एकताको नाटक र बैध्य बाको नैतीकता
- अनुप शर्मा
बजार तातेको छ, दुई तिन थरी माओवादी पार्टीको एकता प्रकृयाले । त्यो एकता माओवादी आन्दोलन पूनर्गठन भन्ने नाममा प्रचारित छ । पार्टीहरुबिच एकता हुनु राम्रो हो । कुनैपनि प्रजातान्त्रिक शक्ती फुट्नु र तितरबितर हुनु प्रजातन्त्रकालागी सकारात्मक होइन । झन देशमा हजारौंको बलिदान गरेर आएका, रगतको खोलो बग्नुको कारक बनेका माओवादी फुट्नै हुन्नथ्यो । माओवादी आँफैंभित्र कोही भ्रस्ट बने । कोही गद्दारमा बदलिए । कोही बिदेशीका पाउ मोल्न गए । कसैले जनताका सेनालाई बिदेशीको पाउमा लगेर सुम्पे । कोही महलमा सुत्ने भए । कोही असलनै रहे । त्यसैले आआफ्ना चरित्र, बुझाई, दम्भ, निती र उद्देश्य अनुरुप ति पाँच चिरामा बिभक्त भए । अब माओवादी फेरी जुट्ने तयारी गर्न खोज्दै छन । त्यो राम्रो हो । तर एकता केका लागी ? कुन उद्देश्यकालागी एकता ? कसको हितकालागी एकता ? यो मुख्य कुरा हो, एकतानै मुख्य होइन । एकतामा नेताको स्वार्थ । पार्टीको अस्तित्व होइन, जनता र देशको मुक्तिको प्रश्न जोडीनुपर्छ ।
एकिक्रित नेकपा माओवादी सरकारमै छँदा बैध्य समूहले बन्द र हडताल गरे । माओवादी भारतीय गुलाम बनेको, प्रतिकृयावादका सामु झुकेको, राष्ट्रियताका मामिलामा भारतका सामु घुँडा टेकेको लगायतका आरोप लगाउँदै । जनसेना समायोजन गर्दा बिदेशी प्रतिकृयाबादका सामुन्ने जनताका सेनालाई झुकाएको, जनयुद्दलाई जन बिरोधीका सामु आत्मसमर्पण गराएको भन्दै । जनसेनाको भत्ता भ्रस्टाचार गरेको आरोपमा त केही जनसेना सडकमै आएर प्रदर्शन गरे । बैध्य पक्षिय माओवादीले एकिक्रित नेकपा माओवादीलाई गद्दारको सज्ञा दिए । नेपालको समग्र वाम आन्दोलनलाईनै बिदेशी प्रतिकृयाबादको निर्देशनमा बिघटन गर्ने काम गरेको आरोप लगाए । माओवादीले षड्यन्त्रपूर्ण ढंगले पहिलो संविधान सभा भंग गराएको आरोप लगाए । बाबुराम भट्टराईलाई भारत परस्त भनेर धेरै पटक आरोप लगाए ।
अहिले ति आरोपको कुनै स्पष्ठ जवाफ बिना, नसच्चिकनै एकता गर्नु भनेको के ? के बाबुराम भट्टराई सच्चिए ? प्रचन्ड गद्दार थिए बैध्यले पार्टी फोर्दा । के राम्रो गरेर एकता गर्न सकिने अवस्थामा सुध्रिए ? यदी यसको जवाफ बिना एकता हुन्छ भने मोहन बैध्य भारतीय दलाल र गद्दारका पक्षमा गएको साबित भयो कि भएन ? धोकेबाजलाई साथ दिएको, आफ्नो स्वार्थका लागि प्रतिकृयाबादीका ठेकेदारसित, भारतीय दलालसित मिलेको साबित भयो कि भएन ? आन्दोलन हाँक्नै नसक्ने । जनताले पत्याउने कामै गर्न नसक्ने । उद्घोष गरे अनुसार नेत्रित्व लिन नसक्ने भएपछी छोड्नु पर्छ पार्टी कि आँफैंले दलाल र भ्रस्ट भनेकासित एकता गरेर फुलेको देखिने रहर गर्नुपर्छ ? बैध्य बा तिम्रो हैशियत यही हो ? तिम्रो नैतीकता, छबी र ६० वर्षको लगानीको शेष यही हो ? कुन नैतीकताले प्रचन्ड र बाबुरामलाई सफा देख्छौ ? इमान्दार कार्यकर्ता र जनताले यती छिटो भुले होलान ?
माओवादीका केही नेता भ्रस्ट भए । शहरीया बने । गाउँ बिर्सिए । जनयुद्दमा होमिएका कार्यकर्ता भुले । रोटी र ढेंडो लत्याएर चिकन र बर्गरमा रमाए । जनयुद्दका घाइतेहरुलाई भुलेर शामान्तिहरुको संगतमा फसे । निती भुले । कर्तब्य बिर्सिए । इमान बेचे । बचन फाले । वैरीका बिरुद्द लडेका हतियार मिल्काए । सँगै दु:ख सुख साटेकालाई अनादार गरेर हुनेखानेको प्रशंसामा तल्लिन भए । झुपडीबाट निस्किएर अलिशान महलमा रमाउन थाले । पैदल छोडेर पजेरोमा हुइकिन रुचाए । मकै खान नपाएर डाम्रिएका पेट फुलेर दमाहा जस्ता भए, शहर पसेपछि । सुकिलाको संगतमा फसेपछि ।
के अबको एकताले जनताको नौलो जनवाद स्थापनाको प्रण गर्छ ? प्रतिकृयाबादीका मह चाटेर सत्तामा पुर्याएका जनसेनालाई रुवाउँदै हिँडाएका थिए । तिनको आँसु पुछिन्छ ? प्रचन्डले तस्कर सुमार्गीसित मिलेर कमाएको, जोडेको अकूत सम्पत्तीको लेखाजोखा, खोजबिन हुन्छ ? जनासेनाको भत्ता जो करोडौं करोड भ्रस्टाचार भएको छ, त्यसको छानबिन हुन्छ ? देबेन्द्र पौडेलले कुन हैशियतले छोरीलाई जन्मदिनमा कार उपहार दिने हैशियत बनाए ? त्यसको हिसाब गर्ने आँट हुन्छ ? टोप बहादुर रायमाझीको छोराको बिहेमा बुहारीलाई दिएको लाखौं लाख बराबरको गहनाको स्रोत के हो ? औंलो कसैले उठाउँछ ? माओवादीले चढ्ने गरेको पजेरोको हैशियत के हुन्छ ? माओवादीका तस्कर नेताले चलाएको आठ सय बोर्डिङ स्कूलको आम्दानी, स्रोत र लगानीबारे जनतालाई जवाफ दिईन्छ ?
अबको आन्दोलन, एकता प्रकृयाले फेरी जनतालाई धोका हुन्न । फेरी नेपाल राष्ट्रघातीको हातमा पुदैन । फेरी भारतीय दलालको आँगनमा नचरी लाउँदै वाम आन्दोलनलाई बिघटनको प्रयास गरिन्न भन्ने कुनै निश्चितता दिन सक्छ ? त्यस्तो केही खाका छ ? यि प्रश्नको जवाफ नदिएसम्म तिम्रा आन्दोलन र एकताको उद्देश्य के हो ? कांग्रेस र एमालेको पेलान खप्न नसकेर चाहिएको टेको ? मधेशी पार्टीहरुले नरुचाएपछी एक्लो भएर चाहिएको साथ ? दोकला नितिका कारण जनजाती नेताले नपत्याएकाले सत्ता गुमाउनुपर्दा छट्पटिएको रोदनको चाहना ? सत्तामा एक्लिएर सडकमा मिल्किने अवस्था नहुँदै बलियो भएर देखाउने प्रयास ? कि अब एक पछी अर्को अपराधी साबित गर्दै जेल हाल्ने भए भन्ने त्रासले बलियो भएर देखाए बाँच्न सकिन्छ भन्ने क्षणिक भ्रम ? के हो तिम्रो एकताको निती, नियत ? यि कुराहरु प्रस्ट नपारेसम्म तिम्रो एकता स्वार्थप्रेरित, ढोंगी, नितिहिन बाहेक केही हुनै सक्दैन । कुनै स्पष्ठ निती, योजना र कार्ययोजना बाहेकको एकता सुन्न त सुन्दर लाग्छ तर देश र जनताको लागि कुनैपनी हितकर हुन्न । बरु दिर्घकालिन रुपमा हानिकारक हुन्छ ।




