राजनीतिमा इमान्दारिता
- आनन्दराम पौडेल
एनेकपा माओवादीका लोकेन्द्र बिष्ट, गोपाल किराँती, लेखराज भट्ट, हेमन्तप्रकाश ओली, ध्रुव पराजुलीलगायतका शीर्षस्थ नेताहरुले पदीय जिम्मेवारीबाट राजिनामा दिएछन्। अर्को अर्थमा पार्टीकामको सकृयताबाट पन्छिएछन् । एउटा सालको रुखमा पुराना पातहरु झर्दै, र नयाँ पातहरु पलाउँदै जानु स्वाभाविक भएझैं नयाँको प्रवेश र पुराना बहिर्गमनलाइ हचुवामा बोल्नेले स्वाभाविक ठान्लान् । एउटा पार्टीमा पनि पार्टीजिम्मेवारी बहन गर्न असमर्थ भैसकेका अतिसय बृद्धहरुले पार्टीको जिम्मेवारी बिसाउने इच्छा राख्नु त एकदमै जायज हो । तर, यहाँ त अनुभवले परिपक्व र उर्जाशील अवस्थामा पार्टीकामबाट पन्छनु भनेको सामान्य बिषय होइन ।
लेखराज भट्टजीलाइ पार्टीले वर्गीय राजनीतिलाइ चटक्कै छाडेर जातपात र सम्प्रदायको राजनीतिमा होमिंदा असहज मात्र हैन उकुसमुकुस नै भैरहेको थियो । त्यस्तै सुदूरपश्चिमका ९० प्रतिशत जनताले सङ्घीय प्रदेश बनाउँदा ९ जिल्लालाइ अखण्ड राखियोस् भनि बिनम्र निवेदन गर्दा आफ्नै नेताले टेरपुच्छर नलगाएको बिषयमा चित्त दुःखाएका थिए । जनताको आवाज नसुन्ने यी कस्ता नेता होलान् भन्ने प्रश्न उनको मनमस्तिष्कमा उठेको थियो ।
जब राजनीतिक नेताहरुले सैद्धान्तिक आधारभूमी र वैचारिक राजनीति छाड्छन्, तब राजनीतिले मूलबाटो छाड्छ र आलि, कान्ला, पखेरा र बगरतिर भट्किन थाल्छ । राजनीतिले जातपात, धर्म, सम्प्रदाय र क्षेत्रको आश्रय लिनपुग्छ । पार्टी नेताहरु तत्कालिकतामा झर्छन् । उनीहरु एकपाइला परसमेत् हेर्दैनन्, तत्कालै जे फाइदा हुन्छ त्यही गर्छन् । जातपातको राजनीतिमा फाइदा देखे जातीय उन्माद उराल्न कुदिहाल्छन् । ठूलै गाँठ आउँछभने ल्यार्क्याल लामा, रविन्द्रप्रताप शाहहरुलाइ रातो तुल बिच्छ्याएर स्वागत गर्छन् । उनीहरुलाइ एक्कैचोटी सभासद बनाइदिन्छन् ।
पार्टीनेताहरुका अप्ठेरा र सकसपनि आफ्नो ठाउँमा नभएको ह्वैन । एकातिर राजनीतिलाइ तत्काल फाइदा हुने ट्याक्टिकल रणनीतिमा प्रयोग गर्नुपरेको छभने अर्कोतिर सङ्घर्षशील, इमान्दार कार्यकर्ताहरुलाइ हामी वर्गसङ्घर्षमै छौं भनेर भ्रम र भ्रान्तिमा अल्मल्याइराख्न परिराखेको हुन्छ । जे गरिराखेको छ त्यो भन्न नमिल्ने र जे भनिराखेको छ त्यो नगर्ने स्थिति भनेको त्यो युवतीको जस्तै हुन्छ जस्लाइ लोग्ने र नाठोको बीचमा सन्तुलन मिलाउन सधैं सकस भैराखेको हुन्छ । रचनात्मक, सृजनात्मक सोचका साथ राष्ट्र, देश र जनताको लागि काम गर्नुपर्ने समय यही ढाकछोप र रफु गर्दै बित्छ । एकातिर टाल्यो अर्कोतिर भ्वाङ देखिन्छ । हुँदा-हुँदा स्थिति यस्तो हुनपुग्छ कि टालटुलले पनि काम नचल्ने हुन्छ । यो अवस्थामा पुगेपछि नै आफ्नै टिमका सबैभन्दा नजिकका सहकर्मीको अन्तर्हृदयमा गहीरो चोट पुग्छ र उनीहरु यस्तो कदम चाल्न बाध्य हुन्छन् ।
ज-जस्ले पार्टीकामबाट पन्छिने निर्णय लिए तिनीहरुचाहीं दुधले धोएका थिए भन्न खोजेको होइन । पार्टी आज भर्खर कुहिएर सडेको पनि होइन । जुनबेलामा मूलबाटो छाडेर बिचलनतिर गयो त्यहीबेलादेखि नै पतनतिर गैसकेको थियो । त्यस्को असर-प्रभावपनि देखिनथालेको थियो । दोश्रो सम्विधानसभा निर्वाचनकै प्रसङ्ग कोट्याउँ । कपिलबस्तुको ४ नम्बर निर्वाचन क्षेत्रको लागि एनेकपा माओवादीले अवध राज्यसमितिकी सदस्य सन्तोषी पान्डेयलाइ उम्मेदवार बनाएको थियो । त्यही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले उम्मेदवार बनाएका सुरेन्द्र आचार्यले सन्तोषीजीलाइ भेटे । रु.८ लाख अफर गरे। रु.८ लाखमा सौदा तय भयो, र सुरेन्द्र आचार्यजीलाइ जिताउन आफैं खटिन् । कपिलबस्तुकै जाबेद आलम खाँले सिफारिशकर्ताहरुलाइ कसैलाइ मोटरसाइकल किनिदिएर र कसैलाइ पैसा दिएर ५ नम्बर क्षेत्रको टिकट प्राप्त गरेका थिए ।
जनमुक्ति सेनाको साङ्गठनिक बिघटन त धेरै पछि भयो, धेरै अघिबाटै मनोबैज्ञानिक बिघटन गरिसकिएको थियो । सङ्गठन मर्यादाको सीमाभित्र रहनुपर्छ र विधि, अनुशासनमा चल्नुपर्छ भनेर निरन्तर आवाज उठाउनेहरुलाइ नियोजित तवरले ‘साइलेण्ट पनिश’ गरिंदैआएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा वाइसिएलको राष्ट्रिय सम्मेलन गर्दा सिङ्गै हलले एकै स्वरमा अस्वीकृत गरेको प्यानललाइ नै स्थापित गरिएको थियो । हलभरी गुञ्जिएको त्यो चर्को आवाजलाइ ‘करतल ध्वनीसहितको समर्थन’ भनेर ब्याख्या गरियो । पार्टीको महाधिवेशनमा भ्रष्टाचारबिरुद्ध अभियान चलाउने युवाहरुलाइ मार्शल लगाएर खेद्ने काम गरिएको थियो ।
जहाँ ल्यार्क्याल लामा, रविन्द्र प्रताप शाहहरु माथिल्लो तलामा आइपुग्छन् त्यहाँ लेखराज भट्टहरु अटाउन सक्दैनन् । तर, उहाँहरुले पनि हिजो भएका तमाम गलत र घीनलाग्दा कर्महरुको यथार्थ बिबरण जनतासमक्ष राख्नुपर्छ र खुल्ला हृदयले जनतासँग क्षमा माग्नुपर्छ, तबमात्र जनताले विश्वास गर्नेछन् ।




