कमरेडमाथि कारबाहीको माग
चैत २८ गते हुने बाग्लुङ क्षेत्र नं १ को उपनिर्वाचनका निम्ति पत्रसमेत बुझिसकेका दीनानाथले मनोनयन दर्ता हुनु एक दिनअघि वक्तव्य जारी गरेर उम्मेदवार नहुने भन्नुले पार्टीमाथि गम्भीर घात भएको छ । मनोनयन दर्ता गर्न जाने भन्दै काठमाडौंबाट हिँडेका शर्माले हार्ने सम्भावना देखेपछि पोखरामा बिरामीको नाटक रचेका थिए ।
जिन्दगीमा एकपटक पनि चुनाव नलडेको र यसपटक हारियो भने तनाबले ज्यानै जोखिममा पर्नसक्ने सुझाव डाक्टरले दिएको भन्दै नलड्ने खबर प्रचण्डलाई मोबाइलमा पठाएका थिए । म्यासेज पाएको केही समयमा प्रचण्डले फोन गर्दा फेवा सिटी अस्पतालमा भर्ना भइसकेको भन्दै चेकअप नसकिएको बताए । त्यसपछि चुनाव नलड्ने भन्दै वक्तव्य नै जारी गरे ।
दीनानाथले नाटक रचेर पार्टीमाथि नै विश्वासघात गरेको भन्दै देवेन्द्र पौडेल सुनीलसहित दर्जन बढी केन्द्रीय सदस्यले कारबाही माग गरेका छन् । प्रवक्ता आफैले पार्टीको निर्णय नहुँदै उम्मेदवारी रद्द गरेर धोका दिने काम गरेकाले उनलाई प्रवक्ताबाट हटाउनुपर्ने माग कार्यकर्ताले समेत गरेका छन् । माओवादी निकट अनलाइनमार्फत एवं फेसबुकमा समेत कार्यकर्ताले कारबाहीको माग गरिरहेका छन् ।
अहिलेसम्म कुनै पनि निर्वाचन नलडी मनोनीत हुँदै स्थायी समिति र प्रवक्ता पदसम्म पुगेका दीनानाथ पछिल्लोपटकको आन्तरिक निर्वाचनमा स्थायी समितिबाट बाहिरिएका थिए । यसअघि पनि आफूलाई स्थायी समितिमा नराखेको भन्ने व्यहोरा नै उल्लेख गरेर प्रचण्डसामु राजीनामा पेस गरेका दीनानाथलाई प्रचण्डले स्थायी समितिमा मनोनीत गरेका हुन् ।
जनयुद्ध सुरु भएपछि मसाल त्यागेर माओवादीमा छिरेका दीनानाथलाई त्यतिबेला मोहनविक्रमले वक्तव्य नै निकालेर कम्युटरसहितका सामग्री र नगद चोरी धोका दिएको आरोप लगाएका थिए । माओवादी प्रवेश गरेपछि शर्माले पार्टीबाट विभिन्न बहानामा आर्थिक लाभ प्राप्त गर्दै आए । जनयुद्धको अधिकांश समय भारतमा बिताएका शर्माले आफ्ना छोराछोरीलाई समेत सुरक्षित स्थानमा राखी पढाउँदै आएका थिए । केन्द्रीय समितिका महत्वपूर्ण सूचना बेचेको र प्राविधिक कुरा आफ्ना ज्वाइँ शुभशंकरमार्फत दुस्मनसम्म पु¥याएको भन्दै पार्टीले दीनानाथलाई ०६० साल फागुनदेखि ६ महिना निलम्बनको कारबाहीसमेत गरेको थियो ।
शान्तिप्रक्रियासँगै दीनानाथले राजधानीमा आफू र आफ्ना छोरी–ज्वाइँहरूका नाममा करोडौँ सम्पत्ति र घर घडेरी जोडिसकेका छन् । उनले गलत तरिकाले सम्पत्ति आर्जन गरेको भन्दै दर्जनौँ उजुरी परेका छन् । गत महिना क्रान्तिकारी पत्रकार संघको केन्द्रीय समिति बैठकमै पत्रकारले दीनानाथको सम्पत्ति पार्टीकरण गरी उनीमाथि कारबाही गर्न माग गरेका थिए ।
(हिजो बुधवारको जनआस्थाबाट)





