यी विकास खनालहरु

आनन्दराम पौडेल

writer-anandaram-paudel२१ गते बुधबारका दिन भृकुटीमण्डप सभाहलमा नेवा र ताम्सालीङका अगुवा कार्यकर्ताहरुलाइ आन्दोलनको लागि बेस्सरी तताएर प्रचण्ड साँझ नपर्दै लाजिम्पाट निवासमा फर्के । दिनभरी कराएकाले आज निकै थाकेका थिए । त्यसैले, आराम गर्ने हिसाबले बैठककोठामा बसे। आज कताबाट मयुरको मासु आइपुगेको रहेछ । तताएर ल्याइदियो। मयुरको मासुसँगै व्ल्याकलेबलको चुस्की लिंदै सोच्नथाले ।

सोचे, “जे होस्, आज कार्यकर्तालाइ उत्तेजित मात्र हैन आक्रामक नै बनाउन सफल भइयो । कार्यकर्तालाइ आन्दोलित पार्न सामान्य, सादा भाषणले हुँदैनथ्यो । मरमसला हालेर ‘हट एण्ड सावर’ प्रशिक्षणको जरुरत पर्थ्यो । कुम उचालेर, हात उजाएर, सिंहगर्जन गरेर उनीहरुको दिमागमा उत्तेजना भरी आक्रामक बनाउनुपर्थ्यो । वीररस, भयानकरस र करुणरससमेत् मिसाउनुपर्थ्यो ।

नभन्दै, आज भृकुटीमण्डप सभाहलमा सम्पूर्ण रस प्रयोग भए। बाबुरामले करुणरस प्रवाह गरे । नारायणकाजीले शान्तरस त नभनौं, नवरसभन्दा बाहिरको सौम्यरस प्रवाह गरे । वीररस र भयानकरसको प्रवाह मैले गरें । कार्यकर्ताको दिमाग तात्नसम्म तातेको छ । उत्तेजित मात्र हैन आक्रामक नै भएका छन् । यति उत्तेजित आक्रामक भएका छनकि ‘आक्रमण’ भनेर मैले इशारा गर्ने होभने १ हप्ताभित्र ४-५ शयलाइ सिध्याइदिन्छन् । नेपाली आकाशमा पुन एकपटक भयङ्कर आतङ्कको कालोनीलो बादल व्याप्त गराउनैपर्ने आवश्यकता मैलेपनि महसुस गरें ।

३ बर्ष अघिसम्म यही नेपाली जनता ‘नेकपा माओवादी’ शब्द उच्चारण गर्नासाथ थरहरी हुन्थे । छुलछुली मुत्थे । अहिले, पछिल्लो कालमा आतङ्क मच्चाउन छाड्योभनेर हामीलाइ सामान्य ठान्न थालेका छन् । सर्वसाधारण नेपालीले समेत् ‘यसो नगर्नुहोस्, त्यस्तो नगर्नुहोस्’ भनेर हामीलाइ उपदेश दिन्छ । कसरी खप्नसकिन्छ ? अस्ति २२ गते विकास खनाल भन्ने व्यक्तिले, ‘नेकपा माओवादी पार्टीले गरेको र गर्नलागेको यो-यो काम ठीक भएन, यसरी जानुपर्छ’ भनेर गज्जब उपदेश दियो । कहाँबाट आयो नेपाली जनतामा यत्रो आँटहिम्मत ? हामीले डाङ्डाङ्डुङ्डुङ् गर्न छाडेकोले न हो ? यो त ‘मेरी बिल्ली मुझे ही म्याउँ’ भएन त !

त्यो विकास खनाल को रहेछ ? वुझ्नु भनेर कार्यकर्तालाइ अह्राएको छु। खैरेनीटार, तनहुँका रहेछन् भन्नेसम्मको रिपोर्ट प्राप्त भएको छ । खैरेनीटार, तनहुँका विकास खनाल मात्र हैन, ३ बर्षयता पछिल्लो कालमा देशैभरी हजारौं विकास खनाल १ पाइला अगाडी सरेर दृश्यमा आइसकेका छन् । यहाँ त बुढी मरी भन्दापनि काल पल्केकोमा पो चिन्ता गर्नुपर्ने भएको छ । पछिल्लो कालमा टाउको उठाउन थालेका र हामीसँग आखा जुधाएर बोल्नथालेका यी विकास खनालहरुलाइ तह लगाउनु नै आन्दोलनको प्राथमिक एजेण्डा हुनेछ । मेरा कार्यकर्ताहरुले आतङ्क मच्चाउन थालेपछि यस्ता विकास खनालहरु कच्याककुचुक पर्नेछन्, चिन्ता छैन।”

प्रचण्ड ढुक्क भए । भृकुटीमण्डप सभाहलमै रणचण्डी बनेर जागेका कार्यकर्ताहरुको रौद्ररुप हेरेर हौसिएका थिए । आशा जागेको थियो। सम्भावना प्रष्ट देखिन्थ्यो । यही उपलक्षमा व्ल्याकलेबल १ पेग थपे । व्ल्याकलेबलको चुस्कीसँगै पुनः सोचमग्न भए । सोचे, “आज कार्यकर्ताहरुलाइ सम्बोधन गर्दा बाबुरामले अर्थोक त ठीकै भनेका थिए । ‘कांग्रेस र एमाले भनेका स्याल हुन्’ भनुञ्जेलसम्म ठीकै बोलेका थिए । तर, माओवादीलाइ बाघ भन्ने बेलामा, ‘हामी व्यक्तिवादी, अहङ्कारी र लोभीपापी भएर बिग्रनसम्म बिग्र्यौं । तर, जति बिग्रेपनि बाघको बच्चा बाघ नै हुन्छ’ भने। हामी बिग्रेको, सडेको, कुहिएको पाटो त्यहाँ उजागर गर्न आवश्यक थिएन । बरु नारायणकाजीले, हाम्रो वीचमा कतिपय बिषयमा सैद्धान्तिक र नीतिगत मतभेद रहँदारहँदै सबै मतभेदलाइ थाँति राखेर आन्दोलनमा जानुको विकल्प छैन’ भने । समयसन्दर्भ अनुसारको बोलीचाहींयो हो ।”

डाक्टरले दुई पेगमा नबढाउनु भनेको थियो । आज खुशियालीमा १ पेग थप्छु भनेर अरु १ पेग थपे। व्ल्याकलेबलको चुस्की लिंदै आत्मसमीक्षा गर्नथाले । सोचे, “माघ १२ गते बसेको मोर्चाको बैठकमा सुशील कोइरालाको बिषयमा मैले भद्दा कमेण्ट गरें भनेर १-२ जना साथीहरुले आपत्ति जनाए । त्यो बैठकमा मैले भनेको थिएँ – ‘बिहानै सुशीलले फोन गरेको थियो । मलाइ फोन रिसिभ गर्न मन लागेन । दुइपटक त रिसिभ गरिन । फेरि सम्झिएँ – भस्याकभुसुक निभिसकेको थोत्रो, थाङ्ने मान्छे । उमेर सकिइसकेको बुढो भएपनि, जिब्रोले काम गर्न नसके पनि, नालायक नै भएपनि बुढो गोरुले कोरली गाइ ओगटेसरी प्रधानमन्त्रीको कुर्सीमा त बस्या छ ।

उप्रति टीठ लागेर आयो, र फोन उठाएँ । वार्ता गरौं, सहमति गरौं भन्छ कत्ति लाज नमानिकन । मैले भनिदिएँ – केको वार्ता ? सिदासिदा लडाईं गर्ने हो । सम्बिधानसभाले गरेका निर्णयहरु उल्टाउनुहोस् । हैनभने वार्ताको नाटक नगर्नुहोस् । उ कुरा गर्न खोज्दैथियो, मैले फोन काटिदिएँ ।’  मैले ठाडै भनेको थिएँ । सुशीलसँग भएको यो सम्वाद मोर्चाको बैठकमा जस्ताकोतस्तै राख्नु झन् महाभुल हो भनिरहेछन् यी साथीहरु । त्यसरी सम्वाद गर्नु कुटनीतिक मर्यादाको हिसाबले र ‘पोलिटिकल कल्चर’को हिसाबले पनि ‘ब्लण्डर’ नै भयो भनिरहेछन् साथीहरु । उत्पात मच्चाउने भनेर तम्सेका हामीसँग केको कुटनीतिक मर्यादा ? केको पोलिटिकल कल्चर ? अब आतङ्कको आँधिबेहरी सिर्जना गर्ने हो । नेपाली जनतालाइ पनि सुखचैनसँग बस्न कहाँ दिन्छु र ? यिनीहरु नै ह्वैनन्, पोहोर निर्वाचनमा हाम्रो यो हालत गर्ने ?”

खाना खान बोलाउन आएछन् । ग्लासमा तेस्रो पेगपनि सकिएछ । जुरुक्क उठे, र डाइनिङ रुमतिर लम्के ।

तपाइँको प्रतिक्रिया