पहिचानको पक्ष वर्गका आधारमा
- राम बहादुर गुरुङ / बेल्जियम
मैले पहिचानको पक्ष वर्गको आधारमा लिने गरेको छु । किनभने पहिचान खोज्नेहरुको धर्म संस्कृति मात्र होइन राज्यमा प्रतिनिधित्व गर्ने अधिकार समेत खोसिएको थियो । त्यसैको फलस्वरुप अहिले वुर्जुवा ढंगले भएपनि समानुपातिक र समावेशी भन्ने विषयलाइ सबैले अंगिकार गरेका छन् । तर त्यतीले मात्र समस्याको हल हुँदैन । पहिचान र जातिय स्वायत्तशासनका विषयहरु अंश मात्र हुन् पूर्ण होइनन् । ठिक छ, अरु कुनै तरिकाले सबै नेपालीको समस्याको हल हुन्छ भन्ने ग्यारेन्टी वा चित्तबुझ्दो हल निस्कन्छ भने त्यसलाइ नमान्ने कुरै आएन । तर खै त विकल्प ? के अहिलेका सत्तामा बस्नेहरुको एकाधिकार लादेर समस्याको हल होला ?
सबै भौतिक सुविधा मधेशमा छ । मधेशबिना अरु समुदायले उन्नति गर्नै सक्दैन । बाँच्नै सक्दैन भन्ने जुन तर्क छ त्यो तर्क अहिलेको मानव सभ्यताको विकास क्रममा धेरै पहिल्यै भत्किसकेको छ । भौतिक संसाधनलाइ प्रयोग गर्ने मानविय संसाधनले हो । विकसित मानविय संसाधनलेनै अन्ततोगत्वा पूर्णरुपमा भौतिक संसाधन माथि कब्जा गर्ने र प्रयोग गर्ने सामर्थ्य राख्छ । एकांगी र नकरात्मक ढंगले उदाहरण दिने हो भने अमेरिकाले अहिले संसारको भौतिक वस्तुमाथि झन्डै एकाधिकार कायम गरिरहेको छ । उसले यो ग्रहको दुई तिहाइ देशहरुमा सैन्य अखडा राखेकोबाट पनि प्रष्ट हुन्छ । साथै सारा संसारबाट ब्रेन ड्रेन पनि त्यतै भइरहेको छ । सकरात्मक हिसाबले हाइपोथेटिकल अनुमान लगाउने हो भने पनि हजारौं वर्ष पछिका मानव जातिले यो ग्रहको विकल्प खोजिसकेका हुनेछन् भन्ने आंकलन गर्न सकिन्छ ।
अहिले विश्वमा सबैभन्दा बढि प्राकृतिक स्रोत भएको अफ्रिका महादेशमा जति गरिवी, भोकमरी, रोग, आपसी द्धन्द शायद संसारमा अन्यत्र नहोला । किनभने त्यहाँका मानविय संसाधन धेरै पिछडिएको अवस्थामा छ । देशकै हिसाबले हेर्ने हो भने जापान जो चारैतिर समुद्रले घेरिएको देश हो झन्डै असि प्रतिशत भूभाग नेपालमा जस्तै पहाड छ । खनिज पदार्थ र खानीहरु एकदमै कम छन् । खाद्यान्न बाहेक सबै आयत गर्छन । जापानको शहरी संरचनालाइ हेर्दा लाग्छ, यो देशमा प्रशस्त फलामको खानी छ । हरेक सार्वजनिक स्थलमा पनि विशिष्ट गुणस्तरको स्टिलको प्रयोग प्रशस्त देख्न पाइन्छ । तर ति सबैको कच्चा पदार्थ आयतितनै हो । प्रविधी पनि आयतितै हो । तर त्यसलाइ पनि परिमार्जित गरेर प्रविधिको निकाशकर्ता देशलाइनै सयौं गुना नाफा खाएर बेच्ने उसको झन उच्च प्रविधी र बजार व्यवस्था छ । त्यसैले अहिले पनि जापान विश्व आर्थिक दौडमा दोश्रो तेस्रोनै छ । यो सबै त्यहाँको मानव संसाधनको विकासले गर्दानै हो ।
तर हामीले अमेरिका, जापान र इजरायलको उदाहरण दिएर त्यो सर्वगुण सम्पन्न हो भन्ने हो भने साम्राज्यवादलाइ सघाएको हुनेछ । यो त खाली निरपेक्ष उदाहरण मात्र हो । उसले गरेको उन्नतीमा अन्य देशका जनताले भोग्न परेको पिडाको लेखाजोखा अर्कै छ । हामीले खोजेको के भने हाम्रो देशका जनताका सबै समस्याको न्यायपूर्वक समुचित सम्वोधन हुनु पर्छ भन्ने हो । राजनितिज्ञहरुले समस्या राम्रोसँग केलाउन् र त्यसको हल वैज्ञानिक होस ।
(नेपालप्लसकै अघिल्लो लेखमा ब्यक्त प्रतिकृया सान्दर्भिक लागेकाले लेखकारुपमा प्रस्तुत गरिएको)




