लड्नेकै पूर्खा हेपिने गोर्खाली स्मारक, कसरी चढाउने श्रद्दाका फूल ?

  • कुल मगर / बेल्जियम

kul-magar-belgiumलामो समयदेखि बेल्जियममा सार्वजनिक बहसको रुपमा चलिरहेको एउटा मुद्दा छ, नेपाली गोर्खा सैनिकहरुले लडेर ज्यान दिएको ठाउँ बेल्जियमस्थित इपरमा बनाउने भनिएको गोर्खा सैनिक स्मारक । यो विवाद गोर्खाली सेनाको परिचय झल्कने मुर्तिसहित ईपरको मेननगेटको स्मारक निर्माण स्थलमा फुत्त स्मारक उत्पति भएदेखि बनाउने विवादमा त पूर्णविराम लागेको छ । तर यसको उद्देश्य, महत्व, सामुहिकिकरण, संरक्षणमा पर्ने खतरा, उत्पतिको कारण वा रहस्यहरु झन् बढ्दै जानेमा दुईमत नहुन सक्छ । यहाँ उठान गरिएका बिषयमा मात्रै केन्द्रित हुने हो भनेपनि प्रथम विश्व युद्दमा गोर्खा राइफल तथा सिक्किम राइफलको नामले भारतीय सैनिकको पक्षबाट प्रत्यक्ष भाग लिएका नेपाली गुमनाम ती वीर योद्धाहरुलाई सम्मान गर्नु नै स्मारक निर्माण गर्नु थियो ।

तत्कालिन अवस्थामा तमु समाज बेल्जियमका अग्रजहरुले ईपरमा ज्यान गुमाएका गोर्खाली सेनाबारे विशेष खोज, अनुशन्धान तथा प्रचार प्रसार गरे । त्यसपश्चात विगत १४ बर्ष देखि अहिलेसम्म समाजको वार्षिक कार्यक्रमकै रुपमा ११ नोभेम्वरका दिन सम्पूर्ण नेपाली समुदायलाई मेननगेट लैजाने काम गर्दै आएका छन । ति वीर गोर्खाली सेनाहरुको सम्मानमा स्मृति सभा गर्दै आइरहेको छ । तमु समाज बेल्जियमको एकल प्रयत्नमा शुरु भएको त्यो हरेक वर्षको कार्यक्रम विस्तारै साझा कार्यक्रम बन्दै थियो । आम नेपाली जनसमुदायको आफ्नो कार्यक्रम, विशेष कार्यक्रम, सम्मानित र भावपूर्ण श्रद्दाको कार्यक्रम बनाउनु थियो, त्यसलाई । साथै कार्यक्रमस्थललाई कालान्तरसम्म नेपाली पुस्ताहरुमाझ प्रस्ट रुपमा गुर्खाजको इतिहासको संकेत दिनसक्ने र विश्व समुदायमा नेपाली गुर्खाजले बनाएको पहिचानलाई जीवित राख्दै गोर्खाली सेनालाइ अन्तरास्ट्रिय रुपमा आफ्नो रास्ट्रिय पहिचान दिलाउनु नै स्मारकको  मुख्य उद्देश्य थियो ।

तत्कालिन इस्ट इंडिया कम्पनिसँगको सम्झौताबाट शुरु भएको हो, नेपाली गुर्खाजहरुले विदेशी रास्ट्रको पक्षमा लड्नु पर्ने बाध्यता । ति नेपाली भएपनि विश्वयुद्दमा नेपालको प्रत्यक्ष उपस्थिति रहेको बैधानिक प्रमाण थिएन । विदेशको माटोमा बिलाएका ति गुमनाम गुर्खाजहरुको रास्ट्रीयता र अझ अढाई सताव्दी नेपाल राज्यले उत्पिडनमा पारेको राष्ट्र वा समुदायको विषयपनि थियो त्यो । अर्थात् आदिवासी जनजाती विशेषगरी मगर, गुरुङ, राई  र लिम्बुको संलग्नता अधिकतमा भएको हुँदा यी सबैखाले पहिचानलाई मध्यनजर गर्दै बेल्जियमस्थित ५००० बढी आम नेपाली सहभागितामा यो स्मारक बन्नु पर्थ्यो । यहि समुदायको आवाजद्वारा गुर्खाजको त्याग र बलिदानलाई राष्ट्रियकारण गर्न अथवा नेपालीकरण गर्न सकिने एक मात्र महत्वपुर्ण विषय थियो ।

गोर्खाली सेनाहरुलाई कहिलेकाहीँ केहि नकारात्मक टिप्पणी सहित ब्याख्या गरिने पनि गरिन्छ । तर त्यसरी नकारात्मक ढंगले सोच्नुअघि कम्तिमा दुइवटा कुरामा ध्यान दिनु जरुरी छ ।  एउटा आफु बेचिएर आफ्नो रास्ट्रीयतालाई विश्व साम्राज्यवादी अंग्रेजहरुसंग सधै स्वाधिन राखेका थिए तिनले । अर्को, लाखौ लाख रोयल्टी राज्यको लागि भित्र्याएका थिए । अझ अर्को पाटो, हरेक गोर्खा सैनिकबाट राज्यले त्यसबेला जनही कमिशन लिने गर्थ्यो ।

ईपरमा स्मारक बनाउने भन्ने प्रयास भैरहेको तत्कालिन अवस्थामा चार जनाको इपर अध्ययन टोली गठन भै स्मारक सम्बधि प्रस्ताव अघि ल्याउँदा सिमित व्यक्तिहरुको नाम मात्र हुन गए साझा नहुन सक्छ र राज्यको भूमिकापनि हुनुपर्छ भनेर उठेको थियो । त्यसमा राज्यले प्रशाशनिक सहयोग भन्दा आर्थिक क्षेत्रमा कौडी निकासा गर्न सकिदैन भन्ने महामहिम राजदुतबाट व्यक्त भएको थियो  ।

त्यसपछि नेपाली दुतावासमा बैठक बस्यो । त्यो बैठकमा सामुहिक रुपमा सम्पूर्ण नेपालीको साझेदारीमा बनाउने निस्कर्ष सहित योगदानको आधारमा तमु समाजले पहलकदमी लिने कुरामा बहुमत देखिएको थियो । महामहिमको चाख भने एन आर एनको पहलमा हुनुपर्छ  भन्ने जस्तो आशय देखिएको थियो । लुभेन निवासी थेबेजीको अन्तिम संस्कारको दिन खास टुंगोमा नपुगेको बैठक ६ दिन पछि बस्नेगरी रोकिएको थियो । तर दुतावासमा त्यो खालको अर्को बैठक कहिल्यैपनि भएन । बोलाइएन पनि । त्यसपछि लामो विवाद चलिरहेको बेला  आज एकाएक स्मारक उत्पति भएको छ । यसले कसरि सामुहिक सम्मान पाउन सक्ला त ?  जसरि यतिका वर्षसम्म ति शिलालेखमा कुदिएको नामहरु गुमनाम थियो त्यसरी नै यो स्मारक पनि मूल्यहिन भएर उभिईराख्ने भन्दा अरु फरक केहि हुन सक्ने छैन ।

बिवाद केमा हो त ? यस विषयलाई उठान गर्नुपर्दा दुतावासको बैठकलाई हेर्ने हो भने स्मारक संमितिको संयोजक सम्बन्धमा जनसम्पर्क समितिको तर्फबाट गंगाधर गौतमले आदिवासी भावना भएको हुँदा नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको अध्यक्ष पी जी शेर्पाको नाम प्रस्ताव गर्नुभएको थियो । नेपाली जनप्रगतिशिल मंचको तर्फबाट सुरेन्द्र भुसालले तमु समाज र समाजको तर्फबाट राम गुरुङ्गको व्यक्तिगत योगदानलाई कदर गर्दै राम गुरुङको संयोजकत्वमा अघि बढ्नुपर्ने प्रस्ताव थियो । युवराज गुरुङ, अर्जुन श्रेष्ठ र शिव बरुवाललको प्रस्ताव एन आर एन थियो । बाँकि सबै जातीय संगठनहरु र नेपाली जनप्रगतिशिल मोर्चाले तमु समाज बेल्जियमको संयोजकत्व सहि हुने प्रस्ताव गरेका थिए । अन्त्यस्टि कार्यक्रमले गर्दा स्मारक निर्माण संवन्धि छलफललाई समय नपुग्ने भएपछी बैठक सर्ने निर्णय सहित निस्केको नेपाली समुदायलाई पुन सोहि प्रस्तावमा छलफल गर्न दुतावास जाने अर्को अवसर जुरेन । खासमा दुतावासको पहलमा भएको सो बैठकमा निर्णय नभएकोले पुन छलफलको लागि दुतावासले नै आहवान गर्नुपर्ने थियो । सबै बैठकको प्रतिक्षामा बसिरहेको बेला महामहिम मार्फत समय नै निकाल्न सक्दैन । नेपाली संघ संस्थाका प्रतिनिधीहरु दुतावासले बोलाएको छलफलमै उपस्थित हुँदैनन भन्ने नेपाली दुतावासको आरोप वा गुनासो बिभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको देखिएपछि तमु समाजको संयोजकत्वमा रहेको बहुमतको विरुद्ध षडयन्त्र भएको ठहर भयो ।

त्यसपछि तमु समाजको पहलमा बेल्जियमको सम्पूर्ण नेपाली संघ संगठन, संचार माध्यमा तथा दुतावास लगायतको छलफलको लागि आमन्त्रण गरियो । अधिकांस उपस्थित भए । तर  नेपाली दुतावासनै उपस्थित नभएपछि दुतावासको अनिवार्यतालाई मध्यनजर गर्दै अर्को महिना सार्वजनिक सूचना गरि तमुसमाजले पुन भेला बोलायो । उक्त भेलामा पनि दुतावासको उपस्थिति नभएपछि, दुतावास, एन आर एन र आदिवासी जनजाती महासंघ संरक्षक, तमु समाजको अध्यक्ष पदम गुरुङ संयोजक तथा नेपाल पत्रकार महासंघ यूरोपको अध्यक्ष महेश थापा सचिव रहने निर्णय गर्‍यो । र बाँकि सबै संघ संगठन सदस्य रहने निर्णय गर्दै अनुपस्थित निकाय र व्यक्तिहरु संग सल्लाह गर्दै अघि बढ्ने निर्णय भयो ।

तर यो निर्णय विपरित महामहिमले पनि एन आर एनको हात कस्नु भयो भने नेपाली समाजका केहि अगुवाहरु गोला फुटेको माहुरी जस्तै सल्बलाए । तमु समाजको संयोजकत्व ठिक छ भन्ने नेपाल आदिवासी जनजाती महासंघ सम्पूर्ण जातीय संस्थाहरु र नेपाली जनप्रगतिशिल मोर्चा यो निर्णयमा अडिग रहयो । गंगाधर गौतम र सुरेन्द्र भुसाल तथा मातहतको संगठनले दुतावास संग कुम जोड्यो । त्यो यथार्थता लुभेनमा बसेको दुतावासका  कर्मचारी सहितको संयुक्त बैठकमा छताछुल्ल देखियो । अन्तत दुतावासकै नेत्रित्वमा स्मारक  बन्नु पर्ने कुराहरु सतहमा आयो ।

फेरीपनि तमु समाजले नेतृत्व गर्नुपर्ने माग के थियो भने आफ्नो नेत्रित्वमा भएपनि नेपाली समुदायको उपस्थिति देख्ने गरि होस् । कुनै संघ सङ्गठनको नाम नहुने र नलेखिने गरि   हाम्रो आफ्नै बाजे बराजुको चिहान बनाउन हामीलाई अवसर देओस । राष्ट्रको ढुकुटी खर्च नगरोस । आदिवासी जनजाती भावनात्मक विषय भएकोले जातीय संगठनहरुलाई सबैले सहयोग गरोस । दानभेटिले साझा स्मारक निर्माण होस् । र दुतावासले सरक्षकको भूमिका निर्वाह गरोस । पहिचानको सवालमा दुतावास लगायत गैर जनजाती सामाजिक अगुवाहरु लचिलो भैदिउन् । संसारको यस्तै गुमनाम ठाउँहरुमा बेल्जियममा जस्तै नेपाली जनसमुदाय अघि बढ्ने प्रेरणा मिलोस । गोर्खाली पहिचान नेपाली हो भन्ने कुरा सम्बन्धित देश तथा संसारभर आम नेपाली जनसमुदायको आम उपस्तिथीले देखाओस । त्यो बुलन्द आवाज सहितको अभियानको थालनी होस् भेन्ने थियो ।

तर यहाँ ठिक यसको बिपरित फाँसीवादी शैलीमा रातारात पद र प्रतिष्ठाको आडमा आम जनसमुदायको भावना र कन्चन उद्देश्यप्रती हिलो छ्याप्दै स्मारक उत्पति भएको छ । बहुअर्थ लाग्ने र जनसमुदायलाई सजिलै झुक्क्याउन सक्ने शव्द सहित महामहिमको आफ्नो नाम उत्पति गराईएको छ । बाजे बराजुको चिहान बनाउन मन मस्तिस्क दिएर लागेका  समुदायमाथि मानशिक झड्का लागेको छ । यो एउटा खतरनाक उत्पीडन हो । राज्यको अनावस्यक उपस्थितिले नेपाली समाजको एकतालाई गहिरो संग खलल पुर्याएको छ । यो शैलीमा निरङ्कुश राज्यसत्ताले जनताको अधिकार जबजस्ती खोसेकोभन्दा कति फरक छैन ।  खासगरी पहिचानको आन्दोलन राष्ट्रिय रुपमा उठाईरहेको बेला । तमाम आदिवासी जनजातिहरु अधिकारको लागि जाग्ने प्रयत्न गरिरहेको परिस्थितीमा । राज्यमा निकै जनताले आशा गरेको पार्टी एमाओवादिको निर्णयबाट आएको भनेर सुन्दै आएको र संगठनको अन्तरिक छफलहरुमा केहि सामाजिक संजालहरु तथा संचार मध्यमको तस्विरहरुमा देखिएको महामहिम यति निरङ्कुश हुन सक्छ भनेर कसैले अनुमानसम्म पनि गर्न सक्दैन । यो रुपमा जतिसुकै सानो देखिएपनि सारमा कति भयानक छ । प्रविर्तिमा कति फासिस्ट छ । कति निरङ्कुश छ भन्ने यसले छर्लङ्ग पारेको छ ।

यसैबिच पहिचानको नारा सहित संघियता र संविधान हुनुपर्छ भनेर ३० दल र २२ दल भन्दै आदिवासी जनजातिको भावना बोकेर हिंड्ने जिम्मेवार संगठन र संगठनको नेतृत्व आफै यो विषयमा असामाजिक बन्न खोज्छ, आफ्नो पार्टीको भनेर राजदुत गलत कामको पुरै ढाकछोप गर्छ भने आम नेपाली जनसमुदायले बेल्जियमको यो असर हेरेर आफ्नो चाहना र निर्णय बदल्नुपर्ने दुर्भाग्य अवस्था नआउला भन्न सकिन्न । बेल्जियमको केहि सामाजिक अगुवा भन्नेहरुले र केहि राजनैतिक संगठनहरु आम धारणाको समर्थन गर्दा नेपाली जनप्रगतिशील मोर्चाले राजनीति गर्यो भनेर फत्तुर लगाउँदैपनि छन् । तमु समाज भन्दा यो अति जातिवाद  भयो भनेर आरोप लगाउदै गर्दा यो पंतिकार के कुरा स्पस्ट राख्न चाहन्छ भने सामाजिक न्यायको लागि किमार्थ झुक्न सक्दैनौ र कसैले झुक्न हुन्न । आफ्नो भनेर गलत निर्णय गर्ने जोसुकैलाई त्यसै छोड्नपनि हुन्न । यो तागत सबै राजनैतिक र सामाजिक नेतृत्वले देखाउन सक्नु पर्छ । तर अपसोच यहाँ प्रगतिशील मंच नेतृत्व त्वम् शरणम गर्दै छ भने तमुसमाज नेतृत्व सिंहको अगाडी परेको कुकुरले जस्तो पुच्छर लुकाएर बसेको छ । अन्य धेरै संघ संगठनको नेतृत्वलेपनि तमु समाजको सिको गरेको जस्तो देखिन्छ । पुच्छर लुकाउनु समाधान पक्कै होइन ।

किनभने आउँदै गरेको ११ नोभेम्बर के सम्पूर्ण नेपाली समुदायको साझा स्मृति सभा बन्न  सक्छ ?  के सम्पूर्ण नेपालीको र खासगरी आदिवासी समुदाय जसको नामहरु मेनन गेटको भित्ताहरुमा कुदिएको छ उनको भावनालाई छुन सक्छ ? युरोपिएन अनुदानमा राज्यको स्थानीय खर्च धान्ने राज्यले बजेट निकासा गरेको हो भने यहि ठाउँमा बस्ने हामी नेपाली समुदायलाई कसैले प्रश्न गर्दा दिने उत्तर हुन्छ ? महामहिमको निजि खर्च हो भने अगाडी आर्थिक सहयोग हुनै सक्दैन भन्ने अभिव्यक्ति फिर्ता गर्ने आधार छ ? स्मारकमा बहुअर्थ लाग्ने अंग्रेजी शव्द राखेर झुण्ड्याइएको महामहिमको नामले नेपालले विश्वयुद्द लडेको थियो भनेर वैधानिक गराउन सक्छ ?  उत्पति गराउनु मात्रै ठुलो कुरा होइन । स्मारकको संरक्षण गर्नु पर्दैन ? संरक्षण र पुनर्निमाण गर्न राज्य संधै उपस्थित हुन सक्छ ? राज्य उपस्थित  भयो नै भने पनि यति धेरै नेपाली समुदाय भएको ठाउमा पाँच जना दुतावास कर्मचारी गएर गुर्खाजको सम्मान हुन्छ ? सिमित मान्छेको उपस्थिति र प्रचारले गुमनाम नेपाली गुर्खाजको राष्ट्रिय पहिचान अन्तरास्ट्रियकरण गर्न सक्छ ? दुतावासले नै नबनाई नहुने कुनै ठोस कारणहरु आधार सहित पेश गर्ने हिम्मत र नैतिकता दुतावाससंग छ ? यो स्मारकलाई नेपाली आम समुदायले अपनत्व ग्रहण गर्न सक्ने कुनै त्यस्तो आधार छ ?

तसर्थ अबिलम्ब सम्बन्धित पक्षले अर्थात् रातारात स्मारक उत्पति गराउने निकायले यी प्रश्नको हल खोजेन भने नेपाली समाजमा एउटा डरलाग्दो बिखण्डनको विउ रोपिन सक्छ ।  यो पंतिकार जस्ता धेरै नेपाली ‘installed by H .E .Ram mani pokhrel’ लेखेको स्मारकमा स्रद्दाको फुल चढाउन जाने छैन ।

ईपर संवन्धि अन्य संवन्धित लेखहरुपनि हेर्नुस्

बेल्जियममा गोर्खा सैनिकका नाममा स्मारक : दुतावासको कामले नेपालीबिच तिब्र बिबाद 

गोप्यता खोलिदिने भन्दै महामहिमसित बैठकमै चर्काचर्कि

 एन आर एन बेल्जियमले गर्‍यो आत्मसमर्पण

बेल्जियमको इपरमा टकराएको जातिय पहिचान

बेल्जियममा शुरु भो मर्नेका नाममा राजनिति

“महामहिम भएर यस्तो झुठ र षडयन्त्रमुलक कुरो बोल्ने ?”

बेल्जियममा मारिएका हजारौं नेपालीको चासो कसलाई ?

जनजाती बिरोधी छाँयाहरु बेल्जियमको इपरमा

प्रथम विश्व युद्दमा बेल्जियमबाट लडेका नेपाली

जनजातिकै नाम मेटाएर कसरि मान्य होला र ?

बेल्जियममा स्मारक निर्माण : केहि सुझाब

झुठो बक्तब्य जारी गर्दै दिए महामहिमले कारवाहीको धम्की

बेल्जियममा नेपाल, नेपाली र राजदूत

जनजातिका नेतालाई नेपाली दुतावासमै प्रवेश निषेध

बेल्जियमका महामहिम र छोटे महामहिमहरु

तपाइँको प्रतिक्रिया