संविधान जारीसँगै विप्लवको संघर्ष
- सन्तोष बराइली
विप्लव माओवादीले नयाँ संविधान जारी भएलगत्तै संघर्ष सुरु गर्ने आन्तरिक तयारीलाई तीव्र पारेको छ । शान्तिपूर्ण वा सशस्त्र संघर्षचाहिँ उसले सत्ता पक्षको मुडमा भर पर्ने बताएको छ । महाभूकम्पपछि विकट ग्रामीण बस्तीमा पुनर्निर्माण गरिरहेको विप्लव माओवादीले भ्रष्टाचारविरुद्धको आन्दोलन भने केही समयलाई थाती राखेको जानकारी दिएको छ । पुनर्निर्माण अभियान सकिनासाथ भ्रष्टाचार र कालोबजारीको भण्डाफोर अभियान पुनः छेड्दै संघर्ष थाल्ने मंगलबार बिहान मध्यबानेश्वरस्थित कार्यालयमा भेटिएका विप्लवको हेडक्वार्टर हेर्ने गुणराज लोहनीले बताए ।
हालैबाट प्रकाशन सुरु भएको विप्लव माओवादीको साप्ताहिक मुखपत्र रातो खबरका निर्देशक लोहनीले जनआस्थासँग भने, ‘हतारमा जारी गरिएको नयाँ संविधानले राष्ट्रियता, जनतन्त्र, जनजीविका जोखिममा पर्दै जानेछ, अनि जनतालाई गाँस, बास र कपास पनि दिने छैन, त्यसपछि जनतामा आक्रोश पैदा हुनेछ र उनीहरू संघर्षमा उत्रिनेछन्, त्यसबेला संघर्षको नेतृत्व गर्नेछौँ ।’
केन्द्रीय नेतृत्वमा भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण अभियान चलाइरहेको विप्लव माओवादीले यही मेसोमा स्थानीय जनतालाई राजनीतिक प्रशिक्षण दिएर संघर्षका लागि तयार गरिरहेको छ । राहतमा सरकारका मन्त्रीले गरेको अनियमितता र राहत वितरणमा दलले गरेको भेदभावबारे जनतालाई जानकारी गराएर आक्रोशित तुल्याउने अभियान पनि जारी राखेको छ । विकट ग्रामीण इलाकालाई कार्यक्षेत्र बनाएका केन्द्रीय नेताले जनतालाई दिइने राजनीतिक प्रशिक्षणमा प्रमुख दलका नेताले राहत र पुनर्निर्माणलाई प्रचारको साधन बनाएको भन्दै सहभागीलाई नेताप्रति आक्रोशित तुल्याउने गरेका छन् ।
लोहनीले भने, ‘हेर्दै जानुहोला, संविधान जारी भएको २ महिनापछि जनतामा आक्रोश पैदा हुनेछ र ५ देखि ६ महिनामा जनता नयाँ संविधानविरुद्ध संघर्षमा उत्रिसकेका हुनेछन् ।’ ७ मंसिरमा स्पष्ट कार्यदिशा दिन नसकेको भन्दै वैद्य माओवादीबाट अलग्गिएको विप्लव माओवादीले राष्ट्रिय सम्मेलन गरेर एकीकृत जनक्रान्तिको कार्यदिशा पास गरेको थियो ।
महाभूकम्पअघि सहरकेन्द्रित संघर्षको खाका बनाएको उसले सशस्त्र संघर्षताका कब्जा गरिएका सबै जमिन पुनः कब्जा गरेको दाबी गरेको छ । ६८ जिल्लामा संगठन विस्तार गरेको उसले ५ हजार बढी पूर्णकालीन सदस्य कार्यक्षेत्रमा खटाएको बताइन्छ । संघर्षका कार्यक्रममा सहभागी सुर्खेत, डोटी, रौतहट, बारा र काठमाडांैका आफ्ना नेता कार्यकर्तालाई पक्रँदै र छाड्दै गर्ने प्रहरी प्रशासनसँग आफूहरूको जुहारी चलिरहेको पनि विप्लव माओवादीले बताएको छ । शान्तिपूर्ण आन्दोलनमा सहभागी हाम्रा नेतालाई किन पक्रेको भनेर सोध्दा पुलिसका वरिष्ठ हाकिम सर, गृहमन्त्रीको ठाडो आदेशले पक्रनुपरेको, नपक्रिए जागिरै जान्छ भन्छन्, लोहनीले गुह्य कुरा खोले, ‘हामी पनि पक्राउ परेकै दिन संघर्षको कार्यक्रम घोषणा गरिदिन्छौँ, सरकार लुरुक्क परेर हाम्रा नेता–कार्यकर्ता छाडिदिन्छ ।’
बिरामी हेडक्वार्टर
विप्लव माओवादीको सिंगो हेडक्वार्टर सम्हाल्ने गुणराज लोहनी माईस्थोनिया ग्रयाभिज नामक रोगले सिकिस्त छन् । यही रोगले ग्रस्त बनेका कारण आँखा सानो हुँदै मात्र गएको छैन, धेरैजसो समय कम्प्युटर र ल्यापटपमा काम गर्ने उनले आँखासमेत कम देख्न थालेका छन् । हातखुट्टा बाउँडिने र खाना घाँटीबाट नछिर्ने गरेको बताउँछन् । भन्छन्, ‘७० साल चैत महिनामा चेकअप गराउँदा यो रोग लागेको पत्ता लाग्यो, आर्थिक र समयाभावले उपचार गर्न सकिएको छैन ।’
यो रोगको उपचार भारतलगायत विदेशी मुलुकका हस्पिटलमा हुन्छ । हङकङ, सिंगापुरमा उपचार गर्न सकिँदैन, थपे लोहनीले, ‘भारतको सरकारी अस्पताल एम्समा चेकजाँच गराइरहेको छु, प्रत्येक ३ महिनामा बोलाउँछ । भनेका बेला पैसा हुँदैन, समय पनि हुँदैन, उपचारमा नगएको धेरै भयो ।’ कम्तीमा पनि भारतीय नौ लाख ५० हजार रूपैयाँ भएदेखि भारतको निजी अस्पतालमा उपचार गर्न सकिने बताउँदै लोहनी थप्छन्, ‘तर त्यत्रो पैसा कहाँबाट ल्याउने ?’ यसअघि एमाओवादी नेता कृष्णबहादुर महराकी पत्नीलाई पनि यही रोग लाग्दा हङकङ लगेर उपचार गरिएको थियो ।
(हिजो बुधवारको जनआस्था साप्ताहिकबाट)





