सर्वत्र डन
- आनन्दराम पौडेल
नौ दिनदेखि पश्चिमी तराई र पूर्वी पहाडमा जात-जातको राज्य बनाउने आन्दोलन र पूर्वी तराईमा साम्प्रदायिक राज्यको लागि आन्दोलन चर्काइरहेछन् । भदौ ३ गते बिहीबारका दिन भैरहवामा बन्दकर्ताहरु जबर्जस्ती बन्द गराउँदै हिंडे । हातमा रड, लाठी, चिर्पट दाउरा लिएर होहल्ला गर्दै, तर्साउँदै, धम्काउँदै, आतङ्क मच्चाउँदै भैरहवा वजार निस्के । बुद्धचोकमा पुगेर, “यो घरको मान्छे बन्द गराउन हिंडेको छैन” भन्दै केही व्यक्तिका निजी घरका सिसा झरामझुरुम् फोरे । छेउकुनामा राखिएका बस र ठेलागाडालाइ तोडफोड गरे । घरभित्र राखिएका मोटरसाइकलहरु घिसार्दै बाहिर ल्याउँथे र तोडफोड गर्थे। केहीमा आगो लगाए । सिद्धार्थनगर सिटी हस्पिटलका डाक्टरहरु बन्द गराउँदै हिंडेनन् भनेर अस्पताल अगाडी चर्को नारावाजी गरे । चारैतिरबाट अस्पतालमाथि ढुङ्गा प्रहार गरे । अस्पताल भर्ना भएका बिरामी, बिरामीका कुरुवा र कर्मचारीहरुसमेत् आँत्तिंदै, रुँदै, कराउँदै निस्के । भागमभाग र कोकोहोलो भयो । यसैगरी होटल, व्यापारिक भवन केही बाँकि राखेनन् ।
विद्रोह-सन्देशको मुख्य सार के होभने, “यथास्थितिभन्दा उचित, उन्नत हुनसक्छ र त्यो हामी गर्छौं” भन्ने हो । यस हिसाबले संस्थापनभन्दा आचरण, व्यवहार, कर्म, कार्यशैलि, संस्कृति, मूल्यलगायत हर क्षेत्रमा विद्रोही शक्ति उत्कृष्ट देखिनुपर्छ । यस्कोलागि विद्रोहको उद्घोष गर्ने अगुवाहरु नै रोलमोडेल बन्नुपर्छ । तर,नेपालको सन्दर्भमा ठीक उल्टो के देखियोभने हत्या-हिंसा गर्नु, तोडफोड गर्नु, आगो लगाउनु, तर्साउनु, धम्काउनु, आतङ्कित पार्नु, अपहरण गर्नु, जबर्जस्ति असुल्नु पो गौरवशाली कर्म भयो ।
समाज, समुदाय, राष्ट्रमा सबैथरीका मानिस बसेका छन् । एउटा सिष्टमको अनुशरण गरेर,नियमको पालना गरेर अनुशासनमा रहेर सबैजना एकठाउँमा मिलिजुली बस्न सक्छन् भन्ने विश्वब्यापी मान्यता मात्र हैन साश्वत नियम नै यही हो । ‘मेरै बाउको बिर्ता’ भनेझैं गरी, “यत्ति सेरोफेरो भूगोलमा मेरै जातको बर्चस्व हुनुपर्छ । हाम्रै जात\सम्प्रदायको नाममा हुनुपर्छ”भनेर अरुको अस्तित्व नै स्वीकार नगर्ने, एकलौटी गर्ने मनशायका हुङ्कारलाइ कसरी मानवीय, न्यायोचित, उन्नत र बैज्ञानिक मान्न सकिन्छ ?
नेपालका सवै राजनीतिक पार्टी र नेताहरुले रुपमा अल्झँदाअल्झँदै सार भुलिसकेका छन् । २०४७-२०४८ सालमा कांग्रेस र एमालेका नेताहरु शव्दलाइ सिध्याउन सम्पूर्ण शक्ति र उर्जा लगाइरहेका हुन्थे । सधैं शव्दसँग सिंगौरी खेलिरहेका हुन्थे । ‘पञ्चायत’ शव्द देख्नै हुँदैनथ्यो, दाह्रा किटेर आक्रमण गर्थे । त्यसवेला हामीले यी शव्दहरु मेट्न समय वर्वाद गर्नुसट्टा प्रजातन्त्रलाइ संस्थागत गर्न रप्रजातान्त्रिक संस्कृतिलाइ जीवनपद्धतिमा उतार्नतिर लाग्नुपर्ने वेला हैन र ? भनेर घच्घच्याएका थियौं । तपसीलका खुद्रा बिषयमा अल्झिरहनु सट्टा प्रजातान्त्रिक संस्कृति निर्माण गर्न र त्यस्लाइ राष्ट्रिय संस्कारको रुपमा विकास गर्नुपर्ने हैन र ? भनेका थियौं । ३ बर्ष अघि नेकपा-माओवादी नजिकको विद्यार्थी सङ्गठन स्कुलसाइनबोर्डका अक्षर सुधार्ने एकसूत्रीय अभियानमा थियो । बिद्यालयका नाम र साइनबोर्डका अक्षर हैन, शिक्षाको गुणस्तर सुधार्नतिर लागे हुन्थ्यो भनेका थियौं । प्राथमिकतामा रहनुपर्ने मुख्य बिषयलाइ छाडेर सुसेधन्दामै दिन विताएको कारणले वहुदल अनाथ, बेवारिसे भयो र अभिभावक भनिएकाहरुकै काखपोल्टामा त्यस्ले प्राण त्याग्यो । गलत बाटो पक्रेको र उल्टो दिशातिर लम्केकै कारणले लोकतन्त्रको हाल-बेहाल भैसकेको छ ।
तत्कालको राष्ट्रिय कार्यभार के हो ? राष्ट्रिय आकांक्षा के हो ? तिनलाइ प्राथमिकताक्रममा राखेर छनौट गर्न नसक्दा अहिलेपनि सवै गाजेमाजे भएको छ । राज्यले सीमान्तिकृत वर्गलाइ ध्यान देओस भन्ने चाहेका थिए । राज्य सीमान्तिकृत वर्गतिर गएन जातपातको बाटो लाग्यो । सज्जनको संरक्षण गरोस् भनेका थिए अपराधीको मुद्दा फिर्ता लिनतिर लाग्यो । विपन्न, दरिद्रमाथि अर्जुनदृष्टि टिकाओस् भनेका थिए । ठूलाबडा भुतपूर्वलाइ भत्तासुविधा दिनको लागि अध्यादेश ल्याउँदाल्याउँदै आयुक्षीण ग-यो । आरक्षणको सुविधा जात, सम्प्रदायको नाममा सम्भ्रान्तहरुको काख-पोल्टामा पारिदियो ।
“सवै रोगको औषधि हिमालय तेल” भनेझैं के त अव जेमा पनि हिंसाकै प्रयोग गर्ने हो ? सरकारले त त्यही गरिरहेछ, जस्ले बढी हिंसाको प्रयोग गर्न सक्छ त्यसैको कुरा सुन्छ । निमुखा भूईंमान्छेहरु जस्लाइ न त आफ्नो हक अधिकारकै बिषयमा ज्ञान छ, न त सङ्गठित हुन सक्छन्, न त हिंसाकै प्रयोग गर्छन्। जव सरकारले नै हाक्काहाक्की हुलहुज्जत र ढुङ्गामुढालाइ स्वीकार र असङ्गठित आवाजलाइ अस्वीकार गर्छ, तव पिल्सिएर बसेका सीमान्तकृत वर्गको मझेरीमा घाम लाग्दैन भनेर वुझे हुन्छ । चरी मारिंदा एमालेका नेताहरु र घैंटे मारिंदा कांग्रेसका नेताहरुको रुवावासी, बिलौना सुनिरहँदा के निस्कर्षमा पुगिन्छ भने नेपालको पार्टीराजनीति गुण्डा, डनहरुको भरमा चलेको छ ।




