सण्डमुसण्डको ताण्डब

  • आनन्दराम पौडेल

writer-anandaram-paudel२०३२ सालअघि पुरानो शिक्षाको ९-१० कक्षाको कोर्समा नागरिकशास्त्र नामको पुस्तक थियो । त्यस्मा ‘अधिकार र कर्तब्य’ शीर्षकको अध्याय थियो । अधिकार र कर्तव्य एउटै सिक्काका दुइटा पाटा भनिएको थियो। अधिकार माग्नेले कर्तब्यको हेक्का राखेको हुनुपर्छ । अधिकारसँगै जिम्मेवारी थपिन्छ र झन् बढी कर्तब्यप्रति सचेत रहनुपर्ने हुन्छ भनिएको थियो । अरुलाइ असर, प्रभाव नपर्नेगरी मात्र आफ्नो अधिकारको प्रयोग गर्नलाइ अधिकारको सीमा तोकिएको थियो। ९ कक्षाको पुस्तकमा लेखेका यी पाठ सम्झन्छु। यस्लाइ जीवनब्यबहारको प्राथमिक र अनिवार्य ज्ञान भनिएको थियो । सामान्य र स्वाभाविक हिसाबले भन्नुपर्दा २०३२ सालबाट २०७२ सालमा आइपुग्दा हामी अझै सुसंस्कृत, सभ्य र शिष्ट भैसक्नुपर्ने हो । पछिल्ला कालखण्डका हाम्रा बोलिबचन र आचार-ब्यबहार हेर्दा हामी सभ्य संसारबाट पछाडी फर्केर मध्ययुगीन बर्बरतातिर बेतोडले कुदिरहेछौं भन्ने देखिन्छ ।

विवेकशील नेपाली नामक संस्था झापाका अध्यक्ष दधिराम ढकाल, सोही संस्था मोरङका अध्यक्ष पिताम्बर घिमिरेसहित केही शिक्षित, चेतनशील युवाहरुले नेपाल बन्दको बिषयमा अभिव्यक्त हुने निर्णय लिए । एउटा ब्यानरमा ठूला अक्षरले “नेपालमा बन्द सदाका लागि बन्द गरौं” नारा लेखे । त्यो ब्यानर बोकेर सिडिओ अफिस गए । “दमकको गणतन्त्र चोकमा यो ब्यानेर राखी हामी मौनधर्ना बस्छौं” भनेर सिडिओलाइ निवेदन गरे । प्रहरी कार्यालयमा पनि सोही निवेदन गरे । उक्त ब्यानरलाइ अगाडी राखेर दमकको गणतन्त्र चौकमा मौनधरना बसे । ती युवाहरुले लगाएको टिसर्टमा “नेपाल हाम्रो घर हो, डेरा होइन” लेखिएको थियो । ती युवाहरु बिल्कुलै चुपचापसँग मौनधर्ना बसिरहेका थिए । ठूलो होहल्ला र ताण्डवनृत्य गर्दै, ठूलै कोकोहोलो र आतङ्क मच्चाउँदै, सबैलाइ त्रसित र त्राहिमाम पार्दै आफूलाइ आदिवासी जनजाति भन्ने जमात आइपुग्यो । “किन यहाँ बसेको ?” भनेर हकारपकात गर्नथाल्यो । ब्यानर लुट्यो । “टिसर्टमा यो के लेखेको ?” भनेर सबैको टिसर्ट च्यातिदियो। ती युवाहरुलाइ नाङ्गेझार पारेर लछारपछार गर्यो ।

गणतन्त्र चौक, दमकमा मौनधरना बसेका ती युवाहरुले कसैको केही बिगारेका थिएनन् । राष्ट्रको पक्षमा आफ्नो अभिव्यक्ति अगाडी राखेका थिए । उनीहरुको अभिव्यक्ति कसैको बिरुद्ध थिएन, मात्र राष्ट्रको लागि थियो । समग्र जनताको लागि थियो ।

अहिले हाम्रोसामु केही अजङ्गका सवाल खडा भएका छन् । के विकास, प्रगति, उन्नति भनेको भौतिक मात्रै हो ? के उपभोक्तावादी संस्कृति नै हाम्रो अन्तिम लक्ष हो ? उन्नत र बैज्ञानिक संस्कृति निर्माण हाम्रो कार्यसूचिमा छ कि छैन ? उच्च मानवीय गुण (दया, माया, करुणा र विवेक) ले ओतप्रोत भएको सम्वेदनशील मनुष्यको संसार हाम्रो कल्पनाको बिषय हो कि हैन ? बिनसित्ति रिसाइरहने, सधैं अरुलाइ धारेहात लाएर सरापिरहने, आफूबाहेक अरु सबैलाइ तुच्छ देख्ने, घृणा मात्र ओकल्ने, बिषबमन गरिरहने, दिमागभरी हिंसा मात्र सोच्ने र हत्याहिंसाको लागि सदा तत्पर रहने यी कस्ता नागरिक तैयार गर्दैछौं ? यसरी नेपाललाइ कहाँ पुर्याउँदैछौं ?

झापाकै सुरुङ्गा वजारको घटनालाइ लिउँ। ७-८ बर्षअघि जात-जातको र सम्प्रदायको राज्य माग्नेहरुले यसैगरी मनपरी र जथाभावी तवरले जबर्जस्ति बन्द गराएका थिए । स्थानीय व्यापारी श्री भवानी लुईंटेलजीलाइ आफ्नो पसलबाट एउटा जरुरी कागज निकाल्नुपर्ने भयो । दौडिंदै गएर हतार-हतार सटर खोले। तुरन्तै कागज निकाले र सटर बन्द गरिहाले । सटर बन्द गर्दैथिए, जातीय, साम्प्रदायिक हूल आइपुग्यो । “किन सटर खोलेको ?” भनेर निहुँखोज्न थाल्यो । बन्द गरिसकेको सटर हुल्याहाहरुले आफैं खोले । पसलभित्र पसेर तोडफोड, बिध्वङ्स मच्चाए । यो घटनाले गर्दा पूरै सुरुङ्गाबासी एकजुट भए । कुनैपनि बन्दकर्तालाइ सुरुङ्गाको सीमामा प्रवेशनिषेध गरे । सम्पूर्ण जनता एकजुट भएकाले ८ बर्षदेखि आजसम्म बन्दकर्ताहरुले सुरुङ्गातिर फर्कने साहस गरेका छैनन्। केही बर्षअघि नेपाली कांग्रेसले जबर्जस्तिसँग नेपाल बन्द गरिरहेको थियो । कांग्रेसका केन्द्रीय नेताहरुले, “सुरुङ्गा किन बन्द नगरेको ?” भनेर नेका गाउँ समितिका सभापति नेत्र चिमरियालाइ तारन्तार दबाब दिनथाले । जबर्जस्ति बन्द गराउनु सट्टा नेत्र चिमरियाले पदबाटै राजिनामा दिएका थिए ।

जो सङ्गठित छ, जो शक्तिसालि छ त्यस्ले अरुलाइ सधैं हाक्काहाक्की थिचोमिचो र जबर्जस्ति गर्ने, गरिरहने होभने किन चाहियो राज्यव्यवस्था ? किन चाहियो सरकार ? किन तिर्ने कर ? पार्टीका सण्डमुसण्डहरु बाहेक बाँकि सम्पूर्ण नेपालीको मन-मस्तिष्कमा यो भयङ्कर प्रश्न उभ्भिएको छ ।

तपाइँको प्रतिक्रिया