हीनताग्रन्थीले ग्रस्त
- आनन्दराम पौडेल
मेडियानिर्मित ठूलाबडा बुद्धिजीवीहरुमा एउटा समस्या छ । उनीहरु हीनताग्रन्थी रोगले ग्रस्त छन् । उनीहरुको नजर सधैं पश्चिमतिरै हुन्छ । पश्चिमीलाइ महान भन्छन् । उनीहरुकै अनुशरण गर्छन् । उतैको नक्कल गर्छन् । पश्चिमाहरु महान भएकोले उनीहरुकै अनुशरण गरेर आफूपनि महान भैरहेछौं भन्ठान्छन् । पश्चिमा रङ्गमा रङ्गमङिदारङ्गमङिदै यहाँका सबै बिषयबस्तु तुच्छ लाग्छ । यहाँका मूल्यपरम्परालाइ फाल्तु ठान्छन् । आफ्नै बाबुबाजेलाइ थाङ्ने देख्छन्। नेपालीको सामर्थ्यमा विश्वास गर्दैनन्। हो, कमिकमजोरी यहाँपनि प्रसस्त छन् । हाम्रा नेताहरु भ्रष्ट छन्। स्वार्थी छन्। ढोंगी, पाखण्डी, आडम्बरी, धुर्त, लम्पट छन् । अपराधीहरुको संरक्षण गर्छन् । तर, यिनीहरु जति गलत भएपनि यिनीहरुको उपचार यहीं गर्नुपर्छ। नेपाली जनताले नै तह लगाउनुपर्छ । हाम्रा नेताहरु गलत भए भन्दैमा विदेशीहरुचाहीं ठीक हुनैसक्दैनन् ।
विश्व खाद्य कार्यक्रमले धेरै बर्ष अघिदेखि दूर्गम गाउँका जनतालाइ कुहिएका चामल, दाल र अझ त्यसमा पनि खेसरीको दाल ख्वाईरहेको थियो । २ महिनाअघि भूकम्पपीडितहरुलाइ पनि यही अखाद्यबस्तु वितरण गर्यो । यसबारेमा जनस्तरबाट यथेष्ट गुनासा आइरहेका थिए । जनताको आवाज नसुन्ने र जनभावनाको कदर नगर्ने सरकार र राजनीतिक नेतृत्वले यो आवाजलाइ पनि पैतालाले कुल्चिदिएको थियो । केही दिनअघि ४-५ जना सांसदहरुले विश्व खाद्य कार्यक्रमको यो ज्यादतिविरुद्ध कस्सिएरै बोलेका छन् । जनताको आवाज नसुन्ने र जनभावनाको कदर नगर्ने सरकारले यसलाइ गम्भीरतापुर्वक लेला भनेर विश्वास गरिहाल्न सकिने स्थिति छैन । तैपनि, संसदीय समितिमा औपचारिक तवरबाटै अगाडी बढाइएकोले नजरअन्दाज गर्न अलि गाह्रै पर्ला कि भनेर आशासम्म गर्न सकिन्छ । विश्वास गर्न किन गाह्रो छभने कालापानी, लिपुलेक भञ्ज्याङ, लिम्पियाधुराको बिषयमा नेपाली जनताले आवाज घन्काएको १८ बर्ष भयो । लिम्पियाधुरासम्म नेपालकै भूभाग हो भनेर सबकासब, शयौं ऐतिहासिक दस्तावेजहरुले पुष्टी गर्छ । यही भूभागलाइ भारतले कब्जा गरेको र चीनले समर्थन गरेको बिषयमा जनताले मात्र हैन, १ महिनाअघि संसदीय समितिले समेत् आपत्ति जनायो । तर, आगो जत्तिकै भर्भराउँदो प्रमाण साथमा हुँदाहुँदै, सम्पूर्ण जनताले आवाज निकालिरहँदा र संसदीय समितिले आपत्ति जनाइरहँदा समेत् हीनताग्रन्थीले ग्रस्त यी हाम्रा अगुवाहरुले कुटनीतिक पहल गर्ने आँट, हिम्मत जुटाउन सकेका छैनन् ।
जुन सिद्धान्तले राज्यको धर्म हुँदैन भन्छ, त्यही सिद्धान्तले राज्यको जातपनि हुँदैन भन्छ भनेर जनताले कान छेड्नेगरी चिच्याइरहे । जनताको आवाज सुनेनन्। पश्चिमाहरुले जात-सम्प्रदायको राजनीति गर्नु भनेका हुनाले पहिचानको आवरणभित्र जात-सम्प्रदायको राजनीतिलाइ मलजल गर्न थालिहाले । यही बिषयमा उनीहरुको देशमा हेर्ने होभने, भारतले आफूलाइ धर्मनिरपेक्ष भन्छ तर इश्लामका लागि अलग्गै, क्रिश्चियनका लागि अलग्गै कानुन बनाउँछ। जर्मनीका सरकारी बिद्यालयमा क्रिश्चियन धर्मको पठनपाठन हुन्छ । अमेरिकाका राष्ट्रपतिले बाइबल समातेर सपथग्रहण गर्छन् ।
पश्चिमाहरुले यहाँ चलाइराखेको अर्को संस्था छ – आइडिया इण्टरनेशनल । अघिल्लो सम्विधानसभाको समयमा जातीय-साम्प्रदायिक बिष घोलेर जात-जातमा विभाजित गर्ने र भिडाउने भयङ्कर अभियान उस्ले चलायो । जातीय, साम्प्रदायिक बिखण्डनका अभियन्ताहरुको भेला आयोजना गर्न लगानी गर्थ्यो । सभासदहरुको “ककस” निर्माण गरेर सम्विधानसभाभित्र दबाब दिन लगाउँथ्यो । यो अभियानलाइ अगाडी बढाउन ‘आइडिया इण्टर्नेशनल’ एक्लै थिएन । डिएफआइडी, डानिडा, केयर नेपाल, युरोपियन युनियन, डेनिस चर्च र नर्वेले भरमग्दुर साथ, सहयोग दिइरहेका थिए ।
सीके राउतजी पहाडे आमा, दिदी, बहिनीलाइ सधैं घीनलाग्दा, फोहोरी शब्दले गालि गर्नुहुन्छ । घृणा र अपमान गर्नुहुन्छ। देश टुक्र्याइदिन्छु भनेर राष्ट्रलाइ धम्की दिनुहुन्छ । तर, यिनै राउतजीलाइ एम्नेष्टी इण्टरनेशनलले काँधैमा बोकिराखेको छ । पश्चिमाहरुको संस्था भएकोले यही एम्नेष्टीको बिषयमा पनि हाम्रा अगुवाहरु बोल्न सक्दैनन्। विचराहरु हीनताग्रन्थीले ग्रस्त न छन् ।
पश्चिमाहरुको अगाडी लुत्रुक्क पर्ने यिनीहरु आफ्नो राष्ट्रको उपलब्धीलाइ लात हान्छन् । पृथ्बीनारायण शाहलाइ थुक्छन्। ११६ राष्ट्रले समर्थन गरेको, “नेपाललाइ शान्तिक्षेत्र बनाउने” प्रस्तावलाइ पोको पारेर फालिदिन्छन् ।
हाम्रा नेताहरुले आफ्नोजति तुच्छ र विदेशको लाइ महान ठान्ने मनोबिज्ञान पालेसम्म डब्लुएफपीले नेपालीलाइ कुहिएको चामल र खेसरीको दाल खुवाईरहने छ । एम्नेष्टीले सीके राउतहरुलाइ बोकिरहने छ। फरक पर्नेछैन ।




