बिषबृक्षको जरो
- आनन्दराम पौडेल
डा. सीके राउतजीले नेपाली महिलामाथि तुच्छ शब्द प्रयोग गरिरहेका थिए । नेपाली, आमा, दिदी-बहिनीहरुप्रति घीनलाग्दा शब्दले दुत्कारिरहेका थिए। पहाडेप्रति घृणा, विद्वेष र दुर्भावना फैलाइरहेका थिए, र “तराई टुक्र्याइदिन्छु” भनेर राष्ट्रलाइ धम्क्याइरहेका थिए । डलर, युरोबाट पालितपोषित केही आइएनजीओका महानायकहरु सीके राउतको पक्षमा बोलिरहेका देख्नासाथै पश्चिमाहरुको सपोर्ट रहेछ भनेर सबैले अनुमान गरिसकेका थिए । ४ दिनअघि कृष्ण पहाडीजीले, “एम्नेस्टी इण्टर्नेशनलले सीके राउतलाइ अप्रत्यक्ष सपोर्ट गरिरहेको वुझेपछि त्यस संस्थाबाट अलग्गिएँ” भनेर आफू अलग्गिएको घोषणा गर्नुभयो ।
कृष्ण पहाडीजीलाइ सबैले मानवअधिकार अभियन्ता भनेर चिन्छन् । उहाँले सन १९९१ देखि १९९६ सम्म एम्नेस्टी, नेपाल च्याप्टरको नेतृत्व गर्नुभएको थियो । उहाँकै प्रयासमा एम्नेस्टी, नेपाल शाखाले मान्यता पाएको थियो। मानवअधिकार तथा शान्ति समाजको संस्थापक हुनुहुन्छ । मावअधिकार तथा शान्ति समाजले विदेशी दानदातब्य, सहयोग लिन नपाउने नियम बनाउनु मात्र भएन कडाईकासाथ लागु गराउनुभयो । ७ बर्षअघि ‘नागरिक समाज’ बाट अलग्गिएको घोषणा गर्नुभएको थियो । नागरिक समाजबाट अलग्गिनुको कारण उहाँले सार्वजनिक नगरेपनि नागरिक समाजले गुपचुप तवरले, भित्रभित्रै विदेशी राष्ट्र र आइएनजिओबाट रकम प्राप्त गरिरहेको वुझिएपछि आफूलाइ अलग्याउनुभएको रहेछ भनेर पछि थाहा भयो । कृष्ण पहाडीजीलाइ जति मानवअधिकारवादी भनेर चिन्छन्, त्यत्तिकै उहाँलाइ अहिंसावादी, सङ्घर्षशील र त्यागी भनेर पनि चिन्छन् । एम्नेस्टीले सीके राउतलाइ अप्रत्यक्ष सहयोग गरिरहेको प्रष्ट भएपछि ४ दिनअघि त्यस संस्थाबाट अलग्गिएको घोषणा गर्नुभएको हो ।
निकै ठूला-ठूला आदर्श छाँट्ने यी अन्तर्राष्ट्रिय संस्था, विदेशी राष्ट्र र आइएनजीओहरु नै हाम्रो जस्तो पिछडिएको देशभित्र घुसेर आफ्नो स्वार्थको लागि भित्रभित्रै धेरै खेल खेलिरहेका हुन्छन् । श्रीलङ्कामा तमीलहरुलाइ शुरुमा भारतले उकास्यो र पछि नर्वेले हावा भ-यो । जव उकास्ने र हावा भर्नेहरु पछि हटे र हटाइए, तव तमीलहरुको टेक्नेसमाउने ठाउँ कहीं वाँकि रहेन । २०७० जेठको तेश्रो हप्तामा भएको राजदूतहरुको जमघटमा श्रीलङ्काली राजदूत थोपासाला हेवागेले भनेका थिए, “एकातिर नर्वेजीयनहरु सरकार र तमीलका बीचमा मध्यस्थता गरिरहेका देखिन्थेभने अर्कोतिर नर्वेबाटै अत्याधुनिक हातहतियार तमीलहरुलाइ सप्लाइ भैरहेको थियो । यो थाहा भएपछि यी आइएनजीओ र विदेशीका गतिविधिप्रति हामी धेरै नै सतर्क भयौं ।”
विदेशीहरुले यसैगरी उकासेर रुवाण्डामा सन १९९४मा गराएको जातीय नरसंहारमा १०० दिनमा ८ लाख मानिस मारिए । “रोमन क्याथोलिक क्रिश्चियनहरुले रुवाण्डामा जातीय घृणा फैलाएर नरसंहार गराएको” भनि बेल्जीयमको अदालतले जुन ८, २००१मा फैसला गरेपछि मात्र दुनिञाले तथ्य छर्लङ्ग वुझे ।
डिएफआइडी, आइडिया इन्टर्नेशनल, डेनिस चर्च, नर्वे, युरोपियन युनियन, डानिडाहरु जहाँ-जहाँ पसेका छन् त्यहाँ सामाजिक सद्भावमा बिष घोल्छन् र धार्मिक, जातीय, साम्प्रदायिक विद्वेष फैलाउँछन्। ९०को दशकमा रुवाण्डामा प्रवेश गरे र त्यहाँ तुत्सी र हुतु जातिलाइ विभाजित गरेर भिडाइदिए । जातीय द्वन्द यतिसम्म चर्क्योकि अर्को जातिको छोरीलाइ बिवाह गर्नेहरुले जातीय निष्ठा जनाउनको लागि पहिला आफ्नै श्रीमतिको हत्या गरे । “फर्स्ट गिभ व्याड नेम, देन किल देम” भन्ने अङ्ग्रेजी उखान वमोजिम हुतु र तुत्सी एकले अर्कोलाइ मान्छे भन्दैनथे, साङ्ला भन्थे । जसरी अहिले नेपालमा वैदिक सनातन धर्म-संस्कृति र बाहुनविरुद्ध विद्वेष बढाइरहेछन् । मानौं बाहुन भन्ने जाति अपराधी जाति हो, यो जातिलाइ समाजले घृणा र तिरस्कार गर्नुपर्छ भनेर दुस्प्रचार गरिरहेछन् । जात-जातमा विभाजित गरेर भिडाउने, अनि आफ्नो स्वार्थ सिद्ध गर्ने ग्राण्डडिजाइन धेरै अघिदेखिको (६३ बर्ष अघिको) र योजनाबद्ध रहेछ भन्ने तथ्य ज्ञानमणि नेपालले ३ बर्षअघि प्रकाशित गर्नुभएको “गणतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म” पुस्तकको पेज १६३मा पुगेपछि खुल्छ ।
सिआइएको भूतपूर्व वरिष्ठ अधिकृत जोन केनेथ न्याउसले लेखेको आत्मसंस्मरणात्मक कृति “शितयुद्धका टुहुरा-अमेरिकी र तिब्बतीहरुको सङ्घर्ष” पुस्तकबाट ज्ञानमणि नेपालजीले लामै उद्धरण राख्नुभएको छ । जस्को सानो अंश यस्तो छ, “हिमालय पर्वत श्रृङ्खलाको फेदीमा बसी जातीय स्वायत्तताको सूत्र प्रतिपादन गरेको हुँ । म दावाका साथ भन्छुकि नेपाललगायत विश्वमै जातीय मुक्तिको नारा उठाउने पहिलो व्यक्ति म हुँ । त्यसलाइ व्यवहारमा प्रयोग गर्ने मेरो संस्था सिआइएलाइ म सधैं धन्यवाद दिइरहने छु ।” सँगसँगै जोनले “कम्युनिष्टहरु सिआइएको यही सूत्र बोकेर हिंडिरहेछन्, यस्ले मलाइ अत्यधिक खुशी दिईरहेछ” भनेर पनि लेखेका छन् ।
जे होस्, कृष्ण पहाडीजीले वेलैमा वुझ्नुभयो र आफूलाइ अलग्याउनुभयो । राष्ट्र र समाजका अगुवाहरुले पनि भित्री खेल वुझुन् र राष्ट्रलाइ जोगाउन्, हाम्रो यही कामना छ ।




