बिध्वंश चिन्तन
● आनन्दराम पौडेल
आज प्रचण्ड निकै प्रशन्न थिए । उनलाइ आफ्ना कार्यकर्ताहरु यति हिंस्रकपनि हुँदैनन् कि भन्ने चिन्ता रहेछ । त्यो चिन्ताबाट मुक्त भएका थिए । ६ गते उज्यालो हुनुअगाडीको राती १.३० वजे सम्बिधानसभामा मच्चाइएको बिध्वङ्स, तोडफोड र आक्रमणको अध्याय नसकिंदै ६ गते दिनभर नेपालबन्द र ८ गते राती ११.३७ सम्म सम्बिधानसभामै पुन नारावाजी, होहल्ला र उपद्रो गर्दागर्दै आरामले बसेर १ पेग ह्विस्की लिनसमेत् भ्याएका थिएनन्।
आज ९ गते साँझ बल्ल समय निकाले । ब्ल्याकलेभलको १ पेग बनाए । र चुस्की लिंदै सोचमग्न भए । सिनेमाको पर्दामा चलचित्रका दृश्यहरु आइरहेझैं यो ३ दिनमा गरिएका कामकार्यवहीहरु र घटनावलीका झलकहरु एकपछि अर्को गरेर मानसपटलमा आउनथाले ।
सोचे, “२०६४ सालको निर्वाचनपश्चात्, बस्तीमा बाढी पसेभन्दा बढी, हाम्रो पार्टीभित्र ठेलमठेल गरेर हूलकाहूल कार्यकर्ताको लर्को पसेको थियो । झ्यास्, पत्कर, कुडाकर्कट सबै हुलिएका थिए । पछि-पछि त पार्टीप्रवेशकर्तालाइ टीका लगाउन नभ्याएर पार्टीप्रवेश कार्यक्रममा अबीर छर्केर औपचारिकता पूरा गर्नुपरेको थियो । यसरी जथाभावी हुलिएका कार्यकर्ताले आन्दोलन तताउन र चर्काउन सक्दैनन् कि भन्ने चिन्ता थियो ।
फेरि जुझारु कार्यकर्ताहरु ड्यास माओवादीतिर र कति त नेत्रबिक्रम चन्द ‘विप्लब’ तिर गएका थिए । मसँग रहेका कार्यकर्ताहरु सुविधाभोगी भएर भस्याकभुसुक् निभिसके कि भन्ने मेरो अनुमान थियो । तर, त्यस्तो होइनरहेछ । बरु, १४-१५ महिनादेखि ठोक्न, हान्न, मार्न, आक्रमण गर्न र सिध्याउन नपाएकोले आँत हरर भएर रुखिएका रहेछन् । हान्न, मार्न, ठोक्न, बजाउन र आक्रमण गर्न काम लाग्छ भनेरै मैले उमेशकुमार यादवलाइ सप्तरी-३ को र शिवकुमार मण्डललाइ मोरङ ४ को टिकट दिएको थिएँ । यही सोच राखेरै मोरङ डङ्ग्राहाका अमनलाल मोदी र रुकुमका दलजित श्रीपाइलीलाइ समानुपातिक सभासद बनाएको थिएँ । बेलामा मैले बुद्धि पुर् याएको आज कस्तो कामलाग्यो !
हाम्रा नारायणकाजी श्रेष्ठजीको नितान्त फरक मत थियो । सम्बिधानसभामा त राष्ट्रनिर्माणको लागि चिन्तनमनन गर्ने, बौद्धिकविमर्श गर्ने, भिजन भएका व्यक्तिहरुलाइ पो पठाउनुपर्छ । जबर्जस्तिको भाषा बोल्ने, क्रोध बर्षाउने र सधैं मारमुग्री गर्न मात्र तम्सने भुस्तिग्रेहरुलाइ पठाएर कहाँ हुन्छ ? भनेर चर्को विरोध गर्थे । ती नारायणकाजीले मेरो भित्री मनशाय नै वुझेनन् । बनाउने, सुधार्ने र परिमार्जन गर्ने सोच नै कहाँ थियो र ? रचनात्मक र सृजनात्मक पाटोलाइ हामीले आत्मसात् नै गरेनौं । यी बिषयले नेपाली समाजमा स्थान पाउने पनि ह्वैन !
समुदाय, समाज र राष्ट्रको उन्नति, प्रगति तथा मानवसभ्यताको लागि उपयोगी नविन खोज गर्ने, अध्ययन-अनुसन्धान गर्ने र रचनात्मक, सृजनात्मक प्रयोग गर्ने व्यक्तिलाइ नेपाली समाजले न त खोजखबर लिन्छ, न त कदर नै गर्छ । डाङ्गडुङ्ग, हाट्टहुट्ट गरेर र हुँदोनहुँदो अनेक तेलाबेला गरेर १२-१५ बर्षमै ३०-४० करोडको मालिक बन्न सक्नेलाइ सफल, पुरुषार्थी, होनहार, हिरो मानेर सबैले पुज्छन् । नेपाली जनताको मनोबिज्ञानमैले वुझेको छु। यी नारायणकाजीले बिस्तारै वुझ्नेछन्।”
चीसोको महसुस भएकोले हिटर अन गरे, र हिटर नजिक बसे । हात-गोडा सेकाए । खाजा ल्याएछ । मम र ट्राउट माछा रहेछ । भोक लागेको बेलामा मनपर्ने खाजा आएकोले कपाकप खाए । ग्लासमा अर्को १ पेग ह्विस्की राखेर हिटरतिर फर्के । चुस्की लिंदै सोच्नथाले । सोचे, “सभाध्यक्ष भनेर के गर्नु, यो लुङा विचरा नै रहेछ । ‘जनताले के भन्लान् भनेर सोच्नुहुन्न ?’ पो भन्छ ।
राष्ट्र, जनतालाइ हेरेर कस्ले राजनीति गरेको छ ? लुङा बुढो भैसक्यो, तैपनि यति कुरा वुझेको छैन । जनता भनेको त महासमुन्द्र हो । कत्तिलाइ चित्त वुझाउनु ? चित्त वुझाएर साध्ये लाग्छ र ! कुमार, गणेशको पौराणिक कथामा त्रिलोक, चौध भुवन सबै चाहारेर दुःख गर्ने कुमार फेल भए । महादेव, पार्वतीलाइ घुमिबस्ने गणेश सफल भए । लुङाले यो कथा पढेकोभए यस्तो प्रश्न गर्नेथिएन । मैले यो कथा पढेको मात्रै छैन, त्यही अनुसार कार्यव्यवहार गरिरहेछु । कुमारपन्थ छाडी गणेशपन्थ नीति लिएर संरासङ्घलाइ रिझाइराखेको छु । मेरो गणेशपन्थ नीतिबाट प्रभावित भएकैले संरासङ्घबाट आएको अनमिनमार्फत् त्यसबेला लडाकु समायोजनमा कल्पनातीत मान्छे घुसाउन सफल भएँ ।
भर्खर केही दिनअघि संरासङ्घ महासचिवको दूत बनेर आएका उपमहासचिवले पनि लोकतान्त्रिक विधि-प्रकृयाबाट हैन सहमतिबाटै सम्बिधान ल्याउनु भनेर गए । यो हाम्रै आशयमुताविक बोलेका हुन् । गणेशपन्थ नीति मैले युरोपियन युनियनमा पनि राम्ररी प्रयोग गरेको छु । मसँगै सरसल्लाह गरेर डेनमार्क र अर्को स्क्याण्डेभेनियन देशको राजदूतले सिके राउतलाइ भेट्न गएका थिए । वेलायती राजदूतले जे प्रकाशित गरे त्यस्मा पनि मेरो भरथेग थियो । संरासङ्घ, युरोपियन युनियन र मोदीले समेत्, ‘लोकतान्त्रिक विधि-प्रकृया छोड, सहमतिअनुसार गर’ भनेर एउटै स्वर बोल्नु सानु कुरो हो ? यो सानु सफलता हो त मेरो ? युरोपियन युनियन र दिल्लीलाइ रिझाए पुग्ने ठाउँमा कहाँ जनता भन्ने महासागरमा हेलिनु ? फेरि, यो जनता भन्ने जिनिशले कस्का कुरा सुन्ने हुन् ?
दमननाथ ढुङ्गाना, लोकराज बरालजीले समेत् हाम्रो लाइनमा बोलिरहेको यो स्थितिमा अरु फुटकरका कुरा कस्ले सुन्ने ? डा. भिमार्जुन आचार्य जस्ता दुइचार जना होलान् । तिनीहरुको आर्टिकल नपढ्नु र अन्तर्वार्ता नसुन्नु भनेर भित्रभित्रै सर्कुलर गरिसकें । जनताको चिन्ता किनपनि नगरेको होभने जनता आफैंपनि सही र गलत छुट्याउने चेष्टा गर्दैनन् । छुट्याउँदा हुन् त २०६९ साल जेठ २ गते टुङ्गो लागेर कार्यान्वयनमा अघि बढिसकेको सहमतिलाइ कस्ले भाँड्यो भनेर सुधीर शर्माले प्रयोगशाला पुस्तकको पृष्ठ ६ मा लेखिदिएकै छन् । त्यसबेला यिनै मधेशवादी भन्ने नेताहरुले दबाब दिएपछि मैले नै ब्रेक लगाइदिएको थिएँ । त्यो पुस्तक मैले नै विमोचन गरेको हुँ ।
त्यस्तै, अब कुनैपनि हालतमा ‘सहमति’ भनेर सम्बिधान निर्माणलाइ अड्काएर राखिने छैन भनेर चुनावी घोषणापत्रमा मैले नै लेखेको थिएँ । जनता बुद्धिमान र सचेत हुँदाहुन् त यी तथ्यहरु अगाडी सारेर हामीलाइ –याख-याख्ति पारिसक्ने थिए । एकातिर बाहुन, क्षेत्री, दशनामीलाइ, ‘तपाईंहरु अन्यायमा पर्नुभएको छ । सङ्गठीत हुनुहोस्, एकजुट हुनुहोस्’ भनेर उचालें । भोलिपल्टै
आदिवासी, जनजाति भन्नेहरुलाइ बोलाएर, ‘बाहुन-क्षेत्रीले सडक कव्जा गर्ने भैसके । तपाईंहरु के हेरिरहनुभएको भनेर उकासें । यसरी भिडन्तको स्थितिमा पु-याइदिएँ, र जेठ २ गते टुङ्गो लागेको सहमति भाँडिदिएँ । जनता समझदार, बुद्धिमान र सचेत हुँदाहुँन् त यिनै तथ्यहरु कोर्रा बनेर मेरो ढाडमा बर्षने थियो नि ! जनता केही होइन भन्ने निस्कर्ष त यत्तिले नै छर्लङ्ग हुँदैन र ?” आफूले अख्तियार गरेको गणेशपन्थ नीति ठीक साबित भएकोमा गर्व गरे । सन्तुष्ट भए । अन्तिम ग्याम्बे लिए । र खाना खान डाइनिङ रुमतिर लम्के ।




