घृणाले निर्माण गर्दैन
- आनन्दराम पौडेल
उच्च विचार र फराकीलो सोच नभएकाहरु राजनीतिमा पसेभने सङ्कीर्ण राजनीति गर्छन् । वैचारिक, सैद्धान्तिक आधार नहुनेभएकोले तत्कालिकतामा चल्छन् र तपसीलका खुद्रा मुद्धा उठाउँछन् । ८-९ बर्षअघि नेपालका कम्युनिष्ट पार्टीहरुले नेपाली समाजमा जातीय विद्वेषको बिषबृक्ष रोपे । देशव्यापी रोपाईं नै गरे । अहिले तराईका केही स्वयम्भू नेताहरुले यसैलाइ मलजल गरिरहेछन् ।
कम्युनिष्ट नेताहरुले नेपाली समाजलाइ जात-जातमा विभाजित गरेर भिडाउने खेल शुरु गरेपछि समाजशास्त्री, विद्वान, प्राज्ञहरुले यही बिषयमा केन्द्रित रहेर नेपाली समाजको सुक्ष्म र गहीरो अध्ययन शुरु गरेका थिए । अध्ययनबाट यथार्थ र निस्कर्ष भने नितान्त फरक देखापर्यो । यही बिषयमै केन्द्रित रहेर ८ बर्षदेखि अध्ययन गरिरहेका समाजशास्त्री डा.टीकाराम गौतमजी ( काँडेबास-६, ज्यामिरे ) ले निस्कर्ष सुनाउनुभयो, “जातकै कारणले कसैको पनि विकास, प्रगति, उन्नति अवरुद्ध भएको छैन । जो पछि परेका छन् त्यस्को कारण अरु नै छन् ।” एउटै मात्र सूत्र प्रयोग गरेर, त्यही आधारमा मात्र केलाउँदा नेपाली समाज पछि पर्नुको कारण छर्लङ्ग देखिंदैन । कार्ल मार्क्सले उत्पादनसम्बन्धका कारणले असमानता पैदा हुन्छ भने। वेभरले शक्ति र हैसियतलाइ कारण बताए । अमर्त्य सेनले सक्षमतालाइ औंल्याए । यी तीनवटै सूत्रलाइ प्रयोग गरेर केलाउँदा नेपाली समाज पछि पर्नुका कारणहरु ठ्याक्कै फेला पर्छ ।
हाम्रा अमरेशकुमार सिंहजी, उपेन्द्र यादवजी, राजेन्द्र महतोजीहरु अहिले पनि साम्प्रदायिक विद्वेष बढाउनका लागि बिषबमन गर्दै हिंडिरहनुभएको छ । तराईका जनतालाइ पहाडियाबिरुद्ध उचाल्नको लागि उहाँहरु कम्मर कसेर लाग्नुभएको छ । तराईनलाइ पहाडेबिरुद्ध उचाल्नका लागि, “यी पहाडियाहरुले तराईयनलाइ शोषण गरे” भनिरहनुभएको छ । पूर्वी पहाडतिर पुग्नुहुन्छ र “पहाडिया बाहुन-क्षेत्रीले सिद्ध्याए” भन्नुहुन्छ । जबकि, धरातलीय यथार्थमा टेकेर अध्ययन गर्दैजाँदा के देखिन्छभने पहाडियाहरु पनि विपन्न छन् । पहाडे बाहुन-क्षेत्रीहरुको अवस्था झन् दयनीय छ ।
तथ्यहरु छर्लङ्ग छन् र सरल छन्। तर, यी नेताहरुले कतिपय तथ्यलाइ छोपछाप गरेर र कतिपय तथ्यलाइ तोडमरोड गरेर भ्रम र भ्रान्तिको हौवा खडा गरेका छन् । एउटा कृत्रिम स्थिति सृजना गरेर जबर्जस्ती जटीलतातिर धकेलेका छन्। राष्ट्रलाइ एकथोक चाहिएको छ, तर बिषय अन्यत्रै मोडिएको छ । राष्ट्रलाइ अहिले जात-जातका मान्छे चाहिएकै होइन, कर्मठ बिज्ञहरु चाहिएको छ । कृषि बैज्ञानिकदेखि आइटीका विशेषज्ञहरुको आवश्यकता छ । अहिले नेपालीलाइ जात-जातमा फर्कन लगाउने कि हरेक बिषयका बिज्ञ, विशेषज्ञ बन्न प्रेरीत गर्ने ? आजको ज्वलन्त प्रश्न बनेको छ ।
विगतमा कुनै कालखण्डमा किरातहरुले शासन गरे होलान्। नेवारहरुले शासन गरेहोलान् । ठकुरीहरुले शासन गरेहोलान् । त्यो इतिहासको कुरो भयो । इतिहासमा कस्ले के गरेको थियो भन्ने बिषय अभिलेखालयमा सुरक्षित राखिने रेकर्ड सिवाय केही होइन । जस्लाइ अध्ययन गर्न सकिन्छ । सन्दर्भसामगृ बनाउन सकिन्छ । इतिहासबाट पाठ सिक्न सकिन्छ । त्यस्को आलोकमा वर्तमानमा टेकेर भविष्यनिर्माण गर्न सकिन्छ । तर, सधैंभरी इतिहासतिरै फर्केर रुवावासी गरिरहन सकिंदैन । “अढाईशय बर्षअघि फलाना ठकुरीले फलाना मल्ललाइ पराजित गरेको थियो । त्यो बदला नलिउँञ्जेल डेग चल्दिन” भन्दै घामट गरेर व्यवहार चल्दैन । इतिहासतिर फर्केर नेपथ्यमा जति थुकेपनि त्यो आफ्नै थाप्लामा पर्ने हो भन्ने सत्यलाइ भुल्नुहुँदैन ।
सबैलाइ घृणा गरेर, सरापेर र धारेहात लाएर बस्दैमा राष्ट्रनिर्माण त हुँदैन नै, आफ्नै पतन भएको समेत् पत्तो हुनेछैन ।




