उपचारको इच्छाशक्ति
- आनन्दराम पौडेल
अर्थमन्त्रालयको आर्थिक सर्भेक्षण र राष्ट्र बैंकका प्रतिवेदनहरुले १० बर्ष यता नेपालको व्यापारघाटा थामिनसक्नु हिसाबले ह्वात्तै बढेको देखाएको छ । २०६१ सालमा ८२ अर्ब देखिएको व्यापारघाटा ह्वात्तै बढेर ७ अरबको छेउमा आइपुगेको छ । प्रजातन्त्रले नपुगेर हामीले लोकतन्त्र ल्यायौं।लोकतन्त्रले पनि हामीलाइ पुगेन, गणतन्त्रमा फड्का मार् यौं। तर, देशलाइ भने जर्जर बनायौं । देशलाइ सम्वृद्ध बनाउने होभने पूरै राष्ट्र उत्पादनमा केन्द्रित हुनुपर्छ । उदयोग, कलकारखानाखुल्नुपर्छ । लगानीकर्ताहरु अग्रसर हुनुपर्छ । ७- ८ बर्षयता धेरै विदेशी लगानीकर्ताहरु लगानीगर्नकै लागि नेपाल आए । तर, नेपालमा लगानीमैत्री वातावरण पटक्कै नभएको भनेर फर्के । विदेशी लगानीकर्ताहरु फर्केका मात्र हैनन्, वीशौं बर्षदेखि उद्योग-व्यवशाय गरिरहेका स्वदेशीहरुले समेत् उद्योगधन्दा प्याक गर्नथाले ।
उद्योग- व्यवशायीहरु हतोत्साही हुनुको कारणखोज्न टाढा जानुपर्दैन । पहिलो कारण त राजनीतिक अस्थिरता नै हो । बर्षाको च्याउ उम्रेसरी जथाभावी पार्टी खोलेका छन् । देश र जनताको पटक्कै ख्याल नभएका र राष्ट्रप्रति जिम्मेवारीवोध नभएका, गैरजिम्मेवार व्यक्तिहरु नेता भएका छन् । राजनीतिलाइ “नाङ्गा नाचे मैदान” गरिदिएकै कारणले बाबुराम भट्टराईजीको प्रधानमन्त्रित्वकालमा हिसिला मीजीसँग जोडिएकोगँड्यौलाको कथा त छाडिदिउँ, सिंचाई मन्त्री महेन्द्र यादव जस्ता दर्जनौं “प्रिपेड मन्त्री” थिए।भोलिका दिनमा नेपालको राजनीति अराजक भिड नबनोस्, मर्यादाको सीमाभित्र रहोस्,मूल्य- मान्यतामा चलोस् भन्ने जनताको चाहना र राष्ट्रको आवश्यकता हो । राजनीतिकस्थिरताकै लागि निर्वाचनमा ५ प्रतिशत थ्रेसहोल्ड राखियोस, समानुपातिक सांसद तल्लो प्रतिनिधिसभामा नराखियोस्, बरु माथिल्लो सभामा राखियोस्, फौज्दारी अभियोगमा अदालतबाट सजायँ पाएका व्यक्तिलाइ उम्मेदवार नबनाइयोस्, निर्वाचनमा उम्मेदवारलाइ रिजेक्ट गर्न पाउनेगरी मतपत्रमा वैकल्पिक मतको प्रावधान राखियोस् भनेर जनताले माग गरेका हुन् । कार्यकारी प्रमुखलाइ जनताले प्रत्यक्ष निर्वाचन गर्ने र कार्यकारिणीमा सांसदहरु जाननपाउने व्यबस्था होस् भनेका हुन् ।
राजनीतिक स्थिरताको लागि यी अपरिहार्य छन् । उद्योग, कलकारखाना बन्द हुनु र आएका लगानीकर्ताहरु फर्कनुको अर्को कारण बन्द, हडताल,चन्दाआतङ्क, हिंसा, असुरक्षा र युनियनको दादागिरी हो । जताततै अपराधी, गुण्डाहरुको साम्राज्य छ । राजनीतिक पार्टीहरुमा उनीहरुकै हालिमुहालि छ । उनीहरुले नै सिण्डिकेट र कार्टेलिङ चलाइराखेका छन् । सरकारभन्दा उनीहरु बलिया छन् । पूरै असुरक्षा र अनिश्चितताको वातावरण छ । जतिसुकै फाइदा वा नाफा हुने भएपनि असुरक्षित स्थानमा कसैले लगानी गर्दैन । लगानीकर्ताहरु पछि हट्नुको अर्को कारण विद्युत लोडशेडिङ हो । आजको जमानामा विद्युतबिना उद्योग, कलकारखाना त परको कुरा सामान्य व्यापारसमेत् चल्दैन । लगानीकर्तालाइ बिकर्षित् गर्ने अर्को कारण प्रशासनिक झन्झट हो । नेपालको प्रशासन सुस्त छ । कर्मचारीहरु भ्रष्ट मात्र हैन यान्त्रिक, सुष्क, सम्वेदनाहीन र अमानवीय छन् । लगानीकर्ताको फाइल टेबुलमा आयोभने बल्छिमा ठूलै माछो पर्यो, छाड्नुहुन्न भनेर सोच्न थाल्छन् । राजनीतिक स्थिरता मात्र हुने हो भने लगानी विरोधी अरु कारण तुरुन्तै सुध्रिन्छ । निर्वाचनमा थ्रेसहोल्ड नराख्ने हो र समानुपातिकलाइ प्रतिनिधिसभामै राख्ने होभने राजनीतिक अस्थिरताझन् बढ्ने छ ।
‘ग्लोबल फाइनान्सियल इण्टिग्रिटी’ नामक संस्थाको रिपोर्ट अनुसार नेपालबाट बार्षिक औसत ८० करोड डलर भन्दा बढी पूँजी पलायन भैरहेको छ । व्यवसायिक समाचार साइट् ‘विजनेश इन्साइडर’ ले नेपालीहरुको जीवन अत्यन्त कष्टकर अवस्थामा पुगेको निस्कर्ष दिएको छ । र, भविष्यमा अझै कष्टकर हुनेछ भनेर प्रक्षेपण गरेको छ । वेरोजगारी र मुद्रास्फितिको अध्ययन गरेर यस्ले मिजरेबल इण्डेक्स निकाल्छ । १९७ देशको अध्ययन गरी सार्वजनिक गरिएको सो इण्डेक्स अनुसार बढी कष्टकर जीवनको हिसाबले नेपाल आठौं स्थानमा छ । दक्षिण एशियामै अफगानिस्तान भन्दापनि गएगुज्रेको हालतमा नेपाल पुगेको छ । सम्पतिको अधिकार सम्वन्धी अन्तर्राष्ट्रिय परिसूचकले अध्ययन गरेका १३० राष्ट्रमा नेपाल अन्तिमबाट दशौं स्थानमा छ ।
स्थिति ऐनाजत्तिकै छर्लङ्ग छ । रोग डाइग्नोसिस भैसकेको छ । उपचारको प्रेस्कृप्शन पनि छ। व्यबस्था र शासनमा सामान्य उपचार गर्नासाथ तुरुन्तै सुध्रिने छ । केवल उपचार गर्ने इच्छाशक्तिको मात्र खाँचो छ ।





