गाई मारी गधा पोस्ने नेता
- आनन्दराम पौडेल
सदभावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्ण, सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवहरु भदौ २२ गते भारतीय नेतालाइ भेट्न पुगे। ‘हामीले मधेस बन्द गराइराखेका छौं’, तपाईंहरुले पेट्रोलियम र अन्य आवश्यक बस्तुको आपूर्तिमा रोक लगाइदिनुहोस् । नेपाललाइ पूरै नाकाबन्दी गरिदिनुहोस्” भनेर बिन्तिभाउ गरे । केही दिन अघिपनि नेपालका तराईवादी नेताहरु राजनाथ सिंहलाइ भेट्न पुगेका थिए । उनीहरुले पनि नेपालको तराई तपाईंहरुकै भरमा छ भन्ने निवेदन चढाएका थिए । भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालतिर औंलो ठड्याउँदै, “तराईमा भएका एक करोड जनता हाम्रा हुन् । तिनीहरुको माग जसरी’नि पूरा गराइन्छ” भनेर गर्जेपनि । विश्वमा कहीं नभएको बिचित्रको चरित्र नेपालका राजनीतिक नेताहरुले देखाइरहेछन् ।
आफ्नो राष्ट्रप्रति पटक्कै माया छैन । जनताप्रति भरोसा छैन । भारतका नेता रिझाउनपाए सबैथोक हुन्छ भन्ने ठानेका छन् । आफ्नो देशका जनतालाइ विभाजित गरेका छन् । एकले अर्कोलाइ घृणा गर्न लगाएका छन् । भारतका नेता गुहारेर यी पहाडीयाहरुलाइ कच्याककुचुक पारिदिन्छु बनेर कस्सिएका छन् ।
दुई बर्षअघि विकिलिक्सले प्रकाशित गरेको नेपालसम्बन्धि सूचनाहरुमध्ये केही सूचना सम्वेदनशील र गम्भीर थिए । त्यस्मा, नेपालमा ६ हजार भारतीय-तिब्बती सेना रहेको खुलासा थियो । अर्को, नेपाल-भारत सचिवस्तरीय बैठकले लुम्बिनी र पशुपतिनगरमा भारतको इमिग्रेशन चेकप्वाइण्ट राख्न दिने निर्णय थियो । तेश्रो, एमाओवादी अध्यक्षपुष्पकमल दाहाल ‘प्रचण्ड’ लाइ भारतको केन्द्रीय सरकारले पाँच बर्ष झारखण्ड क्षेत्रमा संरक्षण दिएर राखेको खुलासा थियो । माथि उल्लेखित तेश्रो सूचना नेपाली जनताको लागि नौलो रहेन । एसडी मुनीको पुस्तक, विवेक शाहको “मैले देखेको दरबार”, सुधीर शर्माको “प्रयोगशाला” लगायत धेरैतिरबाट खुलस्त भैसकेको छ ।
दोश्रो भन्दापनि पहिलो जानकारी जिब्रो टोक्नुपर्नेसम्मको भयङ्कर छ । विकिलिक्सले प्रकाशित गरेअनुसार भारतले भारतीय सेनामा ‘स्टाविल्सिमेण्ट २२’ नामक युनिट स्थापना गरेको छ । जस्मा ३० हजार तिब्बती शरणार्थीलाइ सैनिक र आवश्यकता अनुसारका तलीम, प्रशीक्षण दिएर तिखारेर राखेको छ । त्यही ३० हजार मध्येबाट नेपालीको अनुहारसँग मिल्दोजुल्दो देखिने अनुहार र बनोट भएका त्यो युनिटका छ हजार सदस्यलाइ नेपालभित्र कृयाशील गराएको भनेर खुलासा गरेको छ ।
यहाँ दुइटा पक्षको –याङकोठ्याङ ठ्याक्कै मिलेको छ । पहिलो हो भारतको ठुलदाई बन्ने चाहना र अर्को हो नेपाली नेताहरुको लम्पसार स्वामीभक्ति । भारतले नेहरुकालदेखि नै छिमेकीहरुसँग ठूलदाईको रुपमा प्रस्तुत हुँदै दादागिरीकै ब्यबहार गर्दै आयो । शुरुकालमा त अन्तर्राष्ट्रिय जगतमा सम्बन्ध बढाउन र विदेशीहरुलाइ नेपालमा आउन दिने बिषयमा समेत् कसीलो नियन्त्रण राख्यो । मातृकाप्रसाद कोइरालाले आफ्नो संस्मरण पुस्तक “ए रोल इन ए रिभोल्युशन” २०६६ सालमा प्रकाशित गरे । त्यहाँ उनले लेखेका छन्, “जवाहरलाल नेहरुले भारतसँग संयोजन नगरी परराष्ट्र मामलाका कुनैपनि बिषय अघि नबढाउन नेपाल सरकारलाइ बारम्बार दबाब दिएको उल्लेख गरेका छन् । जनवरी १९५१ मा अमेरिकासँग आर्थिक सहायताको लागि सहमतिपत्रमा ह्स्ताक्षर भएको बिषयमा समेत् अब्जेक्शन गर्दै, “अमेरिकालगायत अन्य कुनैपनि मुलुकसँग सम्बन्ध राख्दा भारतमार्फत् मात्र राख्नुपर्ने” भनि कडिकडाउ निर्देशन दिएका छन् ।
चीनले पनि नेपालसँग दौत्य सम्बन्ध राख्न विशेष रुचि राखेको थियो । त्यो थाहा पाएर नेहरुले नेपाल सरकारलाइ यस्तो पत्र लेखेका थिए, “उनी (चाउ एन लाइ) कुनैपनि हिसाबले सङ्कीर्ण सोचाईका व्यक्ति होइनन्, जुन प्राय कम्युनिष्टहरु हुन्छन् । जहाँसम्म नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको कुरो छ, अहिलेको अवस्थामा र निकट भविष्यमा तपाईंहरुले यस बिषयलाइ प्रोत्साहन गर्नुहुँदैन ।” भारतले रोक्दारोक्दैपनि पञ्चशीलका आधारमा कुटनीतिक सम्बन्ध स्थापना गर्ने भनेर अगष्ट १९५४ मा चीनबाट औपचारिक पत्र प्राप्त भयो । यो सन्दर्भमा पनि भारतले कुटनीतिक सम्बन्ध स्थापना गर्ने वार्ता पेकीङमा नगर्नु दिल्लीमा गर्नु । दिल्लीमा गर्न सम्भव नभएमात्र काठमाडौंमा गर्नु भनेर हस्तक्षेप गरेका थिए ।
नेपालका नेताका बिषयमा भारतीय दृष्टिकोण वुझ्नको लागि कलकत्ताबाट प्रकाशित हुने ‘दि टेलिग्राफ’ मा केही बर्षअघि प्रकाशित केपी नयरको लेखलाइ पढ्दा छर्लङ्ग हुन्छ । उनले लेखेका छन्, “नेपालका राजनीतिक दलका नेताहरुले भारतको साथ, सहयोग र समर्थन नपाई कहिल्यै खुट्टा टेक्न सकेका छैनन् । प्रष्ट देखिएकै कुरो हो, नेपालका पार्टीनेताहरुले भारतको प्रभाव कसरी कटाउने र घटाउने भनेर कहिल्यै प्रयास गरेका छैनन्, बरु भारतलाइ कसरी रिझाउने र कसरी भारतका प्रभावशाली व्यक्तिहरुको सामिप्य पाउने भन्ने प्रयासमै केन्द्रित छ ।”
समग्र स्थितिको आलोकमा तराईका आफूलाइ मधेशवादी भन्ने नेताहरुले भारतका नेतासमक्ष हारगुहार गरेको बिषय वुझ्न सकिन्छ ।




