सर्वसत्तावादी सोच
● आनन्दराम पौडेल
सम्विधान निर्माण गर्न अग्रसर भएका ४ दलका शीर्षस्थ नेताहरुले मेडियालाइ चारैतिरबाट कस्ने र अङ्कुश लगाउने प्रतिवन्धात्मक वाक्यांशहरु भरपुरै राखेछन् । यसबाट के वुझिन्छभने भोलिपनि आलोपालो सरकार चलाउने हामीले नै हो, र अब भोलिका दिनमा हामीमाथि औंलो ठड्याउन र हाम्रो काम-कार्यवाहीको बिषयमा टीकाटिप्पणि, आलोचना गर्न पाइने छैन भन्ने सन्देश प्रवाह गर्न खोजेका छन् ।
विश्व इतिहासमै के देखिएको छभने जव सत्तावानको मस्तिष्कमा सर्वसत्तावादी चिन्तन पलाउँछ तव उस्ले सर्वप्रथम मेडियालाइ कस्न थाल्छ । पाकिस्तानमा जियाउल हकको सरकारले आफ्नो शासनकालभरी २०० भन्दा बढी अखवार बन्द गरे । पाकिस्तान बन्नासाथ सरकार हात धोएर रावलपिण्डीबाट प्रकाशित हुने हिन्दू अखवार “वसन्त” को पछि लाग्यो । ‘वसन्त’ का मालिक हुकुमचन्दकी श्रीमति र छोरीलाइ अपहरण गरेर जवर्जस्ति मुसलमान बनाइयो । भुट्टो आफूलाइ समाजवादी भन्थे । तर यिनैले पञ्जाब, सीमाप्रान्त र बलूचिस्तानका ३ दर्जनभन्दा बढी अखवार बन्द गराए । अलिकति मात्रै आलोचनात्मक देखियोभने त्यो अखवारलाइ सरकारी बिज्ञापन पूरै बन्द गरिदिन्थे । अयूब खानले त भएभरका अखवारलाइ एउटा ट्रष्टको अधीनमा राखेका थिए। ठूलै धनरासी र आफ्नो जीवन पूरै अखवारमै समर्पित गरेका मियाँ इफ्तेखान उदीनले त आत्महत्या नै गरे ।
मेडियालाइ ठेगान लाउन प-योभने सरकार प्रेस काउन्सील वा अदालततर्फको बाटो लाग्दैन, प्रशासनिक हतियार प्रयोग गर्छ । द्वन्दकालमा बाबुराम भट्टराईजीको लेखले विझायो भनेर प्रमं गिरिजाप्रसाद कोइराला र गृहमन्त्री रामचन्द्र पौडेलले कान्तिपुरका सम्पादक र प्रकाशकमाथि पुलिस लगाइदिएका थिए । २०६१ माघ १९ गतेपछि ज्ञानेन्द्रले मेडियाको घाँटीमा कसेको सुर्किनी त अहिलेसम्म सवैले महसुस गरिरहेकै छन् । भारतमा इण्डियन एक्स्प्रेसले अलि बढी नै सत्य लेख्न थाल्यो भनेर राजीव गान्धीजी आयकर अधिकारीलाइ छापा मार्न लगाउँथे । पाकिस्तानमा दैनिक ‘जङ्ग’लाइ दाम्लो बाँध्न सरकारले कुनै कसर वाँकि राखेन ।
सत्तावानहरु आफ्नो मनोनुकूलका खवर बढाईचढाई ब्यानर न्यूज बनेर आवोस, तर प्रतिपक्षको खवर छेउकुनामा पनि नपरोस् भन्ने इच्छा राख्दारहेछन् भन्ने त तीन-चार बर्षअघि प्रतिपक्षी पार्टीका आमसभाका दृष्य समेत् प्रशारण गरेको भनेर नेपाल टेलिभीजनका दिपकमणि धिताललाइ महाप्रवन्धकको जिम्मेवारीबाट हटाउँदा नै प्रष्ट वुझिएको थियो ।
समष्टीमा हेर्ने होभने यो समग्र जीवन र जगत परिवर्तनशील छ । स्थितिको परिवर्तनसँगै मान्छेका विचार, दृष्टिकोण र भावनामा पनि परिवर्तन आइराखेको हुन्छ । जनताका परिवर्तित भावना, विचार र इच्छाहरु मेडियामार्फत् अभिव्यक्त हुन्छन् । जनभावना र जनताको इच्छाअनुसार चल्ने भनिएको सरकार यदि इमान्दार होभने उस्ले जनभावना वुझ्दैरहनुपर्ने हुन्छ र त्यस्को लागि मेडिया जति सहयोगी अरु हुनैसक्दैन । सरकारले लिने निर्णय र राज्यले निर्माण गर्ने नीतिहरु सामाजिक भावना, विचार र दृष्टिकोणका औपचारिक अभिव्यक्ति मात्र हुन् । जनभावनालाइ अगाडी बढाएर र सरकारका कृयाकलापलाइ जनसमक्ष पु-याएर मेडियाले सेतुको काम गरिराखेको हुन्छ ।
जनमुखी सरकार होभने उस्लाइ स्वतन्त्र मेडिया चाहिन्छ र आत्ममुखी सरकार होभने नियन्त्रणभित्रको मेडिया चाहिन्छ । सरकारको, पार्टीहरुको र शक्तिशाली नेताहरुको मात्र मेडिया हुने र स्वतन्त्र मेडिया नहुने होभने जनताका विचार गुम्सिएर रहनेछन् । जनताको भावना र दृष्टिकोण कुण्ठित भएर रहने होभने तिनै शक्तिशालीहरुको मात्र विचार प्रवाह भैरहेको हुन्छ । जनताको विचार अगाडी नआएपछि शक्तिशालीकै विचार नै राष्ट्रको विचार बनेर स्थापित हुन्छ । त्यसैभएर जेफर्सनले, “अखवारबिनाको सरकार वा सरकारबिनाको अखवार मध्ये एउटा रोज्नुपरेमा म नहिच्किचाइकन पछिल्लोलाइ रोज्नेछु” भनेका हुन् । जेफर्सनको यो वाक्यभित्र लुकेको मर्मलाइ मात्र हाम्रा नेताहरुले वुझिदिए पुग्थ्यो ।
यी ठूला दलका शीर्षस्थ नेताहरु गल्ति औंल्याउने र टीकाटिप्पणि गर्ने तत्वलाइ बेमाखै पार्न चाहन्छन् भन्ने त अर्को प्रकरणमा पनि देखियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ वर्तमान ऐनले दुइटा अधिकार दिएको छ – भ्रष्टाचार भएको पाइएमा अदालतमा मुद्दा दायर गर्ने, तथा अनुचित कर्म (गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको) देखिएमा कार्यवाहीको लागि विभागीय प्रमुखलाइ लेखिपठाउने । अबको सम्विधानबाट दोश्रो अधिकार झिकिदिने निर्णय यिनीहरुले गरेका छन् ।
जनताको राय लिने भनेर छुट्याएको यो १५ दिनमा जनताले एकढिक्का भएर एकै स्वरमा विरोध नगर्ने होभने हिजोको भन्दा पनि धेरै सङ्कुचित सम्विधान निर्माण गर्ने प्रष्ट लक्षण देखिएको छ ।




