टिकापुरको घातक संकेत

Tharuhat

हिजो अकस्मात टिकापुरमा हिंसा भड्कियो । थारुहटका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका थारु समूदायको आन्दोलनमा कसरि यत्रो हिंसा भड्कियो ? यति धेरै सुरक्षाकर्मी कसरि मारिए ? कसरि शान्तिपूर्ण आन्दोलनमा यति धेरै घरेलु र आधुनिक हतियार चले ? कहाँबाट आयो ? सुरक्षाकर्मी र सरकारी सुराकी, प्रशासनको भूमिका कहाँ रह्यो ? के संकेत गर्छ यो हिंसाले ?

थारुहट प्रदेशका माग गर्ने थारु समूदायले स्थानिय प्रशासनिक कार्यालहरुमा थारुहटको बोर्ड झुण्ड्याउने कार्यक्रम थियो भन्ने सूचना पहिलेनै सार्वजनिक भएको थियो । सार्वजनिक रुपमा यस्तो जानकारि पाउँदापनि किन नेपालको सुरक्षा प्रशासनले आवश्यक तयारि गर्न सकेन ? सुरक्षा दिन सकेन ? सुरक्षा संयन्त्र पुरै असफल भएको संकेत हो यो । त्यति मात्रै होइन, यस्तो आन्दोलनमा ककसको कस्तो तयारि छ, कसले घुसपैठ गरिरहेको छ ? आन्तरिक तयारि आन्दोलनकर्ताले कसरि गरिरहेका छन् ? यस्ता विषयमा सुक्ष् ढंगले अध्ययन गर्ने, सुरक्षा निकायलाइ जानकारि दिने काम गुप्तचर बिभागले गर्छ । यसका लागि राज्यले गुप्तचर कर्मचारीहरुको ब्यवस्था गर्छ । सुबिधा दिन्छ । तर यो आन्दोलनमा यति ठूलो मात्रामा हातहतियार परिचालन हुँदापनि किन गुप्तचर बिभागले आवश्यकल सूचना लिन सकेन ? हाम्रो गुप्तचर बिभाग बेकम्मा भएको संकेत हो यो । कि तिनले सुरक्षा दिएरपनि ग्रिह प्रशासनले आँखा चिम्लियो ?

पक्कैपनि आन्तरिकरुपमा हजारौं हतियारधारी मानिसहरु टिकापुरमा जम्मा हुन लागेको संकेत पाउन गाह्रो थिएन । यो एकै दिन एकाध घण्टाको तयारिले संभव हुन्न । तर हाम्रो सुरक्षा निकायले यति सामान्य घटनापनि कसरि थाह पाउन सकेन ? टिकापुरको यो घटनाले के देखाउँछभने यदि राज्यका अन्य केहि ठाउँमा एकै साथ यस्तै तयारि अपराधीहरुले गरे भने तिनले कहिँपनि नियन्त्रण गर्न सक्दैनन् । ति पुरै असफल हुन्छन् ।

11908284_10153559840614321_141461396_n

टिकापुरमा आन्दोलन हुँदै छ । सरकारी कार्यालय घेराउ गर्दै छन् भन्ने सूचना पाएरपनि किन आवश्यक सुरक्षाकर्मी तयार गर्न सकेन ? यसले नेपालको ग्रिह प्रशासन र ग्रिह मन्त्री पुरै असफल भएको संकेत गर्छ । कि भने यस्तै हिंसात्मक दंगा भड्कियोस र राजनितिक माग लिएर अगाडि बढेका थारु समूदायको मागलाई दबाउन खोजिएको हो की भन्ने आशंकापनि उठ्छ ।

संघियता, प्रादेशिक बितरण, जातिय अधिकार, जनजाति आन्दोलन आदिका बारेमा जनतालाई नेता, राजनितिक दलहरुले कुरो बुझाउन नसकेको संकेतपनि हो यो । जनताको असन्तुष्टि पनि हो यो । जनतालाई संघियता, संघिय राज्य, त्यसको संरचना र आफ्ना अधिकारका बारेमा हाम्रा दलहरुले कुरा बुझाउन सकेको देखिएन । जनता भड्काउने, समूह समूह, दल दल, जनजातिहरुबिच फुट ल्याए सधैं राज्य हाँक्न सकिन्छ भन्ने बुझाई दलहरुमा रह्यो । यसैका बिचमा जातिय बिखण्डनबादी, सांप्रदायिक बिखण्डनवादी र धार्मिक कट्टरवादीहरुले घुसपैठ गरे । आफ्नो स्वार्थ सिद्द् गर्न जनता भड्काए । यसले एकातिर जनताको असन्तुष्टि देखाउँछ । अर्कोतिर संघिय गणतन्त्रकाका बारेमा जनता प्रस्ट र सचेत देखिएनन् । यो कमजोरी हाम्रै राजनितिक दल र सरकारको हो।

हाम्रा राजनितिक दलहरुनै अमरेश कुमार सिं जस्ता नेता पाल्छन् । धुरीमा चढाउँछन् । राजेन्द्र महतो, उपेन्द्र यादवहरु हाकाहाकी सामाजिक सद्भाव भड्काउन, हिंसात्मक आन्दोलनमा उत्रन र देशलाई बिखण्डन गराउन उद्दत हुन्छन् । यसरि उत्रिँदापनि सरकार सहेरै बस्छ । तिनलाई संरक्षण दिईरह्यो । त्यसैको परिणाम आज यस्तो देखियो । यो मुलुकमा राजनितिक पार्टीको नेत्रित्व गरेर, सामाजिक ब्यक्तित्व बनाएर र जिम्मेवार नेता भएर उपस्थित हुँदापनि सामाजिक अपराध गर्न पाइन्छ भन्ने सन्देश दिन्छ । राज्य निरिह छ । यसबाट सरकार नाम मात्रको छ भन्ने प्रष्ट भएको छ । यस्ता अपराधीहरु नेपाली समाजमा रहेसम्म यस्ता अपराधिक हिंसात्मक घटनाहरु भैरहने छन् ।

थारुहरुको आन्दोलन राजनितिक हो । यसलाई कुनैपनि हालतमा दमन गरेर तह लगाइन्छ भन्ने सोच्नु महा भुल हुने छ । दमन अपराधीहरुमाथि गर्ने हो । राजनितिक माग दमनबाट रोकिन्न । थारुहरुको राजनितिक माग कसरि पुरा गर्न सकिन्छ दल र सरकार अनि आन्दोलनकर्ता एकै ठाउँ बसेर, वार्ताबाट टुंग्याउनुपर्छ । थारुहरु आफ्ना राजनितिक मागबाट अब पछि हट्ने पक्षमा छैनन् ।

नेपाल र भारतबिचको खुल्ला सिमा नियन्त्रण गरिनुपर्छ भन्ने माग, विषय उठेको धेरै भयो । हाम्रो तराई क्षेत्रमा बिगतमापनि यस्ता अपराधिक क्रियाकलाप भएका छन् । यता हिंसा मच्चाउँछन् र उता सिमा कटेर भारतीय क्षेत्रमा लुक्छन् । भारतीय प्रशासनबाट संरक्षित बन्छन् । उताबाट हातहतियारसहित निर्बिबाद नेपाल पस्छन् । नेपालमा हिँसा मच्चाउँछन् । ति सुरक्षित तरिकाले भारत छिर्छन् । तिनलाई कसैले रोकतोक गर्दैन । सिमा क्षेत्रमा निगरानीमा बसेका सुरक्क्षा निकायले हजारौं अपराधी नेपाल प्रवेश गर्दा सुइँकोसम्म पाउँदैन । के यो सामान्य हो ? सिमा क्षेत्रमा खटिएका हाम्रा सुरक्षा निकाय, प्रशसनको काम के हो ? कति निकम्मा भएका यि ? त्यत्रा हतियारधारी प्रवेश गर्दा यिनको भूमिका कहाँ रह्यो ? यसले के शिक्क्षा दिन्छ भने नेपाल र भारतबिचको खुला सिमाना र आवतजावतमा नियन्त्रण गरिनुपर्छ । सिमा क्षेत्रका सुरक्षाकर्मी र प्रशासनको आँखा चिम्ल्याइ, घुसपैठ र स्वार्थबिना यति धेरै हतियारधारी नेपाल प्रवेश गर्न संभव हुन्न ।

नेपाली सेना भनेको राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र संकटपूर्ण अवस्थाका लागि हो । तर टिकापुर घटनामा एक्कासि कसरि नेपाली सेना परिचालन गर्नु पर्यो ? एउटा क्षेत्रमा सामाजिक सुरक्षा खल्बलिँदासाथ भौगोलिक अखण्डताकालागि खटिनुपर्ने सेना चाहिन्छ भने नेपालको प्रहरी सुरक्षा संयन्त्र बेकाम्मा, असफल भएको संकेत हो । नेपाल प्रहरी असफल नभएपनि ग्रिहमन्त्रीको बुझाईमै असफल देखेको बुझाइ हो । यस्तो कमजोर मनस्थितिले जनताको सुरक्षा गर्न संभव छैन । यदि नेपाल प्रहरी सबै ढंगले सुसज्जित छैन भने तिनलाई राज्यले आवशयक सेवा, सुबिधा र प्राविधिक हिसाबले सुसज्जित गराउनुपर्छ ।

समग्रमा यो घटनामा नेपालको सुरक्षा शंयन्त्रमात्रै दोषी छैन । सरकार संचालनमा बसेका दलहरु सबैभन्दा बढि जिम्मेवार देखिएका छन् । राज्यको सबै संयन्त्र चलाउने राजनितिक दल, सरकारलेनै हो । टिकापुर घटना हेर्दा लाग्छ, यिनलाई देशको सुरक्षा संयन्त्र, तिनको तयारि, मनोबल र गम्भिरताका बारेमा कि त हेक्का छैन । कि ति स्थानिय जनता, जात जाति र समूदायलाई भिडाएर आफ्नो सत्ता स्वार्थ सिद्द गर्न चाहन्छन् । यो घटनामा समग्रमा हाम्रा राजनितिक दल र मुख्य त सरकार असफल भएको संकेत हो ।

(फोटोहरु तिर्थ कोइरालाको फेसबूकबाट तानिएको हो, यसमा शुरुमा प्रकाशित पहिलो फोटो नेपालसित संवन्धित नभएको र भुलबस परेकाले हटाइएको छ-नेपालप्लस))

तपाइँको प्रतिक्रिया