुसँग हारगुहार गर्ने र लैनचौर धाउने यो कस्तो नैतिकता हो ? आन्दोलनकारी, अझ विशेषगरी अगुवाहरु झन् नैतिकवान हुनुपर्ने होइन र ? जालझेल, प्रपञ्च, हिंसा र अनैतिकताको जगमा उभिएको आन्दोलनको परिणाम कति मानवीय होला ? यी यस्ता प्रश्नहरु हुन् जस्ले हामीलाइ पछिसम्म लखेटिरहने छन् ।




