राष्ट्रलाइ धम्की
- आनन्दराम पौडेल
तराईका क्षेत्रीयतावादी केही पार्टीका नेताहरुले ३ दिनअघि भारतीय राजदूतावास, लैनचौर गएर हारगुहार गरे । “ठूला चार दलले हामीलाइ महत्व दिइरहेका छैनन्, तपाईं के हेरेर बसिरहनुभएको छ” भनेर बिलौना गरे । यी तराईवादी क्षेत्रीय पार्टीहरुलाइ आफ्नो शक्तिको स्रोत र आधार भनेको भारतका नेता हुन् भन्ने भ्रम छ । सद्भावना पार्टीका महासचिव राजीव झा लगायत क्षेत्रीयतावादी पार्टीका नेताहरु भारतको बासोपट्टीमा त्यहाँका बिभिन्न पार्टीका नेताहरु भेला गरेर, “लौ न, यिनीहरुलाइ ठेगान लगाइदिनुहोस्” भन्दै दबाब दिइरहेका थिए । भारतीय राजदूत र भारतका नेताहरुको सामुन्ने बिलौना गरिरहने यी नेताहरु नेपाल राष्ट्रलाइ भने सधैं धम्क्याइरहेका हुन्छन् । भारतीय राजदूतसँग भेटेर फर्केपछि सद्भावना पार्टीका राजेन्द्र महतोले, “नाकाबन्दी लगाइदिन्छौं” भनेर राष्ट्रलाइ धम्क्याए । तराईका क्षेत्रीयतावादी पार्टीका नेताहरुले के सोचेका छनभने दिल्लीले एक नजर आँखा तरिदियोभने यी ४ दलका नेताहरु छुल्छुलि मुत्छन् ।
तराईका क्षेत्रीयतावादी नेताहरुले यस्तो सोच्ने कारण छ । २००७ सालमा क्रान्ति अघि बढिरहेको थियो, दिल्लीले “रोक” भन्नासाथ तत्कालै रोकियो । क्रान्तिपछि राजा त्रिभुवनको सचिवालय भारतीय प्रतिनिधिकै निर्देशमा चल्थ्यो । क्रान्तिका कमाण्डर मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि नेपालको चीनसँग जोडिएको सीमाक्षेत्रका १८ नाकामा भारतको सैनिक चेकपोस्ट स्थायी हिसाबले राख्न लगाए । काठमाडौंमा छुट्टै सैनिक केन्द्र राख्नदिए ।
काठमाडौंमा रहेको भारतीय सैनिक केन्द्रले नेपाली सेनाको अस्त्र-शस्त्र भण्डार निरीक्षण गर्थ्यो । नेपाली सेनालाइ यति अस्त्र-शस्त्र भए पुग्छ भनेर अह्रन-खटन गर्थ्यो । यो सबै मातृकाप्रसाद कोइरालाको चाहनामुताबिक भयो । २०१७ साल मङ्सीर मसान्तका दिन पञ्जाबको हिसारमा बृहत आमसभा थियो । आमसभालाइ सम्वोधन गर्दै भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले भने, “नेपालको शासनमा तत्कालै ठूलो परिवर्तन हुँदैछ । त्यो परिवर्तनलाइ आश्चर्यको रुपमा नलिनुहोला । यो परिवर्तन भारतको अहितमा हुनेछैन ।”
भोलिपल्ट अर्थात् १५ डिसेम्बरको टाइम्स अफ इण्डियामा यो प्रकाशित छ । १५ डिसेम्बरको टाइम्स अफ इण्डिया पढिसकेपछि २०१७ पुस १ गतेको कदम राजा महेन्द्र एक्लैले आँटेको होइनरहेछ भनेर टुङ्गोमा पुगिन्छ । केही भित्री साँठगाँठ भएकै कारणले, नेपालको पश्चिमोत्तर कालापानीमा भारतीय सेना राख्न र कालापानीदेखि लिम्पियाधुरासम्म कब्जा जमाइराख्न भित्री अनुमति दिएको अनुमान गर्न कठिन पर्दैन ।
तराईका केही क्षेत्रीयतावादी पार्टीका नेताहरुले भारतलाइ उकास्दै नेपाल राष्ट्रलाइ जुन धम्क्याइरहेछन् त्यो अकारण हैन । भारतको एउटा फुच्चे नेताले तरेर हेरिदियो मात्र भनेपनि कांग्रेस, एमाले, माओवादी नेताहरुको सातोपुत्लो उड्छ । २०६३ सालमा त्यतैबाट एक इशारा हुनासाथ नेपालको नागरिकता ऐन रछान बनाइदिए । पहाडमा १५-१६ ओटा सङ्घीय प्रदेश बनाउनु, तर तराईलाइ एउटै प्रदेश बनाउनु भन्ने आशय प्रकट हुनासाथ यी नेताहरु तुरुन्त तैयार भैसकेका थिए । युएनडीपीको बार्षिक मानवप्रतिवेदनका मानव विकास सूचकाङ्क र अनेकौं सर्वेक्षणले तराइका फर्वार्ड ब्लक (कायस्थ, भूमिहार, राजपूत र बाहुन), तथा मारवाडीको जीवनस्तर धेरै माथि देखाउँछ । तथ्य जेसुकै भएपनि यिनीहरुलाइ आरक्षण दिनु भन्ने लाइन आएकोले, कतिपय बिपन्न पहाडेहरुलाइ बञ्चित गरेर, मालिक रिझाउनको लागि, अन्यायपूर्ण तवरले आरक्षण वितरण गरियो ।
भारतको आड लिएर जतिपनि तर्साउन र धम्क्याउन सकिन्छ भनेरै यिनीहरुको दुस्साहस बढेको हो । विगतमा महन्थ ठाकुरजीले, “मैले भने अनुसार हुँदैनभने तुरुन्त राष्ट्र टुक्र्याइदिन्छु” भनेर दर्जनौं पटक धम्क्याएकै हुन् । केही बर्षअघि वीरगञ्जमा बृहत् जनसभा थियो । राजेन्द्र महतोजी आपूर्ति मन्त्री थिए । जनसभालाइ सम्वोधन गर्दै राजेन्द्रजीले दुइटा बिषयलाइ निकै चर्कोसँग उठाएका थिए । वीशौं पुस्तादेखि तराईमा बसोबास गरिराखेका पहाडे मूलका नेपालीलाइ सम्वोधन गर्दै, “यदि तपाईंहरु अझैपनि तराईमै बस्न चाहनुहुन्छ भने हामी भारतीय मूलका तराईयनको अधीनस्थ भएर रहनुपर्नेछ । आजैबाट त्यो मानसिकता विकास गर्नुहोस्” भने । अर्कोचाहीं सधैं भन्ने गरेको “हामीले चाह्यौंभने नेपाललाइ तुरुन्त नाकाबन्दी लगाइदिन्छौं” पनि भने ।
समस्या महन्थ ठाकुर, राजेन्द्र महतोमा हैन । समस्या कांग्रेस, एमाले, माओवादीका नेताहरुमा छ । यिनीहरु “बाहिर-बाहिर लोकाचार, भित्र-भित्र लम्पसार” पर्छन् । जनताको माझमा पुग्दा राष्ट्र, देश र जनताको पक्षमा कस्सिएरै बोल्छन्, तर भारतको फुच्चे नेताको सामुन्ने कर्कलोसरी गल्याकगुलुक् हुन्छन् । यिनीहरुसँग न त आत्मसम्मान छ, न राष्ट्रिय स्वाभिमान नै छ । जबसम्म यिनीहरु इमान्दार भएर जनताको माझमा दह्रोसँग उभिंदैनन्, तबसम्म राजेन्द्र महतो, महन्थ ठाकुरहरुले राष्ट्रलाइ धम्क्याइरहने छन् ।




