हिङ्स्रक संस्कृति
- आनन्दराम पौडेल
टुप्चे, नुवाकोटका राकेश तामाङले ९-१० बर्षअघिदेखि ट्याक्सी चलाउँथे । ६ महिनाअघि सदाबहाहार फाइनान्सबाट लोन लिएर बा१ज २३०१ नम्बरको पुरानो ट्याक्सी किने । साउन ९ गते शनिबार सोह्रखुट्टेमा थिए । नेकपा माओवादी (बिप्लव) पार्टीका २ जना नेताहरु आए । “जाने हो ?” भनेर सोधे । राकेशले “हुन्छ” मात्र भनेका थिए पेट्रोल खन्याएरट्याक्सीमा आगो लगाइदिए । पेट्रोल खन्याएकोले तत्कालै ट्याक्सी ह्वार्ह्वार्ति बल्यो । राकेशको कपाल र हात जल्यो । बाँच्न सके, तर कमाईखाने साधन खरानी भयो । इन्स्योरेन्स गरेका रहेनछन्, ऋणमा डुबे । त्यसदिन दिनभरी नै उनीहरु कतै गाडी तोडफोड गरिरहेका र कहीं गाडी जलाइरहेका थिए ।
राष्ट्रका अगुवा हुनुपर्ने, उनीहरुकै अगुवाईमा समग्र राष्ट्र पछि लाग्नुपर्ने र अनुशरणकर्ताहरुको लागि रोलमोडेल बन्नुपर्ने राजनीतिक नेताहरु नै यति तल ओर्लेर अत्यन्तै क्रुर र निकृष्ट कर्म गर्छनभने यस्ले के सन्देश दिन्छ ? उनीहरुका कर्म, ब्यबहार र चरित्र हेरेर सर्वसाधारणले के सिक्छन् र के वुझ्छन् ?
११ बर्षअघि नोबेल पुरस्कार प्राप्त गर्दा हङ्गेरीका कथाकार इमरे कर्तेजले आफ्नो नोबेल व्याख्यानमा भन्नुभयो, “हिंसा एकदमै नौलो बिषय त हैन,तर यो व्यवस्थित र नियमित हिंसाचाहीं नयाँ हो । हिंसा हाम्रो जनजीवनमा झन्-झन् प्रभावशाली र शक्तिसालि व्यवस्था वनेर स्थापित भएको छ, यो गम्भीर र चिन्ताको बिषय हो । हत्या,हिंसा र आतङ्कलाइ स्वीकारिएको छ, यस्लाइ सहज र स्वाभाविक मानिएको छ, यो निकै खतरनाक छ ।”
इमरे कार्तेजले भन्नुभएजस्तो यो हिंस्रक वातावरण कस्ले निर्माण गरिरहेछ ? यस्को लागि ३ तत्व जिम्मेवार देखिन्छन् । पहिलो तत्व न्याय र समताको अभाव हो । विभेद र पक्षपातको पीडा खपिनसक्नु हुन्छ । हाम्रो राज्यव्यवस्थामा न्याय,विवेक र सम्वेदनशीलताका तत्व भेटिंदैनन् । समतामूलक ब्यवहार उस्को संस्कारमै छैन । निरन्तर अन्याय, अत्याचार, अपमान र पक्षपात जव खपिनसक्नु हुन्छ, तव त्यो विस्फोट हुन्छ । त्यो विस्फोट हिंस्रक रुपमा देखा पर्न सक्छ ।
दोश्रो तत्व हो, अपराधीको सम्मान । सवै ठूला पार्टीले अपराधी डनहरुलाइ ज्वाईंसरि पालेका छन् । उनीहरु नै निर्णायक र प्रभावशाली भएर रहेका छन् । अपराधीलाइ असजिलो पर्ने भएकोले नेताहरु अन्तर्राष्ट्रिय फौज्दारी अदालत सम्बन्धी रोम विधानलाइ अनुमोदन गर्दैनन् । ९-१० बर्षदेखि हामी देखिरहेछौं, अनेक सशस्त्र अपराधी समूहले तराईमा र त्यस्तै अनेक जातीय नामधारी समूहले पूर्वी पहाडमा हत्या, हिंसा, फिरौति, जवर्जस्ति असुलि र चन्दाआतङ्क मच्चाइराखेका छन् । तर, हाम्रा मन्त्रीहरु र सांसदहरु तिनीहरुको ठेगाना खोज्दै पुग्छन् । तिनीहरुलाइ राजनीतिक आवरण ओढाइदिन्छन् । अपराधीलाइ कार्वाही हैन खोजी-खोजी सम्मान गर्ने र उच्च आशनमा विराजमान गराउन थालेपछि त्यस्बाट भयङ्कर सन्देश प्रवाह भएको छ । त्यस्ले सवैलाइ अपराधकर्मतर्फ उत्प्रेरित गरेको छ र अपराधकर्मको बाटो नपक्रने, त्यता लाग्न नसक्ने र लाग्न नचाहनेलाइ उल्टै पछुतो मान्नुपर्ने स्थितिमा पु-याएको छ ।
तेश्रो तत्व हो, नेपाली समाज । नेपाली समाज अन्धभक्त छ । हुँदोनहुँदो जेसुकै गरेर र अनेकौं अपराध गरेर शक्ति र धन आर्जन गरेको भएपनि आँखा चिम्लेर त्यसैको पछि लाग्छ । नेपाली समाजले असल,सदाचारी,त्यागी मान्छेको खोजी र कदर गर्दैन । मूल्य,मान्यता र मानकहरु कतै फेला पर्दैनन् । अपराध गरेर आर्जन गरेको धनले समाजमा अग्रस्थान पाइन्छ भने त्यस्तो समाजमा बेवकुफ मूर्खले मात्र सदाचारी बन्ने चेष्टा गर्छ ।
अल्बेयर कामू ‘विद्रोही’ मा लेख्छन्, “आतङ्क र क्रूरताको वलमा स्थापना गरिएको राज्य र राज्यसञ्चालनको हिंस्रक शैलीले न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्दैन ।” अल्बेयर कामू अझै जोड दिएर भन्छन्, “विद्रोह,जो अन्यायपूर्ण र विभेदकारी राज्यव्यवस्थालाइ बिस्थापित गरेर समतामूलक र न्यायपूर्ण राज्यव्यवस्था स्थापित गर्नका लागि भनेर गरिएको हो, जव त्यस्ले हिंसालाइ नै केन्द्रमा राखेर, त्यसैमा आधारित सत्ता स्थापित गर्छभने साविकको भन्दा झन् चर्को अन्याय र दमनको साम्राज्यमा परिणत हुन्छ, जस्लाइ हटाउने भनेर विद्रोह गरिएको थियो ।”
जव समाज र राज्यको अन्तर्जीवनमा हिंस्रक संस्कृति व्याप्त हुन्छ, तव खलील जिब्रान भन्छन, “त्यहाँ चलाकीलाइ प्रतिभा,टपर्टुइयाँलाइ ज्ञानी,आत्महीनतालाइ नम्रता र कायरतालाइ समर्थन भनेर व्याख्या गरिन्छ ।” जिब्रानले भनेजस्तै नेपालमा अपराधीहरु सत्ताको शीखरमा हुनेछन् र सज्जनहरु सुरक्षित ठाउँ खोज्दै अँध्यारो कुनामा भेटिनेछन् ।




