समृद्धीको लागि इच्छाशक्ति
- आनन्दराम पौडेल
अर्थमन्त्री रामशरण महतजीले भारतभ्रमणको क्रममा भारतीय उद्योगव्यवसायीलाइ नेपालमा लगानी गर्न आव्हान गर्नुभयो। वैदेशिक लगानी भित्रियोस् र उद्योगधन्दा फस्टाओस् भनेर नेपालले चाहना राखेको धेरै बर्ष भयो। लोकतन्त्र आएपछि जलस्रोत, पर्यटन र उत्पादनशील उद्योगमा लगानी गर्न धेरै विदेशीहरुले तत्परता देखाएका थिए। चीन, भारत मात्र हैन पश्चिमा राष्ट्रबाट समेत् लगानी गर्ने इच्छा राखेर उद्योगव्यवसायीहरु नेपाल आएका हुन्। तर, नेपालमा लगानीमैत्री वातावरण नभएकैले उनीहरुले मनमार्दै फर्कंदै गरेका हुन्।नेपालमा व्यापारव्यवसाय गर्न जति सहज छ, उद्योगधन्दा त्यत्तिकै कठिन छ। नेपालका पार्टीहरु अत्यन्तै गैरजिम्मेवार छन्। अपराधीलाइ संरक्षण गर्छन्। अपराधी, गुण्डामार्फत् आफ्नो राजनीति अघि बढाउँछन्। भातृसङ्गठन र ट्रेडयुनियनमा यिनै गुण्डाहरुको हालिमुहालि चल्छ। यी गुण्डाहरुको साँझ निकै खर्चिलो हुन्छ। उद्योगव्यवसायीलाइ धम्क्याएर, तर्साएर खर्चको स्रोत जुटाउने गर्छन्। उद्योग, कलकारखानामा तालाबन्दी गरिदिनु, बन्दहडताल, घेराउ त यिनीहरुको बायाँ हातको खेल हुन्छ। त्यसबाहेक यी पार्टीहरुले पालैसँग गर्ने नेपालबन्द, यातायात बन्द, बजारबन्द जस्ता, ताई-न-तुईसँग गरिने सस्ता, मनपरी बन्दले उद्योगधन्दा चल्नै नदिने स्थिति सृजना गरिराखेको हुन्छ। चन्दाको नाममा पार्टीले निचोर्ने त छँदैछ। विद्युत लोडशेडिङ अन्त हुने सम्भावना देखिंदैन। आजको जमानामा विद्युतको अभावमा उद्योग, कलकारखाना चलाउन सम्भव छैन। सुस्त, भ्रष्ट सरकारी कर्मचारी तथा झझण्टीलो प्रशासनिक प्रकृयाले पनि लगानीकर्तालाइ विकर्षित नै गरिराखेको हुन्छ। उद्योगधन्दा शुरु गर्नभन्दा उद्योग बन्द गर्न झन् गाह्रो मात्र हैन महाभारत, पर्लय नै हुन्छ। विश्व आर्थिक स्वतन्त्रता परिसूचक-२०१४ ले लगानी वातावरणको लागि नेपाललाइ अत्यन्तै न्युन नम्बर दिएको छ। परिसूचकमा समावेश १७८ मुलुकमध्ये नेपाल १४९औं स्थानमा छ। दक्षिण एशियामा नेपाल अन्तिममा छ।
निर्यात-नीतिको बिषयमा भन्नुपर्दा अन्य मुलुकमा निर्यात गर्दा सरकारले ड्यूटी ड्र ब्याक लगायत प्रोत्साहनसुविधा दिन्छ, तर भारतमा निर्यात गर्दा दिंदैन। जबकि भारतमा निर्यात झन् झण्झटीलो छ। सरकारले आयातलाइ जति सहज बनाउँदै लगेको छ, त्यही अनुसार आयातलाइ ध्यान दिएको छैन। विदेशी सामानलाइ अनेकौं सुविधा र सहुलियत दिएर उपभोक्तालाइ सस्तोमा उपलब्ध गराउन सरकारले धेरै तारतम्य मिलाएको छ। यस्ले पनि स्वदेशी उद्योगलाइ मार परेको छ।
केन्द्रीय तथ्याङ्क विभागले गरेको औद्योगिक गणना-२०६९ को प्रक्षेपण हेर्दा पछिल्लो कालमा १९५ उद्योगहरु बन्द भएका छन्। उद्योगहरुले दिएको रोजगारी २०४९ को तुलनामा ८.५ प्रतिशतले घटेको छ। चालू उद्योगमा पनि आधाआधी उद्योगले क्षमताको ६० प्रतिशतभन्दा कम उत्पादन गरिरहेका छन्।
रामशरण महतजीले वैदेशिक लगानीको लागि जुन आव्हान गर्नुभयो, त्यो राष्ट्रको आवश्यकता अनुसार ठीक गर्नुभएको हो। चीन, भारत, इण्डोनेशिया, ब्राजिल जस्ता ठूला राष्ट्र र क्युबा जस्ता साना राष्ट्रले समेत् वैदेशिक लगानी भित्र्याउन भरमग्दुर पहल गरेका हुन्। चीनले वैदेशिक लगानीको सहज र विश्वसनीय वातावरण तैयार गरेकोले एक लाखभन्दा बढी वहुराष्ट्रीय कम्पनीहरु चीनमा छन्। क्युबामा कुनैपनि वैदेशिक लगानीकर्ताले उत्पादन शुरु भएको ८ महिनासम्म कर तिर्नुपर्दैन। उद्योगधन्दा गरिबसेका विदेशीले कुनै व्यक्तिगत कर तिर्नुपर्दैन।
प्रधानमन्त्री र मन्त्रीहरुले देशविदेशमा गएर वैदेशिक लगानीको लागि आव्हान गरिरहनुभन्दा लगानीमैत्री वातावरण निर्माण गर्नेतर्फ लाग्नुपर्थ्यो। के-कति कारणले वैदेशिक लगानी आकर्षित भएन त्यता ध्यान दिनुपर्थ्यो। उदाहरणको लागि निर्माण, स्वामित्व हस्तान्तरण (बुट) ऐन-२०६३ आउनासाथ लगानीकर्ताहरुले केही प्रावधान परिमार्जन गर्न आव्हान गरेका थिए। लगानीको सुरक्षा र प्रतिफलको सम्भावनालाइ सम्वोधन गरोस् भनेर चाहेका थिए। निजी लगानीसम्बन्धी भौतिक संरचना ऐन-२०६३ आउँदा पनि लगानीकर्ताहरुले केही परिमार्जन गरिदिन अनुरोध गरेका थिए ।
लगानीमैत्री वातावरण बनाउने नै होभने पटक्कै समय लाग्दैन। समस्या कहाँ-कहाँ छ, टड्कारै देखिईराखेकै छ। समाधानका सूत्रहरु पनि सँगसँगै छ। केवल इच्छाशक्तिको खाँचो छ। लगानीमैत्री वातावरण बन्ने होभने १० बर्षमा नेपाल राष्ट्र विकासशील राष्ट्रको पङ्क्तिमा पुग्नेछ।




