आपतको बेला ताइवानले सघाउन खोज्दा किन दिएन सरकारले स्वीकृति ?

लेखनाथ काफ्ले / ताइवान  

taiwan

नेपाल भ्रमणमा ताइवानबाट बर्षेनी हजारौं ताइवानीहरु जाने गर्दछन। त्यस्तैमा शनिबार नेपालमा आएको महाभूकम्पमा परी हालसम्म २७ जना ताइवानी नागरिक बेपत्ता भएको समाचार ताइवान सरकारले जारी गरेको छ र केहि समय नेपाल भ्रमण नगर्न रातो चेतावनी समेत जारी गरेको छ ।

यसैगरी ताइवान सरकारले नेपाल पठाउन भनेर २० जनाको अति उत्कृष्ट रेस्क्यु टिम, एउटा कुकुर र  ३ लाख अमेरिकी डलर समेत तयार गरेर शनिबार रातीदेखि नै तम्तयार हुँदा पनि नेपालबाट स्वीकृती नआएकोले पठाउन नसकिएको खबर ताइवानका मिडियामा अहिले फैलिएको छ ।

करिब २ टन औषधि र सहयोग सामाग्रीहरु सहितको यो बिशेष टोली पहिले चीनको सिचुवान र हाइटीमा गएको ठुलो भूइचालो र इन्डोनेसियाको सुनामीमा परिचालन गरिएको ताइवानको चर्तित र अनुभबी टोली हो । त्यस्तै ताइवानको रेडक्रसले दश लाख अमेरिकी डलर चन्दा नेपालको भूकम्प पिडितको लागि उठाउनेगरी अभियान समेत संचालन गरिसकेको छ ।

त्यसैगरी संसारकै सबैभन्दा ठुलो बुद्धिस्ट च्यारिटी सस्था छु ची फाउन्डेसन लगाएत धेरै बौद्ध धर्म, दाओ धर्म संग सम्बन्धित संघ संस्थाहरुले पनि बिपत राहत सहयोग पठाउन नेपालमा आफ्नो सम्पर्क स्थापना गर्न पहल गरेको जनाएका छन् ।

यस्तैमा हिजो ताइवान सरकारका सहायक विदेश मन्त्री एन्ड्रेउ काओले “नेपाल सरकारले ताइवान सरकारको सहयोग लिन अस्विकार गरेको छ” भनेका छन् । हिजो संसद्को एउटा समितिमा संसदहरुले सोधेको प्रश्नको उत्तर दिदै त्यसो भनेका हुन् । तथापी नेपालसंग कुटनीतिक सम्बन्ध र सोझो हवाई सेवा नहुदा पनि त्यस्तो हुन गएको पो हो कि भनेर भन्न सकिएला तर यस्तो आपत परेको बेला शुद्द बुद्ध जन्मेको देश भनेर सहयोग गर्न खोज्दा पनि उल्टै अस्विकार गर्नु राम्रो होइन। चीनको यसमा कुनै भूमिका रह्यो कि भन्ने सवालमा भने उनले “चीनको कुनै पनि त्यस्तो भूमिका नरहेको” भनेका छन् ।

मन्त्री काओको भनाइ अनुसार रेस्क्यु टोली कुनै पनि बेला हिड्नको लागि तयार छ र उता नेपालबाट सकारात्मक संदेश आउनासाथ टोलि यताबाट हिड्ने छ । नेपाल सरकारका अधिकारीहरुले ताइवानलाई “अहिले भारत, चीन, पाकिस्थान जस्ता छिमिकिहरुको सहयोग लिईको र ताइवानको सहयोग चाहिएमा सम्पर्क गरिने” भन्ने जवाफ दिएका छन्। यस्तो भनाइले ताइवानी जनता र ताइवानका नेपाली समुदायमा नेपाली अधिकारीहरु प्रति रोष फैलिएको छ ।

यस्तो आपत परेको बेला सहयोगका लागि फैलाएका हातहरुलाई स्वीकार गर्नु बुद्धिमानी हुनेछ । यसै पनि सहयोग अस्वीकार गर्नु पर्ने कुनै कारण देखिदैन । यदि अस्विकार गरिएको नै रहेछ भने त्यो ठुलो दुर्भाग्य हुने छ ।

ताइवानका राष्ट्रपति डा. मा ईन जीयो र प्रधानमन्त्री ले पनि नेपालमा आइपरेको भूकम्पको बिपतमा नेपाली जनता प्रति सहानुभूति र सद्भावनाको कामना ताइवानको भारत स्थित नियोग मार्फत नेपाल सरकार समक्ष पठाएका छन् ।

फोटो श्रोत: Focus Taiwan News Channel

तपाइँको प्रतिक्रिया