सीतामढीबाट नेपालमा रजाईं
- आनन्दराम पौडेल
केपी ओलीले धम्क्याएको बिषयलाइ राजनीतिक इस्यु बनाएर लाभ लिन सकेकोमा राजेन्द्र महतोले गर्व नै गरिरहेका थिए । तर, यही घटनामा किशोर श्रेष्ठको टिप्पणि पढेपछि भने रन्थनिए । सरासर पुरानो बानेश्वर, भीमसेनगोला, बागमती पुलको मुखैमा रहेको आफ्नो घरमा आए। खाजा बनाउन अह्राए, कपडा फेरे र कोठामा आरामले बसेर किशोर श्रेष्ठको टिप्पणि दोहोर् याएर पढे। लेखेको थियो, “कति भयो‘रे हजुर नेपाल छिरिलिएको ? बढीमा चार दशक । अनि यति छोटो अवधीमै वाणिज्य, आपूर्ति, स्वास्थ्य सब गरी चारबार मन्त्री । सांसद अलग । - एक ठो पार्टीका चेयरमेन सा’ब भि बन गए आप । यति सहिष्णु छन् नेपाली ! गलत तवरले लिएको तपाईंको नागरिकताबारे उजुरी परेर गृह मन्त्रालय र अख्तियारले छानबीन थाल्दा मधेस आन्दोलनका नाममा सिडिओ कार्यालय खरानी बनाई अभिलेखहरु डढाएको हैन ? के दिएन यो देशले तपाईंलाइ ? भागवण्डाको नाममा आपूर्ति, उद्योग, वाणिज्य जस्ता खन्खनी नोट गन्नपाइने मन्त्रालयतिर मात्रै आँखा लाग्ने ? अनि ठूला कुरा गर्ने ?”
यति पढिसक्दा राजेन्द्रजी निकै गम्भीर भैसकेका थिए । सर्लाहीबाट कोही भेट्न आएका छन् भनेर भान्छेले खबर ल्यायो । आज कसैसँग भेट्दिन भने । भोक लागेकोले खाजा आउनासाथ थालिमै झुम्मिए । डाक्टरले केही समय मदिरा बन्देज गरेकोले कफि मँगाए। कफि पिउँदै सोच्नथाले, “हाम्रा प्रचण्ड, बाबुरामहरु केपी ओलीसँग डराउँदारहेछन् । छलफल, विमर्शको बैठकमा केपी छनभने यति सतर्क हुन्छन् कि अह्ररिएरै बस्छन् । तर, म केपीसँग हैन, पत्रकारसँग डराउँछु ।
यो किशोर श्रेष्ठभन्दा चर्को अर्को पत्रकार छ ठाकुर बेल्वासे । चार बर्षजति अघि होला, म त्यसबेला आपूर्ति मन्त्री थिएँ । वीरगञ्जमा ठूलै आमसभा थियो । ठूलै जनभेला देखेर म अलि उम्लिएछु । मैले त आफू जिम्मेवार मन्त्री हुँ भन्ने समेत् बिर्सिएछु । प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्दा निकै चर्का कुरा गरेछु । तराईमा पहाडेहरु बस्न चाहन्छनभने मधेशीको अधिनस्थ रहन तैयार हुनुपर्छ भनेको थिएँ । हामीले चाह्यौंभने अहिले नै काठमाडौंलाइ नाकाबन्दी गर्दिन सक्छौं भनेको थिएँ । त्यही बिषयमा ठाकुर बेल्वासे भन्ने पत्रकारले बबालै गर्यो । इमेज एफएमको जनचासो कार्यक्रमबाट जनतालाइ आव्हान गरेर रत्नपार्कमा हजारौं जनता जम्मा गर् यो। उस्को आव्हानमा जम्मा भएका जनताले मेरो पुत्लासमेत जलाए । त्यहाँदेखि म पत्रकारहरुसँग निकै सतर्क रहन्छु । पत्रकारहरुलाइ मिलाइराख्नुपर्यो भनि स्वास्थ्यमन्त्री हुँदा दशैंखर्च भनेर प्रत्येक पत्रकारलाइ ८-१० हजारको दरले बाँडेको थिएँ । पार्टीका नेताहरुसँग म किन तर्सिन्नभने हामी सबैले एकले अर्कोको मुटु, कलेजो छामिसकेका छौं ।”
कफि सकिएछ । साँझ पर्नलागेकोले चीसो बढेको महसुस भयो । हिटर जलाए र हिटरको छेउमा सरे । हिटर ताप्दै आफ्नो विगततिर नियालेर सोच्नथाले, “४५ बर्षअघि भारतको सीतामढी शहर नजिकको देहातबाट ट्टटुमा गुड, पन्सारी समान आदि बोकाएर व्यापार गर्नका लागि मेरो बुबा नेपालको सर्लाही आएका हुन् । मेरो बुबा मान्छेअनुसार कुरा गर्न शिपालु थिए । मीठो वोलीवचनद्वारा उनले सहदेवप्रसाद सिंहलाइ रिझाए । सहदेवप्रसाद सिंह आफू त भद्र र मान्य छँदैथिए, उनका सन्तानहरु पनि त्यस्तै थिए । त्यो परिवार सर्लाहीमा प्रभावशाली मानिन्थ्यो । त्यसै परिवारका शत्रुघन प्रसाद सिंह अन्चलाधीश पनि भएका थिए । सहदेव प्रसाद सिंहको कृपाबाट मेरो बुबा नेपालमै बस्नथाले । आफ्नो कमाईले नेपालमा पनि केही जग्गाजमिन जोडे । यत्रा ठूलाबडाको आड पाएकोले २०३२ सालमा मैले सजिलै नेपाली नागरिकताको प्रमाणपत्र हात पारें ।
शत्रुघन प्रसाद सिंहका दाजु बलराम प्रसाद सिंह, जो बि आर सिंहको नामले ज्यादा चिनिन्छन्, लामो समयसम्म शाही नेपाल वायुसेवा निगममा अधिकारी थिए । उनको जिम्मामा व्यापार विभाग थियो । उनैको पछि लागेर म काठमाडौं आएँ । उनले मलाई त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा लोडरनाईके बनाई दिए । लोडरनाईकेले नै अन्य लोडरको व्यबस्था गर्ने तत्कालीन प्रचलन थियो । सोहीबमोजिम गाउँकै आफ्ना विश्वासपात्रहरुलाइ लोडरमा नियुक्ति गराएँ । अन्तर्राष्ट्रिय यात्रीको टीप्समा पाउने मात्र होईन, टोलीका सबैबाट हिस्सेदारी पाउने व्यवस्था मिलाएर राम्रै कमाई गरें । त्यही कमाईले सानेपामा घरघडेरीको व्यवस्था गरेको हुँ । विदेश व्यापार गर्नेहरुसँग हिमचिम बढाएँ । त्यही सम्बन्धलाइ प्रयोग गरी टीम मिलाएर आयात-निर्यातको व्यापार गरें ।
झिटीगुण्टा नियमावलीले विदेशी भिषाको धेरै महत्व भएको समय थियो । त्यो भिषा मिलाउने काम गरेर राम्रो कमाई गरें । कमाईको कुनै मौका छोडिन । आर्जन बढ्दैगएपछि महत्वाकांक्षा बढ्दोरहेछ । त्यही महत्वाकांक्षाले मलाइ राजनीतिमा प्रवेश गरायो । नेपाल सद्भावना पार्टीमा सामेल भएँ । व्यापारमा भाइहरुलाइ लगाएँ । पार्टीराजनीतिको आडमा आफ्नो व्यापार र कमाईलाइ सुरक्षित गर्न सफल रहें । नेपालको अस्थीर राजनीति मेरो लागि वरदान भयो । यही अस्थीर र भागवण्डाको राजनीतिले आपूर्ति मन्त्रालय, वाणिज्य मन्त्रालय जस्ता आर्थिक मामिला हेर्ने, रसीलो-पोषीलो मन्त्रालयहरु लामो समयसम्म नेपाल सद्भावना पार्टीको पोल्टामा हालिदियो । त्यस्मा पनि बढी समय ती मन्त्रालय मैले नै सम्हाल्न पाएँ ।”
भान्छे केटो केही भन्नलाइ होकि ढोकामा देखापर्यो । उस्ले केही भन्न नपाइ एक कप तातो कफि मँगाए । कफिको चुस्कि लिंदै सोच्नथाले । सोचे, “यी ठाकुर बेल्वासे र किशोर श्रेष्ठहरुलाइ थाहा छैन, मेरो जनाधार निकै कमजोर छ । मधेशमा रैथाने मधेशीहरुले मलाइ नेता मानेकै छैनन् । त्यसैले, नवआगन्तुक मधेशीहरु मेरो नजिकमा छन् । अझ नेपाल भारत दुवै मुलुकमा खुट्टा टेकेकाहरु मेरो नजिकमा छन् । त्यसैले, मैले चर्काचर्का र उग्र कुरा गररिरहनुपर्छ । यो मेरो विवशता हो ।
त्यसदिन दलीय बैठकमा पनि मैले, ‘सम्पूर्ण तराईको एक प्रदेश मात्र हुनेछ । तराईतिर कसैले नजर लगाउन पाउँदैन’ भनेको थिएँ । केपीले वचनबाण प्रहार गरे । पार्टीका नेताहरुसँग त परिरहन्छ । यो त सामान्य हो । कहिले उन्ले भन्छन्, कुनैदिन हामीपनि भन्छौं । सापोनापो बराबर हुन्छ । तर, यी पत्रकारले त सत्यानासै पार्छन् । धोती-लगौंटी नै फुस्काएर नङ्ग्याइदिन्छन् । किशोर श्रेष्ठ, ठाकुर बेल्वासेहरु दुइचारजनालाइ धितमरुञ्जेल ब्ल्याकलेबल ख्वाउनुपर्ला !”
भान्छे पुन ढोकामा देखापर्यो । खाना खान बोलाएको रहेछ । डाइनिङ रुमतिर लम्के ।




