विभाजित गरेर भिडाउने खेल

  • आनन्दराम पौडेल

writer-anandaram-paudelराजनीतिक आन्दोलन र क्रान्तिको सन्दर्भमा सर्वमान्य आधारभूत सिद्धान्त के होभने, आन्दोलनकारी शक्ति नै विशेष जिम्मेवार हुनुपर्छ । र, आन्दोलनकारीले यथास्थितिभन्दा उन्नत ब्यवस्था र प्रणालि सम्भव छ भनेको हुनाले उन्नत संस्कृति र उच्च मानवीयताको आचरण र ब्यवहार आफैंबाट शुरु गरेर देखाउनुपर्दछ । अगुवाहरु आचारसंहिताको नमुना (रोलमोडेल ) बन्नुपर्दछ जस्लाइ अरु सबैले अनुकरण गरुन् । हामीले जानेवुझेको विश्वव्यापी मान्यता यही हो । विश्वमा एउटा यस्तो मुलुक पनि छ, जहाँ आन्दोलनकारीहरु विश्वव्यापी मान्यताको ठीक उल्टो चलिरहेका हुन्छन् । र, नेतृत्वले उल्टो बाटो र दिशातिर लगिरहेको त्यो देश दुर्भाग्यबस हाम्रो आफ्नै देश नेपाल हो भन्नुपर्दा हामी खङ्ग्रङ्गै भएका छौं ।

टीकापुरकै कुरा गरौं, त्यहाँ भदौ ७ गते साँझ स्थानीय प्रशासनसहित सर्वदलीय, सर्वपक्षीय बैठक बस्छ। एकदमै शान्तिपूर्ण र एकदमै अनुशासित जुलुस प्रदर्शन गर्ने भनेर सर्वसम्मत निर्णय गर्छन् । माइन्युटमा सहिछाप गरेर निस्कन्छन् र  “भोलि घर-घरबाट भाला, बञ्चरो, खुँडा, तरबार, खन्ती बोकेर आउनु । जो आउँदैन त्यस्लाइ १००० रुपैयाँ जरिवाना हुनेछ”  भनेर उर्दी जारी गर्छन् । जुलुसमा अगाडी परेका मान्छेलाइ लखेटी-लखेटी मार्छन् । जिउँदै जलाएर मार्छन्। खेलिरहेको दुई बर्षको बालकलाइ समेत् छाड्दैनन्, टाउकामै ताकेर गोली दाग्छन् । मध्ययुगीन बर्बरता र नरपिचाशलाइ बिर्साउनेगरी अत्यन्तै क्रुरतापुर्ण र बिभत्स हत्याको सृङ्खला सम्पन्न गर्छन् ।

इमेज एफएममा बोल्दै लेखराज भट्टजीले भन्नुभयो, “यो भयङ्कर निकृष्टताको पूर्वतैयारी अल्लि अगाडीबाटै शुरु भएको थियो । केही बर्ष अघिदेखि नै मेरो पार्टीका नेता बाबुराम भट्टराईजीले वर्गसङ्घर्षलाइ च्याट्टै तिलाञ्जली दिएर राजनीतिलाइ जात, सम्प्रदायमा हुलिदिनुभयो । बाबुरामजी सुदूरपश्चिममा आएर, ‘यहाँ थारुहरु मात्र असली मान्छे हुन् । बाँकि सबै शोषक,सामन्ती, ठालू हुन्’ भन्नुहुन्थ्यो । र सबैलाइ त्यसैगरी प्रशीक्षण दिनुहुन्थ्यो । ७ गते बिभत्स हत्याको ताण्डव मच्चाउनेहरुलाइ उहाँले भर्त्सना गर्नुभएन । अहिलेपनि तिनीहरुलाइ नै प्रोत्साहित गरिरहनुभएको छ।” लेखराजजीले भन्नुभएको बाबुरामजीको यो हर्कत त कसैबाट छिपेको छैन, तर त्योभन्दा अझै चर्को दृश्य छ । हाम्रा उच्च बौद्धिक भनिएका व्यक्तिहरु, स्तम्भलेखकहरु र प्राज्ञ भनिएका व्यक्तिहरु नै टीकापुरको हत्याकाण्डलाइ महिमामण्डन गरिरहेको दृश्य झन् घीनलाग्दो छ ।

“सवै रोगको औषधि हिमालय तेल” भनेझैं के त अव जेमा पनि हिंसाकै प्रयोग गर्ने हो ? सरकारपनि त्यस्तै छ, जस्ले बढी हिंसाको प्रयोग गर्न सक्छ, त्यसैको कुरा सुन्छ । निमुखा भूईंमान्छेहरु, जस्लाइ न त आफ्नो हकअधिकारकै बिषयमा ज्ञान छ, न त सङ्गठित हुन सक्छन्, न त हिंसाकै प्रयोग गर्छन् । जव सरकारले नै हाक्काहाक्की हुलहुज्जत र ढुङ्गामुढालाइ स्वीकार र असङ्गठित आवाजलाइ अस्वीकार गर्छ, तव पिल्सिएर बसेका सीमान्तकृत वर्गको मझेरीमा घाम लाग्दैन भनेर वुझे हुन्छ ।

“विभाजित गर, र राज गर” भन्ने पुरानो ब्रिटीश पोलिसीलाइ अपनाएर हाम्रा नेताहरुले हामीलाइ विभाजित गरेर खण्डित गरिदिएका छन् । २०४७ सालपछि नेपाली नागरिकको सङ्लो परिचय रहेन । कसैलाइ काङ्ग्रेस भनियो, कसैलाइ एमाले भनियो र कसैलाइ राप्रपा भनेर चिनाइयो । हाम्रोजति राम्रो भन्ने मूलमन्त्र घोकाइयो । एउटा पार्टीको लेवल लागेकोलाइ अर्को पार्टीले छोइछिटोको व्यवहार गरे । गणतान्त्रिक कालमा नेपालका कम्युनिष्ट पार्टीलाइ जातीय र साम्प्रदायिक राजनीति गर्ने रहर पलायो । रहर पूरा गर्न हामीलाइ जात र सम्प्रदायमा विभाजित गरेर भिडाइरहेका छन् ।

नेपाली समाजलाइ जात, थर, गोत्र र सम्प्रदायमा विभाजित गरेपछि सजिलो भयो। नेपाली समाजले समष्टीमा सोच्न छाड्यो । अंश-अंशमा हेर्ने र वुझ्ने दृष्टिकोण निर्माण भयो । आंशिक दृष्टिकोण अनुसार अमुक थर-गोत्र भएको व्यक्तिमाथि भएको अत्याचार अर्को जात, थर, गोत्रका लागि सामान्य घटना हुने भयो । अझ खासमा घटना नै हुने भएन । अमुक पार्टीको समर्थकमाथि भएको अत्याचार अर्को पार्टीको नजरमा नपर्नेभयो । हरेक जातीले आफ्नै जातीका व्यक्ति परेमात्र वोल्ने र हरेक पार्टीले आफ्नै पार्टीका कार्यकर्तालाइ परेको मात्र देख्नेभए ।

जिम्मेवारी लिनुनपर्ने र जवाफदेही हुनुनपर्ने भएकोले निर्धक्कसँग जथाभावि हत्या-हिंसा गर्दै, आतङ्क मच्चारहे भयो । सरकारले ढुङ्गामुढालाइ नै मान्यता दिने भएकोले कतैबाट रोकटोक हुने भएन । बुद्धिजीवीहरुले उल्टो महिमामण्डन गर्ने भएकाले आलोचनाको डरपनि रहेन । यसरी कस्तो समाज र सभ्यता निर्माण गरिरहेछौं भन्ने अजङ्गको प्रश्नचाहीं खडा हुने भयो; त्यत्ति हो ।

 

तपाइँको प्रतिक्रिया