पदकालागि युरोपका पत्रकारहरूको कत्रो राजनीति
- निराजन श्रेष्ठ / स्विजरल्याण्ड
दुई बर्ष अघिदेखि सुरु भएको नेपाल पत्रकार महासंघ युरोप (एफ.एन.जे.युरोप) मा रहेका अधिकांश पत्रकारको काम शुद्ध पत्रकारिता नभई राजनीतिकरण हुँदै यहाँ सम्म चलिरहेको अवस्था छ । गत १४ सेप्टेम्बर २०१४ मा बेल्जिएममा भएको दोश्रो अधिवेसनमा नयाँ नेतृत्व चयनमा सहमति हुन नसक्दा एक आपसमा हानाथाप चल्यो । उक्त अधिवेसनका लागि केन्द्रबाट नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवलाइ बोलाएतापनि सहजरुपमा अधिवेसन सम्पन्न गर्न भने सकेनन् । युरोपका विभिन्न देशहरुबाट उक्त अधिवेसनमा उपस्थित भएका पत्रकार भनिएकाहरू पत्रकार महासंघ युरोपको सदस्य बन्न अनेकौं राजनीतिक खेल खेलिरहेका थिए । केहि पक्षकाहरुले केजिन राइ भनिरहेका थिए भने केहिले महेश थापा त कहिले ओम शर्मा । एक आपसमा भागबण्डा नमिले पछि अनेकौं वाद विवाद भैरहेको थियो ।
अनेकौं खालका राजनीतिकरणले गर्दा सच्चा पत्रकार हुन् वा होइनन् छुट्याउन प्रथम पेरिस अधिवेसनमा सदस्य भएका, सदस्य बन्नकालागि आबेदन दिएका भरेका र दोश्रो अधिवेसनमा सदस्यता फर्म भरेका सम्पूर्ण सदस्यहरुको छानविन हुनुपर्ने सहमतिपछि ददि सापकोटाको संयोजकत्वमा अन्य दुइ सदस्य रहनेगरि तिन सदस्यीय छानबिन कमिटि गठन गरियो । युरोपका विभिन्न देशका सदस्यहरुगरि १७ सदस्यहरुको नामावली सहितको एउटा समिति पनि गठन गरियो । उक्त छानबिन समितिले आउने २-४ महिना भित्र नयाँ र पुराना सम्पूर्ण सदस्यहरुको छानविन गरि वास्तबिक पत्रकारको पहिचान गर्ने र त्यसैको आधारमा केन्द्रलाइ सिफारिस गर्ने तथा छानबिन प्रतिबेदन अर्को अधिबेशनमा प्रकासित गरिने गरि सहमतीमा टुंगिएको थियो ।
छानविन समितिले छानविन शुरु गर्न जिम्मा दिएको २-४ महिना बित्दापनि मौन रहीरहेको ठानेर आफ्नो पद हराउने डरले फेरी पदको पछाडी दौडने क्रम यो बिचमा जारिरह्यो । १४ सेप्टेम्बर २०१४ मा छानविन कमिटिले सदस्यता छानविनको लागि सप्रमाण पुन सदस्यता फारम भर्नको लागि फेब्रुअरी २८ सम्मको अवधि तोक्दै एक सुचना प्रकाशित गर्यो । सूचना हेर्दा अब छानविन समितिले केहि गर्ला जस्तो छाँट देखियो । सदस्यता बन्न एक महिनाको अवधि दियो भनेर युरोपका केहि “पत्रुकारहरु” भने फारम भर्ने अवधि एक महिना नभई ३ महिना राख्नुपर्ने माग गर्दै लबिङ्ग शुरु गरे । अचम्मको कुरो, नाथे सदस्यता आबेदन भर्नैका लागि तिन महिनाको समय किन चाहिएको होला ?
पत्रकारहरुलाई एक महिनाको अवधि दिंदापनि फारम भर्न र प्रमाण जुटाउन ३ महिना चाहिने ? जावो एउटा फर्म भर्न पनि तीन महिना ? यदि साँचो पत्रकारहरु हुन् भने प्रमाण पेश गर्न कुनै कठिनाइ नहुनुपर्ने हो ! कठिनाइ हुन्छ जव आफु पदमा आउनका लागि अरु विभिन्न क्षेत्र र राजनीति गरिन्छ । तानाबाना बुनिन्छ । गुटबन्दी शुरु गरिन्छ । त्यसैले प्रमाण बनाउनुपर्ने लगायतका बहाना बनाएर एक गुटले समय थप गर्नुपर्ने भन्दै माग गरे भने एकले राजनीतिककरण गर्दै नेतृत्व आफ्नो हातमा हुने अनुमान भएपछि जाल खेल्न तर्फ लागे । छानविन कमिटिले सबै पत्रकार भनाउँदाहरुको प्रमाण पेश गर्न दवाब दिंदै समय लम्बिने खेल खेले जस्तै गरि मौन रहेको देखियो । त्यसले गर्दा नक्कली पत्रकारहरु फेलापर्ने डरका साथै आफुले पद नपाउने संकेत देखेपछि अचानक दोश्रो अधिवेसनबाट चुनिएका केहि व्यक्तिहरुले १७ जना सदस्यहरुलाइ बैठकमा उपस्थित हुन भनि बेल्जिएम बोलाइयो । बैठक किन, कसरी कुन बिषयमा बस्ने भनि छलफल र सल्लाहसमेत नगरि आफूखुशी निर्णय गरियो ।
एकाएक राजनीतिकरण गरि आफ्नो हातमा पद हुने देखे । त्यसपछि सदस्यहरुलाइ उपस्थित हुन पत्र कोरियो । उपस्थित हुन असमर्थ जनाउँदै स्काइप बैठक बस्नु पर्ने अवाज उठाए, बेल्जियमा बाहिरका सदस्यहरूले । तर ती सदस्यहरु कसैको कुरो नसुनी गुप्त कोठामा २-४ जना बसेको भरमा केजिन राइको अध्यक्षतामा एक नयाँ कार्यसमिति गठन गरियो । स्काईप बैठकसमेत नडाक्ने यो योजनाले प्रस्ट पार्छ, बेल्जियमबाहिरका सदस्यहरूसित छलफल गर्ने योजनानै थिएन । बेल्जियममा बैठक डाके अरु देशबाट आउने छैनन् र आफ्नो योजनाले पद हत्याउन पाइन्छ भनेर झारा टार्न मात्रै बैठकको नाटक गरिएको थियो । नत्र युरोपका अन्य देशमा रहेका पत्रकारहरूलाई मिल्नेगरी स्काईप बैठक बोलाउन केले छेकेको थियो ?
नाटक गरेर चार जनाले बैठकको नाम दिँदै पद हत्याएको समितिलाई केन्द्रलेपनि स्वीकार्यो भनेर समाचार पनि प्रकाशित गरे तिनले । यो देख्दा पद र आआफ्नो व्यक्तिगत फाइदाका लागि “पत्रुकार” मात्र नभई ठुला पदमा रहेर पत्रकार हुँ भन्नेलेपनि आफ्नो औकात देखाईदिए । यता छानबिन कमितिले एक महिना भन्दा समय नलम्ब्याउने र तोकिएको समयभन्दा एक मिनेट मात्र ढिलो आएको आबेदन पनि अमान्य हुने भन्दै खुब बेजोडका साथ समाचार प्रकाशित गरेको थियो । अन्तमा आएर छानबिन समितिपनि दबाबको अगाडी टिक्न सकेन । उही नेपालका गए गुज्रेका नेताहरुले जस्तै म्याद लम्ब्याएर देखाए । संघ,संस्था,समाज र देशलाइ आँखा देखाउने चौंथो अंग पत्रकारहरु हुन भनेर भाषण छाँटनेले जावो फर्म भर्नलाइपनि समय बढाउँछन भने नेपालमा संबिधान बनाएनन् भनेर बिरोध किन गर्ने ? पटक पटक संबिधान सभाको म्याद थपे भनेर अनेकौ आलोचना गर्ने तिमीहरुलाइ धिक्कार छ ।




