यस्तो भएपछि हामीले नेपालमा कसरी काम गर्ने ?

एरिक भाली

valli-1.jpg

 माथिल्लो डोल्पाको जनजीवनका बारेमा केन्द्रित भएर बनाएको फिल्म क्याराभानको कथा रच्ने मूल मानिस नै त्यही फिल्मका प्रमुख पात्र थिन्ले हुन् भन्दा तपाइँहरूलाई अचम्म लाग्नसक्छ। यो फिल्मलाई नेपालीहरूले क्याराभान भने पनि बाँकी विश्वले चाहिँ द हिमालयभनेर चिन्दछ। मैले अरुण उपत्यकाका बारेमा पुस्तक निकालिसकेपछिको कुरा हो। थिन्ले टीबी लागेर काठमाडौंको मेरो घरमा बसेका थिए ६ महिनाजति उपचार गर्न। बेलुका थिन्ले र म सँगै फिल्म हेर्ने गर्थ्यौं। मेरो डोल्पोको बारेमा भर्खरै निस्किएको किताबका बारेमा छलफल हुँदै थियो एक साँझ। प्रसिद्ध जापानी फिल्म सेभेन सेमुराई पनि हेर्दै थियौं। थिन्लेले अकस्मात् भने– ‘एरिक, तिमीले डोल्पोको बारेमा किताब लेख्यौ। फोटोग्राफीको किताब पनि निकाल्यौ। अरुण उपत्यकाको पनि तिमीले किताब बनायौ। डोल्पोबारे अब तिमीले एउटा फिल्म नबनाइ हुन्न।‘ ‘वाउ! क्या गज्जबको कुरा! त्यसोभए कथावस्तु लेख्न मलाई सहयोग गर। फिल्ममा मुख्य पात्र पनि तिमी नै बन,’ भनें। सहमतिमा कथावस्तु लेख्न थालियो।  

हरेकपटक कथाका केही भाग लेखेपछि मैले कि त थिन्ले, कि नोर्बु, कि लाब्राङ, थुन्डुपलाई देखाउँथें। उनीहरूले यो भएन, यो भागलाई यस्तो बनाउँ, यो काटौं भन्थे। ल ठीक छ, त्यसोभए भनेर त्यसै गरियो। असहमति होलाजस्तो भयो भने लौ त्यसोभए स्त्रि्कप्ट लेखकलाई सोधौं भनिन्थ्यो। फिल्मको कथावस्तु, संस्कार, रहनसहन, संस्कृति, फिल्ममा देखिएका दृश्य साराका सारा उनीहरूकै जीवनमा आधारित वास्तविक कथा भएकाले म उनीहरूमा भर परें। पुलबाट तल खसेको याक मात्रै प्लाष्टिकको हो। बाँकी सबै वास्तविक कथा।   कथावस्तु लेख्नल मात्रै दुई वर्ष लाग्यो। एक वर्ष सम्पादन र नौ महिना त लगातार सुटिङ। करिब एक दर्जन प्राविधिक थिए। पश्चिमी मुलुकको सुविधासम्पन्न जीवन बिताइरहेका प्राविधिकहरूलाई डोल्पोजस्तो विकट ठाउँमा लगातार नौ महिना बसेर फिल्म सुटिङ गर्न गाह्रो भयो। त्यसको बारेमा उनीहरूलाई सचेत गराइयो जानुपूर्व। त्यहाँका सुन्दर मानिस, सुन्दर हिमाल, हजारौं याकसँगको यात्रा। हिउँसँगै खेल्दै र पल्टँदै तल र माथि गर्न पाउनु। यस्तो साहसिक र रोमाञ्चकारी यात्रा गर्ने अवसर हत्तपत्त आउँदैन भन्नेमा पनि सचेत थियो हाम्रो समूह। त्यसैले समस्या आए पनि सबै बसे। सुटिङको अवधिभरि एकजना डाक्टरसमेत राखिएको थियो। म एक्लै जाँदा भोटे चिया, ढिँडो, घाम्पामा रमाउँछु। तर, सुटिङको टोलीसित भने दालभात खाएर बसियो।  

  यो फिल्म आफैंमा निकै जोखिम लिएर बनाइएको थियो। जोखिम किनभने यसमा खेल्ने कलाकार चर्चित थिएनन्। फिल्म खेल्नेबारे ज्ञान त के मुभी क्यामरा पनि देखेका थिएनन्, जिन्दगीमा कहिल्यै। नेपालीहरूले समेत चिनेका थिएनन्, यसका कलाकारलाई। फिल्ममा स्थानीय तिब्बती भाषामा बोलिएको थियो। तैपनि यो फिल्म मैले सोचेको र चाहेकोभन्दा बढी सफल भयो। जापान, अमेरिका, जर्मनीलगायतका धेरै ठाउँमा यो फिल्मले शैक्षिक पुरस्कार जित्यो। यो फिल्मले यति धेरै मानिसलाई छोला भनेर त मैले सोचेको पनि पटक्कै थिइन। किनभने क्याराभान फ्रान्सजस्तो सानो देशमा मात्रै ३० लाखले हेरे, ठूलो पर्दामा। त्यसपछि जर्मनी, जापान, बेल्जियम, अमेरिका, हल्याण्ड, स्वीट्जरल्याण्ड, अष्ट्रेलियालगायत संसारभरि नै देखाइयो। सीडी, टीभी, डीभीडीमार्फत त कतिले हेरेहेरे अनुमान गर्न पनि मुश्किल छ।   

मेरा फिल्म, डकुमेन्ट्री र फोटोग्राफी देखेपछि मानिसहरूले सोच्लान्ओहो! यो एरिक भालीले त निकै पढेको होला। तर, मैले फिल्म र फोटोग्राफीको कहिल्यै पनि औपचारिक शिक्षा लिइन। मेरा बुबा सिकर्मी थिए। कलाक्षेत्रमा बाबुकै पेशाको कारणले पनि केही आँखा परेको हुँदो होजस्तो लाग्छ।   

हुन त म नेपाल एउटा संयोगले पुगेको हुँ। सन् १९७० को दशकमा म नेपाल जानुपूर्व अफगानिस्तान बसेको थिएँ दुई वर्षजति। अफगानिस्तानको हिमाली बसाइपछि म भारत आएको थिएँ। नेपाल जाने कुनै सोचाइ पनि थिएन। एकजना पर्यटकले मलाई नेपाल एकदम सुन्दर छ। म नेपाल जान लागेको, जाने भए जाउँ सँगैभनेपछि नेपाल जाने निधो गरियो। तर, मसँग यात्रा गर्न पैसा पर्याप्त थिएन, दालभात खाने र सामान्य खर्च गर्नेबाहेक। कसरी जाने त नेपाल? लौ त्यसोभए इचाइकिङ (लिफ्ट माग्दै जाने) गरेर जाउँ भन्ने निधो गरियो। म त्यतिबेला २१ वर्षको अल्लारे ठिटो थिएँ। संभवतः म विश्वमा कहाँ के छ, खोजी गर्दै थिएँ। जीवनयापनका भिन्न शैली हेर्न चाहेको थिएँ। केही नयाँ कुराको खोजीमा चहार्दै हुँदो हुँ। त्यही खोजीको धुनमा आठपटक लिफ्ट मागेर म नेपाल पुगें।  

मलाई सम्झना छराजा वीरेन्द्रको राज्याभिषेकभन्दा ठ्याक्कै ६ महिनाअगाडि म नेपाल पुगेको हुँ। मसँग त्यतिबेला एउटा रुक्स्याक, केही लगाउने लुगा, एउटा टर्चलाइट, स्लिपिङ्ग ब्याग, एउटा क्यामरा, दालभात खाने पैसाबाहेक खासै केही थिएन। म अहिले झल्झली सम्झन्छु कि पहिलोपटक काठमाडौं ओर्लंदा झम्केसाँझ थियो। निकै थाकेको थिएँ। बिहान सबेरै उठेर यसो फन्को लाउनुपर्‍यो भन्दै निस्किएँ झोंछेंबाट। असनटोल, काष्ठमण्डप, मखनटोलतिर पुगेछु। ओहो! त्यो टोल, बजार देख्दा मैले आफ्नै आँखालाई विश्वास गर्न सकिन। परम्परागत लुगामा ठाँटिएका ज्यापू। पुुरानो कला कौशल र मन्दिरका बुट्टा। विश्वासै नलाग्ने ती सुन्दर मन्दिर। टार्लाङ्ग र टुर्लुङ्ग बजेका घण्टी। नम्र बोली, सत्कार गर्ने मानिस। मलाई त्यही बिहान एकदम छोयो। बाफ रे बाफ! यस्तो देश पनि यही गोलार्द्धमा संभव छ र भन्ने लाग्यो। यो देशले धेरै संभावना बोकेको छ मेरा लागि पनि भन्ने सोचें।   

नेपाल पुगेपछि मेरो एकजना अमेरिकी महिलासँग भेट भयो। हामी प्रेममा फस्यौं। उता, नेपालसँग पनि प्रेममा फसेपछि मैले नेपाली भाषा सिक्न थालें। फोटो खिच्दै जाँदा फोटोग्राफर बनियो। डेढ वर्षजति अरुण उपत्यकाको उत्तरी क्षेत्रमा एकजना स्थानीयको घरमा बसेर अध्ययन गरें अरुण उपत्यकाको। पहिलोपटक नेपाल पुग्दा छसात महिना बसेपछि म बारम्बार फर्किंरहें। बिस्तारै काठमाडौंमा घर नै बनाएँ। जीवनको २० वर्ष त मैले नेपालमै बिताएछु। शायद केही विशेष चिजको खोजीमा थिएँ म नेपालमा। तर, के खोजेको थिएँ भन्ने म आफैंलाई पनि थाहा थिएन। नेपालसँग प्रेममा फसें र एउटा ठूलो प्रेमकथा शुरु भयो भन्नुपर्‍यो।   

शुरुमा म अन्नपूर्ण क्षेत्रको पदयात्रामा गएँ टुरिष्टजस्तै भएर। बाफ रे बाफ यो मुलुकमा केही छ भन्ने लागेपछि म नेपाली भाषा सिकेर पर्यटक नजाने ठाउँतिर पसें। ९१८१ मा छाङ्बु भन्ने पहिलो पुस्तक निस्कियो अरुण उपत्यकाबारे। त्यसपछि डोल्पोबारे किताब निस्कियो। राजी, राना, थारू, हनीहन्टर आदि गरेर १५ वटाजति मेरा किताब निस्किए। थुप्रै लेखहरू नेशनल जोग्राफीमा छापिए।    तपाइँलाई लाग्ला कि यति धेरै काम गर्न धेरै औपचारिक शिक्षा चाहिन्छ। धनीको छोरो हुनुपर्छ। होइन, म पुर्ख्यौली पेशाले काष्ठकर्मी हुँ। त्यहीबारे अलिअलि पढें। तर, विश्वविद्यालय म कहिल्यै गइन। म १६ वर्षको हुँदा घुम्न निस्किएको हुँ, जतिबेला मेरो बुबाआमा गरिब थिए एकदम। मेरो पहिलो काम तोरी पेल्ने थियो कारखानामा। तोरीका बाक्सा बन्द गर्नुपर्थ्यो। दोस्रो काम जुत्ता बेच्ने थियो बजारमा। त्यसपछि म सिकर्मी भएँ। फ्रान्सबाट आठपटक लिफ्ट मागेर नेपाल पुगेको मानिस, मसँग के हुनु र!   

१९७० को दशकमा विमान पनि थिएनन् म जाने ठाउँमा। मैले १९७० को दशकमा नेपाल देख्दा के थिएन त्यहाँ? कत्रो संभावना र संभाव्यता बोकेको देश थियो त्यो। मैले देख्दादेख्दै कति चिज खत्तम पारियो। कति हराए। कति नासिए। राख्नसके अझै धेरै छ नेपालमा थुप्रै चिज गुमे पनि।  

अहिले म सम्झना गरिरहन्छु नेपालीहरूले दिने माया, ममता, स्वागत र सत्कार। हाँसो र मुस्कान। दिलैदेखि टक्य्राइने त्यो अपत्यारिलो मुस्कान। नचिनेको कुनै गाउँमा पुग्यो। विदेशी पनि एकदम कम पुगेको त्यो बस्ती। साँझ सुत्ने ठाउँको खोजी गर्दै स्कूल चहार्‍यो। चौरमा पाल टाँग्नुपर्‍यो भनेर हेर्‍यो। कहिल्यै नदेखेको, नचिनेको, नजानेको कोही नजिकै आउँछ। ऊ भाषा पनि जान्दैन। लौ किन यस्तो भूइँमा एक्लै सुत्नुहुन्छ? आउनुस् हाम्रै घरमा बसौंला, खाउँला र सुनौंलाभनेर बोलाउँछ, न त ऊ पैसामा धनी हुन्छ। यस्तो चिन्दै नचिनेको, भाषा पनि नबोल्ने, एउटा अपरिचित मानिसलाई पहिलोचोटि भेट्दैमा घरमा लगेर सत्कार गर्ने मानिस यो संसारमा कति होलान् र? कति देश होलान् र अहिले त्यस्ता? नेपाल त्यही दुर्लभ देश हो।   

गतवर्ष म नेपाल गएको बेला पैदलयात्रामा गएँ। ग्रामीण भेगमा पनि मैले के पाएँ भने दश वर्षको युद्धकालमा नेपालले आफ्नो आत्माको धेरै कुरा गुमाइसकेछ। पहिले उनीहरू बढी खुला, सत्कार र स्वागत गर्ने थिए। अहिले धेरैमा त्रास देखिन्छ। पहिलेभन्दा गुम्सिएको जस्तो लाग्यो। आँखामै देखिन्छ डर, त्रास र भय। भ्रष्टाचार मजाले मौलायो। मानिसहरू अवसरबाट झन् वञ्चित भए। आवाजविहीन भए। आशा कहीं कतै रहेन जीवनप्रति। गरिबले केही पाएनन्। सरकारले तिनका आवश्यकता केही पनि पूरा गर्न नसकेपछि विद्रोह गर्नुपरेन केही समयपछि? दुई वर्षजति पहिले फ्रान्सेली राज्यक्रान्तिका बेला के भयो हेर्नुस् त यहाँ पनि। त्यस्तै त हो नि नेपालमा पनि!  हिमालतिर पनि गएँ म। यसको अर्थ तराई राम्रो छैन भन्ने होइन। तराई एकदम चित्ताकर्षक छ। मेरो कामको ठूलो दुई भाग मैले राजी र रानाथारूबारे तराईमै गरें। थारू संस्कृति अचम्मको छ। थारू जाति मलाई धेरै नै मनपर्छ। त्यसैले थुप्रै समय मैले पश्चिम तराईका थारूहरूसँग बिताएँ। मलाई अझै पनि नेपालमा काम गर्न मन छ। तर, काम गर्नसक्ने अवस्था छैन। पहिले एउटा सरकार थियो। अहिले दुईवटा सरकार छ। कुनै काम गर्दा काठमाडौंमा कुरा मिलाएर मात्रै हुँदैन। गाउँमा गएपछि फेरि अर्को सरकारसँग कुरा मिलाउनुपर्छ। अनि कसरी सकिन्छ काम गर्न? पहिले अप्ठेरो थियो, अहिले झन् दोब्बर अप्ठेरो छ। मेरो काम देखेपछि सरकारले विश्वास गरेको थियो। तर, अहिले हरेक केही महिनामा कि त प्रधानमन्त्री, कि सञ्चारमन्त्री फेरिएको फेरियै गर्छ। अनि कसरी काम गर्ने?   

 

 नत्र मलाई काम गर्न सजिलो हुने थियो। किनकि नेपालमा मेरो नाम चलिसकेको थियो। एकाधजना डाहा गर्ने त जहाँ पनि हुन्छन्एउटाले प्रगति गरेको देखेपछि। मैले सक्कली काम गर्ने र नेपालको छविलाई फैलाउने हुनाले नेपालीहरूले मेरो कामलाई रुचाउँछन्। मेरो हनीहन्टर, क्याराभानजस्ता फिल्महरू संसारभरि देखाइए। त्यसले नेपालको प्रचारप्रसार नै गर्‍यो। कतिपय ठाउँबाट त त्यो हेरेपछि मानिसहरू नेपाल घुम्न गए। वास्तविक रूपमा नेपाल सुन्दर नठान्ने तर फिल्म निकाल्नका लागि मात्रै नेपाल सुन्दर, नेपाली राम्रा, असल, इमान्दार, महान् भनेर म देखाउँदिन। मैले जस्तो देख्छु, त्यस्तै देखाउँछु। नेपालको प्रकृति, संस्कृति र जनजीवनलाई पश्चिमी मुलुकमा मैले जति अरूले प्रचारप्रसार गरेको छ जस्तो पनि मलाई लाग्दैन। बाँकी आगामी अंकमा।  (एरिक भ्यालीसँग पेरिसस्थित उनकै निवासमा पत्रकार ददिराम सापकोटासँग भएको कुराकानीका आधारमा) जनआस्था साप्ताहिक आषाढ, २७, २०६४ (Wednesday, 11 July 2007)

 

तपाइँको प्रतिक्रिया