प्रचण्ड सिंहावलोकन

  • आनन्दराम पौडेल

writer-anandaram-paudelआज प्रचण्ड निकै गम्भीर भए । बेला-बेलामा एकान्तबास बस्नेगर्थे । गिरिजा कोइरालाले विशेष निर्णय लिनुपर्यो, वा कुनै नयाँ कदम चाल्नुपर्योभने विराटनगर पुग्थे । पुस्पकमल दाहाल ‘प्रचण्ड’को भने शैलि अलि फरक थियो । प्रचण्ड भविष्यको योजना बनाउन रिसोर्टतिर लाग्थे । भावी योजना नभएर आत्मसमीक्षा र सिंहावलोकन भएकोले होला, आज प्रचण्ड रिसोर्टतिर लागेनन् । सबै भेटघाट क्यान्सील गरेर लाजिम्पाटमै एकान्तचिन्तनमा बसे । सम्झनाका पाना पल्टाउँदै विगतको समीक्षा गर्नथाले । सोचे, “हरेक बिषयबस्तु र घटनालाइ आफ्नो पक्षमा पार्न कति तानाबाना बुनेर शस्त्रप्रहार गर्यो । तर के गर्नु ? हाम्रा साथीहरुले अर्कोतिरबाट फस्ल्याङफुस्लुङ पारिदिन्छन् । हाम्रै पार्टीका नेता प्रभु साहले मलाइ मार्ने षडयन्त्र गरेको भन्ने जानकारी मैले दुई महिना अघि नै थाहा पाएको थिएँ । हरेक बिषययबस्तु र घटनालाइ क्रान्तिको पक्षमा प्रयोग गर्ने सिद्धान्तमुताविक यो घटनालाइ पनि आन्दोलनको पक्षमा प्रयोग गर्ने योजना बनाएँ ।

योजनामुताविक नै ‘मलाइ मार्ने षडयन्त्र भैरहेछ’ भनेर हल्ला मच्चाएँ । देशीविदेशी प्रतिकृयावदी तत्वहरुले मेरो हत्या गर्ने षडयन्त्र गरिरहेछन्’ भनेर गर्जें । हाम्रै साथीहरुले सत्यतथ्य, यथार्थ नै अगाडी ल्याएर त्यत्रो योजनामा पानी खन्याइदिए । एकप्रकारले भण्डफोर नै भयो । चैत्र १४  गतेका दिन एमाओवादीको रौतहट जिल्ला पार्टीकार्यालयले कल्बार धर्मशाला, वीरगञ्जमा आयोजना गरेको पत्रकारसम्मेलनमा एमाओवादी सभासद अशोक जयसवाल र सत्यनारायण भगतले, ‘हाम्रा प्रभु साहजीले प्रचण्डको हत्या गर्ने भयङ्कर योजना यस्तो बनाएका थिए, र यसरी मार्ने तैयारी गरेका थिए’  भनेर खुलासा गरिदिए ।

हत्यायोजनाको त्यो खुलासा अन्नपूर्ण पोस्टलगायत पत्रपत्रिका, इलेक्ट्रोनिक मेडिया, अनलाइन सबैले प्रकाशित गरे । यस्लाई खण्डनमण्डन गर्ने भरमग्दुर प्रयास त गर्यौं । प्रयास गरेर के गर्नु ? अन्नपूर्ण पोस्टले अडियोरेकर्ड नै नेटमा राखेकोरहेछ । हामी जति-जति खण्डन गर्न कोशीस गर्छौं, त्यति नै अन्नपूर्ण पोस्टले, http://annapurnapost.com/News.aspx/story/9584  मा क्लीक गरेर अडियो रेकर्ड सुनिदिन पाठकहरुसँग अनुरोध गरेर बिज्ञापन गर्छ ।”

सोचमग्न भएर ब्ल्युलेबलको चुस्की लिनै भुलेछन् । सम्झेर एकचुस्की लिए । सिंहावलोकनको शिलशीलालाइ निरन्तरता दिए । सोचे, “नागरिक राज्यविहीन भएजस्तै राधाकृष्ण मैनालीजी पार्टीविहीन भएर एक्लै छटपटाएर बसेकारहेछन् । ३-४ बर्षअघि एमाओवादी पार्टीभित्र ल्याएँ । छेउकुनातिर ठाउँ निकालेर बसाएँ । एमाओवादी पार्टी प्रवेश गराएपनि उहाँको व्यक्तित्व, हैसियत र अनुभव अनुसार पद र जिम्मेवारी दिन सकिएको थिएन। जतिञ्जेल बसे उपेक्षित भएर बसे । एक  महिनाअघि एमाओवादी छाडेर एमाले पार्टी प्रवेश गरेछन् । हाम्रो पार्टीको आन्द्रा-भुँडी सबै खोलिदिए ।

उनले भनेछन्, ‘हिजोका लडाकु, जस्ले हान्न, मार्न, काट्न मात्र जानेका छन् तिनैलाइ मात्र कार्यकर्ता ठान्ने । चिन्तन, कार्यशैली, संस्कार सबै हिंसात्मक छ । बात-बातमा धम्कीको भाषा बोल्छन् । जेमा पनि जबर्जस्ती नै गर्न खोज्छन् । पार्टीकमिटी त पहाडतिर एकादशी मेला लागेजस्तो भद्रगोल छ। मामुली कमिटी समेत् डेढ-दुई सयको छ । एमाओवादीका प्रभावशाली भनिएका नेताहरुको जीवनशैली राजामहाराजाको भन्दा चर्को छ । २०७० सालको निर्वाचनमै देख्यौं, प्रचण्ड जहाँ जान्थे १५-२० गाडीको लस्कर चल्थ्यो। उहाँहरु एकथोक सोच्नुहुन्छ, अर्कै बोल्नुहुन्छ र अझ अर्कै गर्नुहुन्छ । बिहान एउटा कुरा, भरे अर्कै कुरा र भोलिपल्ट अर्कै कुरा गर्नुहुन्छ’ भनेर सबै खल्याकखुलुक् पारे ।”

प्रचण्डजीले एकछिन बिश्राम लिए । सानो एक पेग हाले । चुस्की लिंदै सिंहावलोकनमा लीन भए । सोचे, “३० दलीय मोर्चा भनेर हौवा पिटाउनको लागि त भएको छ, तर दशतिर चोसो फर्किएको यो मोर्चा भित्रभित्रै खोक्रो छ । उपेन्द्र यादवजी एक मधेश एक प्रदेश नछाड्ने अडानमा छन् । अर्का छन् राजेन्द्र महतो । सबैलाइ थाहा छ, २०२७ सालतिर उनको बुबा व्यापार गर्न नेपाल आएका थिए । सर्लाहीका सत्रुघनप्रसाद सिंह, बीआर सिंहहरुलाइ चाकरी गरेर रिजाएबापत राजेन्द्र महतोले अवैध तवरले नागरिकता प्राप्त गर्न सफल भएका थिए । अहिले ७ बर्षदेखि यिनी नेपालको भूमिपूत्र भएका छन् । यी राजेन्द्र महतो र उपेन्द्र यादवले विजय गच्छेदारलाइ परमशत्रु ठान्छन् ।

माघ ८ गते नै सम्बिधानका अन्तर्वस्तुमा सबै मिलिसकेको थियो । टुङ्गिसकेको बिषयलाइ पनि किन उदिनेर फालेभने त्यो प्याकेज वीजय गच्छेदारले पेश गरेका थिए । विजय गच्छेदारको नाम गाँसिएको मात्र कारणले टुङ्गिसकेको बिषयलाइ भताभुङ्ग पारिदिए यिनै दुईजनाले । यी तराइवादी नेताहरुको चोसोमोसो मिलाउँदैमा दिन बित्छ । बैठकमा विजय गच्छेदार उपस्थित भएर टुसुक्क बस्न पाएका हुँदैन उनीमाथि प्रश्नको बौछार बर्सिनथाल्छ । प्रश्नमाथि प्रश्नको झडी लाग्छ । विजय गच्छेदार जवाफ दिंदादिंदा हत्तु हुन्छन् । विजय गच्छेदारलाइ मात्र हैन, ममाथि पनि प्रश्नको ओइरो छ ।

डा. गोविन्द केसीको अनसनलाइ हामीले जोडदार समर्थन गर्यौं । ‘गोविन्द केसीको अनसनलाइ त जोडदार समर्थन गर्नुभयो, हिजो अनसन बसेका नन्दप्रसाद अधिकारीलाइ त सताउनसम्म सताउनुभयो नि ?’ भनेर प्रश्न गर्छन् । मपनि प्रश्नहरुको घेराबन्दीमा परेको छु । हिजो द्वन्दकालमा माओवादी कार्यकर्तालइ चरम यातना दिने अधिकृतहरुलाइ नै हामीले सरकारमा आएपछि खोजि-खोजि प्रमोशन र अवसरहरु दियौं । यस्मा हाम्रा कार्यकर्ता मात्र हैन, स्वतन्त्र बुद्धिजीवीहरुले समेत घोर आपत्ति जनाएका छन् । मेरै आत्माले समेत् कहाँ पचाउन सकेको छ र ? भूमिगत राजनीतिभन्दा खुला परिवेशको राजनीति हजारगुना कठिन ठानें मैले । खुला परिवेशमा सबै पारदर्शी हुन्छ । यहाँ त ढाकछोप गरेर साध्यै नहुनेरहेछ ।”

लामो सास ताने प्रचण्डले, र सिंहावलोकन स्थगित गरे ।

तपाइँको प्रतिक्रिया