ताप्लेजुङ् जल्दा ककसलाई फाईदा ?
हिजोदेखि दनदनी जलेको छ ताप्लेजुङ् बजार । त्यहाँ घर, सम्पत्ती र भौतिक सामाग्रीहरु मात्रै जलेका छैनन् । ताप्लेजुङ्बासीका मन त जलेकै छन् । आफ्नो घर दनदनी जल्दा मुकदर्शक बनेर बस्नु परेका ताप्लेजुङ्बाशीका मन मात्रै होइन हाम्रो सिंगो सरकार जलेको छ । त्यहाँ ताप्लेजुङबासीका आक्रोशहरु ज्वाला बनेर राज्यतर्फ सोझिएका छन् । हाम्रो नालायकीपन खरानी बनिरहेको छ । हाम्रा नेता, प्रशासक र राजनीतिक दलहरु जनताका आक्रोशमा दनदनी आगो लागिरहेका छन् ।
ताप्लेजुङ्बासीको उठिबास भएको छ । आँखाले हेर्दा हेर्दै घर गोठ सबै खरानी भएको छ । दन्केको आगोको मुस्लोका अगाडि कसको के लाग्छ ? तर राज्य यती निरिह बनेको छ कि दनदनी फुगलिङ बजार जल्दा लाग्छ, कसैलाई छोएकै छैन । सिंह दरबारमा जनताको नाममा शासन गर्न बसेकाहरुलाई कुनै मतलवै छैन । उता फुगलिङ बजार जलिरहेको छ यता ६०१ जना सभासदहरु भात्ता पड्काईरहेका छन् । उता जनता घरबास नभएर रुँदै बसेका छन यता नेताहरुको बिदेश यात्रा चलिरहेको छ । जनताको कर खाएर जनताको सेवा गर्न बसेकाहरु ‘दमकल छैन आगो निभाउन के गर्ने ?’ भन्दै तमासे बनिरहेका छन् ।
के दमकल किन्न पैसा नभएरै हो त ? राज्य एउटा दमकल किन्नै नसक्ने अवस्थामा पुगेको हो त ? कोशी र कर्णाली नदी बिदेशीलाई बेचेर यिनैले खाए । महाकाली सन्धी गरेर करोडौं करोड लुँड्याउने एमालेका नेता सरकारमा छन् । टनकपुर सन्धी गरेर खरबौं खाने नेता कांग्रेस र एमालेका हुन् । जुद्द जुटमिल, बुटवल औधोगिक क्षेत्र, हेटौंडा कपडा उध्योग क्षेत्र, बाँसबारी छालाजुत्ता लगायतका कलकारखाना बिदेशीको कमिशन खाएर धराशयी बनाउनेहरुले सरकार चलाइरहेका छन् । कालापानीमा भारतीय सेना राख्न दिएर कमिशनपनि खाए । नेपालको सगरमाथा चिन सरकारलाई आधा दिएरपनि राजातन्त्रलाई पुगेन । नेपालको ६० प्रतिशत वन बिनास गरेरपनि यिनलाई पुगेन । नेपालका सम्पदा र पुराना मूर्तीसम्म बेचे । देशमा मिल्ने र खान मिल्नेसम्म सबै खाँदापनि शासकहरुले अलिकती देशकालागी सोचेनन् । अलिकतिपनि जनताका लागि सोच्नुभन्दा बरु साझा बसको छिनो र घन बेच्न आँखा लगाए । त्यसैको परिणाम हो, फुगलिङ बजार दनदनी बल्दापनि एउटा दमकल नहुनु । किनकी हाम्रा शासक देशलाई कंगाल बनाउन चाहन्छन । आफू खराबअपती ।
ताप्लेजुङ्को यो घटनाले बताउँछ, हाम्रा दलहरु जनताप्रती जिम्मेवार छैनन् । समाजप्रती गम्भिर देखिन्नन् । देश लुट्नु, मोज गर्नु, सरकारमा टाँस्सिनु तिनको ध्येय हो । दलिय स्वार्थमै ति केन्द्रित छन् ।
बरु ताप्लेजुङ्बासीले यो खती ब्यहोर्दा । तिनको उठिबास हुँदा अब यसैलाई आधार बनाएर स्वार्थ पुरा गर्नेहरु पनि देखिने छन् । ताप्लेजुङवासीको यो खतीसितै अन्य नेपालीहरुले आँसु झार्दा यसैलाई मौका छोपेर फाईदा लिनेहरु देखिने छन् । ताप्लेजुङ्अबासीलाई बासको ब्यवस्था मिलाउने भन्दै काठ तस्करहरु सल्बलाउने छन् । तिनका नाममा दुई चार पाथी चामल र एक धरो लुगाका नाममा सामाजिककर्मीको हैशियत बढाउनेहरु देखापर्ने छन् । केही एनजिओहरुको मागी खाने भाँडो बन्ने छ । सरकारमा गएर केही नगरेकाले आफू प्रतिपक्षमा पुगेका बेला सरकारलाई गाली गर्ने माध्यमा बनाउने छन् । बिदेशी दुतावासले कठैबरा भन्दै हेप्न पाउने छ । ताप्लेजुङ्बासीको दु:ख, आपत, बिपत्ती र आँसुमा धेरैको ब्यापार चल्ने छ । स्वार्थ सिद्द हुने छ । तिनको आँसुबाट स्वार्थ सिद्द गर्न सहयोगका अनेक पोका र प्रस्तव लिएर तिनका आँगन चाहार्नेको धुइरो लाग्ने छ ।
यो घटनाले स्थानिय जनताका कमजोरी, बेवाआस्था र विकासको क्रितिम योजनालाईपनि उदांगो पारीदिएको छ । नगरपालिका, शहरीकरण बनाउने भनेपछि हामी कती हतारिन्छौं । बिना आधारभुत योजना, जनताका न्युनतम मापदण्ड र आवश्यकता, सुरक्षाका उपायहरु कती महत्वपूर्ण हुन्छन भन्नेपनि देखाएको छ यसले । आफ्नो शहरमा एउटापनि दमकल नहुँदा किन स्थानियवासीले आवाज उठाएनन् ? किन त्यसमा ध्यान दिएनन् ? किन आधारभुत मपदण्डबिनाको शहरीकरणमा मात्रै लोभ्भिए ताप्लेजुङ्बासी ? आजसम्म आफूले मत दिएर आफ्नालागि काम गर्न पठाएका जनप्रतिनिधी भनिएकाले केहिपनि सेवा नदिँदापनि किन नेता छान्न अगाडि शरीरहे ? आफ्नो क्षेत्र, आफ्नो गाउँ र समाजको न्युनतम आधारभुत सुबिधा बिना शहरीकरण गर्नुहुन्न भन्ने ताप्लेजुङ्बासीकालागी यो पाठबाट अरुलेपनि सिक्नु जरुरी छ ।
एल नेम्वाङ सुब्बाले आफ्नो फेसबूकमा ब्यक्त गरेको यो तर्कपनी हेर्नुस्
अहिले ताप्लेजुङ्गको आगलागीमा १४ महिना अघि झिलझिले इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरसंग कुराकानी गरेको याद आयो ।
मैले भनेको थिएँ “सर तपाइँ हरुसंग बारुन्यन्त्रको लागि यिनै पर्तिर राखेका पुराना टिनका बाल्टिन र बिड भाँचिएका बेल्चा मात्र हुन् “? दुर्भाग्य बस त्यो दिन दुधे देखि तल भित्र गाउँमा कता आगो लागेको थियो ।
इन्सपेक्टर निकै बेर त्यो बारुण यन्त्र झुन्ड्याएको ठाउँमा हेरे अनि सानो स्वरमा भने “नेम्बाङ्ग जी अब अहिलेलाइ बरुण यन्त्रको साधन हामीसंग यिनै हुन् । दमकको दमकलपनि कहिले बिग्रिएको हुन्छ कहिले पन्चर छ भन्छ ।” “साँच्ची अरब तिर चाहिँ कस्तो छ बारुण यन्त्र को ब्यबस्था” ?
मैले यहाँको बारुण यन्त्र र बारुण बिभाग बारे सबै सुनाएँ । उनि ट्वाल्ल परेर हेरिबसे सुनी बसे । “कस्तो गजब को ब्यवस्था रैछ नेम्बाङ्ग जी अरबतिर । अनि बारुण बिभाग पनि प्रहरीलाइ दिएको छ है ? ”
कुराकानीको क्रममा मैले उहाँलाइ सोधे “तपाइको प्रशासनिक क्षेत्रमा अहिले कतिओटा गा.बि.स पर्छ सर ? ” उनले ‘४\५ पर्छ’ भने । मैले उहाँलाई भने ‘ति ४\५ ओटा गा.बि.स. का सबै ठुला साना नेतालाइ उ माथिको चौरमा मिटिंग बोलाउनुस । अनि अब बारुण यन्त्र र एम्बुलेन्सको लागि प्रत्येक घरबाट कम्तिमा १००० रुपैयाँ उठाएर ब्यबस्था गर्नु पर्छ भन्नुस । दिनेले त लाखौ दिन्छन नी । ४\५ ओटा गा.बि.स बाट करोडौ रुपैयाँ उठ्छ । त्यसले बारुण यन्त्रको आवश्यक साधन सबै खरिद गर्न सकिन्छ ।
मेरो मुखमा धेरै बेर हेरे । अनि ‘यस्तो बिचार राख्ने तपाइँहरु विदेश बस्नु हुन्छ । अनि सबै दोष पुलिसलाइ लगाउनुहुन्छ’ भनेर दुख व्यक्त गरे । कुरै कुरामा यी कुरा भएको थियो ।
(पहिलो तस्विर दैनिक नेपाल डटकमबाट लिएको हो)






