उपचारको इच्छाशक्ति

  • आनन्दराम पौडेल

writer-anandaram-paudelअनेरास्वबियुले असार २७ गते आयोजना गरेको कार्यक्रममा उपस्थित भेलालाइ सम्वोधन गर्दै एनेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले, “हाम्रो पार्टीमा नेतैपिच्छे गुट निर्माण भएका छन् । कुनै जिल्लामा त नौवटासम्म गुट छन् । यस्तोपनि कम्युनिष्ट पार्टी हुन्छ ? यो त पार्टी नभएर गुटैगुटको झुण्ड भएको छ” भनेर आत्मकमजोरी स्वीकारे । पार्टीका नेताहरुले यति कमजोरी स्वीकार्दा पनि अचम्म मान्नुपर्ने हुन्छ । किनभने नेपालमा कुनैपनि पार्टीका शीर्षस्थ नेताहरु र शासकहरुले गल्ति-कमजोरी स्वीकार्ने चलन, परम्परा छैन । तैपनि, कामरेड प्रचण्डको चाहीं एउटा फरक शैली के छ भने कसैले तथ्यहरुसहित वास्तविकता झ्याप्पै अगाडी राखिदियोभने तत्काललाइ गल्ति स्वीकारेर उम्कन्छन् । तथ्य र वास्तविकताले घेराबन्दी गरेको बेलामा बाध्य भएर गल्ति स्वीकारेपनि आफूलाइ सच्याउने चेष्टा त प्रचण्डले पनि गर्दैनन् ।

एनेकपा माओवादीको हेटौंडा महाधिवेशनअघि पार्टीले ढाकछोप गरेका बिषयहरु यसरी उदाङ्गिएर आए कि प्रचण्डले एककदम अघि बढेर कोट्याइएका मात्र हैन, उधिन्नसकिने भित्री आन्द्राभुँडी नै आफैंले निकालिदिएका थिए । उनले मञ्चमा खडा भएर ओकलेका सत्य त धेरै थिए र अझ भयङ्कर थिए । दस्तावेजमै उल्लेख गरेका पार्टी आन्तरिक जीवनको यथार्थ यस्तो थियो – “हाम्रो पार्टी गुटबन्दी, व्यक्तिवादी अराजकता, आर्थिक अनियमितता र अपारदर्शिताले ग्रस्त छ । पार्टीका नेताहरु र अगुवा कार्यकर्ताहरु नै पद, अवसर र लाभ प्राप्त गर्न दबाब दिइरहेका र धम्क्याइरहेका हुन्छन् । आफ्नो पद-प्रतिष्ठाको लागिमात्र चिन्ता गर्ने, आफ्नो र आफ्नो परिवारको लागि मात्र सुरक्षा र सुविधाको ज्ञारेण्टी खोज्ने, आफूभन्दा तलकासँग नोकरशाही व्यवहार गर्ने र आफूभन्दा माथि दलाली गर्ने, अरुका दुःखकष्ट र पीडामा उदासीन रहने तर आफ्नो सुखसुविधाको लागि मरिहत्ते गर्ने प्रवृत्ति क्रोनिक हदसम्म पुगेको छ ।” यी त रोगका लक्षणहरु भए । किन यस्ता लक्षणहरु प्रकट भए ? रोग के हो ? भनेर रोगको डाइग्नोसिस गर्ने र उपचार गर्नेतर्फ उहाँहरु लाग्नुभएन । यत्रो पार्टीभित्र यतिसम्म बिकराल समस्याले च्यापिसक्दा त्यसको लागि के पार्टीका अन्य नेता र कार्यकर्ता मात्र दोषी होलान् त ? स्थायी कमिटीको दोष कति ? स्वयं प्रचण्डकै कारणले हुनगएको के-कति ? दोषजति कार्यकर्ताको थाप्लोमा हालेर आफू पानीमाथिको ओभानो बन्ने होभने उपचार सम्भव हुनेछैन । तत्काल उम्कनको लागि मात्र ती स्वीकारोक्ति भएकाले महाधिवेशन सकिएको भोलिपल्टैदेखि यस बिषयमा उहाँहरुले प्रयत्न त परको कुरा चर्चासमेत् कहिल्यै गर्नुभएन । बरु, पार्टीभित्र भएका भ्रष्टाचारका ज्वलन्त प्रमाणहरु त्यहीं प्रस्तुत गर्दासमेत् त्यस्लाइ तर्काउनुभयो ।

सत्य-तथ्यसँग झ्याप्पै सामना गर्नुपर्योभने उम्कनको लागि मात्र गल्ति स्वीकार्ने पुरानै टेक्निक हो भन्ने त २०६७ पुस २१ गते सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकमा दस्तावेजमै रहनेगरी स्वीकारिएका यी स्वीकारोक्तिले प्रष्ट्याउँछन् । दस्तावेजमा लेखिएको छ – “(१) आज हाम्रो पार्टीमा जनवादी केन्द्रीयताको परिचालन समाप्त नै हुनलागेको छ । कमिटी प्रणाली, सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, आलोचना-आत्मालोचनाको पद्धति भताभुङ्ग भएका छन् । कमिटीहरु यति ठूला र भद्दा बनेका छन कि उद्देश्यमूलक र प्रभावकारी छलफल सम्भव नै हुँदैन । माथिदेखि तलसम्म गुटबन्दी, अराजकता, अस्वस्थ प्रतिस्पर्द्धा र नोकरशाही प्रवृत्तिहरु मौलाउँदै गएका छन् । (२) माथिदेखि तलसम्म केही सीमित पदाधिकारी र टाठाबाठाहरुको दिन प्रतिदिन वर्गउत्थान हुँदैजाने र कार्यकर्ताहरुको विशाल पङ्क्ति वेरोजगारी, अभाव र उत्पीडनको शिकार बन्दैजाने गम्भीर स्थितिको विकास भएको छ । यतिमात्र होइन, पार्टीमा आर्थिक अराजकता व्याप्त छ र भ्रष्टाचार, तस्करी र जवर्जस्ति प्रवृत्तिका भयानक विकृतिहरुले टाउको उठाइरहेछन् ।”

एनेकपा माओवादी नामको एउटा पार्टीलाइ मात्र यस्तो भयानक महारोग लागेको भन्नेचाहीं होइन । कमिबेसी अरु पार्टीपनि पनि यिनै रोगबाट आक्रान्त छन् । नागरिकको चिन्ताचाहीं के मात्र होभने राष्ट्रीय पार्टीहरु भित्रभित्रै सड्दै, कुहिंदै र पतन हुँदै जानु भनेको राष्ट्रको लागि अपूरणीय क्षति हो । तर, पार्टीकै शीर्षस्थ अगुवाहरु नै सर्वप्रथम यो रोगको उपचार गर्न र स्वस्थ हुन चाहन्छन् कि चाहँदैनन् ? यही एकमात्र शर्त हो ।

तपाइँको प्रतिक्रिया