शिक्षामा उत्कृष्टता

  • आनन्दराम पौडेल

writer-anandaram-paudelएसएलसीको नतिजा उत्साहप्रद रहेन । ४७ प्रतिशत मात्र उत्तीर्ण भए । त्यस्मा निजी बिद्यालयका ८९ प्रतिशत उत्तीर्ण भएभने सरकारी (सामुदायिक) बिद्यालयका ३३ प्रतिशत बिद्यार्थी मात्र उत्तीर्ण भएका छन् । यस बर्ष दुइ बिषयसम्म पाँच-पाँच अङ्क ग्रेस दिइएको थियो । ग्रेस पाएर १८२६० परीक्षार्थी उत्तीर्ण भएका थिए । र ग्रेस पाउने अधिकांश सरकारी बिद्यालयकै थिए । यस्लाइ अलग्याउने होभने सरकारी बिद्यालयको उत्तीर्ण हिसाब करिब ३० प्रतिशत हुन आउँछ ।

धेरै बर्षदेखि नेपालमा एउटा अजङ्गको प्रश्न खडा भएको छ । तालिमप्राप्त भनिएका शिक्षक सरकारी बिद्यालयमै छन् । अधिकांश निजी बिद्यालयका शिक्षकहरुले पाउनेभन्दा दोब्बर तलब पाइराखेका छन् । त्यसबाहेक पेन्शनसमेत् पाउँछन् । चालू आर्थिक बर्षको लागि राज्यले शिक्षा क्षेत्रमा ८६ अरब रुपैयाँ बजेट निकासा गरेको छ । यस्को ८० प्रतिशत रकम बिद्यालय तहमा खर्च हुन्छ ।

तैपनि उनीहरुकै कार्यसम्पादन किन गिर्दोस्तरमा छ ?  युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडालगायत पश्चिमा राष्ट्रहरुमा सरकारी बिद्यालयमा पढाइ उम्दा भएकोले त्यहाँका अभिभावकहरु आफ्ना सन्तानलाइ पाएसम्म सरकारी बिद्यालयमै पढाउन चाहन्छन् । तर, नेपालमा मात्र सरकारी बिद्यालयमा अध्यापनको स्तर यति गएगुज्रेको छकि विपन्न परिवारले समेत् आफ्ना सन्तानलाइ निजी बिद्यालयमै पढाउन खोज्छन् । किन यस्तो भैरहेछ ?

यस्को उत्तर खोज्न धेरै टाढा जानुपर्दैन । नेपालमा जुन-जुन क्षेत्रमा पार्टीराजनीतिले प्रवेश गर् यो, तत्-तत् क्षेत्रको मूल्यलाइ क्षय गरिदियो ।  पार्टीराजनीति छिर्नुभनेको सद्दे आलुको बोरामा एउटा कुहिएको आलु हालिदिनु सरह भयो । एउटा कुहिएको आलुले बोरामा भएका सद्दे आलुलाइ मात्र कुहाउँदैन, गोदाममा भएका सहीसलामत सम्पूर्ण आलुलाइ कुहाइदिन्छ । त्यसैगरी क्षुद्र पार्टीराजनीतिले जहाँ हात हाल्यो भस्मासुरले जस्तै ध्वस्त पारिदियो । सरकारी बिद्यालयको बिद्यालय व्यबस्थापन समिति निर्माण गर्ने बेलामा तमासा हेर्न सकिन्छ । पार्टीका नेताहरु अखाडा जमाएर बसेका हुन्छन् । आफ्ना पार्टीका कार्यकर्तालाइ अध्यक्ष बनाउन, नभए सदस्य बनाउन हानथाप मात्र हैन मारामारसम्म गर्छन् । धनुषाको मदन-आश्रित निम्नमाध्यमिक बिद्यालयको विद्यालय व्यबस्थापन कमिटी गठन गर्ने क्रममा मारामार भएर दुईजनाको मृत्यु भएको धेरै भएको छैन । पार्टीको झोले भएको कारणले चारपटक एसएलसी फेल भएको व्यक्तिलाइ बिद्यालय व्यबस्थापन कमिटीको अध्यक्ष बनाइन्छ । अनि उस्ले आफ्नो कार्य यसरी शुरु गर्छ । सर्वप्रथम एमएड गरेको, पुरानो स्थायी माध्यमिक शिक्षकलाइ प्रअबाट हटाउँछ, र उस्को चम्चे निमाबि शिक्षकलाइ निमित्त प्रअ बनाएर सम्पूर्ण अधिकार प्रदान गर्छ ।

पञ्चतन्त्र कथामा कुक्रुछन्द श्यालले राजपाठ पाएपछि सर्वप्रथम बुद्धिमान जनावरलाइ लाखापाखा लगाए जस्तै यहाँपनि योग्य, सक्षम, स्वाभिमानी शिक्षकहरुलाइ किनारा लगाउन थाल्छ । योग्य, सक्षम शिक्षकहरु स्वाभिमानी हुनसक्छन् । तिनीहरुले चाकरी गर्ने रिझाउने धन्दा नगर्न सक्छन् । तिनीहरुलाइ धकेलेर टिक्नबस्नै नसक्ने स्थिति सृजना गरेपछि त्यस ठाउँमा आफ्ना चाकरीवाज अस्थायी, राहतका शिक्षकहरु भर्न थाल्छ । चाकरीवाजहरुलाइ जागीर दिनको लागि बिद्यालयलाइ आवश्यक नभएपनि, स्रोतको व्यबस्थासमेत् नगरी, निजी र  पिसिएफ शिक्षकको संख्या बढाएर नियुक्त गर्छ । करारमा नियुक्त गर्दापनि आफ्ना खास भन्दा बाहिरको लागि किञ्चित स्थान दिंदैन । अध्यक्षको इशारामा नचल्ने प्रअ भएमा जरुरी कामहरु पनि रोकिन्छभने इशारामा नाच्ने प्रअ भएमा बजेट मनपरी खर्च हुन्छ ।

बिद्यालय व्यबस्थापन कमिटीको संरचना नै बदल्न जरुरी भैसकेको छ । आधारभूत बिद्यालयहरुमा स्रोतव्यक्ति र माध्यमिक बिद्यालयहरुमा बिद्यालय निरिक्षक तथा नगरपालिकाको वडाअध्यक्षलाइ पदेन सदस्य राख्नुपर्छ । बिद्यालयलाइ सहयोग गरिरहेको संस्थाको प्रमुख र दिलोज्यानले सहयोग गर्ने स्थानीय व्यक्तिलाइ व्यबस्थापन कमिटीमा राख्न सकिन्छ ।

बिद्यालय व्यबस्थापन कमिटीको संरचना मात्र हैन, शिक्षा सेवा आयोगलाइ पनि निस्पक्ष र कामकाजी बनाउन जरुरी भैसकेको छ । पार्टीको झोले नभएका निस्पक्ष, स्वतन्त्र प्राज्ञिक व्यक्तित्वलाइ आयोगको सदस्य र लोकसेवा आयोगको सदस्यलाइ अध्यक्ष राखेर शिक्षा सेवा आयोग गठन गर्नुपर्छ । शिक्षा सेवा आयोगले बर्षेनी बिज्ञापन खोल्नुपर्छ । आफूलाइ परिमार्जन नगर्ने, जाँगर मरेका, थोत्रा शिक्षकहरुलाइ ७ बर्षको पेन्शन अग्रीम दिएर बिदा गर्न सकिन्छ । त्यस ठाउँमा मेरीट बेसीसमा योग्यतम व्यक्तिहरुलाइ नियुक्त गर्न सकिन्छ । निरन्तर सुक्ष्म मूल्याङ्कन र तात्तातै पुरस्कार दिने प्रथा भएमा उत्कृष्ट कर्म र योग्यताको कदर हुनेछ । जहाँ कर्मको सम्मान हुन्छ त्यहीं उत्कृष्टता प्राप्त हुन्छ ।

तपाइँको प्रतिक्रिया