गृहमन्त्री ज्यु नेपालमा सरकार र प्रशासन छ कि छैन ?

नबराज सिम्खडा” जिज्ञासु” / कतार

naba-raj-simkhadaसम्माननीय गृहमन्त्री ज्यु नमस्कार
देशमा बढिरहेको हत्या, हिंशा, बलत्कार, भ्रस्टाचार लगायतको बिगबिगी सन्चार माध्यम र सामाजिक संजालहरु थाहा पाएर आज परदेशी भुमिबाट यो पत्र लेख्दै छु । आशा छ कुनै न कुनै माध्य्मबाट यो पत्र तपाइले पाउनुहुनेछ र पढ्नुहुनेछ ।

मन्त्री ज्यु म र म लगायत लाखौ लाख नेपालीलाइ यति बेला शंका लागिरहेको छ कि नेपालमा सरकार वा प्रशाशन छ कि छैन ? छैन भनौ भने कसरी भनौ ? सरकार वा प्रशासन को निम्ति राज्यबाट अरबौ रुपैयाहरु निकाशा भैरहेको सुनिन्छ । सरकार छ भनौ भने जनताले सरकार र प्रशासन भएको अनुभूति गर्न पाएका छैनन ।

मन्त्री ज्यु, अहिलेको नेपालको सुरक्षा अवस्था अतिनै दयनिय छ जस्तो मलाई लाग्छ । अथवा भनौ, सिङ्गो देशनै लङ्गडो अवस्थामा छ । देखावटी खुट्टा छ । तर टेकेर हिडडुल गर्न सक्दैन । आखिर किन यो अवस्था आयो मन्त्री ज्यु ?

यो देशमा छ बर्षिय पुजा शाहहरु बलात्कृत हुन्छ्न । बलत्कारबाट पुजाहरु मर्छन । एउटा सिक्षक द्वारा आफैले पढाउने ९ बर्षिय बालक बिद्यार्थीको अस्मिता लुटिन्छ । अनि बैंकमा जागिर लगाइदिने भन्दै फकाइ फकाइ लगेर बलत्कार गर्छ । यस्तै पढ्न भनेर कक्षा कोठामा बसेर पढिरहेको बिद्यार्थीमाथी तेजाब प्रहार हुन्छ । यहि देशमा गेशपेपर किन्न गएकी पुजा बोहराहरु बलात्कृत हुन्छन । आफ्नै हजुरबाउ र बाउबाट पुजा कार्किहरुको अस्मिता लुटिन्छ । यो देशमा आमाले छोरा कुटेर मार्छिन । छोराले आमा बाउ, हजुरबाउ माथी बन्चरो प्रहार गर्छ । अनि ससुराको गर्व बोकेर छोरालाइ आरोप लगाइन्छ । यी त यस्ता केही उदाहरण हरु मात्र हुन । यस्ता कति कति छन कति ।

यी र यस्ता घटनाको बारेमा जानाकार हुदाहुदै पनि सरकार र प्रशासन किन अपराधिमाथी कारबाही गर्न उदासिन देखिन्छ ? किन कानुनको तगारो हालेर कारबाही गर्न मिल्दैन भन्छ ? नेताहरुले चाहे भने आफ्ना स्वार्थको निम्ति क्षणभरमै कानुन परिपर्तन हुन्छन । तर यस्ता अपराधिलाइ कारबाही गर्न किन कानुन परिबर्तन गर्न सकिँदैन ? को बाधक बन्छ अपराधिलाइ कार्बाही गर्ने कानुन बनाउन खोज्दा ? त्यो बाधक बन्नेसङ्ग भिड्न जनत तयार छन । अनि कुन कानुनको कुरा गर्नुहुन्छ मन्त्री ज्यु ? के पुजाशाहको बलत्कार कानुन सम्मत छ ? के एसिड कानुनको परिधिमा रहेर प्रहार गरिएको हो ? अनि पुजा बोहराको बलत्कारिलाइ छुट दिने निर्णय कानुनको निर्मताहरुले कानुनको परिधिभित्र रहेर गरेका हुन ? कानुन तोडेर अपराध गर्नेलाइ कानुन सम्सोधन गरेर कारबाही गर्न किन मिल्दैन मन्त्री ज्यु ?

के पुजा शाह, पुजा बोहराहरु अनि सिमा र सङ्गिताहरुको त्यो अवस्था देख्दा तपाइको मनमा माया ममता अनि स्नेहको भाबहरु पैदा हुदैनन ? उनिहरुलाइ देख्दा तपाइको छाती छिया छिया हुदैन र मन्त्री ज्यु ? एकपटक ती पिडितहरुलाइ आफ्नै छोरी, नातिना सम्झेर सोच्नुस त तपाइको मनले के भन्छ ? आज पुजा, सिमा, सङ्गिताहरुमाथी बलत्कार गर्नेले, एसिड प्रहार गर्नेले भोलि तपाईं हाम्रो छोरी चेलिमाथी गर्दैनन भन्ने छ ? अनि किन यस्ता अपराधिमाथी दयाभाब राख्नुहुन्छ ? किन कारबाही गर्न तम्तयार हुनुहुन्न ? किन उदासिन बन्दै ढिलासुस्ती गर्दै हुनुहुन्छ ? किन अपराधिहरु मनोबल बढाउने काम भैरहेको छ ?

अर्को कुरा ट्युसन सेन्टरमा पढिरहेका बिद्यार्थीमाथि एसिड प्रहार भएको आज २० औ दिन बितिसक्दा पनि एउटा अपराधी पक्राउ पर्न नसक्नु कस्तो बिडम्बना हो ? यसबाट देशको सुरक्षा अवस्था कसरी मुल्यांकन गर्ने ? अनि सुरक्षाप्रती कसरी जनता आशाबादी बन्ने ? देशको एउटा प्रशासन प्रमुख भएकाले यी कुरा सोध्ने हिम्मत गरेको हुँ । अन्यथा नसोच्नुहोला । गल्ती भएमा माफ गरिदिनुहोला । साथै कृपया जवाफ दिनुहुनेछ भन्नेमा पनि आशाबादि छौ  ।

पिडित बैनिहरुको दाजु समान
नबराज

तपाइँको प्रतिक्रिया